सांस्कृतिक पर्यटनको उपयोग | Khabarhub Khabarhub
Logo
१७ फाल्गुन २०७६, शनिबार

सांस्कृतिक पर्यटनको उपयोग



संस्कृति कुनै पनि समाज र मानिसको परिचयको केन्द्रबिन्दु हो । यसले मानिसमा एउटा सकारात्मक भावको विकास गराउँदछ ।

संस्कृतिले मानव स्वभाव, चिन्तन र समाज विकासमा प्रत्यक्ष प्रभाव पुर्‍याउँछ । संस्कृति एक भावनात्मक अव्यय हो । जसमा प्रकृति र भूगोलको पनि भूमिका रहन्छ । मानव समूदायले जीवन निर्वाह गर्ने सम्बन्धमा आफूले विकास गरेका विभिन्न भौतिक एवम् अभौतिक पक्षहरुको योग नै संस्कृति हो ।

मानव विकासको विविध चरणबाट निर्माण गरिएका विविध पद्धतिको समष्टि नै संस्कृति हो र मानव जातीले आदिम कालदेखि आजको दिनसम्म आइपुग्ने क्रममा विकास गरेका भाषा, प्रविधि, धर्म, पोसाक, मूल्यमान्यता, प्रथा परम्परा आदि इत्यादि संस्कृति भित्र पर्दछन् ।

नेपाली बृहत् शब्दकोषका अनुसार ‘संस्कृति भन्नाले धेरै समयदेखि देश काल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत रुपमा विकास हुँदै आएको र आधार, विचार, रहन सहन आदिको माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरुप खुट्टिने विभिन्न मान्यता, भावना, चिन्तन मनन अभिव्यक्तिहरु समेतलाई बुझिन्छ जसमा विभिन्न चाडपर्व, नाच, जात्रा, प्रथा, मूल्य र मान्यता जस्ता कुराहरु पर्दछन् भनिएको छ ।

समाजमा लिखित कानूनको विकास भन्दा धेरै अगाडि पनि अमन, चयन सद्भाव र सौहार्दता कायम नै थियो जसको श्रेय संस्कृतिलाई दिन सकिन्छ । संस्कृति एक भावनात्मक भाषा पनि हो ।

नेपालको राष्ट्रिय संस्कृति बारे राष्ट्रिय संस्कृति नीति २०६७ मा यसरी उल्लेख भएको छ ‘वर्तमान नेपालको सीमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानव समुदाय वा मानव समुदायहरुले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिररहेका हाम्रा विभिन्न जाति एवं समुदायको पुर्खाहरुले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मा लगाएर गएका भौतिक, अभौतिक, सम्पदाहरु र त्यस अनुरुपको जीवनशैलीको समष्टिगत रुप नै नेपालको राष्ट्रिय संस्कृति हो’ ।

नेपाल संस्कृतिमा एक सम्पन्नशाली राष्ट्र हो । नेपालभित्र बहुभाषी, बहुजाती र बहुधर्मका मानिसका आ–आफ्नै भेषभषा र संस्कृति छन् । समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषाभाषी, भेषभूषा, खानपान, रहनसहन, चाडपर्व भएका मानिसहरु मिलेर बसोबास गरिरहेका छन् ।

पर्यटन नेपाली अर्थ व्यवस्थाका लागि अहिलेसम्म सबैभन्दा मजबुत स्तम्भ हो । यस स्तम्भमा सांस्कृतिक अवस्थाहरु र साधनहरु महत्वपुर्ण रुपमा जोडिएका हुन्छन् । सांस्कृतिक पर्यटनमा पर्यटकहरु केही सिक्न वा केही नयाँ कुरा थाहा पाउने उद्देश्यले र धार्मिक भावनाले घुम्न निस्कन्छन् ।

ऐतिहासिक स्थल, प्राचिन सभ्यताका नमूनास्थल, धार्मिक महत्वका ऐतिहासिक ठाउँहरु, विभिन्न प्रकृतिका संग्रहालयहरु र कुनै देश वा स्थान विशेषको बेग्लै पहिचान गराउने सांस्कृतिक, कार्यक्रम, बाजागाजा, चाडपर्व आदि सांस्कृतिक पर्यटनमा रहन्छन् ।

सामान्यतया मानिसहरुले आफू जन्मेको समाज र संस्कृति भन्दा बाहिर गएर विभिन्न जनजातिहरुको बारेमा अध्ययन गर्ने, उनीहरुका सांस्कृतिक मूल्यमान्यता, धारणा र विश्वाससँग आफूलाई परिचित गराउने उद्देश्यले सांस्कृतिक धरोहरहरुमा गर्ने यात्रा सांस्कृतिक पर्यटन हो । समाज र संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरु हेर्न, बुझ्न र तिनीहरुको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने पर्यटकको प्रकार नै सांस्कृतिक पर्यटनको आधार हो ।

पर्यटनका लागि संस्कृति एकदमै जरुरी अभयव हो । सांस्कृतिक विविधता र सद्भावले पर्यटनमा एक जर्बजस्त आकर्षण पैदा गर्न सकिन्छ । विश्वमा अहिले साँस्कृतिक पर्यटन र यसको महत्व अनि सन्दर्भ दिनप्रतिदिन बढ्दै गएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठनका अनुसार ‘हरेक १० पर्यटकमा गरिएको एक अनुसन्धानमा चार जनाले आप्mनो घुम्ने गन्तव्य छनोट गर्दा संस्कतिलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइएको बताएको छ’।

नेपालकै हकमा भन्ने हो भने पनि नेपालमा आएका पर्यटकबाट हामीले तिनमा आएको बदलाव वा खुशी वा सन्तुष्टिमा हाम्रो संस्कृतिको प्रभाव देख्दछौं । धेरै पर्यटकले नेपालको वर्णन गर्नुपर्दा नेपाली संस्कृति र परम्परा, सांस्कृतिक विविधता र नेपाली समुदायको व्यवहारले आफूलाई आकर्षण गर्ने बताउँछन् ।

नेपाल विश्वमा नै एक प्राचिन राष्ट्र हो । यसैले यहाँ धेरै पुराना स्मारकहरु र घरका संरचनाहरु फेला पर्दछन् । यस्तै गरेर पुरातात्विक महत्वका थुप्रै प्राचिन चिजहरु पनि नेपालभित्र छन् । विगतमा हामी कहाँ संरक्षणको संस्कृति नहुँदा धेरै बहुमूल्य सामान हराएर र चोरिएर मासिएको भए पनि अहिले ती संरक्षित छन् । यस्ता प्राचीन र विगतको इतिहास बोकेका ऐतिहासिक महत्वका स्थल नै सांस्कृतिक पर्यटन संचालनका साधनहरु हुन् ।

सांस्कृतिक सम्पदाहरु मानव सभ्यताको विकासक्रममा सिर्जना एवं विकास भएका मानव मस्तिष्कका बौद्धिक उपज हुन् । संस्कृति कुनै पनि जाति वर्ग समुदाय र समग्रमा राष्ट्रको पहिचान र गौरवसँग प्रत्यक्ष जोडिएको विषय हो ।

एक सांस्कृतिक विद्वानले के भनेका पनि छन् भने ‘आफ्नो संस्कृति एवं इतिहास नभएको समाज जरा नभएको रुख जस्तै हुन्छ । संस्कृति जातीय एवं सामाजिक सरोकारको विषय हो । संस्कृति कुनै व्यक्ति विशेषले बनाउने हल्का विषय होइन । यो त जाती समूह तथा समुदायको सामूहिक व्यवहार हो । संस्कृति एक पुस्तादेखि अर्का पुस्तासम्म संचार हुने हुनाले हरेक समुदायले संस्कृतिसंग आफ्नो अतित जोड्ने गर्दछन् ।

नेपालका अधिकांश स्मारकहरु जीवन्त सांस्कृतिक सम्पदाहरु छन् । हाम्रा सबै स्मारकहरु मन्दिर, मूर्ति, गुम्बा, स्तूप आदिमा भक्तजनहरुको दिनहुँ घुइँचो लाग्दछ । अझ विशेष अवसरमा त एकै मन्दिरमा लाखौं मानिसहरु पुग्दछन् । प्रत्येक मन्दिरमा हरेक दिन पूजा पाठ गरिन्छन् ।

नेपालमा मनाइने प्रत्येक जात्राहरु कुनै न कुनै मन्दिरसँग सम्बन्धित छन् । नेपाली संस्कृति र सभ्यताको विधिको रुपमा रहेका हाम्रा ऐतिहासिक तथा धार्मिक स्मारकहरु, पुरातात्विक स्थलहरु, कलात्मक तथा पुरातात्विक वस्तुहरु, धार्मिक नाच जात्रा, रितिरिवाज तथा पर्वहरु सबैको संरक्षण गर्नु जरुरी छ । सांस्कृतिक पर्यटनको अवधारणाले यसको संरक्षण र संवर्धनमा ठोस मद्दत गर्न सक्दछ ।

नेपालको अर्थतन्त्रमा पर्यटनको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ । पर्यटन उद्योगले हाल नेपालको निर्यात उपभोग्य वस्तुको ३८ प्रतिशत वस्तुहरु र गैर उद्योग सेवाहरुको कूल २० प्रतिशत र विदेशी आयआर्जनको लगभग ३ प्रतिशत योगदान पुर्‍याएको पाइन्छ ।

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०१६ मा गरेको अध्ययन अनुमान अनुसार पर्यटन क्षेत्रले सन् २०१५ मा नेपालमा कुल ४ लाख २६ हजार ५०० प्रत्यक्ष रोजगारी दिएको र नेपालको कुल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष रुपमा ४ प्रतिशतले योगदान दिएको थियो ।

विविधि भौगोलिक विशेषतासँगै नेपालको सांस्कृतिक विशेषता पनि अनुपम छ । नेपाल सांस्कृतिक सम्पदामा अत्यन्तै धनी राष्ट्र हो । नेपालको संस्कृतिमा उत्तरतर्फ तिब्बतको प्रभाव रहेको पाइन्छ र दक्षिणतर्फ भारतको बढी प्रभाव भएका कारण नेपालको संस्कृति र धर्म सोच्नेको मिश्रित खालको छ । सांस्कृतिक पर्यटन समाज र संस्कृतिसँग सम्बन्धित हुन्छ ।

मानवको वर्तमान र विगतको क्रियाकलाप, धारणा, सोच र परम्परादेखि लिएर मानव निर्मित वस्तुहरुसमेत संस्कृतिसँग सम्बन्धित विषयवस्तु हुन् । वर्तमान समाजका नृत्य, हस्तकला, मेला, पर्व, उत्सव जात्रा, संस्कार लगायतका विषयवस्तु संस्कृति अन्तर्गत पर्दछन् । यस्ता विषयवस्तुको साथै विगतमा मानवले निर्माण गरेका मठ, मन्दिर, स्तुप, चैतन्य, मृत्यु लगायतका कलावस्तुहरु सांस्कृतिक सम्पदा हुन् ।

सांस्कृतिक पर्यटनका लागि जातीय विविधता ज्यादै महत्वपूर्ण कुरा हो । नेपालजस्तो बहुवर्गीय बहुजातजातीय र विविधिकरण भएको मुलुक सांस्कृतिक पर्यटनको केन्द्रबिन्दु नै बन्न सक्दछ । नेपाली समाजमा हिन्दु र बौद्ध धर्मको सन्तुलन रहेको देखिन्छ । यसरी हेर्दा नेपालको सांस्कृतिक सम्पदामा विविधिकरणको झलक भेटिन्छ । नेपालका लागि सांस्कृतिक पर्यटनको सन्दर्भ त्यही भएर अझ बढी उपलब्धिमूलक हुने प्रष्ट छ ।


भर्खर

0