कोरोना कहर : नजिकै अस्पताल, सहज उपचार | Khabarhub Khabarhub

कोरोना कहर : नजिकै अस्पताल, सहज उपचार



झापा– कोरोना भाईरसको महामारी नियन्त्रण गर्न गत वर्षको चैत ११ देखि संघीय सरकारले लगाएको लकडाउन खुकुलो भई सकेको थियो । तर असोज दोश्रो साता सम्ममा संक्रमितको दर र मृतकको संख्या बढि रहेका बेला अस्पतालहरुमा उपचारका लागि ठाउँ पाउन कठिन थियो ।

त्यसै बेला झापाको कमल गाउँपालिकाले भने अस्थाई कोभिड अस्पतालनै सञ्चालनमा ल्याएको थियो । कमल गाउँपालिकाले वडा नं. ५ स्थित सशस्त्र प्रहरी जवान तालिम केन्द्र नजिकै बनाएको अस्थायी अस्पताल उद्घाटन गर्दा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भनेका थिए, ‘पूर्वमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनमा ल्याएर कमल गाउँपालिकाले बलियो स्थानीय सरकारको महसुस गराएको छ, यो उत्साहका लागि पनि यसलाई स्थायी अस्पतालमा रुपान्तरण गर्न मेरो भुमिका रहने छ ।’

तर स्थायी अस्पताल बन्ने भयो भन्ने भन्दा पनि अस्थायी रुपमानै भए पनि सहजै उपचार पाईने भयो भनेर स्थानीय औधी खुसी भए ।

त्यस्तै लगातार कोरोनाका लक्षणहरु देखिए पछि दमक ५ विष्णु पौडेलले दमकमै रहेको कोभिड उपचार केन्द्रमा सम्पर्क गरे । उनको सोहि उपचार केन्द्रले स्वाव संकलन गर्‍यो र परीक्षणका लागि पठायो । रिपोर्ट पोजेटिभ आयो । समस्या भएमा सोहि अस्पतालमानै बसेर स्वास्थ्यलाभ लिन सकिने उपाय स्वास्थ्यकर्मीहरुले दिए । तर उनलाई अस्पताल भर्ना हुनु परेन, स्वास्थ्यकर्मीहरुको सिफारिसका औषधी लिएर घरैमा बसे ।

घरैमा स्वास्थ्यलाभ गरिरहेका पौडेलले भने, ‘अस्पतालमा ठाउँ पनि नपाउने र उपचार पनि कठिन भएको बेला चाँहि निक्कै डर थियो, तर नजिकै अस्पताल छ भने पछि संक्रमणको चिन्ता पनि आधा कम भएको महसुस गरेँ ।’
कुनै समस्या आएमा जुनसुकै बेला पनि नगरमै रहेको अस्पताल जाने सुविधा रहेकाले घरैमा बसेर कोरोनालाई जित्ने हिम्मत पलाएको उनको भनाइ छ ।

नगरपालिकाले पछिल्लो समय दमक अस्पताल अन्तर्गत रहने गरी बेलडाँगीमा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएपछि उनीजस्ता धेरै नगरबासीको आत्मविश्वास बढेको छ । सो केन्द्रमा हाल सम्म ३४ जना संक्रमित उपचारका लागि भर्ना भएकामा २६ जना निको भएर डिस्चार्ज भएका छन ।

त्यहाँ भर्ना भएका मध्ये एक जनाको सो अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको र अन्य पाँच जना अहिले पनि उपचाररत रहेका नगरपालिकाकी प्रवक्तासमेत रहेकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

यस्तै कमल गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा पनि ९ जनाले उपचार लिए । एक जनालाई भने अवस्था जटिल बनेका कारण मेची अस्पताल रेफर गर्नु परेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् । अहिले भने कोही पनि कोभिड अस्पतालमा बस्ने प्रकारका बिरामी नभएकाले रित्तै रहेको उनले बताएकी छन् ।

संक्रमितहरुले उपचारका लागि अस्पतालहरुमा ठाउँ पाउनै मुस्किल भएपछि संघीय सरकारले सबै स्थानीय तहलाई कोभिड अस्पताल सञ्चालन गर्न निर्देशन गरेको थियो । सोही अनुसार सञ्चालनमा आएको दमकमा ४ बेडको एचडीयू सेवासहित ३० बेडको अस्पताल बनाईयो । कमलमा भने प्रारम्भिक उपचार मात्र हुने गरेको थियो ।

स्थानीय सरकारको महसुस

दमक नगरपालिकाले कात्तिक अन्तिम सातादेखि कोभिड उपचार केन्द्र सञ्चालनमा ल्यायो । त्यस बेलासम्म दमकमा कोरोना भाईरस संक्रमणका कारण २३ जनाको ज्यान गई सकेको थियो ।

पूर्वका प्रमुख अस्पतालहरु धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल तथा कोभिड उपचार केन्द्र, मेची अस्पताल, नोवेल अस्पताल, बिराट मेडिकल कलेज लगायतमा पनि संक्रमितले उपचारका लागि ठाउँ पाएका थिएनन् । तर जब स्थानीय स्तरमा कोभिड अस्पताल तथा उपचार केन्द्र सञ्चालनमा आए, अनि महसुस शुरु भयो स्थानीय सरकारको ।

यसरी फैलियो दमकमा

दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो । त्यसैले यहाँका कतिपय गतिविधि राष्ट्रिय चासोको विषय बन्ने गरेका छन् । त्यसैगरि कोरोना संक्रमण उच्च भएका बेला प्रधानमन्त्रीको गृहनगरमा पनि स्वास्थ्य सुरक्षा फितलो भयो भनेर आलोचना पनि भयो । यसबारे नगरप्रमुख रोमनाथ ओली भन्छन्, ‘प्रधानन्त्रीको गृहनगर भन्दैमा हुँदो रहेछ र, संसारका कत्रा कत्रा शक्तिशाली देशका राष्ट्रप्रमुखहरुनै संक्रमित भए, हाम्रो प्रधानमन्त्रीको कार्यालयकै कतिपयमा संक्रमण देखियो । तर हामीले सतर्कता अपनाउँदा अपनाउँदै पनि एक पटक त ह्वात्तै संक्रमण देखिएको थियो । तर अहिले अवस्था अहिले निक्कै नियन्त्रणमा छ ।’

दमकमा गत वैशाख १० गते पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालका ४९ औं कोरोना संक्रमित थिए भने झापाका पहिलो । उनी उपचारपछि अहिले स्वस्थ जीवन बिताइरहेका छन । त्यसयता दमकमा निरन्तर कोरोना संक्रमण फैलिँदै गयो । पहिलो संक्रमण भेटिएको ठीक ६ महिना अर्थात गत असोज १० मा पहिलो पटक दमककी कोरोना संक्रमित एक महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

८ महिना वित्दा दमकमा कोरोना संक्रमित हुनेको संख्या १ हजार १४१ पुगेको छ । ती मध्ये १ हजार ४८ जना कोरोना संक्रमणबाट मुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा संक्रमित हुनेमा सर्वसाधारणदेखि नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी समेत छन ।

कोरोना जित्नेको अनुभूति

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उनकी श्रीमती तथा परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टि भए पछि धेरै नगरबासी त्रसित भए । खानपान र जीवनशैली प्रति सजग मानिएका नगरप्रमुख नै संक्रमित भएपछि त्रास फैलिनु स्वभाविक पनि थियो ।

नगरपालिकाका प्रमुख ओलीले भने, ‘म हिँडिरहनु पर्ने, धेरैलाई भेटिरहनु पर्ने व्यक्ति भएकाले मलाई संक्रमण भयो र मेरै कारणले परिवारमा फैलिएको हुन सक्छ । त्यसैले हामीले अब संक्रमणको दर घट्यो, मलाई त लाग्दैन होला भनेर खेलाँची नगरौं । जो सुकै व्यक्ति पनि जुनसुकै बेला संक्रमित हुने जोखिम अझै छ ।’

आफुलाईभन्दा पनि श्रीमतीलाई संक्रमणले बढि समस्या पारेका कारण सँगै अस्पतालमा रहेर उपचार गराउनु परेको उनले बताए । तर श्रीमान श्रीमतीलाई नै एकैसाथ संक्रमण भएको र अस्पतालमा पनि सँगै रहन पाएकाले एकले अर्कालाई हेरविचार र सहयोग गर्न पनि पाएको उनको अनुभव छ ।

यस्तै एक साता अघि मात्रै कोरोना संक्रमणबाट मुक्त भएका दमक ८ का वडा सदस्य भीमराज केसी कोरोना संक्रमणबाट एक महिनापछि मुक्त भएपनि संक्रमणको भोगाई निक्कै कष्टकर भएको अनुभव सुनाउँछन ।

उनले भने, ‘मेरो संक्रमणको अवधि निक्कै लामो भयो तर हतोत्साहित भईन । धैर्यता राखेर कोरोनाको सामना गरें ।’ कोरोना संक्रमणबाट बच्न सबैभन्दा ठुलो कुरा साबधानी अपनाउनु नै रहेको उनको सुझाव छ ।

यस्तै संक्रमण भई हाले आत्मबल बलियो बनाएर खानपानमा विशेष ध्यान दिए कोरोना जित्न सकिने उनको सुझाव छ ।
नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने ५८ जना हाल उपचाररत छन । नगरपालिकाले हाल कोरोना संक्रमणका शकांस्पद बिरामीको कोरोना परीक्षण निःशुल्क गर्दै आएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १२ : २६ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव