नयाँ शीतयुद्धमा अमेरिका र चीन « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

नयाँ शीतयुद्धमा अमेरिका र चीन



तस्वीर- गेट्टी इमेज

काठमाडौं– अमेरिका र चीनबीचको सम्बन्धमा नाटकीय ढङ्गले गिरावट आइरहेको छ ।

दुई देशको तनाव बढ्दै जाँदा अमेरिकाले ‘बौद्धिक सम्पत्तिको रक्षाका निम्ति’ भन्दै टेक्ससको ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको दियो ।

प्रत्युत्तरमा चीनले अमेरिकी कदमलाई ‘आक्रामक तथा अनुचित’ भन्दै छेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ ।

पछिल्ला केही महिनाहरूमा अमेरिका र चीनबीचको विवाद आर्थिक, प्रविधिक र सामरिक हुँदै कूटनीतिक टकरावतर्फ मोडिएको छ । पस्परमा वाणिज्य दूतावास बन्दको घटना अमेरिका र चीनबीच बढ्दो तनावको पछिल्लो उदाहरणमात्र हो ।

दुई देशबीच व्यापार, ग्राहकमाथि जासुसी गर्न चिनियाँ दूरसञ्चार कम्पनी हुवाईले गरिरहेको गतिविधि, चीनले बौद्धिक सम्पत्तिको चोरी गरेको लगायत विषयहरूमा विवाद चलिआएको थियो ।

मानवअधिकार लगायत समानताका आधारमा दुबै देशले सम्बन्ध बढाउने विषयहरूमा विवाद जारी रहे पनि चीनले कोरोना भाइरस संक्रमणको प्रारम्भमै पर्याप्त पारदर्शिता नअपनाएपछि विवाद थप चर्कियो । पूर्वप्रतिबद्धताविपरीत हङकङमा चीनले सुरक्षा कानुन लागू गरेपछि विवाद टकरावको तहमा आइपुग्यो ।

चिनियाँ सञ्चारमाध्यमहरूले निकालिरहेको निष्कर्ष र विश्वव्यापी शक्ति सन्तुलनबीचको तालमेल कहीँकतै छैन, न त चीन आफैँ विश्व नेतृत्वका लागि तयार छ । ऊ छिमेकीहरूसँग क्षेत्रीय विवादबाट बाहिर छैन, अहिले पनि उत्तर कोरियाबाहेक अर्को भरपर्दो साझेदार छैन ।

चीनको सिन्जियाङमा मुस्लिम सर्वसाधरणहरूमाथि दमन गरेको निष्कर्षसहित दर्जनौँ विश्वसनीय मानवअधिकारवादी संघसंस्थाहरूले प्रतिवेदन तयार पारेपछि अमेरिकाले त्यसमा संलग्न भनिएका चिनियाँ अधिकारीहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

कोभिड–१९ महामारीको संकटकै बेला चीन आपसी विश्वास निर्माण गर्नुको सट्टा अमेरिकाप्रति शंका र दुश्मनी बढाउन उद्यत भएपछि दुई देशबीच कूटनीतिक प्रयासहरू असफल हुन थालेका हुन् ।

चिनियाँ सरकार नियन्त्रित मिडियाले कोभिड–१९ महामारी युरोप र अमेरिकामा भित्रिँदादेखि नै आगामी विश्वको भूराजनीतिको निष्कर्ष निकाल्न हतार गरिसकेका थिए । हरेक दिनजसो चिनियाँ सञ्चारमाध्यमको प्राथमिकता विश्वमा चिनियाँ सर्वोच्चता सुरु भइसकेको भन्नेमा केन्द्रित हुने गरेको छ ।

उनीहरूको समाचारको शैली सारा संसारलाई नै चीनले राहत र सहयोग गरेको भन्ने झल्काउने किसिमको थियो । चिनियाँ कम्युनिष्ट पार्टी नियन्त्रित कतिपय सञ्चार संस्थाहरूले अमेरिकी अक्षमता र गैरजिम्मेवार व्यवहार नै कोरोना भाइरस फैलिनुको कारण हो भन्ने निष्कर्षसहित विशेष सम्पादकीय लेखेपछि अमेरिकाको असन्तुष्टि चुलिन थालेको थियो ।

यता अमेरिकाको विदेश नीतिमा पनि बदलाब देखिन थालेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले चीनसँग अमेरिकाको सम्बन्ध विफल भएको घोषणा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीलाई ‘बेइमान विश्व खेलाडी’ र ‘क्रुर घरेलु शासक’ भनेका छन् ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीसँगै अमेरिकी साझेदारहरू, विश्वका अन्य प्रजातान्त्रिक देशहरू र चिनियाँ जनतालाई समेत चिनियाँ कम्युनिष्ट पार्टीको व्यवहार परिवर्तन गर्न अमेरिकासँग सहकार्यका लागि आह्वान गरेका छन् ।

विदेशमन्त्री पम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी  र जिनपिङ अधिनायकवादी विचारधाराप्रति सच्चा विश्वास राख्ने, अमेरिकाले अनुमति दिइरहे उनी चीनबाहिर पनि निरंकुश बन्दै जाने, प्रतिबद्धता जनाए पनि व्यवहार फरक गर्ने, नयाँ नयाँ प्रतिज्ञा गर्ने र कार्यान्वयन नगर्ने व्यक्ति हुन् भनेका छन् ।

कोरोना भाइरसको महामहारीसँगै अमेरिका र चीनबीचको सम्बन्धमा चिसोपना बढेको हो । चीनले राज्य नियन्त्रित सञ्चारमाध्यमको व्यापक प्रयोग गर्दै कोरोना भाइरसको महामारीकै बीच अमेरिकाविरोधी भावना भड्काउने गरी प्रायोजित समाचारहरू प्रकाशन, प्रशारण गर्न थाल्यो ।

यसले चीनको आन्तरिक संकटबाट जनताको ध्यान विकेन्द्रित गर्न खोजे पनि अमेरिकासँगको सम्बन्ध झन् बिग्रिँदै गयो ।

अमेरिका र उसका रणनीतिक साझेदारहरू विपतको सामना गरिरहेका बेला प्रायोजित र बदनाम गराउने अभिप्रयायले समाचारहरू आएपछि अमेरिकाले आफ्नो देशमा रहेका चीनका १६० भन्दा बढी सञ्चार संस्थालाई सयमा झारिएको थियो ।

चिनियाँ सञ्चारमाध्यमहरूले निकालिरहेको निष्कर्ष र विश्वव्यापी शक्ति सन्तुलनबीचको तालमेल कहीँकतै छैन, नत चीन आफैँ विश्व नेतृत्वका लागि तयार छ । ऊ छिमेकीहरूसँग क्षेत्रीय विवादबाट बाहिर छैन, अहिले पनि उत्तर कोरियाबाहेक अर्को भरपर्दो साझेदार छैन ।

चीनको शक्ति लगातार बढिरहेको यर्थाथ रहे पनि चीन विश्व मामिलामा अझै पनि एक कच्चा खेलाडी हो । चीनलाई कुनै पनि महत्वपूर्ण देशको सहायता छैन, सीमित साझेदारहरू पनि सम्पन्न छैनन् ।

अमेरिका र चीनबीचको सम्बन्धमा अहिले नाटकीय गिरावट आए पनि यी विवादहरू सन् २०१२ मै शुरु भएका हो । चीनमा सीको सत्तारोहणसँगै जागेको महत्वाकांक्षाले अमेरिकासँगको सम्बन्धमा दरार आएको हो । चीनले अमेरिका र युरोपेली संघबीचको सम्बन्धमा फाटो ल्याउनु, अमेरिकाका लागि रणनीतिक चुनौती खडा गर्दै आफ्नो बढाउने प्रयत्न पछिल्लो वर्ष उसैका लागि प्रत्युत्पादक सावित भइसकेको छ ।

युरोपको ग्रीस र इटालीको उदाहरणले धेरैलाई झस्काइसकेको छ । आफ्नो योगदान, भरपर्दो साझेदार र अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न खोज्दा चीनप्रति पश्चिमा देशहरू सर्तक भएका हुन् ।

शीतयुद्धताकाको सोभियत संघ विघटनअघिसम्म उसको ठूलो गठबन्धन र सहायता गर्ने देशहरू थिए, जुन चीनसँग अभाव छ । चीनसँग सोभियतभन्दा धेरै आर्थिक शक्ति रहे पनि सोभियत विरासतको पुनरावृत्ति गराउन सक्ने राजनीतिक, वैचारिक, कूटनीतिक र सैन्य सामर्थ्य छैन ।

प्रविधिमा चीनले सफलता हासिल गरिरहेको भए पनि चिनियाँ आविष्कारको परीक्षण र पर्दापछाडिका खेलाडीबारेको रहस्यले प्रश्नचिह्न भने कायमै राखेको छ । अमेरिकी विश्व प्रभुत्वलाई चुनौती दिन चीन लगायत शक्ति र प्रभाव विस्तारकै क्रममा छ । तै पनि, उसको लगानीमार्फत फैलाएको ऋणपासोबाट धेरै देश सावधान बन्न थालेका छन् ।

अमेरिका विश्व नेतृत्वमा पुग्नुमा उसले विश्वका लागि गरेको केही फरक र उदाहरणीय गुणहरूबाट र उसको विश्वमा बढ्दो संलग्नताले सम्भव भएको हो । आधुनिकीकरण र विश्वको जनसंख्याको रुचि अनुरूप नै अमेरिकी नेतृत्वको सुरुवात भएको हो । पहिलो र दोस्रो विश्वयुद्धमा उसको निर्णायक संलग्नता र दोस्रो विश्वयुद्धपछिको उसको उदार नीति नै अहिलेको विश्व व्यवस्था हो ।

जोसुकै राष्ट्रपति आए पनि अमेरिकाको रणनीतिक चासो मूलभूतरूपमा स्थिर छ । दशकौँसम्म अमेरिकी नीतिहरूमा अत्यन्तै कममात्र परिवर्तन भएका छन् । अमेरिकाले आफ्ना सहयोगीहरूको चाहना र अस्तित्व स्वीकारमात्र गरेको छैन, आवश्यक परेका बेला आफ्नो रगत–पसिना नै बगाएको छ ।

अन्तर्राष्ट्रिय प्रणालीको नेतृत्व गर्नुमा आफ्ना साझेदारहरूलाई असफल हुन नदिनु, हरतरहबाट मद्दत गर्नु, आफ्ना साझेदारहरूलाई आर्थिक र सुरक्षाका दृष्टिले सबल बनाउनु, तत्कालीन लाभ नखोज्नु र अप्ठेरो अवस्थामा साझेदार देशहरूलाई सहायता गर्नुले नै अमेरिकालाई विश्वव्यापी विश्वास बनाएको हो ।

अमेरिकी नीतिका विरोध देशहरू केहीमात्र छन्, जसले आफ्नो प्रगति हुन नसक्नुमा अमेरिकालाई दोषी देख्छन् ।

उनीहरूको अमेरिकी नेतृत्वको उदार र खुला विश्वको नेतृत्व गर्नसक्ने नत हैसियत छ, न सैन्य शक्ति या राजनीतिक दर्शन र विकल्पहरू नै छन् । उनीहरू फगत अमेरिकालाई गाली गर्ने तर आफू केही पनि योगदान नपु¥याउने शैलीमा छन् ।

अमेरिका चीन संघर्षले नयाँ शीतयुद्धको सम्भावना प्रबल बनाए पनि कूटनीतिक समाधानको बाटो रोकिइसकेको छैन ।

चीनको शक्ति लगातार बढिरहेको यर्थाथ रहे पनि चीन विश्व मामिलामा अझै पनि एक कच्चा खेलाडी हो । चीनलाई कुनै पनि महत्वपूर्ण देशको सहायता छैन, सीमित साझेदारहरू पनि सम्पन्न छैनन् ।

एक्काइसौँ शताब्दीको आजको विश्वमा एकअर्का देशप्रति निर्भरता बढ्दै गए पनि अत्यधिक चुनौतीपूर्ण र तीब्र गतिमा घटनाक्रम विकसित भइरहेका छन् । नयाँ घटनाक्रम जसरी अप्रत्याशित तवरबाट उदय हुन्छन्, त्यसले नयाँ साझेदारी, नयाँ सम्भावना र नयाँ समाधानमा निकाल्दैन नयाँ समस्या पनि सिर्जना गर्नसक्छ ।


भर्खर

0