महाधिवेशनको चुनावी रणनीतिमा चुक्न थालेको कांग्रेस इतरपक्ष « Khabarhub
Logo
२ आश्विन २०७७, शुक्रबार

महाधिवेशनको चुनावी रणनीतिमा चुक्न थालेको कांग्रेस इतरपक्ष



नेपाली कांग्रेस यतिबेला १४औँ महाधिवेशनको पूर्वतयारीमा छ । क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सबै वडामा तीव्ररूपमा अघि बढी रहेको छ । वडास्तरमा भइरहेको तयारी र उत्साह हेर्दा निर्धारित मिति अर्थात आगामी फागुन ७ देखि १० गतेभित्र नेपाली कांग्रेसको महाधिवेशन हुने निश्चितजस्तै देखिन्छ । तर, स्थानीय स्तरको तयारी र उत्साहले मात्रै फागुनमै महाधिवेशन हुने कुरा सुनिश्चित नगर्ने कांग्रेसकै कतिपय नेताको विश्लेषण छ ।

उनीहरूका अनुसार महाधिवेशनको वातावरण सुनिश्चत हुन दुई वटा कठीन फ्याक्टर अझै बाँकी छन् । पहिलो हो– कोरोना संक्रमण । कारोना संक्रमणको वृद्धि यही यसैगरी अघि बढ्यो भने फेरी लक डाउनको अवस्था आउन सक्छ । यसो भयो भने स्थानीय अधिवेशन स्वतः रोकिन्छ । अर्को फ्याक्टर हो– सभापति देउवाले आफूलाई सुरक्षित वा असुरक्षित कस्तो महसुस गर्छन् ।

सभापति देउवाले आफू सजिलै पुनर्निर्वाचित हुने आकलन गरे भने निर्धारित मितिमै महाधिवेशन हुनेछ । उनले आफूलाई असुरक्षित ठाने भने तयारीका लागि थप समय लिनेछन् । विगतका अनुभव हेर्दा पनि बहालवाला सभापति पुनर्निर्वाचित हुन धेरै चलखेल भएका उदाहरणहरू छन् ।

महाधिवेशनको वातावरण सुनिश्चत गर्न इतर पक्षको दबाब र इच्छा शक्तिले पनि धेरै ठूलो काम गर्नेछ । नवौँ महाधिवेशनका सन्दर्भमा छिटो मिति तोक्नुपर्ने माग गर्दै तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईविरुद्ध तत्कालीन वरिष्ठ नेता गिरिजाप्रसाद कोइरालाले आफ्ना कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालयमै अनशनमा उतारेका थिए । त्यतिबेला कोइरालालाई सभापति बन्न हतार भइसकेको थियो । आफूले चुनाव जित्ने सुनिश्चित वातावरण कोइरालाले बनाइसकेका थिए ।

अहिलेको अवस्था अलिक फरक छ । सभापति पदमा इतर पक्षबाट को उम्मेदवार होला भन्ने अझै अन्यौल छ । यसअघि सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट उम्मेदवार तय भइनसकेको बताएका छन् । गत १३औँ महाधिवेशनमा जस्तै यसपटक पनि आफ्नो प्रतिस्पर्धी पक्ष एकजुट नभइसकेको अवस्थाको लाभ आफूले पाउने आकलन देउवाले गर्नु स्वाभाविकै हो ।

फेरि पनि उही तरिकाले महाधिवेशनमा उत्रने तयारी संस्थापन इतर पक्षले गरेको हो भने केवल औपचारिकता हुनेछ । होइन भने उम्मेदवार तय गरेर सघन गृहकार्य गर्न ढिलो हुन थालेको छ ।

यसैगरी देउवा छोटो संघर्ष र सानो ताकतले १३औँ महाधिवेशनमा सभापति निर्वाचित होइनन् । उनले यसका लागि करिब २० वर्ष अनवरत संघर्ष र तयारी गरिरहे । दुई पटक त पराजित भए । पार्टी विभाजन गरेरै भए पनि करिब चार वर्ष टुक्रे कांग्रेसको सभापति भए ।

तेह्रौँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता पौडेलले सभापतिका लागि सघन तयारी गर्ने अवसर पाएको मनोनयन पत्र दाखिला गर्नुभन्दा अघिल्लो दिनदेखि मात्रै हो । मनोनयनपत्र दाखिलाको अघिल्लो दिनसम्म तत्कालीन संस्थापन पक्षबाट सभापति पदमा करिब आधा दर्जन नेताहरूको दाबी थियो, जसमा प्रकाशमान सिंह, सुजाता कोइराला, डा. रामशरण महत र कृष्णप्रसाद सिटौला थिए । डा. महतले एक साताअघि नै पौडेलका लागि लाइन क्लियर गरे पनि प्रकाशमान र सुजाताले मनोनयनको अघिल्लो दिनमात्रै दाबी छाडे । सिटौला त उम्मेदवार नै बने ।

देउवाले महाधिवेशन प्रतिनिधिहरू प्रत्येकलाई सकेसम्म भेटेरै र नसके व्यक्तिगत पत्र पठाएर आफ्नो पक्षमा पारिसक्दा पौडेलले आफ्नो समय र सामाथ्र्य आफ्नै पक्षका आकांक्षीहरूको व्यवस्थापनमा खर्च गरिरहेका थिए । देउवाले चुनाव जित्नु र पौडेलले हार्नुको मुख्य कारण यही हो । अहिले पनि पौडेल समूह यही उल्झनमा छ ।

कांग्रेसमा सभापति पद हात पार्नु सलाई कोरेर चुरोट सल्काएजस्तो सजिलो होइन भन्ने कुरा ७० वर्ष यताका हरेक महाधिवेशनलाई हेर्दा हुन्छ । गिरिजाप्रसाद कोइरालाजस्ता जाँगरिला नेता पनि सानो संघर्ष र थोरै समयको तयारीबाट सभापति निर्वाचत भएका होइनन् । गणेशमान सिंहले त एकपटक पराजित हुनासाथै आकांक्षा छाडिदिएका हुन् ।

यर्थाथमा, १३औँ महाधिवेशनमा सभापति निर्वाचिात भएको भोलिपल्टै देउवाले १४औँ महाधिवेशनबाट दोहोरिने तयारी थालेका हुन् । पार्टीको केन्द्रीय संगठनलाई पूर्णता दिन देउवाले गरेको ढिलाइ शक्ति सञ्चय गर्ने रणनीति अन्तर्गत नै हो । १४औँ महाधिवेशनको सामुन्नेमा पदहरू बाँडेर मत लिने उनको रणनीति हो ।

संस्थापन पक्षबाट देउवा नै उम्मेदवार हुने हुन् भने इतर पक्षबाट फेरि पनि पौडेल नै उम्मेदवार बन्न किन नहुने भन्ने प्रश्नको सामना डा. शशांक कोइराला र प्रकाशमान सिंहले गर्नुपर्नेछ । अर्थात १४औँ महाधिवेशनमा सभापतिका लागि पौडेलको साटो आफू किन उपयुक्त प्रश्नको उत्तर कोइराला र सिंहले दिनै पर्नेछ ।

इतर पक्षले भने यो मामिलालाई देउवाको कमजोरी ठानेको छ । पार्टी सङ्गठनलाई पूर्णता दिन ढिलाइ गरेर देउवा कमजोर बनेका छन्, अब उनी हार्छन् भन्ने निष्कर्षका साथ इतर पक्षका केही नेताले आफ्नो नाम सभापतिका रूपमा नाम सार्वजनिक गरेका छन् । यसबाट इतर पक्षमै फेरि देउवाकै लागि अनुकूल वातवारण बन्दै गएको त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

संस्थापन पक्षबाट देउवा नै उम्मेदवार हुने हुन् भने इतर पक्षबाट फेरि पनि पौडेल नै उम्मेदवार बन्न किन नहुने भन्ने प्रश्नको सामना डा. शशांक कोइराला र प्रकाशमान सिंहले गर्नुपर्नेछ । अर्थात १४औँ महाधिवेशनमा सभापतिका लागि पौडेलको साटो आफू किन उपयुक्त प्रश्नको उत्तर कोइराला र सिंहले दिनै पर्नेछ ।

राजनीतिमा टिम स्पिरिट र वरिष्ठताको पनि उत्तिकै महत्व रहन्छ । अब सभापतिको उम्मेदवार नहुने हो भने पौडेलका लागि त करिब राजनीतिक विश्राम नै हो । पौडेलको विकल्पमा कोइराला वा प्रकाशमान जो उम्मेदवार बने पनि एक जनाको सक्रिय राजनीति धरापमै पर्नेछ । पौडेल उम्मेदवार बनेको अवस्थामा सबै नेताहरूले पार्टीमा भूमिका निर्वाह गर्न सहज हुनेछ भन्ने दृष्टिकोण पनि प्रबल देखिन्छ ।

नेपाली कांग्रेसका करिब एक तिहाई प्रतिनिधिले ज्यादै सुझबुझका आधारमा मतदान गर्ने गरेको देखिएको छ । ती एक तिहाई प्रतिनिधिहरूको राजनीतिक हैसियत, पार्टीमा निरन्तरता र क्षमता सभापति पदमा उम्मेदवार हुनेहरूको भन्दा कम हुँदैन । सभापति पदका उम्मेदवारहरूले पार्टीका अरू पदमा पाएको जिम्मेवारी कसरी निर्वाह गरेका थिए भन्ने पनि उनीहरूले अध्ययन गरिरहेका हुन्छन् ।

डा. शशांक कोइराला बहालबाला महामन्त्री हुन् । महामन्त्रीका रूपमा यो पाँच वर्षको अवधिमा पार्टीका लागि उनले के कति अतिरिक्त योगदान पु¥याए, संसदमा उनको भूमिका कस्तो रह्यो, सार्वजनिक समारोह तथा मिडियामार्फत उनले महामन्त्रीको हैसियतमा जनतालाई के सन्देश दिए भन्ने जस्ता हिसाब ती प्रतिनिधिहरूले नराख्ने कुरै भएन । आफू देउवाभन्दा सक्षम हुने आधारहरू उनले प्रस्तुत गर्नै पर्नेछ ।

प्रकाशमान सिंह पनि एक कार्यकाल उपसभापति र एक कार्यकाल महामन्त्री बनिसकेका नेता हुन् । यी दुई वटा कार्यकालमा उनले पार्टी संगठन विस्तारमा के कति योगदान पुर्‍याए, उनको कुन कुन गतिविधिका कारण पार्टीको साख वृद्धि भयो भन्ने कुरा महाधिवेशन प्रतिनिधिहरूले खोज्ने नै छन् । पौडेलको हकमा भने अलिक पृथक छ । उनी पनि पार्टीको महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भइसकेका नेता हुन् । यी पदमा रहँदा पौडेलले पार्टीका निम्ति उल्लेखनीय योगदान गरेका छन् ।

उपसभापतिका रूपमा पार्टीको नीति प्रतिष्ठनको संयोजक हुँदा पौडेलले देशव्यापी कार्यक्रमबाट पार्टीको पक्षमा तरङ्ग ल्याएकै हुन् । पार्टी विभाजन रोक्न पनि पौडेलले महामन्त्रीको हैसियतमा मिहिनेत गरेकै हुन् । निरन्तरता, वरिष्ठता र संघर्षको हिसाबले पनि पौडेलको उचाइ देउवाको भन्दा माथि नै थियो । तैपनि, पौडेल १३औँ महाधिवेशनमा देउवासँग किन पराजित भए ?

संस्थापन पक्षले पनि सोच्नुपर्ने मामिला धेरै छन् । चुनाव जित्ने सुनिश्चित नभई सभापति देउवाले उम्मेदवारी दिनु उचित हुनेछैन । पराजित हुँदा देउवाको साख समाप्त हुन्छ तर वैकिल्पिक नेतृत्व विकास गर्ने मामिलामा देउवा चुकेका छन् ।

यसका दुई वटा पक्ष छन् । पहिलो, पौडेलले पूर्वतयारीका लागि पर्याप्त समय पाएनन् । दोस्रो, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले जस जसलाई प्रोमोट गरेका थिए तीमध्ये अधिकांश नेताहरू देउवाको पक्षमा उभिए । यसको सूची निकै लामो छ ।

फेरि पनि उही तरिकाले महाधिवेशनमा उत्रने तयारी संस्थापन इतर पक्षले गरेको हो भने केवल औपचारिकता हुनेछ । होइन भने उम्मेदवार तय गरेर सघन गृहकार्य गर्न ढिलो हुन थालेको छ ।

संस्थापन पक्षले पनि सोच्नुपर्ने मामिला धेरै छन् । चुनाव जित्ने सुनिश्चित नभई सभापति देउवाले उम्मेदवारी दिनु उचित हुनेछैन । पराजित हुँदा देउवाको साख समाप्त हुन्छ तर वैकिल्पिक नेतृत्व विकास गर्ने मामिलामा देउवा चुकेका छन् ।

आफ्नी श्रीमती आरजु राणा हुँदै छोरा जयवीरसम्म नेतृत्व पुर्‍याउने राणनीति अन्तर्गत देउवाले वैकल्पिक नेतृत्वको उदय निरुत्साहित गर्ने रणनीति अवलम्बन गरेका त होइनन् भन्ने आशंका उत्पन्न भएको छ । संस्थापनमा विमलेन्द्र निधि स्वाभाविकरूपमा वैकल्पिक नेता हुन् तर उनीसँग देउवाको संवाद टुटेको समाचार बाहिर आएको छ ।


भर्खर

0