डा सुन्दरमणि दीक्षितः ७८ वर्षको उमेरमा पनि बिरामीको सेवामा उत्तिकै सक्रिय « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

डा सुन्दरमणि दीक्षितः ७८ वर्षको उमेरमा पनि बिरामीको सेवामा उत्तिकै सक्रिय



डा सुन्दरमणि दीक्षित ७८ वर्षका भए । चिकित्सा क्षेत्रमा लामो सयमदेखि सक्रिय डा दीक्षितले राजपरिवारका सदस्यदेखि सामान्य नागरिकसम्मको उपचारमा आफ्नो जीवनलाई सक्रिय बनाए । उमेर ८० वर्षको हाराहारी पुग्दा पनि उनको सक्रियता घटेको छैन ।

डा दीक्षित अहिले पनि अस्पतालमा पुग्छन् र बिरामीको उपचार गर्छन् । उनले घरमै पनि बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श दिँदै आएका छन् ।

डा दीक्षित विहान २ बजे नै उठ्छन् । उनी हरेक विहान नुहाउँछन् पूजापाठ गर्छन् र त्यसपछि चिया र विस्कुट खान्छन् । चिया विस्कुट खाएर उनी सातामा तीनदिन वाकिङ गर्न बाहिर निस्किन्छन् भने बाँकी ४ दिन घरमै व्यायाम गर्छन् ।

वाकिङ गएको समयमा घर फर्किएर नुहाउँछन् र घरमै व्यायाम गरेको दिन केही समय अध्ययनमा लाग्छन् ।

बी एण्ड बी अस्पतालमा ड्युटी रहेको दिन अस्पताल जान्छन् र ड्युटी नभएको दिन उनी घरमै रहेको उपचार कक्षमा बस्छन् ।

डा दीक्षित यो उमेरमा पनि सक्रिय रहनुको ‘राज’ आफ्नो व्यवस्थित दैनिकीलाई मान्छन् । उनी सुत्ने र उठ्ने समयको तालिकामा चल्छन् ।
चिया, खाना, खाना खाने समय र मात्रालाई खुवै ख्याल गर्छन् । उनी बेलुका ८ बजे प्राय ओछ्यानमा पुगिसक्छन् ।

‘बिहानको सवा नौ बजे खाना खाएर एकछिन आराम गर्छु र पौने १० बजे क्लिीनिकमा जान्छु,’ डा दीक्षितले खबरहबसँग भने, ‘पौने ४ बजे चिया खान्छु र आरती गर्न जान्छु । बेलुका डिनर पछि टिभीमा समाचारहरु हेर्ने र आध्यात्मिक पुस्तकहरु पढ्दै निदाउँछु ।’

डाक्टर बनेपछि दीक्षितले वीर अस्पतालमा रहेर करिब २५ वर्षसम्म नि: शुल्क रुपमा बिरामीका सेवा गरे । डा दीक्षितले तत्कालीन राजपरिवारका सदस्य बिरामी पर्दा उनीहरुका निजी चिकित्सकको रुपमा काम गरेका थुप्रै अनुभवहरु छन् ।

डा दीक्षित १९९८ साल पुस ८ गते ललितपुरमा जन्मिएका हुन् । डा दीक्षितका बुवा मदन शमशेर जबराका निजी सचिव थिए । त्यसैले दीक्षितले मदन शमशेरका छोराहरुसँगै पढ्ने अवसर पाए ।

राणा परिवारका सन्तानसँगै हुर्किएका दीक्षितले पढ्ने इच्छा देखाएपछि उनलाई मदन शमशेरले सन् १९४८ मा पढ्नका लागि दार्जिलिङ पठाए । उनी मदन शमशेरकै खर्चमा दार्जिलिङको माउन्ट हर्वन स्कुलमा केजीमा भर्ना भए ।

४ वर्ष सो स्कुलमा पढेपछि दीक्षित  नैनतालमा रहेको सेन्जोवर्स कलेजमा सन् १९५२ देखि १९५७ सम्म अध्ययनका लागि गए ।

डा दीक्षितका अनुसार आजभोलि चिकित्सकहरुले रिपोर्ट हेरेर उपचार गर्दा साधारण रोगका विरामीले विशेषज्ञ सेवा पाएपनि गुणस्तरिय सेवा भने पाउन सकेका छैनन् ।

उनले सोही कलेजबाट क्याम्ब्रिज कलेजको ‘ओ लेवल’ पास गरे । त्यसपछि दीक्षितले कलकता युनिभर्सिटीको सेन्जोवर्स कलेजबाट आइएस्सी पढ्न शुरु गरे । उनले क्याम्ब्रिज कलेजबाट ओ लेवल पास गरेकाले दुई वर्षको आइएस्सी एक वर्षमै पूरा गर्ने अवसर पाए ।

आइएस्सी पास गरेपछि डा दीक्षितले मदन शमशेरकी पत्नी रानी जगदम्बाकुमारी देवीको आर्थिक सहयोगमा कलकता विश्वविद्यालयमा एमबीबीएस अध्ययन शुरु गरे ।

सन् १९६५ मा एमबीबीएस अध्ययन पूरा गरेसँगै डाक्टर बनेका उनले बम्बै (हालको मुम्बई) को केइएम हस्पिटलमा जनरल मेडिसिनमा एमडी गरे ।

२०२६ सलामा डा दीक्षित एमडी डाक्टर भएर नेपाल आए । नेपाल आएपछि डा दीक्षितले वीर अस्पतालमा सेवा गर्न पाउँ भन्दै तत्कालीन राजा महेन्द्रलाई विन्तिपत्र पठाए र वीर अस्पतालमा सेवा गर्न थाले ।

‘मैले एमडी सकेर आउँदा महेन्द्र राजा थिए, मैले नेपालको पहिलो एमडी चिकित्सक हुँ, सेवा गर्न पाउँ भनेर विन्ति पत्र हाले,’ डा दीक्षितले भने, ‘त्यसपछि २०२६ सलामा मैले वीर अस्पतालमा सेवा गर्न शुरु गरे ।’

तलब नै नलिइ अस्पतालमा सेवा

डाक्टर दीक्षित २०२६ सालदेखि वीर अस्पतालमा बिरामीको उपचारमा खटिए । तर वीर अस्पतालमा २४ वर्षसम्म काम गर्दा उनले तलब भने लिएनन् ।

‘मैले वीर अस्पतालमा काम गरेपनि तलब लिइन, त्यतिबेला काम गर्न सरकारमा विन्ति पत्र हालें तर पैसा कमाउन पर्छ भन्ने मेरो मनमा थिएन,’ डा दीक्षितले भने, ‘म रानी जगदम्बाको निजी डाक्टर थिएँ, मदन शमशेर मेरो बुबाको मालिक थिए, त्यसैले मेरो आवश्यकता त्यहिँबाट पूरा हुन्थ्यो । त्यसैले वीर अस्पतालमा सेवा गर्दा तलब लिइन ।’

मदन शमशेरले बकस दिएको सम्पत्ति

डा दीक्षित आफ्नो भएको घर र सम्पत्ति मदन शमशेरले बकस दिएको बताउँछन् । मदन शमशेरले आफूलाई चाहिने सम्पत्ति दिएकाले आफूले बिरामीको सेवा गरेपनि तलब नलिएको बताउँछन् ।

‘मेरो यो घर, सम्पत्ति मदन शमशेरले वकस दिएको होे, मलाई खान लागाउ दुःख थिएन, त्यसैले पैसा कमाउने लोभ पनि थिएन,’ डा दीक्षितले भने, ‘मलाई मात्र काम गर्नु थियो । त्यसैले मैले बिरामी जाँच्ने काम गरे तलब मागिन, उनीहरुले पनि दिएनन् ।’

उपकरण अभावले बिरामीसँग कुरा गरेरै उपचार

२०२६ सालमा डा दीक्षितले वीर अस्पतालमा सेवा शुरु गर्दा वीर अस्पतालमा विदेशमा पढेर आएका विशेषज्ञ चिकित्सकहरु थिए । तर, वीर अस्पतालमा उपचार गर्ने उपकरण तथा प्रविधि भने थिएन ।

डा दीक्षितले वीर अस्पतालमा सेवा शुरु गर्दा एउटा इसिजी मेसिन थियो । त्यो पनि विग्रिरहने । यस्तै पुरानो एक्सरे मेसिन थियो । त्यतिबेला बिरामीको रोग पत्ता लागाउने विधि नै बिरामीसँगको कुराकानी थियो । चिकित्सकहरुले बिरामीसँग गरेको कुराकानी र रोगको लक्षणको आधारमा नै उनीहरुको उपचार हुन्थ्यो ।

‘त्यतिबेला त बिरामीको रोग पत्ता लगाउन उनीहरुसँग धेरैबेर कुराकानी गथ्र्यौं, उनीहरुसँग गरेको कुराको आधारमा आफूले पढेको कुरालाई सम्झेर सोही अनुसारको उपचार गर्नुपर्ने हुन्थ्यो,’ डा दीक्षित भन्छन्, ‘अहिलेका डाक्टरलाई त सजिलो छ, टाउको दुखेको बिरामी आए, सिधै एमआरआइ गर्न पठाउँछन्, पेट दुखे अल्ट्रासाउण्ड गरेर हेर्छन् ।’

डा दीक्षितका अनुसार आजभोलि चिकित्सकहरुले रिपोर्ट हेरेर उपचार गर्दा साधारण रोगका विरामीले विशेषज्ञ सेवा पाएपनि गुणस्तरिय सेवा भने पाउन सकेका छैनन् ।

‘पहिला–पहिला हिस्ट्री टेकिङ, एक्जामिसेसन, टेस्टिङ एण्ड डाइग्नोसिस गरिन्थ्यो, आजभोलि छोटो उपचार विधिछ । बिरामी आउँछ होल बडी चेकअप हुन्छ । डाक्टरले सोध्न पनि नपर्ने । आजभोलि डाक्टरले बिरामीको उपचार गर्दैनन्, रिपोर्टको उपचार गर्छन्,’ डा दीक्षितले भने, ‘त्यसैले साधारण रोगका बिरामीले विशेषज्ञ सेवा पाए पनि सही उपचार पाएका छैनन्, तर विशेषज्ञ रोगका बिरामीले भने सेवा पाउँछन्, मुटु, व्रेनको रोगका लागि त प्रविधिबाट हुने चेकअप राम्रो हो । तर साधारण रोगका बिरामीका लागि सही उपचार भइरहेको छैन ।’

२०२७ सालतिर कञ्चनपुरको जंगलमा सिकार खेल्न गएका बेला राजा महेन्द्रले बाघलाई हानेको गोली रानी रत्न राज्य लक्ष्मीलाई लाग्यो । त्यतिबेला रानी रत्नराज्य लक्ष्मीको उपचार वीर अस्पतालमै भएको डा दीक्षित बताउँछन्

राजपरिवारको रोजाइमा वीर अस्पताल

सरकारी अस्पताल वीर अस्पतालमा अहिले उच्च ओहोदाका वा भीआइपीले उपचार गर्ने गरेका छैनन् । बिरामी परेपछि विदेश जाने परिपाटी भीआइपीमा देखा परेको छ । वीरमा रहेको भीआइपी कक्षमा बिरामी नपसेको नै लामो समय भइसकेको छ । तर डा दीक्षितसँग भने तत्कालीन राजपरिवारका सदस्यको उपचार वीर अस्पतालमा नै गर्ने गरेको स्मरण अहिले पनि ताजै छ ।

‘टिचिङ अस्पतालको सेवा पूर्ण रुपमा नआउँदासम्म राजपरिवारको रोजाइ पनि वीर अस्पताल नै थियो,’ डा दीक्षितले भने, ‘२०४६ साल अघि पनि वीर अस्पतालमा भीआइपीको उपचार गर्ने छुट्टै कक्ष थियो । रानीहरु, राजकुमारहरु बिरामी पर्दा वीर अस्पतालमै उपचार गरेका छौं ।’

पहिला पहिला चिकित्सकलाई बिरामीले राम्रो व्यवहार गर्ने गरेको तर अहिले अवस्था फेरिएको उनी बताउँछन् । पहिला पहिला चिकित्सकलाई बिरामीले राम्रो व्यवहार गर्ने र भगवान् सरह नै मान्थे, उनी सम्झन्छन् ।

चिकित्सकमाथि अभद्र व्यवहार र कुटपिटको घटना त्यतिबेला हुँदैन थिए । डा दीक्षितका अनुसार अस्पतालबाट उपचार पाएपछि बिरामीहरु खुसी भएर घर फर्किन्थे।

रानी रत्नलाई गोली लागेपछि …

नेपालमा राजतन्त्रको समयमा नेपाल निजी अस्पतालहरु थिएनन् । वीर अस्पताल नै राज परिवारको पहिलो रोजाइको अस्पताल थियो । वीर अस्पतालमा रहदा डा दीक्षितले तत्कालिन रानी रत्नराज्य लक्ष्मीको समेत उपचार गरेका थिए ।

२०२७ सालतिर कञ्चनपुरको जंगलमा सिकार खेल्न गएका बेला राजा महेन्द्रले बाघलाई हानेको गोली रानी रत्न राज्य लक्ष्मीलाई लाग्यो । त्यतिबेला रानी रत्नराज्य लक्ष्मीको उपचार वीर अस्पतालमै भएको डा दीक्षित बताउँछन् । त्येतिबेला राजा, रानी र उनका परिवार तथा राजसंस्थाका सबै व्यक्ति बिरामी पर्दा उपचार गर्ने थलो नै वीर अस्पताल थियो ।

‘म वीर अस्पतालमा गएको एकवर्ष भएको थियो, त्यतिबेला राजा महेन्द्रले सिकार खेल्दा बाघलाई हानेको गोली रानी रत्नलाई लाग्यो,’ डा दीक्षितले स्मरण गरे, ‘रानी रत्नलाई वीर अस्पतालमै ल्याएर उपचार गरीएको थियो । त्यो बेला सिनियर डाक्टरसँगै रानीको उपचारमा म पनि सरिक थिए ।’

बिरामीले सिटामोल पनि नपाएपछि वीरबाट राजीनामा

डा दीक्षित वीर अस्पतालमै कार्यरत थिए । राजनीतिक दलहरु पञ्चायती व्यवस्था ढाल्ने आन्दोलनमा थिए । त्यही समयमा वीर अस्पतालको सेवा पनि प्रवाभित हुँदै गयो । अस्पतालमा उपचारका लागि पुग्ने विरामीले स्लाइन पानी र सिटामोल समेत पाउन छाडे ।

बिरामीले सिटामोल समेत नपाएको अवस्था देखेपछि उनलाई वीर अस्पतालमा बस्न मन लागेन । त्यसपछि डा दीक्षितले वीर अस्पतालको सेवाबाट राजीनामा दिए ।

‘राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज पाण्डे घाँटीको सामान्य समस्याको उपचार गर्न डाक्टर नै लिएर अमेरिका गएका थिए, तर वीर अस्पतालमा बिरामीले सिटामोल र स्लाइन पानी समेत पाउन सकिरहेका थिएनन्,’ डा दीक्षितले भने, ‘त्यो अवस्था देखेर म र डा शम्भु पहाडीले गोरखा होटलमा पत्रकार सम्मेलन गरेर, बिरामीले सिटामोल र स्लाइन पानी नपाउने ठाउँमा काम गर्न सक्दैनौं भनेर राजीनामा दियौं ।’

वीर अस्पतालबाट राजीनामा दिएपछि डा दीक्षित २०४६ सालको आन्दोलनमा सरिक भए । उनी पक्राउ पनि परे । २०४६ सालको आन्दोलनमा सँगै होमिएका डा मथुराप्रसाद श्रेष्ठ स्वस्थ्य मन्त्री बने ।

श्रेष्ठ स्वास्थ्य मन्त्री भएपछि डा दीक्षित अस्पताल छाडेको ९ महिनापछि पुनः वीर अस्पतालमै फर्किए । उनले वीर अस्पतालमा फेरि डेढ वर्ष सेवा गरे । तर, त्यतिबेला पनि उनले तलब भने लिएनन् ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहनेगरी नेपाली कांग्रेस सरकारमा आयो । त्यसपछि डा दीक्षितले राजीनामा दिनुपर्‍यो ।
‘हामीले आन्दोलन गरेर पञ्चायत फालियो तर, गिरिजाप्रसाद कोइरालाले प्रसूति गृहका डा दिव्य श्री मल्ललाई वीर अस्पतालमा ल्याएपछि मैले राजीनामा दिएँ,’ डा दीक्षितले सुनाए ।

दीक्षित परिवार गिरिजाप्रसाद कोइरालाको आफन्त थिए । पछि डा दीक्षितलाई गिरिजाप्रसाद कोइरालाले भरतपुर क्यान्सर अस्पतालको पहिलो निर्देशक भएर काम गर्ने अवसर दिए । उनले भरतपुर क्यान्सर अस्पतालमा दुईवर्ष काम गरे ।

पहिलो पटक तलब लिएँ

सरकार परिवर्तनसँगै उनको जिम्मेवारी पनि परिवर्तन हुँदै गयो । २०५१ सालमा मनमोहन अधिकारीको सरकार आएपछि स्वास्थ्य मन्त्रालयमा पद्यमरत्न तुलाधर आएपछि उनलाई वीपी कोइराला अस्पताल (अहिलेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) को निर्देशक बनाइयो ।

त्यसपछि मात्र उनले पहिलोपटक चिकित्सा पेसामा मासिक रुपमा तलब लिए । त्यतिबेला उनको तलब मासिक ३० हजार थियो ।

‘राधा कृष्ण मैनाली स्वास्थ्य मन्त्री हुँदा म वीपी कोइराला अस्पतालको निर्देशक भएँ,’ डा दीक्षितले भने, ‘जिन्दगीमा तलब नखाइ अस्पतालमा काम गरेको मैले विपि कोइराला अस्पतालमा पहिलो पटक तलब खाएँ, त्यो बेला निर्देशकको तलब ३० हजार थियो । पछि बढेर ४५ हजार सम्म पुगेको थियो । १८ महिना काम गर्दा अन्तिम ३ महिनाको तलब त्यहीका तल्लो तहको कर्मचारीलाई बाँड्दिनुस् भनेर हिँडें ।’


भर्खर

0