नाका नखोलिएको भन्दै तातोपानीमा चीनविरुद्ध प्रदर्शन (भिडियो/फोटो फिचर) | Khabarhub Khabarhub

नाका नखोलिएको भन्दै तातोपानीमा चीनविरुद्ध प्रदर्शन (भिडियो/फोटो फिचर)


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अघोषित नाकाबन्दी गरेको भन्दै चीनसँगको सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीयवासीले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

औपचारिक रुपमा नाका खुला भनिए पनि चीनले एकलौटी ढंगबाट नाका बन्द गरेको भन्दै स्थानीयवासीले शनिबार दिउँसो नाकामै पुगेर चीनविरुद्ध प्रदर्शन गरेका हुन् ।

भिडियो हेर्नुहोस्

‘नाका खोलेको नाटक किन ?’, ‘अघोषित नाकाबन्दी अन्त्य गर’, ‘सीमाबासीलाई सुरक्षाको प्रत्याभूति दे’, ‘मजदुरको रोजिरोटी सुनिश्चित गर’, ‘व्यवसायीको रोकिएको सामान ल्याउने वातावरण दे’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेर सयौंको संख्यामा स्थानीयवासी प्रदर्शनमा उत्रिएका थिए।

 

उनीहरुले सिल्क ट्रान्सपोर्टले गरिरहेको एकाधिकारविरुद्धसमेत नाराबाजी गरेका थिए । स्थानयीवासीहरुको ठूलो समूहले करिब २ किलोमिटरको मोटरसाइकल र्‍यालीसहित नाकामा पुगेर कोणसभा गरेको थियो ।

प्रदर्शनमा सहभागी स्थानीयवासी तथा नेपाली कांग्रेसको भ्रातृ संठगन तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषित नाकाबन्दीले समस्यामा परेका स्थानीयवासी र व्यवसायी बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताए ।

 

 

लामाले भने, ‘छिमेकी मुलुक चीनले नाका खुला भएको जनाए पनि व्यवहारमा त्यस्तो देखिँदैन । उसको खुसीले खुल्ने र उसको खुसीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिए पनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवासायी तथा मजदुरको रोजिरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ।’

प्रदर्शनमा सहाभागी सिन्धुपाल्चोकका ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले सिल्क ट्रान्सपोर्टले गरिरहेको एकाधिकारले अन्य ट्रक कन्टेनर व्यवसायीहरु समस्यामा परेको बताए । ट्रक कन्टेनर व्यवसायी मात्र होइन व्यापारिक कारोबार नभएपछि नाकासँग आबद्ध ५ हजारभन्दा बढी मजदुरको रोजिरोटी समेत गुमेको छ ।

प्रदर्शनमा सहभागी सिन्धुपाल्चोक मजदुर संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले औपचारीक रुपमा नाका खुलेको घोषणा भए पनि चीनबाट पर्याप्त सामान नआउँदा नाका ठप्प जस्तै भएको बताए । उनले चिनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी तथा मजदुरहरु मारमा परेको बताए ।

२०७२ सालको विनाशकारी भूकम्पपछि चीनसँगको मुख्य नाका तातोपानीको अवस्था बेहाल बनेको छ । नाकाको समस्याले झण्डै २० अर्ब रुपैयाँ बराबरका सामग्री चीनतर्फ थन्किएको छ ।

 

दैनिक ३० देखि ४० वटा कन्टेनर आउनुपर्ने भए पनि अहिले चीनतर्फ रसुवा र तातोपानी नाकाबाट गरी ७/८ वटा मात्र कन्टेनर आउने गरेका छन् ।

नेपाल–चीनबीचका दुईवटै नाका लामो समयदेखि पूर्णरूपमा नचल्दा व्यवसायी पलायन हुन थालेका छन् । नाका सुस्त हुँदा व्यापारी–यवसायीहरू टाट पल्टिन थालेको र मानसिक चिन्ताले सताउन थालेको छ । लामो समयसम्म सामान रोकिँदा व्यवसायीले आत्महत्यासम्म गरेको घटनासम्म बाहिर आएका छन् ।

 

नेपाललाई भूजडित मूलुक बनाउने घोषणा कागजमै सीमित

नेपाल र चीनबीच सन् २०१६ मार्च २१ मा पारवहन ढुवानी सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतासँगै चीनको भूमि हुँदै नेपालले पारवहन अधिकार उपयोग गर्न पाउने र नेपालको निर्यात बढाउन मद्दत मिल्ने नेपालको अपेक्षा थियो । सम्झौता कर्यान्वयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणका बेला सन् २०१९ अप्रिल २९ मा पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

प्रोटोकलको दफा १५ मा उल्लेख गरिए अनुसार कार्यान्वयनका लागि दुवै देशले एक अर्कालाई सूचना दिएको ठीक एक महिनापछि प्रोटोकल कार्यान्वयन हुने व्यवस्था थियो । आन्तरिक तयारीको सूचना आदानप्रदान अनुसार चीनले केही ढिला गरी सूचना दिए पनि यही वर्ष जनवरी १ तारिखबाट प्रोटोकल कार्यान्वयनमा आउनुपर्ने भए पनि अहिलेसम्म नेपालले लाभ लिन पाएको छैन ।

प्रोटोकल अनुसार चीनले नेपाललाई चार खुला सामुद्रिक तथा तीन खुला सुख्खा बन्दरगाह प्रयोग गर्न स्वीकृति दिएको थियो । नेपालले स्वीकृत पाएका सामुद्रिक बन्दरगाहहरूमा सेन्जेन, तियान्जिन, झान्जियाङ्ग र लिआनयानग्याङ्ग छन् भने सुख्खा बन्दरगाहहरूमा ल्हासा, लान्जाउ र सिगात्से छन् । पारवहन ढुवानीका लागि नेपालले चीनका ६ वटा सीमा बन्दरगाह प्रयोग गर्न पाइने व्यवस्था छ ।

नेपालले रसुवा–जिलोङ्, कोदारी–जाङ्मु, किमाथाङ्का–छेन्ताङ्, नेचुङ्–लिजी, यारी–पुलान तथा ओलाङ्चुङ्गोला–रिउ बन्दरगाहहरू प्रयोग गर्न पाउने भए पनि औपचारिक रुपमा प्रयोगमा आएको छैन ।

रसुवा र तातोपानी नाकामार्फत मात्र आयात/निर्यात हुने गरे पनि यसमासमेत अवरोध पुर्‍याइएको छ । सम्झौताअनुसार नेपालमा दर्ता भएका सवारी साधनले चीनबाटसमेत अनुमति लिई पारवहन ढुवानीका लागि सिगात्सेसम्म आवतजावत गर्न पाउने व्यवस्था छ । त्यस्तै नेपालले सडकबाहेक चीनको रेल्वे, बन्दरगाह, आन्तरिक जलमार्गलगायत अन्य ढुवानीका विधिसमेत प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ ।

तर, सम्झौता व्यवहारमा उतारिएको छैन । तेस्रो मुलुकबाट सामान आउने कुरा त धेरै परको, नेपाललाई सीमावर्ती चिनियाँ बजारबाट समेत सामान ल्याउन सहज भएको छैन ।

शनिबार तातोपानी नाकामा भएको प्रदर्शनका थप केही तस्वीर

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : ५५ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्