पीडितसम्म पुग्दैन सरकारी अभियान, वर्षेनी बढ्दैछन् महिला हिंसाका घटना | Khabarhub Khabarhub

पीडितसम्म पुग्दैन सरकारी अभियान, वर्षेनी बढ्दैछन् महिला हिंसाका घटना

आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु



काठमाडौँ– आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आजकै दिनबाट डिसेम्बर ९ सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । २०५४ सालदेखि यो अभियान निरन्तर चलिरहेको छ ।

लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्धेश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

तर यस वर्ष कोरोना भाइरसका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भएकाले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तयारी भइरहेको मन्त्रालय अन्तर्गतको लैङ्गिक हिंसा निवारण शाखाकी उप—सचिव रोशनी देबी कार्कीले खबरहबलाई जानकारी दिइन् ।

‘१६ दिने अभियानका लागि तीनै तहका सरकारलाई पत्र पठाइसकेका छौँ । त्यस्तै विभिन्न निकायहरुसँग समन्वय गरेका छौँ । जसमा सिर्जनात्मक, रचनात्मक र सन्देशमुलक कार्यक्रमहरु प्रकाशन, प्रसारण हुनेछन्’ उनले भनिन्, ‘तर यस वर्ष यी सबै कार्यक्रमहरु भर्चुअल माध्यमबाट नै गरिनेछन् ।’

१६ दिने कार्यक्रम

संघ, प्रदेश र स्थानीय सरकारलाई स्वास्थ्य सतर्कता अपनाई लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउन पत्राचार गरेको उनले बताइन् । गैरसकारी संघ/संस्था, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिहरुलाई सिर्जनात्कमक, सचेतनामुलक र सन्देशमुलक कार्यक्रम गरी मनाउन अनुरोध गरिएको छ ।

त्यसो त विगतका वर्षहरुमा १६ दिने अभियानमा केन्द्र, प्रदेश र स्थानीय तहका समुदाय स्तरमा नै यी कार्यक्रमहरु पुग्ने गर्थे । तर यस वर्ष भर्चुअलबाट गरिने हुँदा प्रभावकारी बन्ला त ?

कार्की भन्छिन्, ‘कोभिडले गर्दा भर्चुअल नै गर्नुपर्ने स्थिति सिर्जना भयो । विगतका वर्षहरुमा जस्तै कार्यक्रम गर्ने तयारीमा छौँ, केही संघ संस्थाहरुले अभियान सम्बन्धी विशेष कार्यक्रम गर्दै विभिन्न विद्यालयमा दुरी कायम गर्दै कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा छन् त्यसकारण यस वर्षको अभियान पनि प्रभावकारी बन्नेछ ।’

उनकाअनुसार भर्चअुल छलफलमा विभिन्न महासंघ, जिल्ला सम्वन्य समिति, गाउँ-पालिका, नगरपालिका, ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय प्रमुखहरु जोडिनेछन् ।

यसबीचमा डिसेम्बर ८ लाई मर्यादित महिनावारीको व्यवस्थापन सम्बन्धि कार्यक्रम गरी राष्ट्रिय स्तरका रुपमा मनाउन पहल भइरहेको पनि उनले बताइन् ।

नोभेम्बर २५ अर्थात् मंसिर १० गतेका दिन नेपाल टेलिकमको मोवाइल प्रयोगकर्ताहरुमा राष्ट्रिय नारा एसमएसमार्फत प्रेसित गराउनका सुचना तथा प्रविधि मन्त्रालयसँग समन्वय गरिएको छ ।

बढ्दै महिला हिंसा

सरकारले महिला हिंसाका घटना कम गर्न हरेक वर्ष यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ । तर हिंसाका घटना भने वर्षेनी बढ्दै गइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ ।

गत आर्थिक वर्षमा १५ हजारभन्दा बढी महिला हिंसाका घटना घटेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौं, असोज) मा मात्र १ हजार ९ सय घटना भएको रिपोर्ट प्राप्त भएको छ ।

जसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । तीन महिनामा १ हजार ३ सय ४२ वटा घटना घटेका छन् ।

जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, दाइजोप्रथा, बालविवाह, बहुबिवाह, जातीय छुवाछुत, बोक्सी आरोप, अवैध गर्भपतन, बालयौन दूराचार, अप्राकृतिक मैथुनलगायतका घटनाहरु भएका छन् ।

लैङ्गिक हिंसाको अन्त्य गर्न सरकारले गरेको पहलले वास्तविक पीडित महिलालाई कुनै राहत मिलेको छैन ।

परिवर्त हुँदैछ : अधिकारकर्मी

समाजमा पितृसतात्मक सोच अझैं हट्न नसकेको बताउछन् महिलाका क्षेत्रमा काम गर्ने अधिकारकर्मी ।

भेदभावजन्य कुरुती, समाजको संरचनालगायतले हिंसाका घटनामा थप बल पुग्ने गरेको बताउँछिन् महिला अधिकारकर्मी कला राई ।

यद्यपी सदियौंदेखि भइरहेको व्यवहारलाई यस्तै विभिन्न अभियानले हटाउँदै लैजाने उनको विश्वास छ ।

व्यक्तिगत सोचमा परिवर्तन आएपछि मात्र महिला माथि हुने हिंसाका घटना कम हुने उनको भनाइ छ ।

‘हजुरआमा, आमाको समय र अहिले समयमा केही परिवर्तन आएको छ’ उनले भनिन्, ‘परिवर्तन एकै पटक हुँदैन केही कुरामा परिवर्तन भइरहेको छ । हामी आशावादी भएर काम गरौँ, चाँडै अन्त्य गर्न सक्छौँ ।’

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले पनि सचेतना जगाउन सहयोग पुर्याएको बताउँछिन् उनी । भन्छिन्, ‘अभियानले महिलाहरुलाई सजक हुन केही सघाउ पुर्याएको छ । जस्तो कि आफुलाई हिंसा परेको महशुस गर्न र हिंसा सहेर बस्नु हुदैंन । आवाज उठाउनुपर्छ भन्ने सोचको विकास भएको छ ।

स्वास्थ्य मापदण्डअनुसार जहाँ जसरी हुन्छ त्यसरी नै अभियान चलाउन सके हिंसाका घटना कम गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ३६ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आइपिएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४