मध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११ देखि दिउँसो २:३० बजेसम्म यातायात बन्द हुँदै आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–८ चुवाको भिरमा कटान गर्न तीन हप्ताका लागि सडक बन्द गरिएको थियो । निर्माणकार्य पनि अघि बढाउँदै अवरुद्ध सडक पनि सञ्चालन गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले जनाएको छ ।

सडक चक्लाबन्दी गर्ने काम भने अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ । लामो समयसम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सञ्चालन गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ । “केही समय बन्द खोलेर पनि काम गर्छौँ, नसकिएको खण्डमा पछि बन्द गरेर पनि पूरा गर्ने योजना बनाएका छौँ”, कम्पनीका प्रतिनिधि राजाराम आचार्यले भने ।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–७ खरेहाबाट वडा–८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रको काम चलिरहेको छ । कालोपत्रको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भिर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण यसअघि बन्द गरिएको थियो । कम्पनीले मोदीखेतबाट ओढारेसम्म कालोपत्र विच्छ्याउने काम गरेको छ भने चुवा र छमर्केबाट पनि कालोपत्रको काम थालेको जनाएको छ । आयोजनाको २३ किलोमिटर पर्वत खण्ड आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

जलजलामा भू–सेवा केन्द्र स्थापना

धवलागिरिको स्थानीय तहमै पहिलोपटक पर्वतको जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई जग्गासम्बन्धी लिखत प्रमाणित, अंशवण्डा, राजीनामा, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको गरिएको हो ।

सोमबारदेखि शुरु भएको केन्द्रको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सदरमुकाम कुश्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवा विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताए ।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानून व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीय तहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । उनले केन्द्रबाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्रसहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताए ।

प्राविधिक सामग्रीसहित जनशक्तिको व्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा प्रचारप्रसार गरिने उनले बताए । अनलाइनमा भएको फाराम भरेर प्रिन्ट गरी प्रमाणीकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ । गाउँपालिकामा सेवा शुरु हुनु अगाडि कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत गर्ने काम गराउनका लागि तालिमसमेत दिइएको थियो । केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ३० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई