प्रतिभा देखाउने बेला चोटले मैदान बाहिरिनुपर्दा पीडामा रहेका श्रेष्ठ | Khabarhub Khabarhub
Logo
१६ फाल्गुन २०७६, शुक्रबार

प्रतिभा देखाउने बेला चोटले मैदान बाहिरिनुपर्दा पीडामा रहेका श्रेष्ठ

‘आदर्श’ बाट विश्वास भएपछि बनेको ‘फुटबलर’



काठमाडौं- ‘आफ्नो देश वा क्लबले खेलिरहँदा बाहिर बसेर हेर्दा कति नरमाइलो लाग्छ ? त्यो हामी खेलाडी बाहेक अरुलाई सायदै थाहा होला,’ हिमालयन शेर्पाका फरवार्ड विश्वास श्रेष्ठले भने, ‘म अहिले त्यही भोगी रहेको छु । क्लब मैदानमा उत्रिँदा पभेलियनमा बस्दा पनि मेरो खुट्टा चिलाउँछ ।’

पुस ११ गते दिउँसो १२ बजे हिमालयन शेर्पा क्लब र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी प्रतिस्पर्धा गरिरहेका थिए । आर्मीसँग शेर्पा क्लव २–० गोल अन्तरले पछि परिसकेको थियो ।

शेर्पा क्लब खेल बराबरी गरेर भए पनि अंक बाढ्न चाहन्थ्यो । तर, ८२ औं मिनेटमा अग्रपङ्तीका खेलाडी विश्वास श्रेष्ठ घाइते भए । श्रेष्ठ अरु खेलाडीसँग ठोकिएका थिएनन् । आफ्नै अगाडि गुडिरहेको बलको पत्तो नपाउँदा लडेका थिए । यसैकारण उनको खुट्टा चाहिनेभन्दा बढी तन्किएन मात्र घुँडामा चोट समेत लाग्यो ।

उनलाई विजय श्रेष्ठले रिप्लेस गरे । तर पुस ११ को नतिजा शेर्पाको पक्षमा रहेन । कम्तिमा बराबरी गरेर भए पनि अंक बाढ्ने शेर्पाको लक्ष्य प्राप्त हुन सकेन । उसले किशोरलाई मात्र गुमाएन त्यो खेल नै गुमायो ।

खेल्दा खेल्दै मैदानमा घाइते भएका श्रेष्ठ लगत्तै अस्पताल गए, ‘मिनीसस’ भएको पत्ता लाग्यो । सातदोबाटोस्थित ‘बी एण्ड बी’ अस्पतालमा त्यसको शल्यक्रिया गरियो ।

क्लवलाई लागेको थियो पुस ११ गते मात्र विश्वासलाई गुमाइयो । तर उनलाई कम्तिमा डेढ महिनाका लागि गुमाउनुपर्ने भएको छ ।

‘केही दिन अघि अस्पताल गएको थिए, ठीक अझै अझै डेढ महिना जति लाग्ने डाक्टरले भनेका छन । त्यतिन्जेल थेरापी गनुपर्नेछ,’ उनले भने ।

उपचाररत उनी अहिले क्लबले खेलेका सबै खेल हेरिरहेका हुन्छन् । भ्याएसम्म मैदान पुग्ने गरेका उनी मैदान आउन नपाएको दिन ‘माईगुजु’मा हेर्छन् । कतिपय समयमा आफ्नो टिमका खेलाडीले गोल गर्ने अवसर पाएर पनि गर्न नसक्दा उनका खुट्टा चलमलाउँछन ।

यद्यपी आफ्नो क्लव हिमालयन शेर्पाले सातौं खेलमा आएर मछिन्द्र क्लबलाई पराजित गर्दै ७ अंक जोड्दा उनी हर्षीत छन । तर पनि मैदान मिस गर्न छाडेका छैनन् । घाइते नै भए पनि खेल्ने हुटहुटी जिवित नै छ ।

‘खेलबाट टाढाँ रहँदा साह्रै गाह्रो हुँदो रहेछ । कतिपय समयमा त खुट्टा आफै चलमलाउँछन्,’ विश्वासले थपे, ‘ब्रिगेड ब्वाइजविरुद्धको खेलमा त झन् आफै कुँदु कुँदु भयो ।’

विश्वास हिमालयन शेर्पाका ‘विश्वास’ नै थिए । अर्थात विश्वासीलो सदस्य । तर, क्लबले गरेको विश्वासलाई उनले कता÷कता नसकेको जस्तो पनि लाग्छ । आफ्नै खुट्टा त्यसमा तगारो बनेकोमा उनलाई घरी/घरी दिक्क पनि लाग्छ ।

नाम परिवर्तनपछि चम्किएको भाग्य

स्याङ्जाको वालिङमा जन्मिए हुर्किएका हुन् ‘आर्दश’ अर्थात् विश्वास श्रेष्ठ ।

मध्यम परिवारबाट आएका विश्वासका आमाबुबाले उनलाई नजिकैको विद्यालयमा भर्ना गरिदिए । वालविद्याविकास बोडिङ हाई स्कूलमा कक्षा सातसम्म पढेका आदर्शको नामसँग जोडिएको कथा त्यही स्कूलबाट शुरु हुन्छ ।

स्कुल पढ्दा खेलकुदमा रुचि राख्ने विश्वास अधिकांश समय टोलमा हुने फुटबल खेलमा व्यस्त हुन्थे । वालिङका बालबालिका ‘माले बगर’ मा फुटबल खेलिरहेका हुन्थे । त्यहीँ भिडमा देखिन्थे विश्वास पनि ।

विश्वासकी आमा हीरा उनलाई पढाईमा ध्यान दिन दबाब दिन्थिन बुवा भने खेलकुदमै राम्रो भएको देख्न चाहान्थे । अर्थात परिवारमा विश्वासको करिअरको विषयमा बुबा र आमा विभाजित थिए । तर बुबा रुपनारायणले खेलकुदका लागि दिएको ढाडस सत्य नजिक पुगेको छ ।

पढाईभन्दा खेलकुदमा रमाएको देखेपछि शिक्षक एलबी ज्वार्चनले उनलाई फुटबलको छनोटका लागि कास्की जान हौसाए । त्यसपछि उनको यात्रा फुटबलतर्फै लम्किए । तर तत्काल सफल हुन सकेनन ।

कक्षा ७ मा पढ्दासम्म तीन पटक यू–१२ को छनोटमा सहभागी भइसकेका उनी तीन पटक नै कास्कीमा भएको छनोटमा फेल भए । पछि शिक्षक ज्वार्चनले उनको नाममै खोट लगाए । लगत्तै आदर्शले नाम परिवर्तन गरि विश्वास राखे ।

नाम परिवर्तनपछिको उनको सुखद संयोग यो रह्यो कि असफल भइरहेका उनी एकाएक एन्फा एकेडेमीका लागि छनौट भए । शिक्षक ज्वार्चनले खोट लगाएको नाम आदर्श उनलाई पनि अभासी नै जस्तो अनुभूति भयो ।

‘मेरो नाम आदर्श रहेसम्म मैले तीन पटक छनौट खेलेको थिए । तर, तीनै पटक आउट भए । मेरो प्रदर्शन ठीकै हुन्थ्यो तर, छनौट हुन सकिन,’ विश्वास मुस्कुराउँदै भन्छन, ‘नाम फेरेपछि छनौट पनि पनि भए ।’

एन्फा एकेडेमीदेखि हिमालयन शेर्पासम्म

यू–१२ बाट एन्फामा प्रवेश पाएका उनले सुरुवाती बर्षमा समकालिन साथीहरुसँग खेल्न पाएनन । उचाई बढी भएका कारण उनले आफुभन्दा अघिल्लो ब्याजसँग खेले । उनीभन्दा अघिल्लो ब्याजमा थिए, आदित्य चौधरी, हेमन गुरुङ, सुमन लामा लगायत । एन्फामा प्रवेश गरेपछि विश्वासले उनीहरुसँगै खेले ।

कक्षा सात स्याङ्जामै सकाएर आएका विश्वासले एसएलसीसम्म एन्फामा बस्दै पढे । कक्षा ११ र १२ पनि काठमाडौंमै पढे । एन्फामा रहँदा यू–१४ को भारतमा भएको सुपोर्दी कप र नेपालमै भएको यू –१६ साफ च्याम्पियनसीप खेलेका थिए ।

त्यतिबेला उनी ‘लेफ्ट डिफेन्स’बाट खेल्थे । यू–१६ साफ च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई ब्यवसायीक फुटबलका लागि २०६९ सालमा हिमालय शेर्पा क्लबले बोलायो ।

२०६९ को लिग हिमालयन शेर्पाबाटै खेले । त्यसपछि लगातार दोस्रो लिग पनि हिमालयन शेर्पाबाटै खेले । अहिले उपचारत रहेका विश्वासको २०७० को लिग खेलिरहँदा पनि हात भाँचिएको थियो ।

केही खेलमात्रै खेल्ने अवसर पाएका उनी हात भाँचीएपछि टिम बाहिर रहे । हात भाँचिदा क्लबले सहयोग गरेको उनी बताउँछन् । विश्वासको इन्जुरी पटक–पटक भइरह्यो ।

घुँडामा अहिले देखिएको समस्या पनि धेरै अघिदेखि भएको उनले बताएका छन् । फुटबल खेल्दा कहिलेकाहीँ दुख्थ्यो । तर, यसपाली त घाउँ ठुलो नै भएछ ।

७० सालपछि नेपालमा ५ बर्ष लिग नै भएन । त्यो समयमा उनले नेपालका शीर्ष स्तरका क्लबबाट लिग खेले । उनले संकटा, मनाङ र थ्रीस्टार क्लबबाट खेले ।

०७५ सालमा पुनः ए डिभिजन लिग फर्किदा उनलाई पुरानै क्लब हिमालयन शेर्पाले बोलायो । पुरानो क्लब भएकाले आफु अन्य क्लबभन्दा हिमालयन नै रोजेको उनी बताउँछन् ।

‘मैले पहिले पनि खेलेको थिए । त्यसैले पनि हिमालयन शेर्पा जान मन लाग्यो । क्लबमा पनि राम्रै भयो,’ उनले भने,‘लिगभर सात गोल गरे । टिम पनि सातौं स्थानमा रहेको थियो ।’

अघिल्लो बर्ष लिगमा राम्रो प्रदर्शन गरेका विश्वास यो सिजनमा अझै राम्रो गर्ने लक्ष्यमा थिए । यो सिजनमा राम्रो गर्दै करियरकै उत्कृष्ट लय समात्ने लक्ष्यमा रहेका उनी अहिले पभेलियनबाट खेल हेर्न बाध्य छन् । भाग्यले साथ दिएन सायद, हिमालयन शेर्पाका लागि तेस्रो खेल खेलिरहँदा घुँडामा चोट लाग्न पुग्यो ।

‘यो सिजनमा राम्रो गर्दै विश्वकप छनोटको क्याम्प हुँदै छनोटका खेल खेल्ने लक्ष्य थियो । तर, यस्तै भयो । अब जतिसक्दो छिटो मैदान फर्किने लक्ष्य छ,’ उनी भन्छन्, ‘मेरो लक्ष्य पनि नेपालका लागि स्थायी सदस्य भएर खेल्ने हो । तर, त्यो अहिलेसम्म हुन सकेको छैन् ।’

बुबाको साथ

विश्वासका बुबा रुपनारायण गाडी चलाउँथे । स्याङ्जा काठमाडौंको गाडी चलाइरहँदा केही बर्ष पहिला दुर्घटना भयो । दुर्घटनाले बुबा रुपनारायणका दुबै खुट्टामा क्षति गर्‍यो, शल्यक्रिया बाहेकको उपाय नै भएन ।

जीविका चलाउने हातगोडा नै मक्किएजस्तो भएपछि बुबा रुपनारायण निराश भएको उनी सुनाउँछन । यद्यपी फुटबलमा आफूले प्रगतिपथ चुमेको हेर्ने बुबाका आँखामा अझै आशाका अनुभूति छचल्किएको उनी देख्छन ।

आफ्नो शरीरले भरथेग गर्न सक्ने अवस्था नरहे पनि बुबा रुपनारायण विश्वासको प्रेरणाको मुहान बनिनै रहेका छन । बुबाको सपना छ, छोरो राष्ट्रिय टोलीमा स्थायी रुपमा परिरहोस । बुबाको त्यो सपनाले पनि उनलाई झकझकाइरहँन्छ ।

‘आफुले पनि खुट्टाका घुँडाको अप्रेसन गरेका कारण बुबाले नआत्तीनु भन्नुहुन्छ । पक्कै पनि म यसरी घाइते भइर खेलभन्दा बाहिर रहँदा उहाँ निराश हुनुहुन्छ,’ विश्वासले भने, ‘घरी घरी त भक्कानिन्छु पनि, के गर्नु अब चाहेर पनि छिटो मैदान प्रवेश गर्न पाउँदैन ।’

यसै कारण उनी आफ्नै शरीर तगारो बन्दै गएको छैन भन्दै बेचैनमा पनि फसिरहन्छन ।

ग्योतोकिले दिएको डेब्ये अवसर

विश्वासले नेपालका लागि यू–१४, १५, १६, १९ र यू–२३ को उमेर समूहबाट खेलिसकेका छन् । जापानी नागरिक ग्योतोकी कोजु प्रशिक्षक हुँदा मलेसिया यू –२३ टोलीविरुद्ध नेपालका लागि सिनियर टोलीबाट उनले डेब्यु गरेका थिए ।

२०१६ मार्च २७ मा भएको त्यो खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो । त्यसयता राष्ट्रिय टोलीमा अवसर नपाइरहेका उनी राष्ट्रिय टोलीमा फर्किने लक्ष्यमा दृढ देखिन्छन ।

तर घाइते अवस्थाको शरीर उनका लागि भारी बन्दै गएको छ । यद्यपी आशा मारेका छैनन । अहिले लिग खेल्न नपाएका विश्वासले विश्वकप छनोटको टोलीमा पर्ने सम्भावना चाँही लगभग लगभग अन्त्य भएको छ ।

फुटबलबाट टाढिँदा व्यवसाय गर्ने

फुटबलमा संघर्षरत विश्वास यदि फेरि पनि इन्जुरी भोग्नु परे फुटबलबाट टाढिने योजना छन् । आफुलाई तिखार्ने प्रतियोगिता नै लिग भएको र लिग खेल्न नपाउँदा दुःखी छन् ।

‘खेलाडीका लागि आफुलाई प्रमाणीत गर्ने ठाउँ लिग हो । तर, त्यहीँ लिग खेल्न नपाउँदा आफुलाई एक्पोज गर्न पाइदैन,’ विश्वास भन्छन्, ‘मैले इन्जुरीबाट धेरै समस्या भोगिसकेको छु । फेरि पनि यस्तै भए पलायनको विकल्प छैन, उनी निराश हुदै भन्छन ‘ त्यसबेला मलाई रेष्टुरेन्ट सञ्चालकको रुपमा देख्नुहुन्छ ।’


भर्खर

0