भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपाल संक्रमणको उच्च जोखिममा रहन्छ | Khabarhub Khabarhub

भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपाल संक्रमणको उच्च जोखिममा रहन्छ


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 10 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा नयाँ कोरोना संक्रमितको संख्या केही दिन यता कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । कोरोना संक्रमणको जोखिम भने कम नभएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि चालिएका कदम, क्वारेन्टिन, परीक्षण, उपचार, आइसोलेसन व्यवस्थापन तथा स्वास्थ्यकर्मीका सुरक्षाका लगायतका विषयमा खबरहबका लागि रिता लम्सालले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग कुराकानी गरेकी छन् ।

केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या कम देखिएको छ, कोरोना संक्रमणको दर घटेको कि परीक्षणको दर घटेको ?

हामीले परीक्षणको आरम्भका दिनदेखि अहिलेसम्म हेर्दा धेरै प्रगति गरेका छौँ । पहिलो केस पुष्टि गर्न स्वाब परीक्षणका लागि हङकङ पठाएका थियौँ । त्यसयता आजसम्ममा २७ वटा प्रयोगशालाबाट कोरोना परीक्षण गर्ने अवस्थामा पुगेका छौँ । अहिलेसम्ममा असार १५ गते उच्च परीक्षणको दिन हो । त्यस दिन ७ हजार ७९१ जनाको परीक्षण गरेका थियौँ, जतिबेला हामीसँग २३ वटा ल्याब थिए ।

हामीले संक्रमणको जोखिम हुँदा प्रतिदिन १० हजारभन्दा माथि परीक्षणको दायरा फराकिलो गर्छौं भनेका थियौँ । महामारीको स्थिति भयो भने हामी एक दिनमा १० हजारभन्दा बढीको परीक्षण गर्न सक्ने अवस्थामा छौँ ।

असार १५ गतेदेखि दैनिक १० हजार परीक्षण गर्ने घोषणा तपाईं आफैँले गर्नुभएको थियो, दैनिक १० हजार जनाको परीक्षण भएको देखिएन त !

दैनिक १० हजार परीक्षण गर्नसक्ने गरी हाम्रो क्षमता विस्तार गरेका छौँ । हिजो हामीलाई एउटा चाप थियो । भारतबाट ३ लाखभन्दा बढी व्यक्तिहरू नेपाल प्रवेश गर्नुभएको छ । त्योमध्ये उच्च जोखिम रहेकै बेला एक हप्तामा झण्डै डेढ मान्छे नेपाल प्रवेश गरे । एक लाख ९२ हजार व्यक्तिहरू क्वारेन्टाइनमा रहेको हाम्रो रेकर्डमा छ ।

एकैदिनमा २० देखि २५ हजारसम्म मान्छेहरू भारतबाट आउनुभयो । उहाँहरू जुन ठाउँमा बस्नुभएको थियो त्यहीँ स्वाब लियौँ । त्यतिबेला हामीसँग दैनिक ३ हजार वा ३५ सयसम्म परीक्षण गर्न सक्ने क्षमता थियो । ल्याबमा आएका स्वाबले पालो कुनुपर्ने र रिपोर्ट तत्काल पाइएन भन्ने गुनासो थियो । अहिले ल्याबमा स्वाब क्युमा बस्नुपर्ने अवस्था छैन ।

कोरोना परीक्षणको प्राथमिकतामा कस्ता व्यक्तिहरू छन् ?

हामीले परीक्षणको दायरा बढाउने सन्दर्भमा केही मापदण्ड बनाएका थियौँ । विदेशबाट आएका, उनीहरूसँग सम्पर्कमा आएका, फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू, जोखिममा रहेका र पोजेटिभ भएकासँग सम्पर्कमा आएका व्यक्तिहरूलाई परीक्षणको दायरामा ल्याएका थियौँ । अहिले पनि त्यसैलाई कायम राखेका छौँ ।

यस अतिरिक्त, क्वारेन्टाइनमा बसेका र तिनका परिवारका सदस्यहरू, धेरै भिडभाड हुने ठाउँ, बैंक, मालपोत कार्यालय, तरकारी बजार लगायतका ठाउँका व्यक्तिहरूलाई परीक्षणको दायरामा ल्याएका छौँ । प्रत्येक अस्पतालमा संक्रामक रोगहरूको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई पनि परीक्षणको दायरामा ल्याएका छौँ ।

सरकारको तर्फबाट परीक्षण कम होस् भनेको भए छ दायरा नै साँघुरो बनाइन्थ्यो । दायरा फराकिलो बनाउने प्रयत्न गरेका छौँ । हिजो सीमित स्रोतसाधन हुँदा आरडीटीलाई अलि जोड दिएका थियौँ । अहिले पीसीआरबाटै संक्रमित पत्ता लगाउनुपर्छ भन्नेमा पुगेका छौँ । हिजो क्वारेन्टाइनमा हुनेको संख्या १ लाख ९२ हजारसम्म थियो, अहिले २३ हजारको हाराहारीमा छ । आइसोलेसनमा बस्नेको संख्या पनि आज ५ हजारको हाराहारीमा मात्र छ ।

भारतबाट आउनेको संख्या पनि दैनिक १ हजारदेखि १५ सयको हाराहारीमा छ । विमानबाट आउनेको संख्या पनि ५ सयदेखि १५ सय हुन्छ ।

हिँडेर आउनेहरूको स्वाब नाकामै लिने, विमानबाट आउनेको हकमा ५ दिन क्वारेन्टाइनमा राख्ने र त्यसपछि परीक्षण गर्ने भनिएको छ । हाम्रो क्राइटेरिया (मापदण्ड) अनुसार परीक्षण गरेका छौँ ।

 

समुदायमा पनि कोरोना परीक्षण सुरु गरिएको थियो । समुदायमा गरिएको परीक्षणले संक्रमणको अवस्था कस्तो देखियो ?

समुदायमा संक्रमण गएको छ कि छैन भनेर परीक्षणको योजना बनाएका छौँ । करिब ४५ हजार व्यक्तिको ‘र्‍यान्डम स्याम्पल’ लिने काम सुरु गरेका छौँ । काठमाडौं उपत्यकामा करिब ५८ सय जनाको परीक्षण गर्‍यौँ, ५ हजार जनाको रिपोर्ट आउँदा ३ जनामा मात्र कोरोना पोजेटिभ देखियो । तीमध्ये २ जना विदेशबाट आएका र एकजना व्युटीपार्लरमा काम गर्ने रहेछन् । यसले समुदायमा संक्रमण गएको छैन भन्ने देखाएको छ ।

आवश्यकता पर्दा १० हजारभन्दा माथि परीक्षण गरेर नतिजा दिने क्षमतामा हामी पुगेका छौँ । संक्रमणको स्थिति पनि सन्तुलनमा आएको हो कि जस्तो देखिन्छ तर हामी ढुक्क हुने अवस्थामा छैनौँ ।

भारतबाट व्यक्तिहरू आउनुअघि नेपालमा संक्रमित सीमित नै थिए । भारतबाट आउनेहरूमध्ये क्वारेन्टाइनमा बसेका १२ प्रतिशतमा कोरोना पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयको हालसम्मको आँकडाले संक्रमितमा ९७ दशमलव ७ प्रतिशत व्यक्ति विदेशबाट आएकाहरू रहेको देखिएको छ ।

हिजो संक्रमित ह्वात्तै बढेजस्तो किन भयो भने भारतबाट धेरै संख्यामा आउनुभयो । त्यतिबेला क्वारेन्टाइनमा पनि अस्तव्यस्तता भयो । सय जनालाई बनाइएको क्वारेन्टाइनमा एक हजार मान्छे आए भने अस्तव्यस्तता हुने नै भयो ।

एकै दिन २५ हजार जनाको स्वाब लिनुपर्ने अवस्था हुँदा परीक्षणको क्षमता थिएन । त्यो अस्तव्यस्तता हेर्दा सरकारको कार्यशैली नै सधैँ यस्तै हो कि भन्ने पनि लागेको थियो होला तर त्यसो होइन । हामी जनताको स्वास्थ्यप्रति सरोकार राख्छौँ । राज्य अभिभावक हो भन्ने अर्थमा हामी अघि बढेका छौँ ।

अहिले सरकारी डेडिकेटेड अस्पतालमा मात्र होइन कतिपय निजी अस्पताललाई पनि अनुमति दिएका छौँ । आवश्यकता पर्दा के सरकारी, के गैरसरकारी भन्ने वातावरण बनाएका छौँ ।

मानिसहरूमा परीक्षण–परीक्षण भन्ने एक खालको मानसिकता छ । यो कुनै रोग निरोधक औषधि होइन, जसको एकपटक परीक्षण गर्छौं, त्यसपछि उसलाई त्यो रोग नआउने भए त सबै मान्छेलाई परीक्षण गरौँ भन्ने हुन्थ्यो । पीसीआर गर्नुको अर्थ परीक्षण गरेको बेलासम्म ऊ संक्रमित छ कि छैन भनेर हेर्नेभन्दा बाँकी केही छैन । परीक्षण गर्दा राज्यको लगानी हुन्छ । जोखिममा छ भन्ने लागेको अवस्थामा त राज्यले खोजीखोजी परीक्षण गरेको छ । त्यसमा कुनै भ्रम र अन्यौल छैन ।

मैले धेरै ठाउँमा भन्ने गरेको छु, तपाईंको मिडियामार्फत पनि भन्न चाहन्छु, अमेरिका, बेलायत युरोपजस्ता शक्तिसम्पन्न, विकासशील र क्षमता भएका देशमा पनि कोरोना पोजेटिभ भएको व्यक्ति अस्पतालमा गयो भने यतिको बिरामी अहिले अस्पताल आउने होइन घरमै बस्नू, सास फेर्न गाह्रो भयो भनेमात्र आउनू भनेका छन् ।

विकशित देशको अवस्था त्यस्तो छ । हाम्रोजस्तो अभाव भएको ठाउँमा पनि राज्यले बिरामी हुँदा घरमा बस भनेको छैन । कोही बिरामी छौ, लक्षण छ भने आऊ, राज्यले उपचार गर्छ भनेर खोजीखोजी परीक्षण गरेर अस्पतालमा ल्यायौँ । लक्षण नदेखिएका तर पोजेटिभ भएका व्यक्तिहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरेका छौँ । हामी यति जिम्मेवारपूर्ण ढङ्गले कम गरिरहेका छौँ ।

स्वास्थ्य मन्त्रालयले बनाएका निर्देशिकाहरूमा त क्वारेन्टाइनमा राखिएकाहरूलाई १४ दिनपछि आरडीटी गरेर पीसीआर परीक्षण नगरी घर पठाउने भनिएको छ । अहिले कस्ता व्यक्तिको पीसीआर परीक्षण भइरहेको छ ?

हामीले अहिलेसम्म पीसीआरबाट मात्र ३ लाख १५ हजार जनाको कोरोना परीक्षण गरेका छौँ । कुल जनसंख्याको हिसाबले यो एक प्रतिशत हो । परीक्षण नै नगर्ने भन्ने हाम्रो नीति छैन । हिजो स्क्रिनिङको निम्ति हामीले आरडीटी पनि प्रयोग गरेका थियौँ । धेरै जना हुँदा आरडीटी गर्ने र त्यसमा पोजेटिभ आएमा पीसीआर परीक्षण गर्ने गरेका थियौँ ।

हामीले आरडीटी कोरोना डाइग्नोसिसका लागि नभई अध्ययनका लागि प्रयोग गरेका थियौँ । अहिले पनि मान्छेहरूमा भ्रम छ । व्यक्तिलाई एकपटक पनि परीक्षण नगर्ने भनिएकै छैन । क्याबिनेटबाट निर्णय गर्दा पनि १४ दिनपछि कुनै एक विधिबाट परीक्षण गरेर बिदा गर्ने भनिएको छ ।

अहिले हामीले स्वास्थ्य मन्त्रालयबाट बनाएको प्रोटोकलअनुसार कुनै व्यक्ति संक्रमित भएको छ भने संक्रमण भएको ५ देखि १० दिनभित्रमा परीक्षण गर्दा त्यो पोजेटिभ देखिन्छ । त्यसैले कोरोना छ कि छैन भनेर ५ देखि १० दिनभित्रमा परीक्षण गर्ने हो ।

चौध दिनपछि पीसीआर नगर्दा हुन्छ भनिएको कुरा सत्य हो । यो हाम्रो मात्र प्रोटोकल होइन, विश्व स्वास्थ्य संगठनले पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा २ देखि १० दिनभित्र सार्न सक्छ तर १० दिनपछि भयो भने संक्रमितबाट अर्को व्यक्तिलाई सर्दैन भनेर सोहीअनुसार मापदण्ड बनाएको छ ।

लक्षण नदेखिएकालाई ३ दिनभित्र घर पठाउन सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनले नै मापदण्ड बनाएको छ । हामीले एकपटक परीक्षण गरेर १४ दिन क्वारेन्टाइनमा राखेपछि पुनः परीक्षण नगरी पठाउँदा पनि हुन्छ भनेर निर्देशिका बनाएका छौँ ।

केही दिनअघि भारतबाट आएका अछामका व्यक्तिहरूले क्वारेन्टाइनमा स्वाब दिनुभयो, १४ दिन क्वारेन्टाइनमा बस्नुभयो र गाउँ जानुभयो । ३५ हजार स्वाब क्युमा भएको समयमा उहाँहरूको रिपोर्ट १५ दिनपछि पोजेटिभ देखियो । पोजेटिभ देखिएपछि उहाँहरूलाई सिडियोले घरबाट फेरि क्वारेन्टाइनमा ल्याउनुभयो ।

१५ दिनपछि रिपोर्ट आउँदा उनीहरू घर गइसकेका थिए । उनीहरूको घरको मान्छे वा गाउँका मान्छेमा संक्रमित भेटिनुपर्ने थियो तर भेटिएन । त्यसैले, १४ दिनपछि कोरोना सर्दैन भनेर विश्व स्वास्थ्य संगठनले भनेको कुरा हाम्रो ठाउँमा पनि मिलेको छ ।

लकडाउन खुकुलो भएपछि व्यवसाय र कार्यालयहरू खुल्न थाले । गाउँमा पुगेकाहरू कार्यस्थलमा फर्किन थालेका छन् । उनीहरू काठमाडौं आएर सबैभन्दा पहिला टेकु अस्पतालमा कोरोना परीक्षणका लागि लाइन लाग्ने गरेका छन् । कोरोना संक्रमित व्यक्ति पुनः परीक्षण नगरी घर त गयो तर कार्यस्थलमा फर्काउन कति सहज छ ?

यसमा बुझाइमा एकरूपता हुनुपर्छ । जोखिम भएका व्यक्तिहरू परीक्षणको दायरामा आउनुपर्छ । क्वारेन्टाइनमा बस्नुपर्छ । कुनै संक्रमितले आइसोलेसन वा क्वारेन्टाइन अवधि पूरा गरेपछि उसलाई अपराधीजस्तो हेर्नु सामाजिक कुरा होइन । बाहिरबाट आउने व्यक्तिलाई संक्रमित नै हो कि भनेर मान्छेको मनोविज्ञानले भन्छ । कोरोनासँग सम्बन्धित जानकारीको अभावले पनि यस्तो भएको हो ।

सुरुको अवस्थामा कोरोना देखिँदा तपाईं–हामी धेरै डरायौँ । हामी अहिले पनि सामाजिक दूरी कायम गरौँ, मास्क प्रयोग गरौँ भन्छौँ तर अहिले सडकमा हेर्ने हो भने नेपालमा कोरोना संक्रमण देखिएको छ र जस्तो देखिन्छ । अहिले मानिसमा १७ हजार संक्रमित भएर पनि निको भए त भन्ने लागेर हो वा मलाई कोरोना लाग्दैन भन्ने सोचेर हो, हेलचेक्य्राइँ भएको छ ।

मानिसहरूमा चेतनाको अभाव भन्नुभयो । स्वास्थ्य मन्त्रालयले नै कोरोना चेतनाको नाममा खर्च गरिरहेको छ । त्यो खर्च कहाँ र कसका लागि भयो भनेर समीक्षा गर्ने बेला भएन ?

कोरोनाको चेतना फैलाउने मुख्य जिम्मेवारी हाम्रै हो । यसमा कुनै अप्ठेरो मान्नै परेन तर राज्यका सबै व्यक्तिले कर्तव्य बोध गर्नुपर्‍यो । कोरोना संक्रमण कुनै ठाउँ विशेष, देश विशेषमा मात्र छैन । विश्वव्यापी छ । हिजो नसोचेका, नटेरेकाहरू पनि अहिले कोरोनासँग हार मानेका छन्, गलेका छन् ।

हामीले सार्वजनिक सूचनाहरू बनाएका छौँ । संघ र प्रदेशले पनि सहकार्य गरेका छन् । अन्तर्राष्ट्रिय दातृसंस्थाहरू हामीसँग आबद्ध भएका निकाय, सामाजिक संघसंस्था, सबै राजनीतिक पार्टीहरूले पनि आआफ्नो क्षमताअनुसार योगदान गर्नुभएको छ । तर, एउटा व्यक्तिले गलत प्रचार गर्दा पनि असर पर्छ ।

मान्छेहरूले हिजो सबैतिर कोरोना फैलियो, नेपालमा किन आएन भने । नेपालमा कोरोना देखिएपछि तिनै मान्छेहरूले अन्त त छिटोछिटो बढ्छ हाम्रोमा किन बढेन भने । हाम्रोमा किन धेरै मरेनन् पनि भने । यो सबैको पछाडि सरकारको कमजोरी हो भनेर सन्तुष्टि लिने मान्छेहरू पनि छन् । यो राम्रो पक्ष होइन ।

असार मसान्तसम्ममा ४० हजार संक्रमित पुग्ने अनुमान गर्नुभएको थियो तर संक्रमितको दर अनुमानभन्दा कम देखियो । अहिले नेपालमा जोखिमको अवस्था कस्तो छ ?

हामीले जेठ ३१ गते त्यस्तो आकलन गरेका थियौँ, एकदमै नराम्रो अवस्था भएमा असार ३१ गतेसम्ममा ६९ हजारसम्म केस पुग्छ भनेर । यस्तै संक्रमणको उच्च जोखिममा पुग्दा १ लाख ८१ हजार जनासम्म संक्रमित पुग्न सक्छ भनेर अनुमान गरेका थियौँ । मध्यमस्तरमा संक्रमण देखियो भने ३९ हजार संक्रमित पुग्छन् भन्ने अनुमान गरेका थियौँ ।

हामी साउन ४ गतेसम्ममा १८ हजार संक्रमित भएको अवस्थामा छौँ ।

हामीले आकलन गरेअनुसार मध्यम अवस्थाभन्दा पनि तल छौँ । हामी सबैको प्रयत्न र लकडाउनले गर्दा पनि मध्यमभन्दा पनि तल छौँ । अहिले हेर्दा प्रतिदिन पोजेटिभ थपिनेभन्दा निको हुनेको संख्या बढेको छ । मृत्युदर शून्य दशमल २ प्रतिशत छ । यसलाई नियन्त्रणमा राख्न सक्यौँ भने हामी समाजलाई संक्रमणबाट जोगाउन सक्छौँ ।

विश्वव्यापी महामारीको अवस्था रहँदासम्म हामी जोखिममै हुन्छौँ । भारतमा कोरोना नियन्त्रण नहुँदासम्म हामी उच्च जोखिममा छौँ । त्यहाँ १० लाखभन्दा बढी संक्रमित छन् । भारतसँग हाम्रो खुला सीमाना छ, सीमानामा आउन–जान रोकावट छैन ।

हाम्रो देशमा कोरोना नियन्त्रण हुँदै गयो, त्यो हाम्रालागि खुसीको कुरा हो तर भारतमा पूर्णरूपमा नियन्त्रण नहुँदासम्म हाम्रो देशमा जुनकुनै बेला पनि डडेलो लाग्न सक्छ भन्ने कुराप्रति सावधान रहेर काम गर्नुपर्छ ।

म तपाईंको मिडियामार्फत के आग्रह गर्छु भने अहिले बाहिर आजादीपूर्ण उन्मादीको व्यवहार गर्नेभन्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलअनसार सावधानी अपनाउनुपर्छ । प्राटोकल प्रत्येक व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि हो । नियम पालना गर्न म सबैलाई हार्दिकतापूर्ण अनुरोध गर्दछु ।

कोरोना संक्रमणको जोखिम रहँदासम्म सोहीअनुसार रोकाथाम, नियन्त्रण र उपचारको निरन्तरता कायम राख्नुपर्ला, यसमा स्वास्थ्य मन्त्रालय के गर्दैछ ?

हामी कोरोना रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि काम गरिरहेका छौँ । संक्रमित भेटिएको ठाउँमा कन्ट्याक्ट ट्रेसिङ गर्न प्रत्येक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमहानगरपालिकामा तीन वटा र महानगरपालिकामा पाँच वटा गरी स्वास्थ्यकर्मीको नेतृत्वमा १ हजार ७५ वटा टिम परिचालन गरेका छौँ । ल्याबहरू विकास गरेका छौँ ।

स्वाब संकलन गर्न नयाँ ग्रुप बनाएर परिचालन गर्ने योजनामा छौँ । प्रत्येक प्रदेशमा ३ हजार आइसोलेसन सेन्टर र बेडहरूको व्यवस्थापन गर्न केन्द्रले गर्ने सहयोग र नीति निर्देशन गरेका छौँ ।

हामीले २५ वटा हब अस्पताल तोकेका छौँ । स्याटेलाइट हस्पिटल तोकेका छौँ । कोरोनाकै लागि विशेष अस्पतालहरू तोकेका छौँ ।

हिजो हामीले थोरै बिरामी हुँदा प्रत्येक बिरामी अस्पताल जाने नीति बनाएका थियौँ । लक्षण नभएका केसहरूलाई आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको छ । अस्पतालकै सेवा चाहिनेलाई सेवा दिन सकिन्छ ।

कोही व्यक्ति बाहिरबाट आएर होम क्वारेन्टाइनमा बस्नुभयो तर उहाँको परीक्षण गर्नुपर्ने भयो भने स्वास्थ्यकर्मीलाई परीक्षणको लागि पठाउने र एकजना व्यक्ति हेरिदिए बापत प्रतिव्यक्ति २ सय रुपैयाँ पाउने व्यवस्था गरेका छौँ ।

आइसोलेसन सेन्टरमा पोजेटिभ केस देखिएको व्यक्ति हेर्नुपरेमा प्रतिव्यक्ति २ हजार, अस्पतालमै राख्नुपर्ने संक्रमित हेर्नेलाई प्रतिव्यक्ति ३५ सय, अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि ७ हजारदेखि साढे ७ हजार र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने बिरामी हेर्ने प्रतिव्यक्ति प्रतिदिन १५ हजारका दरले दिने घोषणा गरिएको छ ।

हेरविचार गर्ने र उपचार गर्ने कुरामा राज्यले कतै विभेद गर्दैन भनेर यो विधि बनाएर काम गरेका छौँ ।

नेपालमा कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सकलाई जोखिम भत्ता दिने भनिएको थियो तर चिकित्सक र स्वास्थ्यकर्मीले त्यस्तो भत्ता नपाएको गुनासो गर्न थालेका छन् नि, किन ?

डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मीहरू र फ्रन्ट लाइनमा काम गरिरहेकाहरूलाई शतप्रतिशत जोखिम भत्ताको कुरा गरेका छौँ, २५ लाखको विमाको कुरा गरेका छौँ । राज्यको तर्फबाट कुराले होइन, कामले प्रोत्साहित गर्ने काममा लागेका छौँ ।

हामीले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेका छौँ । जोखिम भत्ता कहिले दिने, कति दिने भनेर चाँहि त्यसमा संलग्नहरूको तथ्यप्रमाण चाहिन्छ । कोरोनाको उपचार तथा रोकथाम र नियन्त्रणमा संलग्न भएका, जोखिममा काम गरेका सबैलाई राज्यले जोखिम भत्ता उपलब्ध गराउँछ । अहिले नै हातमा पैसा पाइएन भनेर डराउनु पर्दैन ।

कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको कुरा व्यापक भयो, यसमा के भन्नुहुन्छ ?

हाम्रोमा २ अर्ब ९२ करोड निकासा भएको थियो । त्यसमध्ये हामीले औषधि–उपकरण खरिद गर्न ओम्नीसँग एक अर्ब ५ करोडको सम्झौता गरेका थियौँ । त्यो सम्झौता रद्द गरेपछि त्यो एक अर्ब ५ करोडको एक पैसा पनि खर्च भएको छैन । हामीले त्यो कम्पनीलाई एक पैसा पनि दिएको छैन । उल्टै उसको ५ करोड धरौटी नै हामीले जफत गरेका छौँ । कर्मचारीको तलबलगायत अन्य कार्यमा केही खर्च भएको छ ।

अहिले दैनिक कति खर्च भयो भन्ने कुरा त म भन्न सक्दिनँ । मलाई सचिवले नीति नियम र प्रक्रियाअनुसार ब्रिफिङ गर्ने हो । राज्यले नियमसङ्गत भएको छ वा छैन भनेर हेर्ने हो । अनियमितता भएको छ भने अनियमितता गर्ने व्यक्तिहरू दण्डका भागिदार हुन्छन् । कानुनी राज्य छ, कानुनसम्मत ढङ्गले कारबाही गरिन्छ । त्यसमा कसैलाई उमुक्ति दिइँदैन ।

हाल कोरोनाको उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको उपलब्धता कस्तो छ ?

सुरुमा त पीपीई लगायत स्वास्थ्य सामग्रीको हाहाकार नै भएको हो । पीपीई भएन भने राजीनामै दिन्छौँ भनेर डाक्टर नर्सहरूले आवाज नै उठाउनुभयो । अहिले अभावको अवस्था छैन । हामी हर हालतमा पनि एक महिनाका लागि सुरक्षित हिसाबमा छौँ । पीपीई हामीसँग २ लाखभन्दा बढी स्टक नै छ ।

संक्रमण जुनकुनै बेला बढ्न सक्छ भनेर हामीले सामग्रीहरूको यथोचित जोहो गरेका छौँ । केही दिनमा ७ वटा आरएनए एक्ट्राक्सन मेसिन ल्याइँदै छ ।

संक्रमितको संख्या बढ्दै गएमा प्रत्येक प्रदेशमा एक हजारका दरले परीक्षण गर्ने तयारी अवस्थामा छौँ । हामी निरन्तररूपमा लागेका छौँ । हिजोको जस्तो अभाव हुन्छ कि भनेर शंका गर्नु पर्दैन ।

कोरोना केस लुकायो कि भनेर आशंका गर्छन् । केस लुकाएर मैले गहना बनाएर लगाएर हिँड्न मिल्ने हो र ? कोरोना पुँजी हो र चाहिएको बेलामा लगानी गर्न ? झिल्कोजस्तो अलिकतिले पनि सर्छ भन्ने कुरा किन लुकाउनु ? लुकाएर मलाई के फाइदा छ र ?

लुकाउने कुरा होइन, हामीले लुकाएका छैनौँ । यो कोरोना लुकायो भन्नेहरूले भनिदिनुपर्‍यो कहाँ लुकाइएको छ । हामी च्यापच्याप समाएर ल्याउछौँ । परीक्षणविना नै कोरोना यहाँ–यहाँ छ भन्छन् ।

राज्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ । उपचार गर्ने कुरामा क्षमताले भ्याएसम्म हामी उपचार गर्छौं । कुनै बाहना गरेर मानिसको स्वास्थ्यमा खेलवाड गर्दैनौँ ।

स्वास्थ्य मन्त्रालयका हरेक कार्यक्रम जनताको स्वास्थ्य संवेदनासँग जोडिएको हुन्छ । कोरोनासँगै स्वास्थ्यका अन्य कार्यक्रमहरू कसरी अघि बढाइरहनु भएको छ ?

प्राकृतिक विपत्तिबाट उत्पन्न हुनसक्ने रोग तथा महामारी, अन्य सरुवा रोग लगायत सबै कुरामा हाम्रो ध्यान गएको छ । कोरोना नहुँदा विगतमा जुन हाम्रा आन्तरिक तयारी हुन्थे, ती कायमै राखेका छौँ । कोरोनासँगै अहिले वर्षाका कारण हुने जोखिम र महामारीको पनि डर छ । सोहीअनुसार रोग तथा औषधिको उपलब्धताको विषयमा हामी लागिरहेका छौँ ।

अन्य रोग नियन्त्रणको काम हाम्रो नियमित जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न हाम्रा योजनाहरू नियमित छन् । कोरोना र अन्य महामारीका लागि हामी र हाम्रा मातहतका निकायहरू उच्च सतर्कतामा छौँ । कोरोनाका मात्र पछि लागेर हामीले अन्य रोग र संक्रमणको जोखिम बेवास्ता गरेका छैनौँ ।

कोरोनाले न कुनै पार्टी हेर्छ, न जात, लिङ्ग न धर्म हेर्छ, वर्ण । न कुनै सीमाना हेर्छ । यो महामारीलाई परास्त गर्न आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भएर लड्दामात्र विजय प्राप्त गर्न सक्छौँ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : १६ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक