काठमा आकृति कोरेरै ६ लाख कमाउँछन् भट्ट « Khabarhub
Logo
१६ चैत्र २०७६, आईतबार

काठमा आकृति कोरेरै ६ लाख कमाउँछन् भट्ट



काठमाडौं– काठका चोइटा र धुलोसँग काम गर्न पाउँदा निकै खुसीको अनुभूति गर्छन्–‘कञ्चनपुरका ४७ वर्षीय मनिराज भट्ट ।’

त्यसैले त उनी बिहानको झुल्के घामसँगै आफ्नो दैनिकी शुरु गर्न र काठसँग खेल्न उद्योगमा पुगिसक्छन् ।

शरीरमा लगाएको कपडाभरी काठको धुलो । काठकै भुसमाथि टुसुक्क बसेर काम गरिरहेका हुन्छन् उनी । साँझसम्म काठलाई नै समय दिन्छन् । अनि त्यही काठबाट विभिन्न आकृति कोर्छन् । झण्डै १७ वर्ष भयो उनी काष्ठ उद्यमी बनेको ।

विजयसालको काठबाट उनले विभिन्न हस्त सामग्री बनाउने गरेका छन् । उनलाई काठले उद्यमी मात्र बनाएको छैन । जीविकोपार्जनको भरपर्दो माध्यम पनि बनाएको छ ।

स्थानीय स्तरमा उत्पादन हुने काठबाट भट्टले विशेषगरी भान्सामा प्रयोग गरिने गिलास, ठेकी, लोहटा, कचौरा, आम्खोरा जस्ता सामग्री बनाउने गरेका छन् ।

‘यति कमाउनका लागि नेपालीहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन्’ भट्टले भने, ‘स्वदेशमै बसेर काम गरे पैसा कमाउन त्यति कठिन छैन त्यसमाथि स्थानीय स्तरमै छन् रोजगारीका अवसर ।’

‘परदेशको भूमिमा बगाएको पसिनाको मुल्य बुझ्ने अनि स्वदेशमा त्यही पसिना किन नबगाउने’ उनले थपेँ ‘युवाहरु परदेशिने क्रम बढि भएकै कारण हाम्रा पुर्खौली पेशाहरु मासिँदै गइरहेका छन् ।’

भट्टले स्थानीय स्तरमा उत्पादन भएका स्रोतबाट आफूले मात्र पैसा कमाइरहेका छैनन् । उनले स्थानीयवासीहरुलाई समेत व्यवसायमा आउन प्रेरित गरिरहेका छन् भने आफुले जानेको सीप सिकाइरहेका छन् ।

‘हिजो मैले अरुबाट यो काम सिकेँ’ भट्टले विगतलाई कोट्याउँदै भने, ‘आज म बाट पनि आउने पुस्ताले सिक्नु जरुरी छ पेशा भनेको यसरी नै हस्तान्तरण हुँदै जाने हो ।’

जन्म डडेलधुरा कर्म कञ्चनपुर !

आजभन्दा १७ वर्षअघिसम्म मनिराज जन्मथलो डडेलधुरामा बस्थे । घरमा खेतीपातीको काम गर्थे । उनको पुर्खौली पेशा नै त्यही थियो । तर उनी खेतीपातीभन्दा अन्य केही व्यवसाय गर्न चाहन्थे ।

‘वर्षभरि खेती गर्‍यो खाना नै ठिक हुन्थ्यो’ भने, ‘परिवार पाल्न र छोराहरुलाई राम्रो पढाउनकै लागि भएपनि व्यवसाय त गर्ने पर्‍यो भन्ने सोच्थेँ ।’

व्यवसाय गर्ने सोचले उनी डडेलधुराबाट कञ्चनपुरतिर प्रस्थान गरे । यो वि.स. २०५९ सालतिरको कुरा हो । त्यसबेला उनी उमेरले ३० टेकेका थिए ।

त्यतिबेला उनले सुदुपश्चिममा विभिन्न ठाउँमा स्वास्थ्यवद्र्धक वनस्पती विजयसालको काठबाट निर्मित सुन्दर र आकर्षक डिजाइनका भाँडाहरु बनाएको दृश्य देखे । त्यो दृश्यबाट उनी काष्ठ उद्यमी बन्न प्रेरित भए ।

उनी डडेल्धुराका पतिराम चदाराले चलाएको काष्ट उद्योगमा गएर काम सीके अनि त्यही सीपबाट व्यवसायी बने ।

‘चदारा (पुर्खौदेखि यही पेशा अपनाइरहेका) हरुले विजयसालबाट दैनिक भान्सामा प्रयोग हुने भाडाहरु बनाएको देखेँ’ खबरहबसँग उनले भने, ‘देखेकै भरमा यही काम गर्ने चाहना बढ्यो ।’

उनले सुरुवातका केही दिनमा चदाराहरुसँग बसेर काठबाट भाँडाकुडा बनाउन सिके । ‘महिनादिन जति लाग्यो सिक्नलाई’ मुस्कुराउँदै उनी भन्छन्, ‘त्यसपछि आफैंले उद्योग खोलेर काम गर्ने सोच बनाएँ ।’

१ लाख मै शुरु भयो उद्योग

उनको यो सोचलाई परिवारको पूर्णरुपमा साथ र सहयोग मिल्यो । उनले गाउँघरमै ऋण लिएर एक लाख लगानीबाट व्यवसाय शुरु गरे ।

वि.स. २०५९ सालदेखि उनले आफ्ना हातबाट काठका भाडा बनाएका हुन् । शुरुमा उनले व्यवसाय थाल्दा स–साना गिलास, कप, अम्खराबाट शुरु गरेका गरेका थिए ।

तर सुरुवाती चरणमै राम्रो प्रतिक्रिया पाएपछि उनले त्यही कामलाई अझ मेहनतका साथ सामग्री थप बनाउँदै अघि बढे ।

‘यी भाडाकुडाको बजार स्थानीय स्तरमा खासै छैन’ उनले भने, ‘तर विभिन्न एक्स्पोहरुमा बढि जान्छ अनि यसबारे बुझेकाहरुले उपभोग पनि गरिरहेका छन् ।’

अहिले उनले बनाएका सामग्री देशभर र भारत चीन लगायतका मुलुकमा समेत पुगेको छ ।

‘मैले व्यवसाय शुरु गर्दा एक सय रुपैयाँदेखिका भाँडाहरु बनाउँथेँ’ उनले भने, ‘अहिले ६ सय देखि माथीसम्म पुगेको छ ।’ उनको उद्योगमा ६ सय देखि १ हजार ५ सय सम्मका भाँडाहरु रहेका छन् भने उनले अर्डरअनुसार पनि बनाउने गरेका छन् ।

उनले स्क्वायर फिटअनुसार यो काठ किन्ने गरेका छन् । काष्ठ मेरिट उद्योगमा बनाइएका भाँडाहरु लामो समयसम्म टिकाउ हुने उनको भनाई छ ।

‘निरन्तर प्रयोग गर्‍यो भने दुई/तीन वर्षसम्म रस आउँछ’ उनले भने, ‘कहिलेकाँही प्रयोग गर्नेहरु एक पुस्तादेखि अर्कोपुस्ताले सम्म प्रयोग गरिरहेका पनि छन् ।’

परिवारकै सक्रियतामा मासिक ५० हजार कमाई

आजभन्दा १७ वर्षअघि एक लाख लगानीमा शुरु गरेको व्यवसायबाट मनिराजले अहिले मासिक रुपमा ५० हजार कमाइरहेका छन् ।

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उद्योगमै हुन्छन् उनी । ‘दिनभर काठलाई खेलाइहन्छु यी काठहरुसँगै रमाउँछु’ उनी भन्छन्, ‘म मात्र होइन मेरो श्रीमती, छोरा लगायत पुरै परिवारको सक्रियता छ यसमा ।’

विदेशी भूमिमा गएर पसिना बगाइरहेका युवाहरुका लागि बा–आमाले पनि केही सम्झाउनुपर्ने देख्छन् उनी । ‘स्वदेशमा थुप्रै क्षेत्र छन् । व्यापार व्यवसाय गर्न सकेमा पैसा आरामले कमाउन सकिन्छ’ उनी भन्छन्, ‘परिवारका सबै मिलेर व्यापार गरेमा पनि आत्मनिर्भर बन्न कुनै गाह्रो छैन ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका १ भाँसिमा सञ्चालित मेरिट काष्ठ उद्योगले उत्पादन गरेका विजय सालका भाँडा । तस्वीर :रासस

विजयसालको प्रयोग गर्न अनुरोध

विजयसाल औषधीय गुण भएको रुख (वनस्पती) हो । विजयसालको ठेकीमा राखेको केही घण्टापछि पानी निलो बन्छ । बेलुका पानी राखेर विहान नियमित पिउने गरेमा पेट र मुटु सम्बन्धि रोग निको हुने विश्वास समेत गरिएकाले विजयसालको प्रयोग गर्न समेत अनुरोध गर्छन् उनी ।

विजयसाल सुदुरपश्चिम क्षेत्रमा मात्र पाइन्छ । वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’ रहेको विजयसाललाई विकासित मुलुकमा समेत आयुर्वेदिक औषधीको रुपमा प्रयोग गरिन्छ ।

दुर्लभ विरुवाको रुपमा रहेको विजयसालबाट निर्मित अम्खरा जति दुर्लभ छ त्यति नै यसको उपयोगिता पनि छ ।

विशेषगरी तराईको कञ्चनपुर, कैलाली र कपिलवस्तु जिल्लामा मात्र पाइन्छ विजयसाल । समुन्द्र सतहबाट एकहजार मिटरको उचाईमा चुरे श्रृखलाको फेदमा भावर क्षेत्रमा विजयसालका रुखहरु पाइन्छन् ।

घास र दाउराको रुपमा धेरैले यसको प्रयोग गर्ने गर्छन् । तर यसको काठलाई प्रयोग गर्न सकेमा आकर्षक र स्वास्थ्यका लागि फाइदा पुग्ने प्रकारका भाँडाहरु बनाउन सकिन्छ ।

विजयसालका भाडा प्रयोग गर्नुको फाइदा

चिनोका रुपमा आदानप्रदान गरिने विजयसालको भाँडामा पानी पिउँदा पेट सम्बन्धि विभिन्न रोगहरु निको हुने विश्वास छ ।

औषधीको रुपमा समेत प्रयोग हुन थालेपछि यसको महत्व अझ बढ्दै गएको बताउँछन् भट्ट ।

‘पहिले–पहिले विजयसालको बोक्रा र कलिला पातहरुबाट निकालिएको रस विभिन्न रोगको उपचारका लागि औषधीमा प्रयोग हुन्थ्यो’ कुराकानीका क्रममा उनले भने, ‘विजयसालका भाँडामा राखिएको पानी पिउने गरेमा पेटका विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने लगायतका रोग समेत निको बनाउछ ।’

बाल्यकालको सम्झना

मनिराज वि.स. २०२९ सालमा डडेलधुरामा जन्मिए । परिवारमा ५ सन्तानमध्ये उनी माईला छोरा हुन् ।

परिवारको आर्थिक अवस्था बलियो नहुँदा पढाइ बीचमै टुङ्गाएका थिए उनले । त्यो बेला गाउँघरमा पढ्ने जागिर खाने भन्ने खासै थिएन । चेतना पनि थिएन फेरि विद्यालय जानकै लागि पनि ५ घण्टा हिड्नुपथ्र्यो’ उनी भन्छन्, ‘त्यसकारण आठसम्म पढेर छोडेँ मैले पनि ।’

आफूले राम्रो शिक्षा नपाएपनि दुई छोरालाई राम्रो पढाउने सोच बोकेका छन् उनले । अहिले उनका छोराहरुले उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

‘मैले यही व्यवसायबाट घर परिवारलाई धानेको छु’ ‘गर्व महशुस गर्दै उनले भने, ‘छोराहरुलाई राम्रोसँग पढाएको पनि छु’ ।


भर्खर

0