संविधान कार्यान्वयन संघबाटै केही सुस्त भएको छ | Khabarhub Khabarhub

संविधान कार्यान्वयन संघबाटै केही सुस्त भएको छ



विद्रोही माओवादीको जनसेनाबाट आएकी, उमेरले र औपचारिक शिक्षाको हिसाबले कच्चा मानिएकी ओनसरी घर्ती संविधानसभाले बनाएको संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा सभामुख निर्वाचित भइन् ।

संविधान कार्यान्वयनको जग बसाउन अत्यन्त महत्वपूर्ण थियो उनको कार्यकाल । उनले आफ्नो योग्यतामाथिका शंकाहरू निवारण गर्दै संसदको नेतृत्व गरिन् । प्रस्तुत छ संविधानका कार्यान्वयनको पाँच वर्ष पूरा भएको संविधान दिवसका अवसरमा खबरहबका लागि गोविन्द लुइँटेलले गरेको संवाद ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको पाँच वर्ष पूरा भएको छ, निर्वाचित सरकारको एक कार्यकालजस्तै, संविधान कार्यान्वयनका हिसाबले यो समय कस्तो देख्नुभएको छ ?

सर्वप्रथम म संविधान दिवसका अवसरमा शुभकामना भन्न चाहन्छु । यो संविधान आफूले निर्वाचित गरेका जनप्रतिनिधिबाट संविधान बनाउने लामो समय, सात साल, देखिको जनताको चाहनाको साकार रूप हो । नेपाली जनताले आफ्नो संविधान आफैँ लेख्ने भन्ने महान काम हामीले सम्पन्न गरेका हौँ । यस अवसरमा म नेपाल र नेपाली जनताको उन्नतिको कामना गर्दछु ।

यो पाँच वर्षमा संविधान कार्यान्वयन जुन गतिमा हुनुपर्छ भन्ने हामीलाई लागेको हो, त्यस आधारमा हेर्दा केही सुस्त भएको कि जस्तो लाग्छ । हामीले स्थानीय सरकार र प्रदेश सरकार बनायौँ तर संघले बनाउनुपर्ने कानुनहरू बनेर जसरी तल्लोसम्म कार्यान्वयनमा जानुपर्थ्यो, त्यसमा कतिपय काम अधुरो छ ।

संघले बनाउनुपर्ने कानुनहरू नबनाएका कारणले कतिपय कामहरू रोकिए भनेर प्रदेशका सांसद, मन्त्री, मुख्यमन्त्रीहरूले गुनासो गर्ने गर्नुभएको छ ।

प्रत्यायोजन हुनुपर्ने कतिपय अधिकारहरू प्रत्यायोजन भएनन् भन्ने गुनासो पनि छ । जुन गतिमा काम हुनुपर्ने थियो, त्यो केही सुस्त भएको हो ।

कोरोनाका कारणले पनि पाइपलाइनमा भएका कतिपय कामहरू रोकिए नत्र अहिलेसम्ममा धेरै काम भइसक्ने थियो । संघीय संसदले धेरै कानुनहरू बनाइसक्ने थियो । त्यसले प्रदेश र स्थानीय तहलाई सजिलो हुने थियो ।

अब हामीले सतर्कतापूर्वक कोरोनासँग एड्जस्ट भएर काम गर्नेतिर सोच्नुपर्छ । अब सबै कुरा बन्दाबन्दीको अवस्थामा राखेरमात्र सम्भव छैन । सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गरेर अब हामीले कोरोनासँगै काम गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

जुन गतिमा काम हुनुपर्थ्यो, त्यो भएन गति सुस्त भयो भन्नुभयो । कोरोनालाई छाडेर हेर्दा कहाँ कमजोरी भएजस्तो लाग्छ ?

संविधान प्रारम्भ भएपछिको संघीय संसदमा हामीले हाउस एकदमै कम बन्द गर्‍यौँ । त्यो वेला संसदमा ३०-३१ दल थिए । यति धेरै राजनीतिक दलहरूका बीचमा सहमति गराउन पनि गाह्रै थियो । धेरै राजनीतिक दलका बीचमा छलफल गराएर राम्रो परिणाम दिने अवसर पनि थियो । संक्रमणकालीन अवस्था थियो, राजनीतिक दलहरू धेरै थिए, काम गर्न गाह्रो पनि थियो ।

हामीले त्यो समयमा संविधान कार्यान्वयनको दिशामा एउटा जग हालेका थियौँ । चुनाव गराउनु पर्थ्यो, एउटा प्रणालीमा ल्याउनु पर्थ्यो । हामीले त्यो काम गर्‍यौँ । त्यसपछिको समयमा जति काम हुनुपर्थ्यो त्यसमा केही कमी भएको छ । यसमा म संघकै ढिलासुस्ती देख्छु ।

काम नभएको होइन, धेरै राम्रा कामहरू भएका छन् । कानुनहरू कार्यान्वयनमा गएका छन् । समावेशी प्रणाली लागु हुँदामात्रै पनि यो देशमा साँच्चै गणतन्त्र आएको हो भनेर जनताले अनुभव गर्नसक्ने अवस्था सिर्जना भएको छ । लोकसेवामा हाम्रो केही चल्दैन भन्ने महिला र दलितहरू, पिछडिएका र अल्पसंख्यकहरू आएका छन् । उनीहरू खुला प्रतिस्पर्धामा पनि आँट गर्न थालेका छन् ।

संघमा जति प्राथमिकता र तीव्रताका साथ काम हुनुपर्थ्यो, त्यसमा केही ढिलासुस्ती भएको हो । यसले स्थानीय तहसम्मै असर गरेको छ ।

तपाईं संविधान कार्यान्वयनको पहिलो चरणमा सभामुख हुनुभयो । आज आफ्नो त्यो कार्यकाल फर्केर हेर्दा कस्तो देख्नुहुन्छ ?

म सभामुख भएको समयमा जनताको कोणबाट हेर्दा ठूलो उत्साह थियो । देशमा साँच्चै गणतन्त्र आएको अनुभूति जनतामा थियो । जनताको त्यस्तो उत्साहको प्रभाव राजनीति दल र नेतामा सोहीअनुसार सकारात्मक हुन्छ । मलाई पनि त्यस्तै भएको थियो । मनमा एउटा उत्साह र उमङ्ग भएको थियो ।

हामीले एउटा ठूलो परिवर्तन गरेका थियौँ जहाँ कहिल्यै नसोचेको समुदायका व्यक्ति पनि शासनको प्रणालीमा सहभागी हुन पाउँछन्, निर्णायक स्थानमा पुग्न पाउँछन् भन्ने स्थापित भएको थियो । हाम्रो कल्पनामा मात्रै भएको कुरा व्यवहारमा रूपान्तरण भएको थियो । जनयुद्ध र आन्दोलनको समयमा त यस्तो कुरा हाम्रो कल्पनामा मात्रै थियो ।

संविधान बनेपछि त्यो राजनीतिक कल्पनाको कार्यान्वयन नै मबाट भएको जस्तो लाग्छ । मलाई जनताले सभामुखको हैसियतमा पाएका थिए । मेरालागि चाहिँ गहन जिम्मेवारीको धेरै ठूलो प्रेसर थियो । सभामुखका रूपमा नेपाली जनताको र महिला समुदायको अपेक्षा पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने प्रेसर हुन्थ्यो ।

त्यो समयमा मेरालागि दुई वटा कुरा थिए । पहिलो, मैले राम्रो गर्न सकेँ भने महिला समुदाय अगाडि आउँछ र सकिनँ भने मेरो कारणले महिलाको लागि ढोका बन्द पो हुन्छ कि जस्तो लाग्थ्यो । दोस्रो, समग्ररूपमा सभामुखको कामको प्रेसर थियो । मेरा लागि महिलाहरू भिड्नै तयार हुन्थे । को कुन पार्टीको भन्ने नै थिएन, महिलाहरू सबै सभामुखका पक्षमा थिए । मैले पनि आफ्नो पार्टी पूरै बिर्सेको थिएँ । सभामुख, प्रधानन्यायाधीश र राष्ट्रपति महिला रहेको समय थियो । यस्तो संयोग इतिहासमा त छँदै थिएन, आउने समयमा पनि कमै होला ।

यस किसिमको उत्साहपूर्ण वातावरण र समर्थनले ममाथि चाहिँ जिम्मेवारी निर्वाहको प्रेसर पर्थ्यो । संविधानका प्रावधानहरू कसरी कार्यान्वयन गर्ने, छिटो गरेर कानुन कसरी बनाउने भन्नेमा सहमति जुटाउन मैले प्रयत्न गरे । अधिकांश कानुन सहमतिमै बनायौँ । कामै रोकिने र सरकार नै अघि बढ्न नसक्ने अवस्थामा मात्रै बहुमत र अल्पमत भयो ।

त्यो समय संसदको कामका हिसाबले म धेरै व्यस्त रहेँ । मैले अलिकति पनि समय खेर नफाली काम गर्ने अवसर पाएँ । त्यो समय फर्केर हेर्दा मलाई सन्तुष्टि नै हुन्छ ।

तपाईं सभामुख भएको समय संविधान कार्यान्वयनका दृष्टिले जग बसाउने मार्गदर्शक महत्वको थियो । आफ्नो नेतृत्वमा त्यो महत्व कति स्थापित गरेँ भन्ने ठान्नुहुन्छ ?

त्यस वेला मैले सोचेका कुरा दुई वटा थिए । मुख्य काम त कानुन बनाउनु नै थियो । सकेसम्म सहमतिमा गर्ने र सहमति हुन नसके नियमअनुसार गर्ने मेरो नीति थियो । बढीभन्दा बढी सदस्यहरूलाई बोल्न दिने, हाउस बढी समय चलाउने सोचेको थिएँ ।

अर्को, हाउसलाई केही सिर्जनात्मक बनाउन सक्छु कि भन्ने सोचेँ । हाउस नेपाली जनताको हो, शासन जनताको हो भन्ने सोचेर काम गरेँ । जनताले हामीलाई प्रत्यक्षरूपमा हेरून् र निगरानी गरून्, हामीलाई जनताले प्रष्ट देख्न सकून् भन्ने सोचेँ ।

कति राजा महाराजा पनि राम्रो विचारका थिए तर उनीहरू जनताको हुन सकेनन् । उनीहरू जनताको सम्पर्कमा थिएनन् । शासक र जनताको बीचमा प्रत्यक्ष सम्पर्क भएन भने शासकहरू मनोगत हुन्छन् । हामी मार्क्सवादीहरू वस्तुगत स्थितिलाई सत्य मान्छौँ । वस्तुगतस्थितिबाट टाढा रहेको शासक निरंकुश, तानाशाही र व्यक्तिवादी हुन्छ ।

म जनप्रतिनिधिका काम जनताले प्रत्यक्ष देख्न सक्नेगरी काम गर्न चाहन्थेँ । म हाउसभित्र केही सुधार गर्न चाहन्थेँ । त्यहाँभित्र कुनै पनि किसिमले अनियमितता नहोस् भन्ने कुरामा ध्यान दिएँ । क्यान्टिन सुधारदेखि अन्य धेरै कुरामा । करोडौँ रकम बचत गर्ने कुरामा मैले जोड दिएँ र सुधार पनि गरेँ । एक रुपैयाँ पनि तलमाथि नहोस् भन्ने कुरामा जोड दिएँ ।

हाउसलाई जनतासँग जोड्न प्रत्यक्ष प्रशारणको प्रक्रिया अघि बढाएँ । अहिले तपाईंहरूले संसदको कारबाही टेलिभिजनमा प्रत्यक्ष हेर्न पाउनुहुन्छ । म जनतासँग प्रत्यक्ष जोडिएको पारदर्शी हाउस होस् भन्ने चाहन्थेँ र सोही अनुसार काम गरेँ ।

म सभामुख हुनुअघि संसदमा निकै ठूलो आर्थिक अनियमिता थियो भन्ने तपाईंको कुरा हो ?

ठ्याक्कै त्यस्तो चाहिँ होइन । म पनि उपसभामुख थिएँ । संविधानसभाको समयमा कसरी संविधान बनाउने भन्नेबाहेक अरू कुरामा ध्यान पुर्‍याउन कठिन थियो । त्यति वेलाका सभामुख (सुवासचन्द्र नेम्वाङ) पनि सचेत हुनुहुन्थ्यो । उहाँले पनि केही कदम चाल्नु भयो ।

मेरो पालामा आउँदा संविधान निर्माणको जिम्मेवारी सकिएको थियो । कानुन निर्माणको एकोहोरो काम थियो । मैले संसदभित्र सुधारका अन्य काममा पनि ध्यान दिन पाएँ । फरक यति हो । मैले उहाँ (नेम्वाङ) कै सुझाबमा सुधारको बाँकी काम अघि बढाएको हुँ ।

संविधान कार्यान्वयनको प्रारम्भिक चरणको महत्वपूर्ण समयमा तपाईं सभामुख हुनुभयो । औपचारिक शिक्षाको कुराले तपाईंको योग्यतामाथि शंका पनि प्रकट भएको थियो । कतिपय मानिसहरू उमेरका हिसाबले पनि आलोकाँचो ठान्थे । त्यो शंका पूराका पूरा निवारण गरेँ भन्ने ठान्नुहुन्छ कि केही बाँकी रह्यो ?

ममाथि त्यस किसिमले शंका गर्नु आफैँमा नराम्रो कुरा थिएन । अधिकांश शंका सकारात्मक कोणबाट भएको थियो । कतै संसदको काम राम्रो हुँदैन कि, ठप्प हुन्छ कि भन्ने चिन्ताले नै शंका प्रकट भएको थियो ।

अध्यक्ष कमरेड प्रचण्डको निरन्तरतामा क्रम भङ्ग र छलाङको सिद्धान्तअनुसार म सभामुख भएको थिएँ । सामान्य मान्छेका लागि, कतिपय नेताका लागि मलाई सभामुख बनाउनु सानो आँटको कुरा थिएन । मैले कमरेड प्रचण्डलाई मलाई सभामुख बनाउने दुस्साहस गर्नुभयो भनेँ । उहाँले साहस भन न निक दुस्साहस भन्ने भन्नुभयो ।

यसकारण आममानिसले र नेताहरूले जो शंका गरेका थिए, त्यो शुभकामनाका लागि सकारात्मक कोणबाट थियो । नकारात्मक नै सोच्नेका लागि पनि स्वाभाविक नै थियो ।

त्यो चुनौती पार गर्न सक्छु कि सक्दिनँ भन्ने म आफैँलाई पनि शंका थियो । अरूले शंका गर्नु त स्वाभाविकै थियो । काम गर्दै गएपछि आत्मविश्वास पलाउँदै गयो । मैले धेरै मिहिनेत गरेँ । म चार घण्टाभन्दा बढी सुतिनँ । सुरुका छ महिना त दुई घण्टामात्रै सुतेँ । जनताको उत्साह र प्रेरणाले मलाई बल दियो । नसुतेरै पनि हाउस चलाउन गएँ । कतै अनुहारमा अनिदोपन झल्किन्छ कि जस्तो लाग्थ्यो तर कहिल्यै कसैले त्यस्तो टिप्पणी गरेन ।

म सभामुख हुने कुरा त मैले अघिल्लो दिनमात्रै थाहा पाएको हुँ । नाम त आएको थियो तर पत्याएको थिइनँ । जब साँच्चै सभामुख हुने पक्का भएपछि जिम्मेवारीबोधले रातभरि निद्रा परेन । सभामुख भएपछि मैले आफ्नो लक्ष्य निर्धारण गरेर काम थालेँ ।

सापेक्षित रूपमा उत्कृष्ट संविधान बनाएका थियौँ । कार्यान्वयनका लागि कानुन बनाउनमा कुनै त्रुटि नहोस् भन्ने कुरामा म सचेत थिएँ । यसो गर्न मैले धेरै भेटघाट गरेँ, धेरै सुझाब लिएँ । म कार्यकर्ता तहबाट सभामुख भएको थिएँ । नेताहरूसँग वैरभाव थिएन, सबै नेताहरू अभिभावक जस्ता हुनुहुन्थ्यो । सुझावका लागि म नेताहरूका घरमै जान्थेँ ।

मैले कसैसँग तुलना नहुने उत्कृष्ट काम गरेँ भन्दिनँ तर ममाथिको शंका चाहिँ निवारण गरेँ ।

निकै काविल मानिएका, संविधान बनाएका सभामुख, संविधानसभाका अध्यक्षपछि लगत्तै तपाईं सभामुख हुनुभयो । उहाँको कार्यक्षमताका सामु म छायाँमा पो पर्ने हुँ कि भन्ने सोच कहिलेकाहीँ आयो कि आएन ?

त्यस्तो सोच आएन । म योङ जेनेरेशनबाट थिएँ । उहाँ (नेम्वाङ) अग्रज हुनुहुन्थ्यो । उहाँ त मेरो अभिभावक हुनुभयो, प्रतिस्पर्धी हुनुभएन । म त उहाँको छोरीपुस्ता भएँ । एकअर्कामा इगो भएन ।

म सभामुख भएपछि मैले उहाँलाई तपाईं पूरा समय हाउसमा बसिदिनुपर्छ र मलाई सुझाब दिनुपर्छ, गल्ती औँल्याइदिनुपर्छ भनेँ । उहाँले पनि त्यसै गर्नुभयो । महिला साथीहरू आफ्नो दल बिर्सेर सभामुखलाई सफल बनाउन लाग्नुभयो । यसले पनि मलाई मिहिनेत गरेर राम्रो काम गर्न प्रेरणा र प्रेसर दुवै हुन्थ्यो ।

अनि, काविल सभामुखसँग उपसभामुख भएर काम गरेको समय चाहिँ कत्तिको सहयोगी भयो ?

उपसभामुख हुँदा मैले काम सिक्ने अवसर पाएँ । पछि आफूले हाउस चलाउँन ठूलो मद्दत भयो । सिधै सभामुख भएको भए शायद निकै कठिन हुन्थ्यो होला । सभामुख (नेम्वाङ) पनि धेरै सहयोगी हुनुहुन्थ्यो । मैले पनि सकेको सहयोग गरेँ । मेरा प्रस्तावहरू उहाँले गम्भीरतापूर्वक लिनुभयो, अस्वीकार गर्नुभएन । सहजीकरण गर्ने काम गर्थें ।

तपाईं उमेरको हिसाबले ५० वर्षभन्दा तल, ४५ तिर हुनुहुन्छ । कमै उमेरमा सभामुख हुनुभयो । कार्यक्षमता र कार्यशैलीका हिसाबले लगभग अनालोचित रहनुभयो । व्यक्तिगतरूपले रोल्पाकी ओनसरी घर्तीलाई फर्केर हेर्दा कस्तो लाग्छ ?

तल्लो वर्गबाट उठेर शासनसत्तामा पुगेपछि जनता बिर्सिन्छ भन्ने धारणा थियो । हामीलाई पनि त्यस्तै लाग्थ्यो । हो, म राष्ट्रको एउटा उच्च जिम्मेवारी सह्माल्ने ठाउँमा पुगेँ तर म त जनताको मजदुर हुँ, जनताले दिएको जिम्मेवारीको भारी बोकेर जनताले नै देखाएको बाटोमा हिँड्ने गधाजस्तै हुँ ।

सभामुख भएर ठूलो भएँ भन्ने सोचको घोर विरोधी हुँ । म जनताको तल्लो तहबाट आएको हुँ र आज पनि त्यही छु । म त्यही तहको मान्छेको सम्मान बढाउनका लागि हुँ ।

एउटा घटना सुनाउँछु । हामीले गोप्य राखेका थियौँ । अहिले भन्दा हुन्छ । एकपटक संसदको बैठक हेर्न तराईका दुई जना मान्छे आएका रहेछन् । उनीहरू दर्शक दीर्घामा जान पाएनछन् । त्यो कुरा मसम्म आइपुग्यो । मैले बुझ्दा उनीहरूले चप्पल लगाएका रहेछन् । चप्पल लगाएर माथि जान नपाइने रहेछ ।

मैले चप्पल लगाएर जान नपाइने लिखित नियम छ भने च्यातेर फालिदिनू, मौखिक हो भने अहिले नै रद्द भयो भनेँ । ती मान्छेलाई माथि पठाउनु हुन्न भने म आफैँ आएर पुर्‍याउँछु भनेपछि चप्पल लगाएर पनि दर्शक दीर्घामा जान पाइने भयो ।

म आफू पनि त्यही तहको हुँ । जिम्मेवारीको हिसाबले राज्यबाट पाएको सुविधा जनताकै हितमा प्रयोग गर्ने हो । म जनताले खटाएको मजदुर हुँ ।

किशोरावस्थामै बन्दुक बोकेर लडाकु हुनुभयो । त्यो समयमा देशको भावी राजनीतिक चित्रबारे जे कल्पना हुन्थ्यो, आज कस्तो पाउनुहुन्छ ?

धेरै कुरा सोच्ने उमेर थिएन । एउटामात्रै कुरा बुझेको थिएँ । यो शासनसत्ता गलत हो, यसबाट हाम्रो भलो हुँदैन, शासनसत्ता फेर्नुपर्छ भन्नेमात्रै थियो । घरमा आमाबुबालाई मैले यी राजा हामीलाई हुँदैन । अब हामी राजा फेर्छौं, नयाँ सत्ता ल्याउँछौँ, राष्ट्रपति ल्याउँछौ भनेँ ।

कि नयाँ सत्ता ल्याउँछौँ कि मर्छौं भनेर बन्दुक बोकेर हिँडेँ । एउटा भरुवा बन्दुक बोकेर हिँडेको हो । ड्याङ्ग लडेर माओको जस्तै एकलौटी शासन ल्याउँछौँ भनेर हिँडेको । त्यस्तो त भएन तर कम रगत बगेर ठूलो परिवर्तन ल्यायौँ । त्यो बेलामा सोचेको जस्तो त भएन तर कम क्षतिमा सत्ता परिवर्तन भयो । राजतन्त्र अन्त्य भयो ।

आधारभूतरूपमा हेर्दा ठूलो राजनीतिक छलाङ मार्‍यौँ । अब अझ अगाडि जानु छ । हामीले सोचेको जस्तो परिवर्तन ल्याउन अघि बढ्नु छ । हामी क्रमिकरूपमा हाम्रो लक्ष्यमा पुग्छौँ ।

तपाईंहरूकै कतिपय लडाकु र राजनीतिक सहकर्मीहरू अहिले तपाईंले गरेका उपलव्धिका बयानहरूमा सहमत छैनन्, असन्तुष्ट देखिन्छन् । सीमित नेताहरूको व्यक्तिगत उपलव्धि ठान्छन् । तपाईंहरूलाई नै पनि श्रीमान्-श्रीमती ठूला पदमा पुगे भन्छन् । यसमा तपाईंको के टिप्पणी छ ?

यस्तो कुरा मलाई स्वाभाविक हो भन्ने लाग्छ । जनयुद्धको समयमा हामीले भनेको जस्तो स्वाट्ट परिवर्तन आएको भए त के हुन्थ्यो, त्यो अहिले भन्न सकिने भएन तर हामीले क्रमिक परिवर्तनको बाटो रोज्यौँ ।

हामीले पुरानो पद्धति र प्रणाली परिवर्तन गर्न सकेका छैनौँ । पुरानै सिस्टमले काम गरिराखेको छ । अहिले पनि हुनेखाने र हुँदाखाने वर्ग छ । आज पनि भोकै बस्नुपर्ने वर्गको कोणबाट हेर्दा राजतन्त्र गएर गणतन्त्र आयो त के भयो भन्नु स्वाभाविक हो ।

परिवर्तन नै भएन भन्ने कुरामा सहमत हुन सकिँदैन । उहाँहरूलाई कुरा बुझाउनु पर्छ तर भोको पेट नभरिएसम्म कुरा बुझेरमात्रै केही हुँदैन । यो वर्गको जिम्मा राज्यले लिनुपर्छ । दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनुपर्छ अनिमात्र राजनीतिक परिवर्तनको महत्व बुझाउन सजिलो हुन्छ ।

संघीयता कार्यान्वयन सन्तोषजनक भएन । राजनीतिक, आर्थिक र प्रशासनिक शक्ति आझै पनि केन्द्रीकृत छ भन्ने टिप्पणी र असन्तुष्टिहरू धेरै सुनिन्छन् । तपाईं के भन्नुहुन्छ ?

सबै केन्द्रीकृत भयो, केही परिवर्तन भएन भन्ने कुरा सही होइन । स्थानीय तहसम्म सरकार पुगेको छ । प्रदेश सरकार छ । संघले बनाउनु पर्ने कतिपय कानुनहरू बनिनसक्दा, कतिपय अधिकारहरू प्रत्यायोजन नगर्दा केही समस्या भएको छ । कतिपय त कानुन बनेका छन् तर कार्यान्वयन भएको छैन । दलित र जनजातिका आयोग बनाउन सकेका छैनौँ ।

केही कुरा हामीले गर्न नसकेको पनि हो । अब कोरोनासँगै बाँच्न सिक्दै बाँकी काम गर्दै अघि बढ्नुपर्छ । यस्ता असन्तुष्टिहरू सम्बोधन गर्दै जानुपर्छ । तलका राजनीतिक तहहरू बलिया बनाउँदै जानुपर्छ ।

समग्रमा आजको राजनीतिक उपलव्धिमा, संविधान कार्यान्वयनको पाँच वर्षमा, सन्तुष्टिको मापन गरेर तपाईंले सय पूर्णाङ्कमा अंक दिनुपर्‍यो भने कति दिनुहुन्छ ?

कतिपय कामहरू कार्यान्वयन भइसकेका छन् । केही कार्यान्वयनको क्रममा छन् । केही बाँकी छन् । यसरी हेर्दा सरदर काम त गरेकै छौँ । त्यसकारणले अंक पनि बहुमतमै छ । बहुमतभन्दा कम भयो भने त शासन नै चल्दैन । सयमा सय त दिन सकिँदैन, सरदर अंक त दिनैपर्छ । ठ्याक्कै अंक त के दिऊँ तर ५० भन्दा माथि नै छ । नत्र त चल्दै चल्दैन ।

तपाईं सभामुख हुँदाको समेत र संविधान कार्यान्वयनको पाँच वर्षको अनुभव हेरेर संविधानमा चाँडै संशोधन गर्नुपर्ने केही ठाउँ देख्नुभएको छ ?

केही प्रश्नहरू थालनीदेखि नै उठेका छन् । केही अपूर्णता छन् । निरपेक्ष पूर्णता त केहीमा पनि दिन सकिँदैन । हामीले सापेक्षित पूर्णतामा हेर्नुपर्छ । यो संविधान कार्यान्वयन गर्न बाधा नै पर्ने र चाँडोभन्दा चाँडो संशोधन गर्नुपर्ने कुनै ठाउँ छ भन्ने मलाई लाग्दैन ।

तर, जुन समुदायले प्रश्नहरू उठाउनुभएको छ, त्यो सम्बोधन गर्नुपर्छ भन्ने मलाई लाग्छ । उहाँहरूले जे कमजोरी देख्नुभएको छ, मैले ठ्याक्कै त्यही नदेखेको हुनसक्छ, त्यसैले उहाँहरूलाई परेको मर्का बुझ्ने प्रयास गर्नुपर्छ र समाधान खोज्नुपर्छ ।

मधेशको एउटा समूह प्रारम्भदेखि नै असन्तुष्ट छ, संविधान जारी गर्ने प्रक्रियामै सहभागी भएन । त्यो समूहको माग कसरी सम्बोधन हुनुपर्छ वा माग नै अनुचित छ, के ठान्नु हुन्छ ?

प्राथमिकता फरक होला तर मागहरू सबै अनुचित छैनन् । वर्तमान प्रधानमन्त्री पनि यसमा गम्भीर हुनुहुन्छ । यसलाई हामीले इस्यु र प्राथमिकताका आधारमा एउटा, एउटा गर्दै सम्बोधन गर्न पाए हुन्थ्यो ।

सबै विषयहरू एकै पटक गोलमटोल भएर आउँदा अनावश्यक वहस हुने पनि देखिन्छ । मधेशी समुदायलाई ठ्याक्कै नपुगेको र मर्का परेको कुरा के के हो भनेर एक, दुई, तीन गर्दै सम्बोधन गर्न पाए हुन्थ्यो । यसो गर्दा संविधान अझ राम्रो हुन्थ्यो ।

तपाईंहरूको जनयुद्धका सहकर्मीहरूको एउटा समूह वर्तमान संविधान र यो राजनीतिक पद्धति नै अस्वीकार गरेर फेरि युद्धकै बाटोमा जानुपर्छ भनिरहेको छ । त्यो समूहलाई तपाईंको के सन्देश छ ?

मेरो व्यक्तिगत दृष्टिमा हेर्दा, मान्छेको मनमा विचार आउनु राम्रो कुरा हो । एक जनाको मनमा एउटा विचार आउँछ त अर्कोको मनमा अर्कै आउँछ । एउटै मान्छेमा त विचारको द्वन्द्व हुन्छ भने मान्छेअनुसार विचार फरक पर्नु स्वाभाविक हो ।

मार्क्सवाद मूल सिद्धान्त हो । त्यसैको आधारमा आफ्नो देशको परिस्थिति अनुकूल व्यावहारिक कार्यान्वयन गर्नुपर्छ । जसले यसो गरे उनीहरू सफल पनि भए । चीन आज विश्वशक्ति भएको छ । रुसले पनि सुरुमा राम्रो गरेको हो ।

मार्क्सवाद र इतिहासको त्यो प्रयोगलाई जडसूत्रवादी कोणबाट हेर्नु भएन । मार्क्सवाद भनेको गतिशिलता हो, विज्ञान हो । नेपालमा पनि नयाँ प्रयोग भएको हो । राजतन्त्र अन्त्य भएर शासन जनताको हातमा आएकै हो । अब यसको सफल प्रयोग हुनुपर्छ ।

फेरि हतियार उठाउनुपर्ने, रक्तपातपूर्ण युद्ध गर्नुपर्ने अवस्था छैन । साथीहरू वार्तामा आउनुहोस् । दश वर्षको त्यति ठूलो जनआन्दोलन त व्यवस्थित भयो भने असन्तुष्ट भएर बाहिरिएका साथीहरू यहीँ अटाउनु हुन्छ । आउनुहोस्, वार्तामा बस्नुहोस् । सरकारले पनि वार्ता गरोस् । उहाँहरूले पनि पनि केही राम्रा र महत्वपूर्ण कुरा उठाउनु भएको छ । त्यसलाई यही प्रणालीमा समाहित गरौँ ।

म उहाँहरूलाई वार्तामा आउन अपिल गर्छु । आउनुहोस्, मार्क्सवादको सिर्जनात्मक प्रयोग गरौँ । विप्लवको बुद्धि पनि यहाँ आवश्यक पर्छ ।

हाम्रो परिवेशको राजनीतिमा महिला हुनुका दृष्टिले लाभ के रहेछ र सकस अर्थात अप्ठ्यारो के रहेछ ?

महिलामाथि प्रतिद्वन्द्विताको आक्रमण कम हुँदोरहेछ, यो सबैभन्दा ठूलो लाभ देखेँ । षड्यन्त्र, जालसाजी र तानाबाना कम हुँदोरहेछ । यो मेरो अनुभव हो । म सभामुख हुँदा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आयो । यो प्रस्तावका पक्ष र विपक्षमा अनेक वहस चल्यो तर मलाई एउटा पनि फोन कतैबाट आएन ।

महिलामाथि हुने विरोधको स्केल अलिक सानो हुँदो रहेछ । यस दृष्टिले महिलामाथि सकारात्मक सहानुभूति छ । यो लाभको पक्ष हो । संविधानले पनि केही सुविधा दिएको छ ।

यति हुँदा हुँदै पनि केही अप्ठ्यारा र चुनौतीहरू छन् । महिलाहरूले कुशलतापूर्वक जिम्मेवारी पूरा गर्छन् भन्ने कुरामा अझै विश्वास छैन । शंकाको दृष्टि हुन्छ । महिलाको क्षमतामाथिको अविश्वास ठूलो चुनौती हो । अहिले पनि पुरुष नेताहरूको विश्वास जित्नुपर्ने अवस्था छ ।

महिलालाई आफैँमाथि पनि अविश्वास छ । महिलाहरू परीक्षाकै घडीमा छौँ । हामी परीक्षामा खरो उत्रिनै पर्छ । म यसलाई अन्यथा मान्दिनँ । परीक्षामा हुनेले बढी मिहिनेत गर्नै पर्छ ।

तपाईं उमेरको हिसाबले पनि योङ हुनुहुन्छ । आगामी दिनमा आफ्नो राजनीतिक भविष्यप्रति कस्तो दृष्टिकोण छ ? कहाँसम्म पुग्ने सोच्नुहुन्छ ?

हामीले सोचेको जस्तै गरी हामी देशमा परिवर्तन गर्छौं । देशलाई नयाँ उचाइमा लैजान्छौँ । यस क्रममा कसको के भूमिका हुन्छ भनेर आज मैले केही सोचेको छैन । मलाई पार्टीले कुनै पद दियो वा दिएन भन्ने कुराले जनताको काम गर्न छेक्दैन । पार्टीको सदस्यता भए पुग्छ । जनताको सेवामा काम गर्ने मेरो जागिर कसैले खोस्न सक्दैन ।

म जुनजुन पदमा पुगेँ, त्यो मेरो महत्वाकाङ्क्षाले भएको होइन । काम गर्दै जाँदा पाएको जिम्मेवारी हो । आगामी दिनमा पनि जुन जिम्मेवारी आउँछ, त्यही पूरा गर्ने मेरो अठोट हुन्छ । कुनै खास पदमा पुग्नै पर्छ भन्ने महत्वाकाङ्क्षा छैन ।

म जनताको भारी बोक्ने मजदुर हुँ । म सधैँ जनताकै साथमा छु । म मेरै धरातलमा छु ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : १५ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा