उपचार नपाएर बहिनीको मृत्यु भएपछि डाक्टर बनेका खनाल « Khabarhub
Logo
२४ चैत्र २०७६, सोमबार

उपचार नपाएर बहिनीको मृत्यु भएपछि डाक्टर बनेका खनाल



काठमाडौं– ९ महिनाकी बहिनी सिकिस्त विरामी परिन् । बाबुआमा धामी झाँक्री बोलाएर झारफुक गर्नतिर लागे । ७ कक्षामा पढ्दै गरेका हरिहर खनाललाई कसैले सुनाइदिए ‘एन्टिबायोटिक खुवायो भने बहिनीको रोग निको हुन्छ ।’

खनाल बहिनीको लागि औषधि लिन ३ घण्टा हिडेर तानसेन बजार पुगे । औषधि किनेर दौडिदै घर पुगे । तर, दुभाग्य खनालले ल्याएको औषधि उनकी बहिनीले खान पाइनन् । खनाल घर नपुग्दै ९ महिने बहिनीले समयमा औषधि उपचार नपाउदा ज्यान गुमाउनु पर्‍यो ।

‘बहिनीलाई भूतप्रेत लागेको होइन, निमोनिया भएको थियो’ भन्ने कुरा खनालले बहिनीको मृत्युपछि मात्र थाहा पाए ।

‘मेरो कान्छि बहिनी बिरामी परिन् बाबुआमाले झारफुक गरेर बस्नुभयो, अन्तिममा मैले तानसेन पुगेर एन्टिबायोटिक लिएर आँए । तर त्यो औषधि खुवाउन पनि पाइन्,’ खनालले विगत सम्झिए, ‘मलाई त्यो औषधि नाम अझै याद छ, आजभोली त्यति चल्दैन टेर्रामाइसी भन्ने औषधि थियो । सायद त्यो औषधि समयमै खुवाउन पाएको भए, बहिनी बाँच्थिन् होला, बहिनी बितिन् ।’

यो घटना २०३२ सालतिरको हो । औषधि समेत नपाएर बहिनीको मृत्यु भएको त्यो घटना खनालको मनभित्र गढेको थियो । बहिनीको मृत्युको घटनाले नै ७ कक्षामा पढ्दै गरेका खनालको मनमा डाक्टर बन्ने सपना जन्मियो । जतिबेला खनाल १४ वर्षका मात्र थिए ।

‘गाउँमा अस्पताल, डाक्टर थिए भने त बहिनीको मृत्यु हुँदैन थियो नि,’ खनालले भने, ‘बहिनीको मृत्युले नै मलाई डाक्टर बन्नुपर्छ भन्ने लाग्यो ।’

पाल्पाको साविकको खस्यौली गाविस वडा नम्बर ७ मा जन्मिएका खनालको परिवारमा बहिनीको मृत्यु पश्चात ७ जना दाजुभाइ दिदीबहिनी थिए ।

गाउँमा बिहान बेलुका बाबुआमालाई खेतीपातीको काम सघाउँदै घर नजिकैको (कुसुमखोला उच्च माध्यमिक विद्यालय) मा बल्लतल्ल पढ्ने अवसर पाएको थिएँ, खनालले ।

खनालको डाक्टर बन्ने सपना पुरा गर्न सक्ने अवस्था बाबुआमाको थिएन् । तर, खनालको पढाइ निकै राम्रो थियो ।

कक्षामा सँधै प्रथम हुने उनले पढ्नका लागि चाहिने कापी कलम र पढाइ खर्च विद्यालयबाटै पाउथें । डाक्टरी पढाउने विषयमा सोच्नै नसक्ने खनालका बाबुआमा ‘धेरै पढेर मास्टर बनेस्’ भन्ने आशिष भने सधै दिन्थें । पढाइमा अब्बल रहेका खनालले आमाबाबुको आशिषलाई सम्झदै आफ्नो आत्मबल बलियो बनाए ।

गाउँमा आउने हेल्थ असिस्टेन्टलाई ‘डाक्टर’ भन्दै गाउँ समाजले दिने सम्मान र इज्जत त्यतिबेला लोभलाग्दो थियो । राम्रो कपडा लगाएका, लक्का जवान हेल्थ असिस्टेन्टले पाएको त्यो सम्मानले त उनी झनै प्रभावित थिए । उनले आफु पनि यस्तै डाक्टर बन्ने भनेर सपना देख्न थालिसकेका थिए ।

स्कुलमा हुने रेडक्रसका गतिविधिमा समेत सक्रिय थिए उनी । स्कुलमा सधै निशुल्क पढेका खनालाई आशा थियो, ‘राम्रोसँग पढे भने डाक्टरी पढ्नपनि छात्रवृत्ति पो पाउँछु कि !’ भनेर ।

२०३५ सालमा एसएलसी पनि दिए । २०३६ सालको एसएलसीको नजितामा खनाल प्रथम श्रेणीमा पास भए । त्यतिमात्र होइन, स्कुलमै पहिलो पटक प्रथम श्रेणीमा एसएलसी पास गर्ने विद्यार्थी बने खनाल ।

एसएलसीको त्यहि नतिजाले उनको डाक्टरी पढ्ने सपनाको बाटोलाई केही सहज बनाइदियो । विद्यालयमै पहिलो पटक प्रथम श्रेणीमा पास भएका खनालको सपनालाई त्यतिबेला गाउँमा रहेको नेपाल विकास सेवा नामक संस्थामा रहेका डाक्टर मिन बहादुर विष्टले पनि साथ दिए ।

उनकै सहयोगमा एसएलसी पछि खनाल काठमाडौं आए र २०३६ सालमा महाराजगञ्जको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा हेल्थ असिस्टेन्ट पढ्न थाले । उनले महाराजगञ्ज क्याम्पसमा छात्रवृत्तिमा नाम निकालेर हेल्थ असिस्टेन्ट पढ्न थाले ।

हेल्थ असिस्टेन्टको कोर्षको पढाइमा पनि उनले महाराजगञ्ज क्याम्पस टप गरे ।

हेल्थ असिस्टेन्ट कोर्षको पढाइमा कलेज नै टप भएपछि उनले वंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाए । २०४१ सालमा एमबीबीएस पढ्न खनाल बंगलादेश गए ।

‘त्यतिबेला अहिलेको जस्तो पैसामुखि शिक्षा थिएन, राम्रो पढेपछि जुन विषयमा पढ्न पनि छात्रवृति पाइन्थ्यो,’ खनालले भने, ‘मेरो पढाइ राम्रो भएकाले मैले हेल्थ असिस्टेन्ट कोर्ष पनि निशुल्क पढेँ, एमबीबीएस पढ्न पछि छात्रवृत्ति पाए । पढ्नकै लागि मलाई आफ्नो खर्च लागेन ।’

सोभियत संघ युक्रेनमा एमबीबीएस पढेर मेडिकल डाक्टर बनेर नेपाल फर्किपछि खनालले डेढवर्ष बाग्लुङ अञ्चल अस्पतालमा काम गरे । त्यसपछि २०५० सालमा लोकसेवा पास गरेर सरकारी मेडिकल डाक्टरको रुपमा वीर अस्पतालमा सेवा शुरु गरे ।
वीर अस्पतालमा करिब ५ वर्ष काम गरेपछि डा खनाल फेरी (पोष्ट ग्याजुएसन) एमडी गर्न विदेश गए । उनले  युक्रेनमा कार्डियोलोजीमा एमडी गरे । उनी पीएचडी सम्मको पढाइ सकेर मात्र नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनी ३२ वर्षदेखि वीर अस्पतालमै बिरामीको सेवामा खटिइरहेका छन् । डा.खनाल वीर अस्पतालका १० औ तहका मुटुरोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनको वीर अस्पतालबाट अवकाश हुन एकवर्ष मात्र बाँकी छ ।

डा.खनालले मेडिकल क्षेत्रको यात्रामा २८ वर्षको यात्रा पुरा गरिसकेका छन् । उनी आफ्नो पेसाप्रति सन्तुष्ट छन् ।

अहिलेजस्तो भए म डाक्टर बन्दैनथेँ

सामान्य परिवारमा जन्मिएका खनाल आफ्नै क्षमताले विद्यालय तहदेखि नै निशुल्क पढ्ने अवसर पाए । विद्यालय तहदेखि पीएचडी सम्मको पढाइ निशुल्क पढेका खनाल अहिलेको शिक्षा पैसामुखि भएको बताउँछन् ।

‘अहिले देशमा प्रजातन्त्र छ, हामीले गर्व गर्नुपर्ने हो । तर खास त्यो अवस्था छैन । अहिले जे मा पनि पैसाको खेल छ । ट्यालेन्ट भएर मात्र पुग्दैन । पैसा नभइ डाक्टरी पढ्नै सकिदैन,’ डा खनालले भने, ‘अहिलेको जस्तो अवस्था हुन्थ्यो भने त म डाक्टर बन्न सक्दिनथें ।’

डा खनालका अनुसार पढ्ने क्षमता भएपनि पनि पैसाकै कारण डाक्टरी पढ्ने चाहना मारेका युवापुस्ता नेपालमा धेरै छन् ।

‘त्यो बेलामा म मेरो पढाइ राम्रो थियो । मैले निशूल्क पढ्ने अवसर पाए । तर अहिले राम्रो पढाइ हुनेहरु पैसाका कारण आफ्नो पढ्ने इच्छा मार्न बाध्य भएका छन्,’ डा खनालले भने, ‘आजभोलि शिक्षा क्षेत्रमा क्षमता भन्दा पनि पैसा ठूलो भएको छ ।’

बिरामीले ल्याए घ्यू उपहार

करिव तीन दशक मेडिकल क्षेत्रमा रहेर बिरामीको उपचार गरेका डाक्टर खनाल बिरामीका प्रिय डाक्टर हुन् । उनलाई बिरामीहरुले ‘मनकारी डाक्टर’ को उपमा दिने गर्छन् । डा.खनालले गर्ने उपचार सेवा प्रति खुसी बनेका बिरामीहरु सेवा लिन आउँदा उपहार समेत लिएर आउँछन् ।

नियमित उपचार र परार्मश लिन आउने एकजना बिरामीले सँधै घ्यु उपहार ल्याइदिने गरेको डा खनालले बताए ।

‘मेरो पेसामा कसैसँग उपहार लिनु राम्रोकुरा होइन । तर बिरामीहरुले माया गरेर सम्मान गरेर उपहार ल्याइदिनु हुन्छ।
त्यस्तो उपहार नलिन पनि अप्ठ्यारो हुन्छ,’ डा खनालले सम्झिए, ‘धादिङकी एकजना मुटुको बिरामी आमा ६–६ महिनामा उपचारका लागि आउनुहुन्छ । उहाँ सबै घ्यु लिएर आउनुहुन्छ । मैले नल्याइदिनु भन्दा मान्नुहुन्न ।’

डा खनालका अनुसार धादिङकी ती बिरामी वृद्ध महिला ८ वर्षदेखि निरन्तर ६/६ महिनामा वीर अस्पतालमा मुटुको परीक्षण गर्न आउने गर्छिन् । उनले मुटुरोगको औषधि नियमित सेवन समेत गरिरहेकी छन् ।

आफैले औषधि र फलफूल किनिदिएको बिरामीको मृत्यु हुँदा

डा खनालको जीवनमा हजारौं बिरामीको उपचार गरेको फरक फरक अनुभवहरु छन् । उनी बिरामीको उपचार गर्नुलाई खुल्ला किताब पढेजस्तो महसुस गर्छन् ।

बिरामीहरु पनि उनको सेवाप्रति खुसी हुन्छन् । डाक्टरको चाहना सबै आफुले हेरेको बिरामी निको भएर घर फर्कियोस् भन्ने हुन्छ । तर, कहिलेकाही आफुले चाहेजस्तो सबै बिरामीहरु अस्पतालबाट निको नभएर घर फकिन पाउँदैनन् ।

कतिपय बिरामीको उपचारकै क्रमण मृत्यु हुने सम्भावना रहन्छ । यस्तै एउटा घटनाले डा खनालको आँखा पनि रसाएको छ । जुन घटना डा खनाल यसरी सुनाउँछन् :

आजभन्दा आजभन्दा करिब १४ वर्ष अगाडीको घटना हो । एकजना पुरुषलाई मुटु सम्बन्धि रोग थियो । एउटा मात्र छोरी थिइन्, बिहे भइसकेकी । बाँच्ने आसामा उहाँले असनमा भएको घर नै बेचेर भारत जानुभएछ ।

तर रोग निको भएन । अन्तिममा घर पनि रहेन, रोग पनि निको भएन । नेवार समुदायको हुनुहुन्थ्यो । बिहे गरेकी छोरीको घरमा पनि जान नमिल्ने चलन रहेछ । बस्ने ठाउँ नै नभएकाले वीर अस्पतालमै भर्ना गर्ने व्यवस्था मिलाइदिएका थियौं ।

मैले उहाँलाई चाहिने औषधिहरु, फलफूलहरु किनेर लगिदिन्थें । मलाई पनि निकै माया लाग्थ्यो । त्यसरी उपचार गर्दागर्दै उहाँ मैले जाँच गरिरहेको समयमा वित्नुभयो । उहाँलाई बचाउन सकिन । त्यो घटनाले मलाई सधै दुख लाग्छ ।
उहाँलाई सम्झदा मलाई अझै दु:ख लाग्छ ।


भर्खर

0