‘पुनर्जन्म’ पछि क्रिकेट संघको पहिलो ‘गृहकार्य’, आईसीसीको भरोसा जित्नु मुख्य चुनौती | Khabarhub Khabarhub

‘पुनर्जन्म’ पछि क्रिकेट संघको पहिलो ‘गृहकार्य’, आईसीसीको भरोसा जित्नु मुख्य चुनौती

विश्वकप लिग २ का लागि ‘नयाँ जीवन’ पाउँदै टियू क्रिकेट मैदान



काठमाडौं– अहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृङ्खलाका लागि सिगारिँदैछ ।

माघ २२ देखि २९ गतेसम्म चल्ने श्रृङ्खलाका लागि लामो समयदेखि अस्तव्यस्त रहेको टियू क्रिकेट मैदानको स्तरउन्नति पनि शुरु गरिएको छ ।

पछिल्लो ४–५ बर्षदेखि यो मैदानमा विभिन्न प्रतियोगिताहरु त भए, तर यसको व्यवस्थापनको पार्टो निकै कमजोर रह्यो ।

नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय प्रतिबन्ध पर्दाको असर टियू क्रिकेट मैदानमा पनि परेको थियो । तर, अहिले लिग २ अन्तर्गतको श्रृङ्खलाका लागि भए पनि क्यानले टियू मैदानको स्तरोन्नतिको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

गत असोज दोस्रो साता क्यानले नयाँ नेतृत्व पाउँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सशर्त निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा पछि विश्कप लिग २ अन्तर्गतको श्रृङ्खलाको व्यवस्थापनको जिम्मा क्यानले नै पाएको छ ।

‘पुनर्जन्म’ पछि क्यान नेतृत्वले आईसीसीबाट पाएको यो पहिलो ‘गृहकार्य’ हो । त्यसैले पनि यसलाई सफल पार्ने लक्ष्यमा क्यान लागिरहेको छ ।

त्यति मात्रै होइन, क्यानका लागि अहिले ‘अन दी फिल्ड’ र ‘अफ दि फिल्ड’मा उत्तिकै राम्रो गर्नु पर्ने चुनौती पनि रहेको छ । क्यानले आयोजना सफल पारेर मात्रै पनि पुग्दैन, उसले मैदानमा पनि राम्रो नतिजा देखाउनु पर्नेछ । तर, यसलाई अवसरका रुपमा लिएर काम गरिरहेको क्यान सचिव तथा प्रवक्ता असोकनाथ प्याकुरेल बताउँछन् ।

‘अहिलेको परिस्थिती हाम्रा लागि निकै चुनौतीपूर्ण छ । तरपनि चुनौतीलाई अवसरका रुपमा लिएर काम गरिररहेका छौं,’ प्रवक्ता प्याकुरेलले भने । यता, लिग २ खेल्ने १४ सदस्यीय राष्ट्रिय टोलीको समेत घोषणा भइसकेको छ । केही समय पोखरामा अभ्यास गरेर नेपाली टोली अहिले कीर्तिपुरस्थित मैदानमा ‘इन्डोर’ अभ्यास गरिरहेको छ ।

विश्वकप लिग २ मा नेपालको प्रदर्शनले विश्वकप क्रिकेट २०२३ का लागि मार्ग प्रसस्त गर्नेछ । यदि यसमा नेपाली टोलीले राम्रो गर्दै विभिन्न चरणमा छनोट हुँदै गए नेपाल २०२३ को विश्वकप खेल्न सक्नेछ । त्यतिमात्रै होइन नेपालले पाएको अस्थायी एकदिवसीय मान्यता (ओडिआई) कायम राख्ने बाटो समेत लिगमा देखिने प्रदर्शन नै हो ।

आईसीसीको विश्वास जित्न क्यानलाई अवसर

नेपालले अहिलेसम्म एकदिवसीय खेल काठमाडौंमा खेल्न पाएको थिएन । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको झण्डै २ बर्षपछि नेपालले ‘होम ग्राउण्ड’मा त्रिकोणात्मक श्रृङ्खला हुँदैछ । यो नेपालले आयोजना गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता पनि हो ।

पुनर्जीवन पाएको क्यानका लागि आईसीसीलाई विश्वस्त पार्न सक्ने मुख्य अस्त्रमध्ये एक हो, यो श्रृङ्खलाको सफल आयोजना ।
आईसीसीले दिएको यस अवसरलाई क्यान नेतृत्व अवसरका रुपमा लिएर अगाडि बढीरहेको प्रवक्ता प्याकुरेल बताउँछन् । सीमित स्रोत साधनका बाबजुत ठूलो प्रतियोगिता आयोजना गर्ने योजनासहित खटिरहेको क्यानले केही दिनभित्रै सबै काम सकिने जनाएको छ ।

‘सीमित स्रोत साधनका बाबजुत पनि हामी यसलाई सफलता पार्न लागिरहेका छौं । अहिले यो श्रृङ्खला आयोजना गर्न अवसरभन्दा चुनौति धेरै छन्,’ प्रवक्ता प्याकुरेलले भने, ‘तर, ती चुनौतिलाई अवसरका रुपमा उपयोग गर्दै हामी अगाडि बढ्छौं ।’

नेपालमै आयोजना हुने श्रृङ्खलालाई ‘अफ दि फिल्ड’ जसरी सफल बनानु पर्ने चुनौती क्यानसामु छ, त्यति नै मैदानमा हुने प्रदर्शनले पनि उसको ‘भाग्य’ निर्धारण गर्ने छ ।

प्रवक्ता प्याकुरेल नेपाली क्रिकेटको विगतलाई बिर्सिदै नयाँ यात्राको थालनी गर्ने लक्ष्यमा रहेको बताउँछन् । ‘एकातिर हामी अहिले नेपाली टोलीको प्रदर्शनमा ध्यान दिइरहेका छौं भने अर्कोतिर आयोजकका हिसाबले ‘सेभ, सेक्युअर र स्मूथ’ बनाउने लक्ष्यसहित लागिरहेका छौं,’ प्रवक्ता प्याकुरेल भन्छन्,‘यसको सफलताले आईसीसीले हामीलाई पत्याउने वातावरण बन्न सक्छ । हामीले आफ्नो क्षमता देखाउने समय पनि हो ।’

प्रतिबन्ध पछि नेपाल क्रिकेट संघ (क्यान) ले असोज अन्तिममा सशर्त फुकुवा भएको थियो । निलम्बन फुकुवा भएपछि क्यानले आईसीसीबाट पाएको पहिलो गृहकार्य हो । त्यसैले पनि क्यान यसका लागि निकै मिहिन तरिकाले कम गरिरहेको प्रवक्ता प्याकुरेलको भनाइ छ ।

स्तरोन्नति: पिचदेखि सरसफाइसम्म

टियू क्रिकेट मैदान अहिले केही खुलेको छ, अर्थात् खुल्ला देखिन्छ । त्यहाँ कुनै पनि किसिमका फोहोरका डङ्गुर छैनन् । भएका फोहोरलाई जम्मा पारेर आगो लगाइएको छ । मैदानको स्तरोन्नतिका लागि दैनिक १०–१२ जना कामदारहरु मैदान वरपरि सरसफाइमा जुटेका छन् ।

क्यानले श्रृङ्खलाकै लागि भनेर टियू मैदानको पिच निर्माण, आउट फिल्ड ग्रेडि, तारवार तथा जालीको ममर्त एवम् सम्भार, साइड स्क्रिन बोर्ड, ‘प्राक्टीस एरिया’ लाई व्यवस्थीत बनाउने, प्लेयर बक्सका शौचालय व्यवस्थापन देखि यसअघि तोडफोड भएका झ्यालहरुको सिसा, म्याच रेफ्रि–अफिसियलका लागि कोठा बनाउने तगायतका काम गसिकेको छ । यद्यपि विधुतीय काम सकिन अझै केही दिन लाग्ने प्रवक्ता प्याकुरेलले बताए ।

अहिले आईसीसीका क्युरेटर पनि काठमाडौंमा छन् । उनीहरु समय–समयमा मैदान पुगेर पिचको अवलोकन गर्छन् भने नेपाली क्युरेटर मधु तामाङ मैदानमै रहेर उनीहरुको निर्देशन अनुसार काम गरिरहेका छन् ।

पिचकै लागि आईसीसीबाट आएका श्रीलंकन क्युरेटर बन्धुला वार्नपुराले नियमित निरिक्षण गरिरहेको क्यान प्रवक्ता प्याकुरेलले बताए । ‘मैदान र पिच राम्रो बनेको छ । यसलाई राम्रो बनाउन कुनै कसर बाँकी छाडिएको छैन्,’ प्याकुरेलले भने ।

अहिले लिग २ का लागि ३ वटा पिचलाई तयार पारिँदैछ । यसअघिको भन्दा पिच राम्रो बनेको बताएका क्युरेटर मधुले मैदानमा भने चाहे जसरी पिचमा दुवो उर्मान नसकेको भने स्वीकारे ।

‘अहिलेको पिचमा धेरै काम भएको छ । आईसीसीका क्युरेटरहरुले अवलोकन गरिरहनु भएको छ । पहिलेको भन्दा यो पिच राम्रो बनेको छ । तर, चिसोले दुवो नउर्मिदा सोचे अनुसार बनाउन भने सकिएको छैन्,’ क्युरेटर मधु तामाङले खबरहबसँग भने ।

त्यसोत, क्यानले दक्षिण एसियाली खेलकुद (साग) लगत्तै मैदानको पिच निर्माणको काम थालेको थियो । पिच निर्माणबारे क्युरेटर मधु भन्छन्, ‘पिचमा घाँस रोपियो । पछि घाँस काटेर मिलाइयो । पिचको लेभलिङ गरियो । आउट फिल्डमा जंगली घाँस निकालेर खाल्डाखुल्डी भएको ठाउँमा पुर्ने काम भयो । त्यसमा पनि रोलर लगाइयो । अहिले मैदान हरियो बनाउने काम भइरहेको छ । तर, चिसोको कारणले चाहेको जसरी बनाउन सकिएको छैन् । त्यो बनाउन अब सम्भव पनि छैन । मात्रै १ हप्ताको समय बाँकी छ । मैदान र पिच दुवै पहिलेको भन्दा धेरै राम्रो भइसकेको छ । अब पिचमा अन्तिम रोलरलाउन बाँकी छ ।’

स्तरोन्नतिमै ५० लाखभन्दा बढी खर्च अनुमान !

मैदानको स्तर उन्ततिमा खटिरहेको क्यानले टियू मैदानको अहिले भइरहेको सम्पूर्ण काम सकिन आधा करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ । यसमध्ये केही खर्च सिरिजबाट उठ्ने गर्छ । तर, अहिले लगानी भएको कुरा सबै क्यानको जिम्मेवारीमा रहेको प्रवक्ता प्याकुरेल बताउँछन् । आईसीसीले क्यानलाई व्यवस्थापनको जिम्मा दिए पनि यसका लागि आवश्यक बजेट भने अहिलेसम्म उपलब्ध गराएको छैन् ।

‘हामीले अहिलेसम्म एकिन हिसाब त निकालेका छैनौं । तर, ५० लाख भन्दा बढी यही मैदान व्यवस्थापनमा लाग्ने अनुमान छ । यसमा खर्च अझै बढ्न सक्छ तर, घट्ने सम्भावना कम छ,’ प्रवक्ता प्याकुरेलले भने, ‘अहिलेसम्म आईसीसीबाट १ रुपैयाँ पनि पाएको छैन् । तर, पनि क्यानले श्रृङ्खलालाई सफलताका साथ सम्पन्न गर्न कुनै कुराको कमी हुन दिँदैन् ।’

सुरक्षाका लागि सीसीटीभी समेत राखिने

श्रृङ्खलाका खेल २२ गतेबाट शुरु हुनेछन् । त्यसका लागि ओमान र अमेरिकाको टोली २० गतेसम्म काठमाडौं आइसक्ने जनाइएको छ । यसलाई ‘सेभ, सेक्युअर र स्मूथ’ रुपमा सम्पन्न गर्ने क्यानको भनाइ छ ।

खेलाडी तथा अफिसियलको सुरक्षादेखि मैदानमा खेलका दौरान कसरी नियन्त्रणमा राख्ने भन्ने विषयमा माथिल्लो तहका प्रहरी अधिकारीहरुसँग छलफल भइसकेको प्रवक्ता प्याकुरेलले बताए ।

उनले पाहुना टोलीका लागि एयरपोर्ट, होटल र मैदानमा गरि छुट्टाछुट्टै सुरक्षा टिम रहने बताएका छन् । खेलका दौरान मैदानमा मात्रै ५ सय प्रहरीको हाराहारीमा रहन सक्ने प्रवक्ता प्याकुरेलको भनाइ छ । त्यसबाहेक केही निजी ऐजेन्सीका सुरक्षा गार्ड पनि परिचालन गरिने जनाइएको छ ।

आवश्यक परेको खण्डमा सशस्त्र प्रहरी पनि मैदानमा रहने व्यवस्था गरिएको प्रवक्ता प्याकुरेलले जानकारी दिए ।

‘सुरक्षाको विषयमा हामीले छुट्टै समिति बनाएर सुरक्षा निकायसँग छलफल गरेका छौं । अहिलेसम्म सालाखाला भन्नु पर्दा पाहुना टोलीका लागि एयरपोर्ट र होटलमा छुट्टा छुट्टै टिम रहनेछ भने खेलका दौरान मैदानमा छुट्टै सुरक्षा व्यवस्था हुनेछ,’ प्रवक्ता प्याकुरेलले भने, ‘कति जना हुन्छन् नै भन्ने यकिन भइसकेको छैन् । तर, खेल मैदानमा नेपालको खेल भएको दिन ४–५ सय जना प्रहरी आवश्यक पर्ने देखिएको छ । त्यहिँ अनुसार योजना बनीरहेको छ ।’

प्याकुरेलका अनुसार श्रृङ्खलाका लागि सेक्युरिटी एजेन्सीका सुरक्षा गार्डका अलावा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पनि सुरक्षाकर्मी खेलका दौरान परिचालित हुनेछन् ।

सुरक्षाका लागि टियू क्रिकेट मैदानमा सीसीटीभी क्यामेरा पनि जडान गरिने भएको छ । यसको काम अहिलेसम्म भइ नसकेपनि केही दिनभित्रै यो जडान गरिने प्रवक्ताले जनकारी दिएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ