बंगलादेशबाट विद्यार्थीहरुको उद्दार गरिदिन अभिभावकको माग (भिडियो सहित) | Khabarhub Khabarhub

बंगलादेशबाट विद्यार्थीहरुको उद्दार गरिदिन अभिभावकको माग (भिडियो सहित)


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउन उदासिनता देखाएको अभिभावक तथा नागरिक समाजका अगुवाहरुले गुनासो गरेका छन् । आइतबार काठमाडौंमा उनीहरुले आफ्ना छोराछोरीको उद्दारमा सरकारले तदारुकता नदेखाएको गुनासो गरेका हुन् ।

दुई महिनादेखिको लकडाउनका कारण नेपाली विद्यार्थीहरु उतै अड्किएपछि आफ्ना छोराछोरीहरु जतिसक्दो चाँडो स्वदेश फर्काउन सरकारसँग उनीहरुले माग गरेका छन् ।

बंगलादेशको ढाकामा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि अभिभावकहरुले नै सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता सरकारी अधिकारीहरुसँग गरिसकेको भएपनि सरकारले यस विषयमा आश्वासन दिने बाहेकको काम नगरेको अभिभावकको गुनासो छ ।

कार्यक्रममा बोल्दै अभिभावक विनोद रञ्जितले भने,‘मेरी छोरी बंगलादेशमा अध्ययनरत छिन् । मेरो जानकारीमा त्यहाँ साँढे ६ सय विद्यार्थी छन् । बंगलादेशका विभिन्न क्षेत्रमा गरेर त्यतिको संख्यामा विद्यार्थी छन्, ढाकामा मात्रै छैनन् । अर्को कुरा, अहिलेसम्म नेपाली विद्यार्थीहरु एक जनामापनि कोभिड १९ बाट संक्रमित छैनन् । भोलिको दिनमा भन्न सकिँदैन् । भोलि एक जनामा मात्रै पोजिटिभ भयो भने हाम्रो हालत कस्तो होला ? सरकारले चाँडै ल्याईदिओस् ।’

उनले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु आजसम्म कोही पनि संक्रमित नभएकोले तुरुन्तै उनीहरुलाई उद्धार गर्नुपर्ने आग्रह गरे । उनले थपे,‘विद्यार्थीहरुले निरन्तर रुपमा फेसबुकमार्फत पनि सरकारलाई आफ्ना पीडा र मर्म सुनाईरहेका छन् । सरकारले सुनिदेओस् ।’

त्यस्तै, अर्का अभिभावक डा. मनोजकृष्ण श्रेष्ठले पनि सरकारले बंगलादेशबाट विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि ढिलाई गर्न नहुने बताए ।

उनले भने, ‘छोराले बुवा कहिले हामी घर आउन पाउँछौं भनेर आग्रह गर्छ । यसले हामीलाई भावविह्ल बनाउँछ ।  त्यसैले अहिले नेपालीहरु संक्रमित नभएकै अवस्थामा उनीहरुलाई सरकारले स्वदेश फर्काउनुपर्छ ।’

उनले नेपाली विद्यार्थीहरुलाई यस्तो अवस्थामा स्वदेश ल्याउनुपर्ने दायित्व सरकारको भएको बताए । उनले भने,‘बंगलादेश धेरै टाढा पनि छैन, उनीहरुलाई यहाँ ल्याईसकेपछि क्वारेन्टिनमा राख्ने र उनीहरुलाई व्यवस्थापन गर्ने कुरा पनि हामीले गरेका छौं । विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर फर्काउनको लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछु ।’

कार्यक्रममा नागरिक समाजका अगुवाहरुले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनु सरकारको दायित्व भएको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् नागरिक समाजका अगुवा डा. दिनेश त्रिपाठीले सरकारले विलम्ब नगरी बंगलादेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे ।

उनले भने,‘बंगलादेशमा रहेका विद्यार्थीहरुको अभिभावकहरुसँगै म पनि यो अभियानमा संलग्न छु । यस्तो बेलामा हामी चुप लागेर बस्न मिल्दैन् । बंगलादेशमा रहेका विद्यार्थीको पीडालाई सरकारले सुन्नुपर्छ ।’

उनले बंगलादेशमा रहेका विद्यार्थीहरुमध्ये अधिकांश एमडी अध्ययनरत रहेको हुँदा यो महामारीको बेलामा नेपालमा ल्याएर उनीहरुलाई समेत प्रयोगमा ल्याउन सकिने बताए । उनले अमेरिका, अष्ट्रेलिया र भारत सरकारले आफ्ना नागरिक नेपालबाट समेत फिर्ता लगिसकेको अवस्थामा उनीहरुबा हामीले पाठ सिक्नुपर्ने बताए । सरकार विदेशमा भएका आफ्ना नागरिकप्रति जिम्मेवार हुनुपर्ने उनको धारणा थियो ।

उनले भने,‘हामी आफैं त्यसको खर्च व्यहोर्न तयार छौं भनेर अभिभावले भन्नुभएको छ । आयोगमा, परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदा उहाँहरुले भन्नुभएको छ । विमान भाडा, क्वारेन्टिनको व्यवस्था आँफैं खर्च गर्छौं भन्नुभएको छ। राज्यको शून्य लगानी हुँदैछ, तर उसले ती विद्यार्थीहरुलाई नेपाल ल्याउनको लािग प्रक्रिया सुरु गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’

उनले संकटकालीन परिस्थितिमा हरेक नागरिकको सुरक्षा गर्नु सरकारले कर्तव्य  हुने बताए । यो विषम परिस्थितिमा सरकारले अकर्मण्यता र उदासिनता देखाउन नमिल्ने तर्क गरे ।

बंगलादेशले कोरोनाका कारण सबै कलेज बन्द गरेको अवस्थामा नेपाली विद्यार्थी यतिबेला ठूलो चपेटामा छन् । कलेजहरु बन्द हुँदा उनीहरुलाई दैनिक खाना र बस्नको समेत समस्या देखिन थालेको छ । अन्य देशका विद्यार्थीहरुलाई आ-आफ्नो मुलुक फर्काइसकेको हुँदा उनीहरु नेपालले पनि आफूहरुलाई चाँडै स्वदेश फर्काउने आशामा रहेका छन् ।

के भन्छन् अभिभावक ? भिडियो हेरौं

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : ५१ बजे

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई