महामारीमा सूचना र महत्व « Khabarhub
Logo
१७ चैत्र २०७६, सोमबार

महामारीमा सूचना र महत्व



काठमाडौं- ‘सङ्कटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन् । त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सुत्र’ बनेर बसिरहन्छन् ।’ समकालीन विश्वका एकजना प्रखर चिन्तक युभल नोहा हरारीले फाइनान्सियल टाइम्स्मा हालै लेखेको लेखमा यो विचार राख्नुभएको छ ।

‘कोरोना भाइरसपछिको विश्व’ शीर्षकको यो लेख कोरोना भाइरसका विरुद्ध कसरी लड्ने र त्यसपछिको विश्वका लागि यो लडाईँबाट कस्तो थिति बसाल्ने भन्नेमा बढी केन्द्रित छ । उक्त लेख सेतोपाटी अनलाइनले नेपाली भाषामा अनुवाद गरी छापेको ।

उहाँ लेख्नुहुन्छ– कुनै विन्दुमा गएर अहिलेको यो तुफान पक्कै थामिनेछ । मानवजाति पक्कै जीवित रहनेछन् । हामीमध्येका धेरै जना बाँची नै रहने छौँ, तर हामीले आगामी पुस्ताका लागि एउटा फरक संसार छोडेर जानेवाला छौँ ।

हरारीले भनेजस्तै यो ‘कोभिड १९’ नाम दिइएको नोवल कोरोना भाइरसले हाल विश्वव्यापी उत्पन्न गरेको महासङ्कट समाधानको सुत्रको खोजीमा यतिखेर यो सिंगो धर्ती लागेको छ । यो आलेख तयार पार्दासम्म संसारका १८९ देशका नागरिकमाथि यो भाइरसले धावा बोलिरहेको छ । यस भाइरसले यी देशका २१ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने अरु ४ लाख ७१ हजार मानिसलाई सङ्क्रमित तुल्याइदिएको छ । यसमध्ये १४ हजार भन्दा बढी मानिस गम्भीर स्वास्थ्य अवस्थाका साथ अस्पतालको शैयामा छन् । प्राणघातक स्वरुपमा यो भाइरस यतिखेर विश्वका प्रायः सबै महादेशमा चाहार्न पुगेको देखिएको छ ।

यसैको त्रासदीमा विश्व यतिखेर ‘लकडाउन’ भएर घरभित्रै थुनिएको छ । सदैव हतारमै देखिने युरोप र अमेरिका अहिले बडो फुर्सदमा छ । यो महामारीबाट बच्न एसियाका कैयौँ देश पनि लकडाउनमा छन् । महामारीका विरुद्ध लड्न विश्व समुदाय नै अहिले घरैमा एकान्तबासमा छ । यो अकल्पनीय सङ्कट र महामारीलाई पार लगाउने सूचना अहिले विश्वले खोजिरहेको छ ।

माथि हरारीले भनेजस्तै विश्व समुदायले यतिखेर सम्पूर्ण अस्त्र प्रयोग गरेर नदेखिने यस सत्रुविरुद्ध लड्ने ‘समाधानको सुत्र’ खोजिरहेको छ । र त्यो सुत्र पनि मानिसका काम गर्ने तौरतरिकाबाटै प्राप्त हुने र आगामी पुस्ताका लागि पछिसम्मै समाधानको सुत्रका रुपमा बसिरहने छ । लेखको आसय छ– अहिले सङ्कटमा परेको विश्वले यो सङ्कट हटाउन अपनाउने कार्यशैली र तौरतरिका नै महत्वपूर्ण हो र जुन आगामी पुस्ताका लागि पनि समाधानको सुत्र भएर बस्ने छ । त्यसैले पनि सत्रुका विरुद्ध लड्न सही तरिका अपनाउनु जरुरी छ ।

हालका लागि यो नदेखिने सत्रुका विरुद्ध लड्न हामीले जस्तो तरिका अपनाउने छौँ त्यो नै आगामी दिनमा यस्तैखाले अरु पनि सम्भावित सत्रुहरुका विरुद्ध लड्ने अस्त्र बन्नेछ । त्यसैले हामीले अनुशरण गर्ने कार्यशैली उपचार पद्दतिसँग मात्र सीमित नरहेर यो तौरतरिकामा सरकारी अधिकारीका रणनीति, विदेशनीति, प्रविधिको प्रयोग, महामारीका बेला राज्य या निजी क्षेत्रले दिने सेवा, सूचनाको सम्प्रेषण, सञ्चारमाध्यमहरुको प्रयोग र तिनले उत्पादन गर्ने समाचार ‘कन्टेन्ट्’, एकले अर्काे देशलाई गर्ने र हेर्ने व्यवहार आदि धेरै पर्नसक्छन् ।

महामारीमा सूचना

सूचना नै मानिसको शक्ति हो । पहिलेजस्तो धेरै क्षेत्रफलयुक्त जमिन (जस्तै बेलायती साम्राज्य), ठूलो सैन्य सङ्ख्या तथा ठूल्ठूला हतियारलाई शक्ति मान्ने चलन अहिले छैन । त्यसैले पहिले बेलायत, रुस तथा पश्चिमाहरु शक्तिशाली राष्ट्रमा कहलिन्थे । तर अहिले त्यस्तो छैन । ती देश अहिलेको ‘शक्तिशाली’ राष्ट्रको सूचीमा नपर्न सक्छन् । जुन देशसँग सूचना छ, ज्ञानमा आधारित सूचना छ त्यो नै अहिलेको शक्तिशाली हुन्छ ।

अहिले अमेरिका, संयुक्त राष्ट्रसंघले विश्वकै सूचना राखेर बसेका छन् त्यसैले उनीहरु शक्तिशाली छन् । अहिलेको विश्वले शक्तिको मापन सूचनामै गर्ने गर्दछ । जस्तो कि अमेरिकाले पनि सेना र हतियार लगाएर खोज्दा नभेटिएका ओसामा विन लादेन, सद्दाम हुसेनलाई खोज्न सूचना नै प्रयोग गरेको थियो र उ आफ्नो ‘मिसन’ मा सफल भएको थियो । जसरी धेरै सूचना थाहा पाउने अथवा सुसूचित मानिस समाजमा अरुभन्दा अघि नै हुन्छ विश्वको मोडेल पनि त्यही हो ।

सूचनाको परिभाषा नागरिकको मौलिक अधिकारसँग मात्र सीमित छैन व्यक्तिको जनजीविकामा पनि जोडिएको छ । त्यसैले त भन्ने गरिन्छ– ‘सूचना खान त मिल्दैन, तर सूचना पाएन भने मानिस भौकै मर्न सक्छ ।’ यो कुराको पुष्टि अर्थशास्त्रका नोबेल पुरस्कार विजेता प्रख्यात अर्थशास्त्री अमत्र्य सेनले पनि गर्न खोजेका छन् । उनले ‘सूचना पाउने देशका नागरिक भन्दा सूचना नपाउने देशका नागरिक तुलनात्मक रुपमा बढी भोकमरीमा परेका छन्’ भनेका छन् । उनको परिभाषमा सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर जिउने विधिसँग जोडिएको मानिसको स्रोत र अवसर पनि हो । त्यसैले सूचनाबाट नागरिक वन्चित हुनु भनेको उसका सबैखाले अधिकारहरुमा ताला लाग्नु हो । यसरी सूचना नागरिकको आर्थिक अधिकारसँग जोडिएको छ ।

यति महत्वपूर्ण सूचनाको महामारी र प्राकृतिक विपत्तिको समयमा अझबढी महत्व छ । सामान्य समयको भन्दा यस्तो समयको सूचना बढी संवेदनशील हुन्छ । यस्तो बेलाको हरेक सूचनाले हरेक मानिसको जीवन बोकेको हुन्छ ।

अहिले संसारका मानिसले कोरोनाबारेको मात्र सूचना खोजिरहेको छ, त्यही सूचनाभित्र उसले आफ्नो जीवन खोजिरहेको छ । अहिले संसारका व्यावसायिक अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्ने हो भने मानिसले यतिबेला खोजिरहेको सूचना भनेको कारोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने नै हो । त्यसैले त प्रत्येक देशका सञ्चारमाध्यमले पनि यो बाहेकका अरु समाचारलाई प्राथमिकतामा राखेका छैनन् । यही सूचना सम्प्रेषणको प्रवृत्ति नेपालमा पनि देखिन्छ ।

सञ्चारका जानकारहरु अहिलेको प्राणघातक भाइरसलाई परास्त गर्न विश्वभर सूचनाको व्यापकता र आदानप्रदानको आवश्यकता देखाउँछन् । हामी यतिखेर सूचना बाहेकको अर्काे कुनै शक्तिले लड्दैछैनौँ । कोरोना नामको यो अदृश्य सत्रु विरुद्ध लड्न अहिलेको विश्वको शक्ति (धन दौलत, हतियार, आणविक शस्त्रास्त्र) आदि केहीले सकेको छैन । मात्र बच्ने सूचना चाहिएको छ ।

यसरी अहिलेको महामारीका विरुद्ध लड्न उपलब्ध सहज र सजिलो स्रोत र सुविधा नै सूचना हो । कहाँबाट के नयाँ कुराको आविष्कार भयो र त्यो अदृश्य सत्रुलाई कसरी परास्त गर्न सकिन्छ, निस्तेज पार्न सकिन्छ भन्ने सूचनाकै खोजीमा पर्खिएको छ अहिलेको विश्व ।

अनि हामी सञ्चारकर्मीहरुले महामारीका विरुद्ध मानवलाई सुविस्ता हुने सूचना सम्पे्रषण गर्न सकेका छौँ कि हाम्रा सन्देशको प्रस्तुतिले उल्टै भाइरस सक्रिय हुनेगरी मलजल पुगेको छ भनेर हेर्नुपर्ने भएको छ ।

हाम्रा सूचना सम्प्रेषणले महामारीको नियन्त्रणात्मक र निदानात्मक विधिहरुलाई कत्तिको सघाएका छन् भनेर पनि हेर्नुपर्ने अवस्था छ । किनभने माथि हरारीले भनेजस्तै हामीले अहिले यो सङ्कटका बेलामा बसालेको थिति नै भोलिको पुस्तालाई सम्भावित यस्तै महामारीका विरुद्ध लड्ने अस्त्रका रुपमा हामी छोडेर जाँदैछौँ । त्यसैले हामीले अहिले गलत सिकायौँ भने त्यसले भोलिको पुस्ताले हामीलेभन्दा झन्बढी दुःख पाउला भनेर अहिल्यै सोचौँ ।

केही वर्षअघि इन्डोनेसियामा गएको सुनामीपछि एसियाली देशका समुद्री तटीय क्षेत्रमा सुनामी आउने खतराको भविश्यवाणी त्यहाँका मौसम विज्ञहरुले गरेपछि त्यहाँबस्ने भारतको मुम्बईका एकजना मछुवाका छोराले फोनमा आफ्नो बुबालाई खबर गरे ।

त्यसपछि उनका बुबा र त्यहाँ रहेका सयौँ मछुवा समयमै सुरक्षित स्थानमा पुग्न सके र ज्यान बाँच्यो । त्यसैकारण पनि हाल कुनै सामुद्रिक देशमा भूकम्प गयोभने त्यसपछि सुनामीको खतरा छ कि छैन भनेर समाचार दिने गरिएको छ । यसले मानिसलाई सामुद्रिक तटबाट बच्न सजिलो भएको छ । यसरी प्राकृतिक विपत्ति र महामारीका समयमा दिइएका सूचनाले हजारौँ, लाखौँ मानिसको ज्यान बचेका उदाहरणहरु खोजीपसे संसारमा धेरै भेटिन्छन् ।

कोरोनाको सूचना र नेपाल

हामीले प्राकृतिक विपत्तिको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गर्ने अनुभव हासिल गरेका छौँ । हामी आफै संलग्न भएको र प्रत्यक्षदर्शी रहेको यसको एक उत्तम उदाहरण विसं २०७२ को भूकम्प हो ।

त्यससमय नेपाल सरकारसँग प्रेस साथैमा थियो देशवासीलाई समाचारका माध्यमबाट सान्त्वना दिन । र कतिपय समयमा प्रेसले सरकारलाई डोराएको, बाटो देखाएको र कुनैबेला पहरेदारीको भूमिकामा थियो ।

नागरिकले कता धेरै उद्वार र राहात पाए, कता थोरै पाए या पाएनन् भन्ने विषयमा प्रेसले सरकारका कामलाई चनाखो भएर पछ्याएको थियो । त्यस्तै क्षति तथा जोखिम कम गरी नागरिकको ज्यान बचाउन के गर्न सकिन्छ भन्ने बारेका सूचना खोजी खोजी प्रेसले नागरिकलाई पस्किएको थियो । त्यसबाट नागरिक बढी लाभान्वित भएका र सञ्चारमाध्यमलाई पछ्याएका पनि थिए ।

अहिले पनि हामी महामारीमा छौँ । त्यो प्राकृतिक प्रकोप र यो महामारीको सूचना उत्तिकै महत्वपूर्ण, जिम्मेवार र संवेदनशील हुन्छ । बढी महत्वको भएकैले त्यतिखेर र अहिले पनि नागरिकले बढी यही सूचना खोजेका थिए, छन् ।

अझ बढी यस्तो बेलामा सूचना सम्प्रेषण गर्ने जिम्मेवारी सरकारकै हुन्छ । उसले आफ्ना सञ्चारमाध्यमहरुको प्रयोग गरेर नागरिकलाई यस विषयका सूचना र शिक्षा दिनुपर्ने दायित्व हुन्छ । अनि निजी क्षेत्रका सञ्चारबाट सरकारले सूचना लिन सक्दछ । यसरी इमान्दारीपूर्पक र सही सूचना लिदा र दिँदा त्यसको परिणाम पनि सकारात्मक र रचनात्मक नै निस्किन्छ ।

तर कतिपय अवस्थामा सम्प्रेषण भएका सूचनाले नागरिकलाई झन भयभित गराएको पनि ुहुनसक्छ । हाम्रा पटक पटकका ‘कोरोनाका आशंकित यति जना उतिजना व्यक्तिलाई टेकू अस्पताल रिफर’ भनेर दिनदिनै र छिनछिनमै दिइरहेका छौँ । ती विरामीको लक्षण सामान्य रुघाखोकी र ज्वरो आएको हुनसक्छ तर उनीहरुलाई हामी कोरोनाका आशंकित नै बनाइदिएका छौँ ।

अनि सर्वसाधारणले त्यो आशङ्कितलाई त्यसैको सङ्क्रमित नै बुझिबसेको छ । यसरी हेर्दा त उसको गणनामा धेरै मानिस यो सङ्क्रमणका आइसके । त्यसो त यो कोरोना भन्ने भाइरस नै नआएको भए पनि यतिबेला नेपालमा मौसम परिवर्तनको समय हो र सामान्य रुघाखोकी र भाइरल ज्वरोका विरामी हुने गर्दथे । जाडो सकिएर गर्मी सुरु हुने यस मौसममा गत वर्ष र त्यसभन्दा अघि पनि यहाँ यसका धेरै विरामी हुन्थे । त्यसैले यसैलाई आशंकित भनेर नदिउँ ।

अर्काे कुरा कोरोना लाग्यो कि माानिस गाइहाल्छ, बाँच्दैन भन्नेजस्ता समाचार देखापर्दछन् । हुनत कुनै पनि रोगलाई कमजोर आँकलन गर्नु हुदैन । तर पनि कोरोनाको सङ्क्रमण भएका मानिसको मृत्यु दर पनि त निकै नगण्य छ । यो आलेख तयार पार्दा सम्म ४ लाख ७१ हजार मानिस सङ्क्रमित भएकोमा १ लाख १५ हजार भन्दा बढी मानिस त निको भएर घर फर्र्किएका छन् । त्यस्तै अमेरिका जस्तो, युरोपजस्ता देशहरुमा त रोग नियन्त्रण गर्न नसकेर त्यो हालत छ भने हाम्रोमा आयो भने झन् कस्तो होला भन्नेजस्ता त्रास पनि फैलाउने गरिएका समाचार छ्याप्छ्याप्ती भेटिन्छन् ।

हामीले अनलाइनहरुमा या सामाजिक सञ्जालहरुमा जानी नजानी फलाना देशमा उपचारका क्रममा सङ्क्रमित भएर यति, उति जना चिकित्सक मरे भनेर दिएका छौँ । यसले हाम्रो देशमा पनि यो भाइरसको महायुद्धसँग लड्न तयार रहेर बसेका चिकित्सकहरुलाई निराश तुल्याउन सक्छ । फेरि यो आलेखको आसय यस्तो सूचनाबाट नेपालका चिकित्सक वञ्चित हुनुपर्छ भनेर उहाँहरुको अधिकारमाथि धावा बोल्ने चेष्टा पटक्कै होइन । यस्ता समाचारहरुले हाम्रा चिकित्सकलाई नभएर उनका परिवार, साथीभाइहरुलाई पो विचलित बनाइदिन्छ कि भनेर पनि सोचौँ ।

कसै कसैले यो महामारीको आडमा धमिलो पानीमा माछा मार्न खोजेजस्तो देखिए पनि मलुकको प्रेस सरकार र नागरिकको साथमै रहेको अनुभव छ हाल महामारीको ठूलो प्रकोपमा परेको अमेरिकी शहर न्युयोर्कमा बसेर पत्रकारिता गरिरहेका चुडामणि भट्टराईको ।

उहाँको सुझाव छ– नागरिक त अमेरिकामा पनि त्रसित नै छन् र यहाँका मिडियाले सान्त्वता दिएको देखिन्छ, नेपाली मिडियाले पनि सरकारलाई पहरेदारी र नागरिकलाई सान्त्वना साथसाथमै दिएको जस्तै म देख्दछु । उहाँले महामारीको सूचना अरु सामान्य अवस्थाको जस्तो नभएर बडो संवेदनशील हुने भएकोले सञ्चारकर्मीले सोँचबिचार पुर्याउनुपर्ने बताउनुभयो ।

डिसी नेपाल अनलाइन पोर्टलको ग्लोबल एडिटर भट्टराईले नेपाली नागरिकलाई सान्त्वना दिन नै होला नेपालीहरुको बसोबास रहेका १५ देशबाट कारोनाको अवस्थाबारे प्रत्यक्ष प्रशारणको व्यवस्था गरिरहनुभएको छ । यस्तो बेलामा आफन्तहरुमा परेको पीरमर्का कम गर्न त्यहीँ बसोबास गरिरहेका नेपाली समाचारदातामार्फत लाइभ गर्ने गरिएको छ । उनीहरुले त्यहाँको अवस्थाका अतिरिक्त त्यहाँ रहेका नेपालीको अवस्थाबारे पनि जानकारी दिने गर्दछन्, जुन आवश्यक र सान्दर्भिक छ ।

वरिष्ठ पत्रकार धु्रवहरि अधिकारी अड्कलबाजी र निराधार हल्लालाई समाचारको आवरणमा प्रस्तुत गर्दा समाजमा भ्रम फैलिन गई अनाहकमा जनधनको नोक्सानी हुनजाने भएकोले सूचना सम्प्रेषणमा सजगता अपनाउन सुझाउनुहुन्छ । आफ्नो फेसबुक वालमा उहाँ लेख्नुहुन्छ “भनिन्छ, सूचना प्रविधिको यस जमानामा जन चासोका हरेक सूचना बन्दुक सरहको धारिलो हतियार सरह हो । तर के यस्ता ‘बन्दुक’ तालीमप्राप्त हातमा मात्र छन् त आजको नेपालमा ? किमार्थ छैनन् ।” उहाँ सूचना सङ्कलन, सम्पादन/प्रशोधन र वितरणको काम तालीमप्राप्त सञ्चारकर्मीहरुले मात्र गर्ने हो भन्नुहुन्छ ।

चितवनको कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका एक युवाको निधनको समाचारले समाजमा भ्रम छरेको भन्दै अधिकारीले चासो व्यक्त गर्नुभएको हो । पुष्टि नभएको सूचनाको आधारमा चितवनमा एक युवाको ज्यान कोरोनाले लियो भनेर प्रवाह गरिएको समाचारले जनस्तरमा भय चर्र्काएको उहाँ उल्लेख गर्नुहुन्छ । तर सोही समाचारको सानो आकारको उपशीर्षकमा ‘कोरोना पुष्टि हुन बाँकी छ’ पनि भनिएको थियो । यसै विषयलाई वरिष्ठ पत्रकार अधिकारी लेख्नुहुन्छ– “यो समाचारले प्रश्न उठाउँछ कि पुष्टि नहुँदैको अवस्थाको सूचनालाई समाचारको रुप दिने बाध्यता के थियो ?”

यतिखेर फलानो अस्पतालमा आइसोलेसनमा रहेका विरामीको मृत्यु भयो भन्ने शीर्षकमा अनलाइनहरुमा समाचार आउन थालेका छन् । जबकि अस्पतालले आइसोलेसन कोरोना लागेको कारणले नभई सामान्य रुघाखोकीमा पनि राखेको छ । अनि अरु नै कारणले ज्वरो आएका व्यक्तिलाई पनि अस्पतालले एक्लो कोठामा राखिरहेको छ । उसको अरु नै कारणले निधन हुदा पनि समाचरमा भने आइसोलेसनमा रहेका व्यक्तिको निधन भनेर दिने गरिएको छ । त्यसो गर्दा नागरिकमा त्रास पैदा हुने हेक्का सञ्चारकर्मीले राख्नुपर्छ ।

सरकारले आफूले दिने सूचनाको प्रवाह गर्ने प्रणालीलाई सहज र एकीकृत बनाइदिन सके सञ्चारकर्मीलाई र त्यसले समग्र नेपाली नागरिकलाई सजिलो हुनेछ । यसका लागि मन्त्रीले पत्रकार सम्मेलन नै गर्नुपर्छ भन्ने छैन । एक अलग्गै वेभसाइट खोल्ने गर्ने र छिनछिनमा कोरोनासम्बन्धी सूचना अध्यावधिक गरेर त्यसैमा राखिदिने गर्न सकिन्छ । यस्तो बेलामा देशबासी सबैलाई इन्टरनेट सेवा पहूँचयोग्य बनाइदिए सबैलाई सुसूचिन हुन सजिलो पर्नेछ । जस्तो कि अमेरिकामा लगभग मिनेट मिनेटमै सिडीसी (सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन्) को वेभसाइट अध्यावधिक हुने गरेको छ । यस महामारीसम्बन्धी सबै सूचना सबैले त्यसैबाट हेर्छन्, मिडियाले पनि त्यहीँबाटै लिन्छन् ।

यो वेभसाइटमा कारोनाको बारेमा जानकारी र सूचनामूलक निर्देशिका पनि राखिएको छ । त्यस्तै अरु कुनै पनि सरकारी या गैरसरकारी निकायले पनि कोरोनासम्बन्धी जानकारी राख्नुपर्यो भने सोही वेभसाइटबाट लिन्छन् र आ–आफ्ना साइटहरुमा राख्ने गर्दछन् । अनि त्यो सूचनाको तलपट्टि सिडीसी निर्देशिकामा आधारित भनेर लेख्ने गर्दछन् । समय समयमा राष्ट्रपतिले पनि पत्रकार सम्मेलन गर्ने गर्नुहुन्छ ह्वाइटहाउसमै । तर त्यो पत्रकार सम्मेलन उपस्थितहरुबीच दुरी कायम गरेर र ‘इन्फेक्सन’ नहुनेगरी तोकिएको स्थानमा गर्ने गरिएको छ ।

यस्तो बेलामा हामी सञ्चारमाध्यमहरुले यस महामारीबाट तुलनात्मक रुपमा बच्न अथवा नियन्त्रण गर्न सकेका देशहरुका सफलताका उदाहरणहरु पनि दिन सकिन्छ । दक्षिण कोरिया, सिंगापुर, ताइवान, जापानजस्ता देशहरुले कसरी त्यहाँको अवस्थालाई नियन्त्रणमा लिन सकेका छन् भन्ने उदाहरणहरुले हामीलाई पनि लड्न सजिलो बनाउनेछ । जस्तो कि चार दिन अघि सिएनएन टिभीले इटालीका नागरिकहरुले भाइरस प्रवेश गरेपछि पनि त्यसको बेवास्ता गर्दै पछिसम्म नै भोजहरु गर्ने, होटल रेष्टुरेन्टहरुमा जम्मा भएर खाने, समारोहहरु मनाउनेजस्ता कामलाई निरन्तरता दिइ नै रहेका कारण यस्तो विकराल रुप लिएको भनी समाचार दिएको थियो ।

यस्तो बेलामा संसारको एउटा कुनाको चिकित्सक, स्वास्थ्य अधिकारी या देशले अख्तियार गरेको विधि र रणनीतिको सार्वजनिकीकरणलाई अर्काे कुनाको यस्तै योद्धाले अनुशरण गर्न सक्छ, सर्वसाधारण नागरिकलाई पनि यसले सिक्न मद्दत पुर्याउँछ । यसमा उसले अझै आफ्नो दिमाग र सीप मिसाउन सक्यो भने यो अदृश्य शक्तिका विरुद्धको लडाईँमा अझै परिस्कृत प्रगति हासिल गर्न सघाउँछ । यसरी गरिने सूचना सम्प्रेषण र आदान प्रदानले नागरिकमा सचेतना त ल्याउँछ र राज्य प्रणालीलाई पनि आफ्नो रणनीतिक सफलतामा सघाउँछ ।

विसं २०७२ पहिले भूकम्पमा कामगर्ने गैरसरकारी संस्थाहरुले नेपालमा ७ रेक्टरको मात्र भूकम्प आयो भने पनि सखापै हुन्छ, लाखौँ मानिस मर्छन्, लाखौँ घर भत्किन्छन् भन्थे । पछि त्यो भन्दा ठूलो भूकम्प आयो तर तिनले भनेजति क्षति भएन । अनि तिनैले भन्दै हिँडे कि– त्यत्रो ठूलो भूकम्प आउँदा पनि किन यति थोरै क्षति भयो ? त्यसैले कारोनाको क्षतिको बारेमा पनि अहिले नै अस्वाभाविक अनुमान बन्द गरौँ । यसले घरभित्रै थुनिएर एकान्तबासमा बसेका नागरिकलाई थप एकांकी एवं एकोहोरो बनाउने खतरा बढाउँछ । त्यो भन्दा बढी क्षति कमगर्ने समाचार दिउँ, जसले सरकार र स्वास्थ्य अधिकारीलाई रचनात्मक सहयोग पुर्याउन सक्छ । नआत्तिउँ, यसको क्षति हामी डराएभन्दा धेरै नै थोरै होस् । बरु भोलिको पुस्ताका लागि पनि सम्भाव्य महामारीको नियन्त्रणका लागि ‘समाधानको सुत्र’ दिन सकौँ । रासस


भर्खर

0