६८औँ जन्मदिन जन्मथलोमै मनाउन खोजेपछि प्रधानमन्त्री ओलीको जन्मघरसम्म पुर्‍याइयो बाटो | Khabarhub Khabarhub

६८औँ जन्मदिन जन्मथलोमै मनाउन खोजेपछि प्रधानमन्त्री ओलीको जन्मघरसम्म पुर्‍याइयो बाटो


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक/सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो ।

आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ ।

यही आठराई गाउँपालिकाको छातेढुङ्गाबाट मध्यपहाडी लोकमार्ग छोडेर नौ किलोमिटर जति यात्रा गरेपछि मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो पुगिन्छ ।

प्रधानमन्त्री ओली जन्मे हुर्केको, पञ्चायत विरुद्धको आन्दोलनको चेतना पाएको र क्रान्तिमा सम्मिलित भएको ठाउँ पनि आठराई नै हो । प्रधानमन्त्री ओलीले विभिन्न सन्दर्भ र कुराकानीमा आठराईसँग जोडिएका प्रसङ्गहरु सुनाउने गरेका छन् ।

केही महिना अघिसम्म मुलुकका कार्यकारी प्रमुखको जन्मघरसम्म मोटरबाटो पुगेको थिएन ।

भर्खरै उनको जन्मघरसम्म साङ्घुरै भए पनि मोटरबाटो पुर्‍याइएको छ । गत साता मध्यपहाडी लोकमार्गको अवलोकनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली आठराईको छातेढुङ्गाको हात्तिपोखरीबाट ओलीको जन्मघरतर्फ प्रस्थान गर्यो ।

निकै कष्टसाथ करीब ६ किलोमिटर दूरी पार भयो तर, त्यसपछि सवारीसाधन अघि बढाउने अवस्था भएन । सवारी चालकहरु भन्दै थिए – “यो बाटोमा राम्रोसँग घुम्ती मोड्न पनि पुग्दैन ।”

अघिल्लो रात पानी परेकाले आठराई गाउँपालिका–४ इवाको रातो माटोमा सवारी अघि बढ्न सकेनन् । घुम्तीमा गाडी भासिने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गाडी अघि नबढाउन भने ।

गाडीबाट उत्रेर उनी पैदल अघि बढे । हिलाम्ये बाटोमा राम्रोसँग हिँड्न मिल्ने अवस्था थिएन । उनको साथमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक अशोककुमार शर्मा, सांसद्द्वय भवानीप्रसाद खापुङ र घनश्याम खतिवडा पछि लाग्नुभयो । मन्त्रालयसँग करीब रु डेढ खर्बको विकास बजेट छ ।

केही समथर ठाउँमा छ प्रधानमन्त्री ओलीको जन्मघर । उनको जन्मघरलाई आठराई क्षेत्रलाई जस्तै उज्यालो पार्ने प्रयत्न भइरहेको छ ।

विकासको गतिले उज्यालो बनाउन मद्दत पनि पुगिरहेको छ तर, सिङ्गो गाउँ भने उजाड छ । बसाइँसराइले अलि वरपरका पाखाबारीहरु समेत बाँझिन थालेका छन् । पारिपट्टि पाँचथरको हिलिहाङमा मध्यपहाडी लोकमार्ग र तमोर कोरिडोरको ठूलो ट्र्याक देखिए पनि प्रधानमन्त्रीको गाउँ भने सुनसान छ । “गाउँमा पातलो मात्रै मान्छे भेटिने रहेछन्,” तेह्रथुमका सांसद भवानीप्रसाद खापुङले भने । पूर्वी पहाडबाट हुने बढ्दो बसाइँसराइको मारमा प्रधानमन्त्रीको गाउँ समेत परेको छ ।

खरले छाएको, ढुङ्गा, माटो र काठले बनेको प्रधानमन्त्री जन्मेको घर अघिल्तिर उनकै परिवारजनले टिनको छानो भएको ठूलो घर निर्माण गरेका छन् । यी दुई घरभन्दा करीब ५० मिटर पर प्रधानमन्त्री ओलीको व्यक्तिगत लगानीमा हालै मात्र हेलिप्याड निर्माण सम्पन्न भएको छ । त्यहाँसम्म सानो कच्ची बाटो पुगेको छ ।

“सबै मानिसहरुले तेह्रथुममा, आठराईमा केही हुन्छ भने अहिले हुन्छ भन्ने गरेका छन्, यही धर्तीको छोरो यो देशको कार्यकारी प्रमुख हुनुहुन्छ”, सांसद खापुङले भने – “केही होला भन्ने आशा पलाउन थालेको छ । भर्खर त प्रधानमन्त्रीज्यूको घरसम्म बाटो पुग्दैछ ।”

प्रधानमन्त्रीले आगामी फागुन ११ गते आफ्नो ६८औँ जन्मदिन मनाउन जन्मथलो आउने मनसाय ब्यक्त गरेपछि पूर्वाधार निर्माणको कार्य भइरहेको स्थानीयवासीको भनाइ छ ।

पहाडहरु कसरी उजाडिँदैछन् भन्ने राम्रो प्रमाण प्रधानमन्त्री स्वयं जन्मेको गाउँले देखाउँछ । बारीमा सुन्तलाका रुखहरु छन् ।

पुराना रुखहरु सुक्दै गएका छन् तर, नयाँ बिरुवा हुर्किएको पाइन्न । गाउँमा काम गर्ने मान्छे नै नभेटिने अवस्था रहेकाले यस्तो स्थिति आएको स्थानीयवासी बताउँछन् ।

दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको जन्मघरमा भर्खरै सडकको ट्र्याक पुगेको छ भने अरु गाउँहरुको हालत यसै बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : १९ बजे

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित