संकटापन्न नेपाली खेलकुद : अत्यासमा खेलाडी, रमिते सरकार | Khabarhub Khabarhub

संकटापन्न नेपाली खेलकुद : अत्यासमा खेलाडी, रमिते सरकार



काठमाडौँ- १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ सात महिनादेखि घरमै छिन् । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले गत चैतमा लकडाउन गरेदेखि उनी ट्र्याकमा दौडिन पाएकी छैनन् ।

सन्तोषीले घरमै अभ्यास गर्ने प्रयास पनि गरिन् तर ट्र्याकमा दौडिनुपर्ने खेलाडीलाई घरमा गरेको फिटनेसले के नै हुन्थ्यो र ! बिस्तारै त्यो पनि छुट्दै गयो । अहिले उनी हल्का फिटनेसका लागि अभ्यास गर्छिन् तर त्यसले पुग्ने कुरै भएन ।

सन्तोषी भन्छिन्, ‘अभ्यास पहिलाको जस्तो हुन सकेको छैन । ट्र्याकमा दौडिन नपाएपछि असर धेरै भएको छ । घरवरिपरि सक्ने जति अभ्यास गरिरहेकी छु । सुरुमा त ठिकै थियो, अहिले सबै नर्मलजस्तो भइसक्यो, खेलकुद अझै बन्द छ ।’

त्यसो त एथलेटिक्सका खेलाडीलाई अरू बेला पनि संघले अभ्यास गराउने प्रतियोगिता अगाडिमात्रै हो । खेलाडीहरू भने आआफ्नो हिसाबले अभ्यास गरिरहेका हुन्थे । अहिले त्यो पनि बन्द छ ।

लामो समय अभ्यासबाहिर रहँदा खेलमा पुनरागमनका लागि समस्या हुने सन्ताषीको भनाइ छ । उनले भनिन्, ‘अरू खेलको जस्तो एथलेटिक्समा हुँदैन । एउटा अभ्यास छुट्दा पनि समस्या हुन्छ । कमब्याक गर्न गाह्रो हुन्छ ।’

यता, राष्ट्रिय फूटबल टोलीका गोलकिपर विकेश कुथु पनि सरकारले अझै पनि खेलकुद क्षेत्रलाई बन्दकै अवस्थामा राखे समस्या झन् बढ्ने बताउँछन् ।

सुरुका दिनमा घरमा अभ्यास गरेर भए पनि फिटनेस कायम गर्ने प्रयास गरेका खेलाडीहरू त्यसबाट पनि आजित भइसकेका छन् । सकेको अभ्यास गर्न छाडेका पनि छैनन् ।

‘अब त घरमा अभ्यास गर्दा पनि समस्या हुन थालेको छ । सुरक्षा मापदण्ड अपनाए अभ्यास गराउन सरकारले सोचे हुन्थ्यो,’ गोलकिपर कुथुले भने, ‘फिफा र नेपाल सरकारको मापदण्ड पालना गरेर अभ्यास गर्ने व्यवस्था गर्दा राम्रो हुन्थ्यो ।’

नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारणले चैतदेखि घरमा बन्द अवस्थामा रहेका खेलाडीहरू अत्यास महसुस भएको बताउन थालेका छन् । कोरोनाको जोखिम भन्दै सरकारले खेल क्षेत्र बन्द गरेको सात महिना भएको छ ।

बन्द कायम रहँदा मैदानमा हुनुपर्ने खेलाडी घरका कोठामा सीमित हुन पुगेका छन् । घरमा जति बस्यो, त्यति नै समस्या हुन थालेको उनीहरूको भनाइ छ । सरकारले भने खेल क्षेत्रमा ठोस निर्णय लिन सकेको छैन ।

युवा तथा खेलकुद मन्त्रालयले पनि कोभिडसम्बन्धी उच्चस्तरीय समिति सीसीएमसीमा पहल नगर्दा समस्या भएको खेल क्षेत्रका व्यक्तिहरू बताउँछन् ।

सार्वजनिक यातायात र अन्य धेरै क्षेत्र खुला गरिसक्दा पनि सरकारले खेल क्षेत्र बन्द राखको छ । खेल क्षेत्रप्रति सरकार उदासीन रहेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आन्तरिक सर्कुलेसनबाट अभ्यास सुरु गर्ने तयारी गरिरहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताए । खेलकुद चालु गर्न सरकारबाट तत्काल आधिकारिक सूचना आउने सम्भावना नरहेकोले राखेपको पहलमा संघहरूसँग छलफल गरेर अभ्यास गर्ने हुने तयारीमा रहेको उनले बताए ।

व्यक्तिगत स्पर्धाका खेलहरू तत्काल सुरु हुने तयारीमा रहेको सदस्य सचिव सिलवालको भनाइ छ । समूहतर्फका फूटबल, भलिबल र क्रिकेटका लागि भने सरकारबाट अनुमति पाउन युवा तथा खेलकुद मन्त्रालयलाई पत्र पठाएको पनि उनले बताए ।

‘अहिले केही खेलको अभ्यास सुरु भइसकेको छ । राष्ट्रिय टोलीको अभ्यासका लागि सिसिएमसीबाट अनुमति लिने गरी पहल भइरहेको छ । राष्ट्रिय टोलीका खेलाडीलाई स्वास्थ्य मापदण्ड अनुसार अभ्यासमा फर्काउन खोज्दैछु,’ सिलवालले खबरहबसँग भने, ‘ओलम्पिकको तयारीमा रहेका १०–१५ वटा खेलको अभ्यास सुरु भइरहेको छ । समूहतर्फका फूटबल, क्रिकेट, भलिबल अभ्यासका लागि तयारी भइरहेको छ ।’

सदस्य सचिव सिलवालले राष्ट्रिय फूटबल टोलीको अभ्यासका लागि मैत्रिपूर्ण खेलको तालिकासहित आउन निर्देशन दिएको बताएका छन् । उनले भने, ‘फूटबलको अभ्यास सुरु गर्न सेड्युलसहित आउनु भनेको छु ।’

नेपाल क्रिकेट संघ (क्यान) ले केही दिनअघि भएको बोर्ड बैठकबाट मंसिरमा प्रधानमन्त्री कप महिला तथा पुरुष प्रतियोगिता गर्ने निर्णय गरेको छ । यता सदस्य सचिव सिलवालले अहिलेको अवस्थामा प्रतियोगिता गर्न कठिन हुने बताएका छन् ।

उनले शहीद स्मारक ए बि र सि डिभिजन क्लबका पदाधिकारीहरूले आफूलाई भेटेर तत्काल प्रतियोगिता गरे क्लबले आर्थिक पाटो धान्न नसक्ने जानकारी गराएको बताएका छन् । सिलवालले भने, ‘एन्फा डिभिजन लिग गर्छु भन्छ । क्लबहरू हामी अहिलेको अवस्थामा धान्न सक्दैनौँ भन्छन् । अब क्लबहरू तयार नभईकन कसरी प्रतियोगिता गर्न सकिएला र !’

सिलवालले ओलम्पिक छनोटका खेलको अभ्यास सुरु भएको भने पनि शुक्रबार बिहानसम्म कुनै पनि खेलको अभ्यास सुरु भएको छैन । आइतबारदेखि केही खेलको अभ्यास सुरु गर्ने तयारी भइरहेको छ ।

सिलवालले एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो लगायतका खेलको अभ्यास सुरु भएको बताएका थिए । सम्बन्धित खेलका पदाधिकारीहरूसँग बुझ्दा ब्याडमिन्टन, कराते लगायतका खेलको अभ्यास आइतबार सुरु गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ५२ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै