जो बेवारिसे शव खोज्दै जलाउँछन् « Khabarhub
Logo
२४ जेठ २०७७, शनिबार

जो बेवारिसे शव खोज्दै जलाउँछन्



काठमाडौं– ‘मेरो भगवान् ! मेरो बुबा ! तपाई कसरी बेवारिसे शव गृहमा आइपुग्नुभयो ? कसले ल्यायो तपाईंलाई यहाँ ?’ त्रिवि शिक्षण अस्पतालको शव गृहमा आफ्नै बुबाको शव बेवारिसे अवस्थामा भेटिएपछि काठमाडौंका विनयजंग बस्नेत भावविह्वल बने ।

यो घटना १५ वर्षअघिको हो । साथीको घर जान्छु भनेर हँसिलो चेहेरामा निस्किएका विनयका बुबा ४८ घण्टाभन्दा बढी समय बेपत्ता भए । चारैतिर खोजी गरे विनयले । काँहीकतै फेला नपारेपछि प्रहरीलाई खबर गरे ।

प्रहरी र छरछिमेकीका साथमा उनी विभिन्न अस्पतालमा पुगे । बुबा खोज्न त्रिवि शिक्षण अस्पताल दुई पटक पुगे ।

‘पहिलो दिन त्यहाँ कुनै शव थिएन । अस्पतालका बेडमा पनि बुबालाई भेटिनँ’ ती दिनहरू सम्झिँदै उनी सुनाउँछन्, ‘भोलिपल्ट पनि त्यही पुगेँ गेटबाट बाहिर निस्कदै थिएँ । सुरक्षा गार्डले बोलाउनुभयो र भन्नुभयो एकपटक बेवारिसे शवगृहमा गएर हेर्नुस् ।’

उनी दौडिँदै शव गृहमा पुगे । त्यहाँ आफ्ना बुबाको मृत शरीर देखे । ‘आँशुको वर्षा भयोँ, बुबा दुर्घटनामा परेर बित्नुभएछ’ विनय ती दिन स्मरण गर्छन्, ‘सन्तान जीवित हुँदाहुँदै बुबाको शव बेवारिसे अवस्थामा देख्दा बिथोलिएको मन कस्तो भयो होला, सम्झन नचाहाँदा पनि मनस्थितिमा आइरहन्छ ।

विनयले वरपर हेरे । त्यहाँ उनका बुबामात्र थिएनन् । किरा हिडिरहेका शव समेत थिए । मरेको शरीरमाथि किरा हिँडिरहेको देख्दा उनलाई हुनसम्म औडाहा भयो ।

‘मैले मेरा बुबाको शव उठाएँ’ विनय भन्छन्, ‘पशुपतिस्थित एक नम्बर घाटमा लगेर जलाएँ ।’

विनयको मनमा अस्पातलमा बेवारिसे अवस्थामा रहेका शव सबै उठाएर जलाउन पाए उनीहरूको आत्माले शान्ति पाउथ्यो होला भन्ने लाग्यो ।

झण्डै बेवारिसे बनेको बुबाको शवका कारण उनलाई अरू बेवारिसे शवको दाहसंस्कार गर्ने सोच आयो । तर उनीसँग आवश्यक रकम थिएन । उनले अठोट गरे ‘अब बेवारिसे शवहरूको अन्त्यष्टि गरेरै छाड्छु ।’

बुबाको मृत्युपछि विनयको जीवनमा आपत्ति आइपर्‍यो । उनलाई श्रीमतीले पनि छोडिन् ।

‘घरमा भाइबहिनी थिएनन् । भएकी श्रीमतीले पनि छोडिन्’ दुखी हुँदै उनले सुनाए, ‘म आफैँ बेवारिसे बन्न पुगे ।’

परिवारले छोडेपछि उनको साहारा बन्न पुग्यो मादक पदार्थ । उनी मादक पदार्थ पिएरै दिन बिताउन थाले । दिन–रात पिउन थालेपछि उनी घर जानै छोडे । कहिले कता कहिले कता पुग्थे ।

पिउने बानीले आफैँ हैरानी उनी चोभारको एक उपचार केन्द्रमा तीन महिनासम्म बसे । स्वास्थ्य अवस्थामा सुधार हुँदै गयो । मादक पदार्थ सेवन गर्न छोडे । निको भएपछि उनी सचेत भए ।

‘सम्पन्न परिवारकै छोरा हुँ । मेरो जग्गा जमीन छ’ उपचारबाट सचेत अवस्थामा आइपुगेपछि उनको मानसपटलमा यस्ता कुरा खेल्न थाले, ‘मैले केही गर्नुपर्छ भन्ने सोच आउन थाल्यो ।’

त्यसपछि उनले जीवन बुझे ।

‘भावना र सम्झना’ उनका दुई बहिनीहरू, जसले उनलाई हरेक कुरामा सहयोग गर्थे । छोडेर गएकी श्रीमतीलाई लिन उनी पटक–गए । छोरीलाई भेट्थे र मनभरी खुसी बोकेर फर्किन्थे ।

धेरै पटक ससुराली पुगे पनि श्रीमती कमला भने घर फर्किनन् । अझै पनि विनय श्रीमती र छोरीको सम्झना आउनासाथ मोवाइल निकाल्छन् र फोटो हेर्न थाल्छन् ।

रिह्याब सेन्टर खोले

करिब ५ वर्षजति आफैँ बेवारिसे बनेका विनयले आफूले जस्तै मादक पदार्थले बिग्रिएर हिँड्नेलाई सुधार्न रिह्याब सेन्टर खोले ।

जाडरक्सी खानेहरूका लागि ललितपुरको ‘लामाटार’ र ‘भैसोपाटी’ मा रिह्याब सेन्टर खोलेका छन् उनले जहाँ रक्सीको छुटकारा पाउन उपायहरू सिकाइन्छ ।

विनय निकै खुसी छन् । खुसी यसकारण कि, कुनै दिन आफैं रक्सी पिएर बेवारिसे पारामा हिँड्थे । अहिले चार हजारभन्दा बढीलाई रक्सीको लतबाट छुटाएका छन् ।

‘अहिलेसम्म मैले ४ हजार २ सय जनालाई उपचार गराइसकेको छु’ उनी भन्छन्, २ जनाको चाहिँ मृत्यु भयो ।’

यससँगै विनय बेवारिसे शव जलाउन पनि थाले । उनी भन्छन्, ‘जतिबेला बुबाको शव बेवारिसे अवस्थामा देखेको थिएँ, त्यही बेला बेवारिसे शव जलाएर तिनीहरूको आत्मालाई शान्ति दिन्छु भन्ने सोचले यही काममा प्रवेश गरेँ ।’

७ वर्षमा २ सय ३२ वटा दाहसंस्कार

भनिन्छ, पशुपतिको आर्यघाटमा पुगेपछि मान्छेले जीवनका बारेमा केही बुझ्छ । मानिसले यसकारण पनि केही बुझ्छ जहाँ हजारौंका सम्बन्धहरू खरानी बनेर उडिरहेका हुन्छन् । अनुहारको हाँसो र खुसी पनि आशु बनेर झरिरहेको हुन्छ ।

धेरैको अस्तित्व यहाँ पुगेपछि सकिन्छ तर ४१ वर्षे विनयजंग बस्नेतको दिनचर्या यही आर्यघाटबाट शुरु हुन्छ ।

उनी बेवारिसे शव लिन विभिन्न अस्पताल पुग्छन् । प्रहरी र अस्पतालका सम्बन्धित व्यक्तिहरूसँगको सहकार्य गर्दै उनी शव लिएर पशुपतिको आर्यघाटमा पुग्छन् ।

‘कति शव कुहिएको हुन्छ,’ शवबारे विनय भन्छन्, ‘स्याँउस्याँउ किरा परेका पनि हुन्छन्, म ती शवको सतगत गरिरहेको छु ।’

पुण्यको काम भन्दै उनले शव जलाए पनि कसैले पनि उनको काम मन पराएनन् । ‘सँगै बसेर चिया पिउन पनि मान्दैन थिए’ उनी गुनासो पोख्छन्, ‘मलाई देखेपछि मानिसहरू मुख छोपेर हिड्थेँ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा गन्हाएको भन्दै कुरा काट्थे ।’

मानिसको मृत्यु अनिवार्य हो । कुराकानीका क्रममा विनय सुनाउँछन्, ‘आफ्ना सन्तानले नै त दागबत्ती दिन पाएका हुँदैनन् तर मैले अहिलेसम्म २ सय ३२ वटा शवको सतगत गरिसकें ।’

उनले नेपाली मात्र नभई बेलायती नागरिक ‘फिलिप बाड्ली’ को समेत शव जलाएका छन् । ‘अरूको दागबती दिन्छु तर म मरेपछि मलाई दागबत्ती दिने को होला ?’ विनय भन्छन्, ‘मृत्यु त छँदैछ, मृत्युपछि दागबत्ती दिन पाउँदाको खुसी अरू केहीमा मिल्दैन ।’

एउटा शव जलाउन ८ देखि १० हजार रुपैयाँ खर्च लाग्छ । सेवा सम्झे कतिपय व्यक्तिले उनलाई शव जलाउन रकम सहयोग गर्छन् । ‘कहिलेकाही प्रहरीबाट पनि सहयोग मिल्छ’ उनी सुनाउँछन्, ‘राज्यले हेर्न सकेको छैन ।’

आश्रम बनाउँदै

आफ्नै जग्गामा उनी एउटा आश्रमको निर्माण गरिरहेका छन् ।

ललितपुरको टीकाथलीमा रहेको जग्गामा उनी आश्रम बनाएर पहिलो चरणमा २० जनाभन्दा बढी बेवारिसे वृद्धवृद्धाको स्याहार गर्ने सोचमा छन् ।

विनयका बाल्यकाल

२०३५ सालमा ललितपुरको टीकाथलीमा जन्मिए उनी । परिवारमा ४ सन्तानमध्ये जेठा छोरा हुन् । बुबाआमाको काखमा खेल्दै हुर्किए । बालकोटमा उनी बाआमासँगै खेतीपातीको काम गर्थे ।

उनले महालक्ष्मीस्थानस्थित अरनिको बोर्डिङ स्कुलमा कक्षा ६ सम्म पढे । सानैदेखि पढ्नमा रुची राख्ने विनयको सपना भविष्यमा इन्जिनियर बन्ने थियो ।

‘सानै थिएँ, त्यो बेला मलाई इन्जिनियरले के काम गर्छ भन्ने थाहा थिएन’ खिस्स हाँस्दै भन्छन्, ‘तर सोच थियो, ठूलो भएपछि इन्जिनियर बन्छु भन्ने ।’

महालक्ष्मीस्थानमा कक्षा ६ सम्म पढे । सात कक्षामा पुगेपछि आफ्नै बुबाले पढाउने महेन्द्र शान्ति माध्यमिक विद्यालयमा पढ्न थाले ।

बुबा श्यामबहादुर शिक्षक भएकैले पनि आफ्नो पढाइ राम्रो भएको विनय बताउँछन् । उनको बुबाको सोच नै शिक्षामा सबैको पहुँच पुगोस् भन्ने थियो ।

वियन १६ वर्ष उमेरका थिए । एसएलसी परीक्षा दिएर फुर्सदको समय थियो । उनकी आमा सामान्य बिरामी थिइन् तर अचानक आमाको मृत्यु भयो ।

दुई बहिनी र एक भाइको रेखदेख गर्ने जिम्मेवारी उनकै काँधमा आइपर्‍यो । साथीसँग रमाउने उमेरमा उनी घरायसी जिम्मेवारीमा बाँधिए ।

विनयलाई बुबाले उच्च शिक्षाका लागि मीनभवनस्थित नेपाल कर्मस क्याम्पसमा भर्ना गरिदिए । उनको सोच थियो इन्जिनियर पढ्ने ।

बुबाको करले नै उनी उच्च शिक्षामा व्यवस्थापन संकायमा भर्ना भएका थिए तर उनको पढाइले निरन्तरता पाउन सकेन ।

भनिन्छ, मानिसलाई जिम्मेवारीले पनि धेरै कुरा सिकाउँछ । विनयको जीवनमा पनि यही भयो ।


भर्खर

0