सरकार ! कुलमान पुनर्नियुक्त नभए पनि हुन्छ « Khabarhub
Logo
६ कार्तिक २०७७, बिहीबार

सरकार ! कुलमान पुनर्नियुक्त नभए पनि हुन्छ



नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकबाट हालै सेवानिवृत्त कुलमान घिसिङ चर्चाको शिखरमा छन् । कुलमानको कृत्यमहिमा नसुन्ने नेपाली देश—विदेशमा कतै कोही पनि छैन होला । विद्युत प्राधिकरणको प्रमुख अधिकारीका रूपमा उनले चार वर्ष बिताउँदा आमनागरिकको माया पाए । उनको महिमागान एउटा लोकप्रिय राजनीतिक नेताको भन्दा कम भएन । कार्यकाल सकिन लागेको चर्चा भएदेखि नै जनस्तरमा उनको पुनर्नियुक्तिको माग उठ्न थालेको हो, उनी बाहिरिनलाग्दा घनिभूत भएको मात्रै हो ।

कुलमान एक जना कर्मचारी हुन् । व्यक्तिगतरूपमा उनी ऐन नियमले तोकेको काम गर्ने अधिकारी मात्रै हुन् । मुख्य कर्ता सरकार हो । कुलमानले कर्म गरेका हुन् । उनी विद्यतु प्राधिकरणमा आएपछि जनस्तरमा देखिन—सुनिन थालेका हुन् । समस्त देशबासीको जीवनशैली र देश विकासको पूर्वाधारसँग जोडिने एउटा ठूलो कार्यालयको प्रमुख अधिकारीका रूपमा राम्रो काम गर्छु भन्ने अठोट भए पनि जनताको यति प्यारो हुन्छु भन्ने शायद उनले सोचेका थिएनन् । उनी आफैँ पनि अनौठो मान्दा हुन् !

कसैको जोडबलले लोकप्रियता हासिल हुने होइन । हुन्थ्यो भने नेकपाभित्र शक्तिशाली मानिएका नेता वामदेव गौतम यति धेरै आलोचित भएर राष्ट्रियसभामा मनोनीत हुनुर्ने थिएन । पुष्पकमल दाहाल दोस्रोपटक संविधानसभाको चुनाव जित्न काठमाडौँ छाडेर सिरहा पुग्नुपर्ने थिएन । सेनाका परमाधिपति राजाले राजगद्दी त्याग्नुपर्ने थिएन ।

सडकमा आएका मान्छे कुलमानले बोलाएका होइनन् । सामाजिक सञ्जालमा उनका पक्षमा देखिएको लहर पनि कुलमानको भुक्तानीले मात्रै भएको मान्न सकिने होइन । यति कुरा जसले पनि र जहाँ पनि भन्न सक्छ । इमान गुमाएन भने कुलमानको विपक्षमा आगो ओकल्न प्रयास गर्नेले पनि भन्न सक्छ ।

कुलमानले आफ्ना जोडबलले लोकप्रियता हासिल गरेका होइनन्, गराएका पनि होइनन् । उनले सञ्चारमाध्यममा सधैँ आफ्ना पक्षमा लेखाउन सक्ने पनि होइनन् । जुन जुन सञ्चारमाध्यममा लेखिएर—देखिएर कुलमान नेपाली कुलका मान्य भए, त्यो उनको वशको कुरा थिएन । सन्दुक रुइतले कुनै पत्रकारलाई बोलाएर आफ्नो कुरा लेखाएका होइनन् । महावीर पुनले म्याग्दीका पाखामा पत्रकार बोलाएर म्यागासेसे पुरस्कार पाउने गरी लेखाएका होइनन् । एक समय ट्राफिक व्यवस्थापनमा सीताराम हाछेथु पत्रपत्रिका छाएका थिए ।

चार वर्षमा कुलमानका बारेमा आएका समाचार, आलेख र उनका अन्तर्वार्ताहरूमा कतै पनि उनी चर्को सुनिएनन्, कतै दम्भी देखिएनन् । विद्युत प्राधिकरणमा उनका पूर्ववर्तीहरूप्रति कहिल्यै अप्रिय सुनिएनन् । अन्तर्वार्ताकारले फुस्काउन खोजे पनि उनी निकै तौलिएर, संयमित ढङ्गले प्रस्तुत भए । उनको आवाज कतै पनि कटु सुनिएन । कुनै अन्तर्वार्तामा पनि उनले आफ्ना पूर्ववर्तीहरूप्रति कोठोर र अप्रिय शब्द बोलेनन् ।

कुलमानको व्यक्तित्वको यस पक्षमा पत्रकारमित्र अमित ढकालले गत साता सेतोपाटीमा विस्तारमा लेखेका छन् । यहाँ थप कुरा लेख्नु पुनरावृत्ति हुनेछ ।

विद्युत प्राधिकरणको प्रमुख कार्यकारीका हैसियतले कुलमानले गरेका कामको फेहरिस्त पनि यो छोटो आलेखको उद्देश्य होइन । उनले चार वर्षमा के काम गरेछन् भन्ने कुरा आमनागरिकमा उनीप्रति देखिएको अनुरक्तिले प्रष्ट पारेकै छ । उनलाई अर्को चार वर्षका लागि दोहोर्‍याउन सडकमा उर्लिएको भिड पन्छाउन प्रहरीले पानीको फोहरा हान्नु परेको छ ।

निश्चय नै, सडकमा उर्लिएको भिडले कुनै कर्मचारीको नियुक्ति वा बर्खास्ती हुने होइन, हुनु हुँदैन । कानुन र स्थापित पद्धतिअनुसार हुन्छ, हुनुपर्छ । र, यसो भनेर कानमा तेल हाल्न र आँखामा पट्टी बाँध्न मिल्ने पनि होइन । सडकमा आएका मान्छे कुलमानले बोलाएका होइनन् । सामाजिक सञ्जालमा उनका पक्षमा देखिएको लहर पनि कुलमानको भुक्तानीले मात्रै भएको मान्न सकिने होइन । यति कुरा जसले पनि र जहाँ पनि भन्न सक्छ । इमान गुमाएन भने कुलमानको विपक्षमा आगो ओकल्न प्रयास गर्नेले पनि भन्न सक्छ ।

कुलमानले जादुको छडी घुमाएर रातारात लोडसेडिङ अन्त्य गराएका र प्राधिकरणलाई नाफा दिलाएका होइनन् । यो कुरा हामी आममानिसलाई भन्दा उनैलाई बढी थाहा छ । उनले म आएर लोडसेडिङ हटाएँ, नाफा दिलाएँ, म नआएको भए कसैगरी पनि यो काम हुने थिएन भनेको कतै पनि सुनिएको छैन । उनले आफ्ना अन्तर्वार्ताहरूमा जहिले पनि आफ्ना पूर्ववर्तीहरू, प्रधानमन्त्री र मन्त्रीलाई जस दिएका छन् । उनले आफूले धेरैजसो ‘व्यवस्थापनमा केही फरक गरेको’ भनेका छन् ।

सञ्चारमाध्यममा उनको सराहना भएको, उनले अन्तर्वार्ता दिएको र सडकमा जयगान भएको सरकारका मान्छेहरूलाई पटक्कै चित्त बुझेको छैन । मान्छेहरूले मन्त्री र प्रधानमन्त्रीको भन्दा बढी कुलमानको नाम लिएकोमा कुलमानले कर्मचारी हुनुको मर्यादा नाघेको ठहर भएको छ ।

भारतका मोटिभेसनल स्पिकर तथा लेखक शिव खेडा ‘सफल हुने मान्छेले फरक काम गर्दैन, काम फरक तरिकाले गर्छ’ भन्छन् । साँच्चै कुलमानले केही पनि नयाँ र फरक काम गरेका होइनन् । विद्युत उत्पादन पाइप लाइनमा छँदै थियो, भारतबाट आयात केही थपियो । प्रसारण लाइन स्तरोन्नति भएको र क्षमता थपिएको थियो । उनले विद्युत वितरण र कर्मचारी व्यवस्थापनमा केही फरक तरिकाले काम गरेका हुन् । उनले कुनै तरक्की गरेका होइनन् । यति नबुझ्ने त कोही पनि छैन होला ।

दोस्रो संविधानसभाको कृषि तथा जलस्रोत समितिको सभापति हुँदा कांग्रेस सांसद गगन थापाले दुई वर्षभित्रमा देश लोडसेडिङ मुक्त हुने तथ्य—तथ्यांक सहितको एक विवरण सार्वजनिक गरेका थिए । त्यस बेला कुलमान कुन गर्तमा थिए ! त्यसपछिका ऊर्जामन्त्रीहरूले पनि यस्तै विवरण राखेर कार्ययोजना बनाएका थिए । प्रधानमन्त्री केपी ओलीले त विद्युत उत्पादनमा एक कदम अघि बढेर समृद्धिको सपना सुनाएका थिए ।

त्यसो भए कुलमानले केही गरेनन् ?

कुरा त्यसो पनि होइन । एउटा कुशल व्यवस्थापकको व्यवस्थापन र लक्ष्य हासिल गर्ने दृढताले एउटा संस्था वा कार्यालयमा ठूलो परिवर्तन ल्याउन सक्छ । मौजुदा संरचनाले स्वतः काम गर्ने भए प्रधानमन्त्री ओलीले केरुङ नाकाबाट पोखरा हुँदै लुम्बिनी पुग्ने रेलको र समुद्रमा नेपाली झण्डा फहराउने पानी जहाजको कुरा गर्नै पर्ने थिएन । भारतले गरेको नाकाबन्दीमा अडान लिएको भनेर ओलीको महिमागान हुने नै थिएन । मैले अहिले सरकार छाडेँ भने पछिका कुनै पनि प्रधानमन्त्रीले भारतसँग शिर ठाडो गरेर बोल्न सक्ने छैन भन्नुपर्ने थिएन ।

आफूले नियुक्त गरेको एउटा कर्मचारी निर्धारित लक्ष्य हासिल गरेर लोकप्रिय भएकोमा उसलाई थप अवसरबाट बञ्चित गर्नु घोर द्वेष, ईर्ष्या र अभिमानको अभिव्यक्ति हो । घुमाई फिराई आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । कुरा कुलमानको पक्ष वा विपक्षको होइन, प्रवृत्तिको हो ।

एउटा व्यक्तिले कार्य कुशलता र योग्यताले कति फरक पार्न सक्छ भन्ने तथ्य प्रधानमन्त्री ओलीले नबुझेका होइनन् ।

नेपाल विद्युत प्राधिकरणमा कुलमानका सन्दर्भमा पनि भएको यस्तै हो । यस्तै कारणले हो, पूर्ववर्तीहरूले ठिकसँग काम गरेका रहेनछन् भनेर शंका भएको, कुलमान नभएका भए लोडसेडिङ अन्त्य हुने थिएन कि, विद्युत प्राधिकरण यसरी फटाफट नाफामा जाने थिएन कि, फेरि उही दशा दोहोरिने पो हो कि भन्ने शंका भएको ।

यसमा कुलमानको के दोष छ ?

जतिसुकै उच्च तहको भए पनि एउटा कर्मचारीले सरकारको नीति—निर्देशन अनुसार काम गर्ने हो । उसले राज्यको स्रोतसाधन प्रयोग गरेर व्यक्तिगत प्रचार गरेको छ, आफ्ना पूर्ववर्तीहरूको बद्ख्वाइँ गरेको छ, मन्त्री र प्रधानमन्त्रीको जानाजान अपमान गरेको छ भने उसलाई सचेत गराउने सरकारले नै हो । यतिले नपुगे यथोचित कारबाही गर्ने पनि सरकारले नै हो । उसले लोकप्रियताको आडमा लुकीछिपी अनुचित लाभ हासिल गरेको शंका छ भने छानविन गरेर कठघरामा उभ्याउन माइतीघर—बबरमहलमा देखिएको हुलले छेक्दैन ।

एउटा कुशल कर्मचारी र व्यवस्थापक राज्यको गौरव हो । सरकारका योजना कार्यान्वयनको माध्यम हो । कर्मचारीले हासिल गरेको सफलता प्रकारान्तरले मन्त्रीको र प्रधानमन्त्रीको सफलता हो । र, यो सफलताको शृङ्खला मुलुकको सफलता हो ।

सरकार नागरिक आवाजको कदर गर्छ भने कुलमानले आफ्नो चार वर्षे कार्यकालमा विद्युत प्राधिकरणलाई हानीनोक्सानी हुने के के काम गरे अनि कार्ययोजनामा परेका र हुन सक्ने के के काम गर्न सकेनन् भन्ने कुरा प्रष्ट पार्नुपर्छ ।

आफूले नियुक्त गरेको एउटा कर्मचारी निर्धारित लक्ष्य हासिल गरेर लोकप्रिय भएकोमा उसलाई थप अवसरबाट बञ्चित गर्नु घोर द्वेष, ईर्ष्या र अभिमानको अभिव्यक्ति हो । घुमाई फिराई आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । कुरा कुलमानको पक्ष वा विपक्षको होइन, प्रवृत्तिको हो । कुलमानका ठाउँमा अर्को आउँछ । राजा मरेर राजगद्दी खाली हुँदैन भन्ने कहावत हाम्रै भाषाको हो ।

फेरि दोहोर्‍याऊँ— कुलमान एक्लैको बलबुताले लोडसेडिङ अन्त्य भएको होइन र विद्युत प्राधिकरणले नाफा कमाएको पनि होइन । उनको दृढताको र कार्यकौशलको परिणाम भने अवश्य हो । यो उपलव्धिमा सरकार र कुलमानका पूर्ववर्तीहरूको योगदानको अवमूल्यन हुनु हुँदैन ।

विधि र पद्धतिअनुसार कुन ठाउँमा कसलाई नियुक्त गर्ने, कसलाई फेरि अर्को कार्यकालमा पनि दोहोर्‍याउने इत्यादि सरकाको तजविजको कुरा हो । नेपाल विद्युत प्राधिकरणमा फेरि पनि कुलमान नै नभई हुँदैन भन्नु लहडी कुरा हो । सरकारले त्यहीँ आवश्यक ठाने दोहोर्‍याउला वा अर्को संस्था सुधारका लागि उनको कार्यकौशल उपयोग गर्ला । कुलमानको सन्दर्भमा अहिलेलाई यति अपेक्षा पर्याप्त हुनेछ ।

रह्यो कुरा कुलमानका पक्षमा देखिएको जनलहरको । नागरिकहरूको यति ठूलो हिस्सा कुलमानका पक्षमा डटेर उभिन्छ र सरकारसँग लड्न तयार हुन्छ भने सरकार यो नागरिक आवाजप्रति जवाफदेही हुनैपर्छ । सरकार नागरिक आवाजको कदर गर्छ भने कुलमानले आफ्नो चार वर्षे कार्यकालमा विद्युत प्राधिकरणलाई हानीनोक्सानी हुने के के काम गरे अनि कार्ययोजनामा परेका र हुन सक्ने के के काम गर्न सकेनन् भन्ने कुरा प्रष्ट पार्नुपर्छ ।

कुलमानको कार्यसम्पादन र वैयक्तिक विषयमा ऊर्जामन्त्री र प्रधानमन्त्रीको आआफ्नै मूल्यांकन र निष्कर्ष होला । सरकार सोहीअनुसार अघि बढोस् तर जवाफदेही बन्दैन र नागरिक आवाज उपेक्षा गर्छ भने नियतमा शंका गर्ने ठाउँ हुन्छ । सरकारले नेपाल विद्युत प्राधिकरणमा कम्तीमा कुलमान जत्तिको र बढीमा उनीभन्दा दक्ष कार्यकारी नियुक्त गरोस् वा कुलमानलाई नै दोहोर्‍याओस् । निर्णय लिने र काम लिने सरकारले नै हो ।

नियुक्तिको निर्णयअघि सरकारले नागरिक आवाजको उचित सम्बोधन गरोस् । किन मानिसहरू कुलमान कि कुलमान भन्छन्, यति थाहा पाउने प्रयास गरोस् । जवाफदेहिता बोध गरोस्, कुलमानको पुनर्नियुक्ति नभए पनि हुन्छ ।


भर्खर

0