युट्युबबाट अझै हटाइएन झण्डा जलाइएको विवादित गीत, सामाजिक सञ्जालमा कसले के भने ? | Khabarhub Khabarhub

युट्युबबाट अझै हटाइएन झण्डा जलाइएको विवादित गीत, सामाजिक सञ्जालमा कसले के भने ?


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युट्युबमा दैनिक सयौं भिडियो अपलोड हुन्छन् । कतिले चर्चा कमाउँछन्, कति गुमनाम हुन्छन् । सोमवार अपलोड भएको एक भिडियोले भने विरोध खेपेको छ । उक्त भिडियोको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

‘देशद्रोही’ बोलको उक्त गीत मंगोल हप अफिसियल नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म उक्त ‘विवादित गीत’ युट्युबबाट हटाइएको छैन ।

हिपहप गीत भन्दै सार्वजनिक गरिएको गीतमा जातीय हिंसा भड्काउन बल पुर्‍याउने र भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको भन्दै चर्को विरोध भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता, कलाकार तथा नेताहरुले यो गीतले राष्ट्रियतामा खलल पुर्‍याउने भन्दै विरोध जनाएका छन् ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा झण्डाको अपमान गरे तीन वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरेको छ ।

यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ८५ हजारले हेरिसकेका छन् । यो विवादित गीतमा २१ हजारभन्दा बढी कमेन्ट गरेका छन् ।

गीतले जातीय द्वन्द्व निम्त्याउन सक्ने भन्दै जतिसक्दो चाँडो युट्युबबाट हटाउनुपर्ने माग उठेको छ ।

राप्रपाका सांसद राजेन्द्र लिङदेन भन्छन् – ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापी स्वीकार्य हुँदैन, यस प्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

कलाकार दीपकराज गिरी युट्युबमा अपलोड गरिएको उक्त गीतले जातीय सद्भावको आगो सल्काउन सक्ने बताउँछन् ।

सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘गीतमा झण्डा जलाएकोतिर सबैको ध्यान गयो, झण्डासँगै जातीय सद्भावमा पनि आगो झोसिएको छ, झण्डामा लागेको आगो त निभाउन सकिन्छ, जातीय सद्भावमा आगो सल्कियो भने निभाउन धेरै गाह्रो हुन्छ ।’

‘बाहुन क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै राष्ट्रिय झण्डा जलाउनेहरुको हर्कत देख्दा अचम्म लाग्छ, उनीहरुको चेतनाको द्वार कहिले खुल्ला ?,’ सामाजिक सञ्जाल ट्वीटरमा कृष्ण प्रसाद भुसाल ट्वीट गर्छन्, ‘धर्म, संस्कृति र परम्परा हाम्रो मौलिक पहिचान हुन्, राष्ट्र र राष्ट्रियताको सवालमा कटाक्ष गर्दै देशको शान राष्ट्रिय झण्डा जलाउने मन कस्तो होला?’

कतिपयले भने उक्त भिडियोमा जलाइएको राष्ट्रिय झण्डालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्साजस्तो केक बनाएर काटेको प्रसङ्गसँग जोडेका छन् ।

‘ओलीले नक्सा भएको केक काटे चाहिँ राष्ट्रवादी होइन रहेछ कि क्या हो ? होइन भने देशको झण्डा जलाउनु र देशको नक्साको केक बनाई काट्नुमा के अन्तर छ र ?,’ दीप किरण खड्काले ट्वीट गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता उज्वल पोखरेल राष्ट्रिय झण्डा जलाउनेलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।

‘राष्ट्रिय झण्डा जलाउने अपराधीहरुलाई हदैसम्मको कारबाही होस्,’ उनी लेख्छन् ।

कलाकार नीता ढुंगानाले पनि सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै कडा कारबाहीको माग गरेकी छिन् ।

सुशील पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘झण्डा त जलायो तर त्यो भिडियोमा भारतीय नेता स्व. भीमराव रामजी अंबेडकरको फोटो चाहिँ किन हालेको होला? सोचमग्न छु ।’

यस्तै गायिका आस्था राउतले पनि भिडियो जलाउनेहरुलाई तत्काल कारबाही गर्न अनुरोध गरेकी छिन् ।

‘राष्ट्रिय झण्डाले कुनै पनि जात, भाषा, समुदायलाई भेदभाव गर्दैन, देश आमा हुन् भने झण्डा हाम्रो प्राण हो,’ राउत भन्छिन् ।

‘समाजमा विखण्डन गराउने, धार्मिक सहिष्णुता खल्बलिने, सामाजिक सद्भाव बिथोलिने, राष्ट्रिय प्रतीकको रुपमा रहेको राष्ट्रिय झण्डाप्रतिको कुनै पनि अभद्र, अवान्छनित, तुच्छ व्यवहार हामी कसैलाई पनि मान्य हुने छैन,’ राउत भन्छिन्, ‘यस्ता गतिविधि गर्नेहरुप्रति खेद प्रकट गर्दछु, साथै यस्ता गतिविधिमा सङ्लग्नलाई तत्काल कारवाही गरियोस् भनी अनुरोध गर्दछु ।’

व्यापक विरोधपछि प्रहरीले उक्त घटनामा सङ्लग्न भएको आरोपमा मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १ : १६ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु