ट्रम्पको भारत भ्रमण– रंगशाला उद्घाटनदेखि ताजमहलको अवलोकनसम्म | Khabarhub Khabarhub

ट्रम्पको भारत भ्रमण– रंगशाला उद्घाटनदेखि ताजमहलको अवलोकनसम्म


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार भारत भ्रमणमा आउँदैछन् । भारत भ्रमणका क्रममा सोमबार नै राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएका छन् ।

उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ ।

विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दवाव दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन् ।

‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,’ ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा बताएका छन् ।

ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरिसकेका छन् । उनले मोदीसँग व्यापारका कुरा भने हुने बताएका छन् ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर पनि आउने छन् । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्ने छन् । आफू मुख्यमन्त्री रहेका बेला भूकम्प गएपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लागेका हुन् ।

सोही क्रममा ट्रम्पले गुजरात क्रिकेट संघद्वारा निर्मित सरदार पटेल क्रिकेट रंगशालाको पनि उद्घाटन गर्नेछन् । मोटेरा स्टेडियम समेत भनिने सो खेल मैदानको वरिपरी ७ सय मिटर लामो पर्खाल बनाइएको छ ।

खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा नमस्ते ट्रम्प कार्यक्रमको पनि आयोजना गरिने छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुबैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरेका थिए ।

नमस्ते ट्रम्प कार्यक्रमपछि उनी श्रीमतीसहित ताज महल अवलोकन गर्न जाने भएका छन् । ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ ।

भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्नेछन् ।
ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको टिप्पणी गरेका छन् ।

उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यसअघि पछिल्लो पटक तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ५ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम