इटलीमा यसरी बढी फैलियो कोरोना संक्रमण | Khabarhub Khabarhub

इटलीमा यसरी बढी फैलियो कोरोना संक्रमण



दुई साताअघि विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीको केन्द्रविन्दु चीनबाट युरोप सरेको भन्यो । युरोपमा यतिबेला कोरोना भाइरसको सबैभन्दा नराम्रो असर परेको छ ।

युरोपमा पनि सबैभन्दा धेरै इटली प्रभावित छ । इटलीमा हालसम्म कोरोना भाइरसका कारण ६ हजार ८२० जनाको मृत्यु भइसकेको भने ६९१७६ जना संक्रमित छन् ।

इटलीमा त्यस्तो के भयो जसकारण कोरोना भाइरसको असर सबैभन्दा धेरै भयो ?

इटलीमा शुरुमा गत जनवरी २९ मा पहिलो पटक दुई जना संक्रमित फेला परेका थिए । उनीहरु दुबै जना चिनियाँ पर्यटक थिए । इटलीमा कोरोना भाइरसको पुष्टि भएको भोलिपल्टै अर्थात् ३० जनवरीमा त्यहाँका प्रधानमन्त्री जुजिपे कोन्टेले ६ महिने संकटकाल घोषणा गरे, चीनसँगका सम्पूर्ण हवाई सम्बन्ध पनि विच्छेद गर्ने घोषणा गरे । इटली नै चीनसँग हवाई सम्बन्ध विच्छेद गर्ने पहिलो मुलुक बन्यो ।

वैज्ञानिकहरु भने इटलीमा जनवरी महिनाको शुरुमै कोरोना भाइरस भित्रिसकेको अनुमान गर्छन् । बर्न विश्वविद्यालयका कम्प्युटेसनल इपिडिमियोलोजिस्ट क्रिस्चियन अल्थस यिनै मध्येका एक हुन् । उनको अनुमानमा कोरोना भाइरस इटलीमा जनवरी महिनाको शुरुमै भित्रिसकेको हुनुपर्छ ।

अल्थसका अनुसार कोरोना भाइरसबाट संक्रमित सबैमा गम्भीर लक्षण नदेखिने भएकाले पनि इटलीले कोरोना भाइरसका संक्रमित पत्ता लगाउन निकै समय लगायो । उनको भनाइमा शुरुका संक्रमितहरुलाई वास्तै गरिएन र पछि यसले इटलीलाई नराम्रो असर पार्न पुग्यो ।

इटलीमा कोरोना भाइरसको प्रकोप देखिनु एक महिनाअघि नै त्यहाँ निमोनियाका बिरामीको चाप बढेको इटलीका सञ्चारमाध्यमले जनाएका छन् । गिम्बे फाउण्डेसनका प्रमुख एवं शोधकर्ता निनो कार्ताबेलोत्ताका अनुसार त्यसबेला नै निमोनिया भएका मानिसहरुमा कोरोना भाइरसको परीक्षण गरिनुपथ्र्यो ।

फेब्रुअरी १८ का दिन उत्तरी इटलीको कोन्डोग्नो शहरका ३८ वर्षे एक व्यक्तिलाई एक्कासी ज्वरो आउने र सुख्खा खोकी लाग्ने लक्षण देखिन थाल्यो । उनी अस्पताल गए । अस्पतालले परीक्षण नगरी घर फर्काइदियो । उनको स्वास्थ्य सामान्य बन्न सकेन ।

उनी फेरि अस्पताल गएर परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखियो । इटलीका बासिन्दामा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलो घटना थियो । त्यस बेलासम्म इटलीमा ४ जना विदेशीमा मात्र कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

२३ फेब्रुअरीसम्ममा कोरोना भाइरस संक्रमणले दुई जनाको मृत्यु भइसकेको थियो, नयाँ नयाँ संक्रमितहरु देखिन थालेका थिए । २३ फेब्रुअरीका दिन अधिकारीहरुले लोम्बार्डी क्षेत्रको कोन्डोग्नो लगायत आसपासका शहरहरु लकडाउन गर्ने घोषणा गरे । नजिकैको विशाल शहर मिलानमा पनि कठोर कदमहरु चालिए । कफ्र्यू जारी गरियो र विद्यालयहरु बन्द गरिए ।

तैपनि इटलीमा कोरोना भाइरसको प्रकोप काबुमा आएन ।

इटलीले के गर्नु पथ्र्यो त ? यसको जवाफमा मिलान विश्वविद्यालयको डिआईबीआईसी लुइजी साको अन्तर्गत संक्रमक रोगका प्राध्यापक स्टेफानो रुस्कोनी भन्छन्, ‘भाइरस प्रवेश गर्नै नदिन इटलीले केही गर्न सक्दैन थियो, जनवरीमा नै लकडाउन गरेको भए केही हुन सक्थ्यो तर, त्यसबेला लक डाउनको विकल्प उति सान्दर्भिक पनि थिएन ।’

रुस्कोनीको भनाइमा इटलीले चीनसँग हवाई सम्बन्ध विच्छेद गरे पनि यसको कुनै प्रभाव परेन । उनी भन्छन्, ‘नयाँ शोधहरुले इटलीमा जर्मनीबाट कोरोना भाइरस आएको हुनसक्ने संकेत गरेका छन् ।’

कोरोना भाइरस नियन्त्रणका लागि चालिएका कदमबाट इटलीको समस्याग्रस्त अर्थतन्त्रमा नराम्रो असर परको छ । पर्यटकहरु आउन छाडे । मिलानको शेयर बजारले फेब्रुअरी २१ देखि २३ सम्म ६.८ प्रतिशत गुमायो । मानिसहरु आत्तिएर खानेकुरा जम्मा गर्न सुपरमार्केटमा पुगे ।

यसपछि भने त्यहाँका राजनीतिज्ञमा ठूलो चुनौती आइलाग्यो । सार्वजनिक स्वास्थ्यलाई ख्याल गर्ने कि समस्याग्रस्त अर्थतन्त्र जोगाउनतर्फ लाग्ने ? राजनीतिक नेताहरुले दुबैलाई सँगसँगै लैजान चाहे ।

दक्षिणपन्थी पार्टीका तर्फबाट लोम्बार्डीका गभर्नर अटिलियो फोन्टानाले २५ फेब्रुअरीका दिन क्षेत्रीय संसद्मै भनिदिए– कोरोना भाइरस सामान्य फ्लूभन्दा थोरै मात्र खतरनाक हो ।’

त्यसको भोलिपल्ट लोम्बार्डीले बार, रेष्टुरेन्ट र अरु व्यवसायमा लागेका केही बन्देजहरु फुकुवा गर्‍यो ।

मध्य बामपन्थी पार्टीका नेता निकोला जिन्गारेटीले मिलानमा आयोजित एउटा कार्यक्रममा भने– यतिबेला मुलुक चनाखो हुनुपर्ने भए पनि हामीले जीवन बर्बाद गर्ने र अरुलाई अत्याउने काम गर्नुहुँदैन ।

मिलान शहरका मेयर जुजिपे सालाले ‘मिलान रोकिनेछैन’ भन्ने अभियान नै चलाएर मिलानका बासिन्दाहरुलाई नडराउन भने ।

त्यसपछि कोरोना भाइरसले राजनीतिक दलका नेताहरुलाई पनि सताउन थाल्यो । लोम्बाडीले बार, रेष्टुरेन्ट र अरु व्यवसायमा लगाएको बन्देज फुकुवा गरेको केही घण्टालगत्तै फोन्टाना मातहत काम गर्ने एकजनालाई कोरोना भाइरस पोजेटिभ देखियो । उनी आइसोलेसनमा बसे । केही दिनपछि, ७ मार्चमा जिन्गारेटीले आफूलाई पनि कोरोना भाइरस लागेको सार्वजनिक गरे ।

त्यसपछि इटलीले एकपछि अर्को कठोर निर्णयहरु लिन थाल्यो । मार्च १ मा इटलीका उत्तरी क्षेत्रमा मानिसहरु भेला हुन र सामाजिक गतिविधि गर्न प्रतिबन्ध लगाइयो । त्यसको तीन दिनपछि मुलुकभरका विद्यालय र विश्वविद्यालय बन्द गरिए ।

मार्च महिनाको शुरुमै लोम्बाडी क्षेत्रका अस्पतालमा बिरामीहरु थाम्नै नसक्नेगरी ओइरन थाले । यस्तो अवस्था यसअघि नदेखेका डाक्टरहरुले बिरामीको सुनामी नै आएको बताए । केही डाक्टरहरुले प्रतिदिन १४ घण्टाका दरले लगातार काम गर्नुपर्ने अवस्था आइलाग्यो । केही चिकित्सक र स्वाथ्यकर्मीहरु आफैं कोरोना भाइरसका संक्रमित हुनपुगे ।

कुनै अस्पतालले दिनमा निमोनियाका दुई–तीन जना बिमारीको उपचार गर्थे । कोरोना भाइरसको प्रकोप उत्कर्षमा पुगेका बेला दैनिक ४० जनासम्म निमोनियाका बिरामीको उपचार गर्नुपर्ने भयो । यस्तो अवस्थामा इटलीको स्वास्थ्य सेवामा ठूलो दबाब आइलाग्यो ।

बोकोनी विश्वविद्यालय अन्तर्गत सेन्टर फर रिसर्च अन हेल्थ एण्ड सोसल केयर म्यानेजमेन्टका निर्देशक फ्रान्सेस्को लोङ्गोका अनुसार स्वास्थ्य सेवामा बजेट अभाव भएका कारण पनि अवस्था अझ खराब भयो ।

लकडाउन

लकडाउन कठोर नभएका कारण इटलीका सडकमा मानिसहरु हिँडिरहे । स्की रिसोर्टहरुमा मानिसहरुको भीड देख्न सकिन्छ । मानिसहरु खुलमखुला सांस्कृतिक समारोहमा गइरहेका छन्, रक्सी पिइरहेका छन् । ‘उनीहरुलाई आफू टाइटेनिकमा छु जस्तो लागिरहेको हुनपर्छ त्यसैले उनीहरु पानीजहाज डुब्दै गर्दा नाचिरहेका छन्,’ रुस्कोनी भन्छन् ।

इटलीमा कोरोना भाइरसको सबैभन्दा खराब असर पर्नुमा त्यहाँको औसत उमेर पनि कारक रहेको हुनसक्छ । इटलीमा २२.६ प्रतिशत जनसंख्या ६५ वर्ष माथिको छ । युरोपेली युनियन ईयूमा यो औसत उमेर सबैभन्दा धेरै हो । बुढाबुढीहरुलाई अरु नै रोग लागेर थलिने सम्भावना हुन्छ । कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई सबैभन्दा बढी असर पुर्‍याउँछ ।

गत फेब्रुअरी २७ मा इटलीले कोरोना भाइरसको लक्षण देखिएकाहरुको मात्र स्वास्थ्य परीक्षण गर्ने घोषणा गर्‍यो । लक्षण नदेखिएका संक्रमितको परीक्षण नै नहुने भएपछि उनीहरुबाट थप जोखिम उत्पन्न भयो ।

इटलीमा बाहिर जे देखिए पनि भित्रभित्रै कोरोना भाइरसको ठूलो प्रकोप देखिएको छ । यसको अर्थ इटलीमा ६९१७६ मात्र धेरै नै बढी संक्रमितहरु हुन सक्छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : ३९ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने