कांग्रेस संस्थापन पक्षको निष्कर्ष : असन्तुष्ट पक्ष ‘मत्थर’ भयो | Khabarhub Khabarhub

कांग्रेस संस्थापन पक्षको निष्कर्ष : असन्तुष्ट पक्ष ‘मत्थर’ भयो



काठमाडौं– नेपाली कांग्रेसमा लामो समयदेखि देखिको आन्तरिक विवाद समाधान तर्फ उन्मुख भएको नेताहरुले जनाएका छन् ।

वुधवार(हिजो) अपराह्न देउवा निवास बूढानिलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकपछि पार्टीमा देखिएको समस्या समाधान हुने विश्वास नेताहरुले लिएका हुन् ।

स्वास्थ्य उपचारका लागि भारत गएर फर्किएका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफलका लागि सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका थिए ।

पार्टी निर्णयहरुमा असन्तुष्टि राख्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतसँगको भेटवार्ता कुनै ठोस निष्कर्षमा नपुगेको भएपनि छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

बैठकमा नेताहरु पौडेल र सिटौलासहित महामन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उपस्थिति रहेको थियो ।

तीन घन्टा बसेको बैठक सौहार्दपूर्ण र समस्या समाधान तर्फ उन्मुख भएको उपसभापतिसमेत रहेका नेता निधिले बताए ।

‘बैठक सकारात्मक रुपमा अघि बढेको छ । अब भोलि विहान ९ बजे बस्ने बैठकपछि समस्याको समाधान हुने विश्वास हामीले लिएका छौं ।’

संस्थापन पक्षले असन्तुष्ट पक्ष अनुपस्थित रहेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका, विधानको धारा निलम्बन, विभागको संख्या थप, तरुण दलको समय थप लगायतका निर्णय गरेपछि वरिष्ठ नेता पौडेल–नेता सिटौला पक्ष असन्तुष्ट रहँदै आएको छ ।

असन्तुष्ट पक्षले सभापति देउवालाई दवाव दिनका लागि भन्दै पार्टी कार्यालय सानेपामा आफूपक्षधर जिल्ला सभापतिहरुलाई भेलासमेत गराएका थिए ।

जिल्ला पार्टी सभापतिहरुले समेत बहुमतको आधारमा गरिएको निर्णयहरु सच्याउन देउवालाई आग्रह गरेका थिए । वरिष्ठ नेता पौडेल उपचारका लागि भारत जानु पूर्व पनि बूढानिलकण्ठमा नेता त्रयबीच छलफल भएको थियो ।

असन्तुष्टको प्रश्न : विधानको धारा किन निलम्बन गर्‍या ?

बुधवारको बैठकमा असन्तुष्ट पक्षले सभापति देउवालाई पार्टी विधानको धारा किन निलम्बन गरेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा संस्थापन पक्षले विधानले महाधिवेशन गराउन समस्या देखिएका कारण निलम्बन गराउन परेको जवाफ दिएका थिए ।

‘उहाँहरुले(पौडेल) विधान धारा किन निलम्बन गरेको भनेर प्रश्न गर्नुभएको थियो,’ उपसभापति निधिले भने,‘ महाधिवेशन गर्नका लागि आवश्यक पर्ने निर्वाचन समिति गठन, सचिवालय गठन लगायमा विधानका केही धारा बाधक भएका कारण निलम्बन गर्नुपरेको जानकारी गराउने काम भयो ।’

महाधिवेशनका लागि विधानको केही धारा बाधक रहेको जानकारी पाएपछि पौडेल पक्षले त्यसमा ‘ए हो र ?’ भन्ने मात्र जवाफ दिएका थिए ।

देउवाको बटमलाई महाधिवेशनको मिति सार्न सकिँदैन

बैठकमा सभापति देउवाले कुनै पनि हालतमा केन्द्रीय कार्यसमिति बैठकबाट पास भएको २०७७ फागनु ७–९ को निर्णय भने सच्याउन नसकिने अडान लिएका थिए । तर उनले कार्यतालिकामा सुधार गर्न भने आफू तयार रहेको बताएका थिए ।

बैठकमा पौडेल पक्षले नेपाल विद्यार्थी संघका विषयमा अलि बढी जोड दिएको स्रोतको भनाइ छ ।

पौडेल पक्षका एक नेताले भने,‘हामीले यसअघि नै नेविसंघको नेतृत्वदेखि महत्वपूर्ण पदमा दावेदावी प्रस्तुत गरिसकेका छौं, त्यसै अनुसार छलफलमा आफ्ना कुरा राख्ने काम भयो ।’

नेविसंघमा पनि मिलेर जान सकिने संकेत देउवाले जनाएको उनको भनाइ छ ।

‘सबैको सम्मानजनक उपस्थिति हुने कुरा गर्नु भएको छ अब भोलिको बैठकले यसबारे उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ भन्नेले निर्धारण गर्छ’ उनले भने ।

पौडेल पक्ष मत्थर ?

बैठकमा उपस्थित भएका असन्तुष्ट पक्ष सबै कुरामा ‘क्लियर’ नभएको बुझाइ देउवा पक्षको रहेको छ ।

‘महाधिवेशनको मितिका विषयमा पनि उहाँहरुमा खासै समस्या देखिएन, अन्य विषयमा पनि उहाँहरु क्लियर हुनुभएको पाइएन’ संस्थापन पक्षका एक नेताले भने,‘सभापतिले उहाँहरुलाई पहिला सबै विषयमा‘क्लियर’ भएर आउनुस् भन्नु भएको छ ।’

‘०७७ फागुनका लागि तय भएको महाधिवेनको कार्यतालिका परिवर्तन गर्न सकिने कुरा हुँदैन, अन्य कुराहरुमा उहाँहरुको आपत्तिलाई सम्बोधन गर्ने कुरा यसअघि नै भएको छ’ उपसभापति निधिले भने,‘खास केही समस्या अब बाँकी छैन । नमिलेका कुराहरुलाई भोलिको बैठकले सम्बोधन गर्छ ।’

देउवा पक्षले पौडेल पक्ष मत्थर भएको बुझाइ राखेपनि पौडेल पक्ष भने पर्ख र हेरको अवस्थामा रहेको छ ।

बूढानिलकण्ठ को बैठकपछि पौडेल पक्ष आन्तरिक छलफल र अनौपचारिक बैठकमा रहेको छ ।

पौडेल पक्षका एक नेताले भने,‘मिलाएर अघि बढ्ने भनेर मात्र हुँदैन, मूल कुरामा सहमति हुनुपर्‍यो । प्रतिवद्धता मात्र जनाएर हुँदैन कार्यान्वयनमा पनि जानु पर्छ अनि मात्र केही भन्न सकिन्छ ।’

तर दुवै पक्षका नेताले भने शुक्रवारको बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ३ : ०५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित