म चौधौँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुँ « Khabarhub
Logo
५ कार्तिक २०७७, बुधबार

म चौधौँ महाधिवेशनमा सभापति पदको उम्मेदवार हुँ



नेपाली कांग्रेसको युवा पुस्तामा एक से एक काविल नेतामध्ये एक हुन् कल्याण गुरुङ । कांग्रेसको विद्यार्थी सङ्गठन नेवि संघको सभापति हुँदै पार्टी केन्द्रीय समितिका सदस्य रहेका गुरुङले आगामी चौधौँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

आआफ्नो योग्यता पुगेको पदमा उम्मेदवारी दिने आँट गरौँ तर उम्मेदवारीलाई बार्गेनिङको साधन नबनाऔँ भन्ने उनको आह्वान छ । कांग्रेसको महाधिवेशन, पार्टीको आन्तरिक राजनीति र युवापुस्ताको सेरोफेरोमा गुरुङसँग खबरहबका लागि गोविन्द लुइँटेलले गरेको अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन कार्यतालिका अनुसार आउने फागुनमै हुन्छ ?

केन्द्रीय कार्यसमितिको बैठक बस्ने भनिएको छ । बैठकले सकेसम्म फागुनमै गर्ने गरी कार्यतालिका परिमार्जन गर्छ । क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण, वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनहरू माघ महिनाभित्र गर्न सक्यौँ भने तोकिएअनुसार फागुन ७ देखि नै हामी महाधिवेशन गर्न सक्छौँ । माघभरिमा सकिएन भने फागुनमा महाधिवेशन गर्न गाह्रो हुन्छ । अब हुने केन्द्रीय कार्यसमिति बैठकले यी सबै विषयमा निर्णय गर्छ ।

सभापति शेरबहादुर देउवा सकेसम्म महाधिवेशन पर धकेल्न चाहनुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ । नेतृत्वमा पुग्ने आन्तरिक दाउपेच र कोभिड–१९ ले पार्ने असरमध्ये फागुनमा महाधिवेशन नहुने सम्भावनामा कुन चाहिँ कारण बलियो देख्नुहुन्छ ?

मूलतः कोरोना भाइरस अर्थात कोभिड–१९ कै कारणले अहिलेसम्म काम ढिलो भएको हो । यसबाहेक अरू कुरामा शंका गर्नु गलत हुन्छ । संक्रमण दर अलिक कम भयो भने पूर्वनिर्धारित कार्यतालिका अनुसारै काम गर्न सक्छौँ । सकेसम्म हामी फागुनमै चौधौँ महाधिवेशन गर्छौं । फागुनमा भएन भने पनि जेठसम्ममा गर्छौं ।

कोभिड–१९ केही कम भयो भने हामी माघभरिमा प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गर्न सक्छौँ । यसो भयो भने फागुनभरिमा महाधिवेशन गर्न सक्छौँ । संक्रमण अहिलेकै रूपमा बढ्दै गयो भने महाधिवेशनअघिका काम सक्ने सम्भावना कम हुन्छ । यसो भयो भने जेठभरिमा चाहिँ हामी गर्छौं ।

महाधिवेशन सकेसम्म पर धकेल्ने आन्तरिक दाउपेच चाहिँ कस्तो देख्नुहुन्छ ?

म त्यस्तो दाउपेच हुने देख्दिनँ । महाधिवेशन नगर्ने चाल भनेर अन्यथा शंका गर्नु गलत हुन्छ । कोभिड–१९ को संक्रमण सबैले देखेकै छ । फागुनमा नभएर सर्‍यो भने पनि त्यो कोभिड–१९ संक्रमणकै कारणले हुनेछ । अर्को सम्भावना छैन ।

कांग्रेसका संघीय संरचनाहरू बनेका छैनन् । समायोजन र क्रियाशील सदस्यतामा धेरै ठाउँमा विवाद छ । कोभिड–१९ ले धेरै असर गरेन भने फागुनभरिमा महाधिवेशन हुने गरी तयारी पूरा हुन्छ ?

समायोजन लगभग सकिएको छ । पाँच–छ वटा जिल्लामा मात्रै बाँकी छ । क्रियाशील सदस्यता वडाबाटै नवीकरण र वितरण हुने व्यवस्था विधानमा छ । सोहीअनुसार काम हुन्छ । वडाबाट क्षेत्रीय प्रतिनिधिहरू चयन हुन्छन् । यसपछि प्रतिनिधिसभा क्षेत्रीय तहको अधिवेशन, जिल्ला तहको अधिवेशन प्रदेश तहको अधिवेशन हुन्छ ।

प्रदेश तहको अधिवेशनमा धेरै समय लाग्दैन । निर्वाचन समितिले तयारीको काम सकिएपछि वडादेखि प्रदेश तहसम्मको अधिवेशन दुई महिनामा गर्न सकिन्छ भनेको छ । कोरोना भाइरसको संक्रमण कम भयो भने माघभित्रमा वडादेखि प्रदेशसम्मका अधिवेशनहरू गर्न सक्छौँ र फागुन महाधिवेशन गर्न सकिन्छ । निर्वाचन समितिले यसैअनुसार तयारी पनि गरेको छ ।

कोभिड–१९ बाहेक अरू कुनै कारणले महाधिवेशन सर्ने सम्भावना हुँदैन । संक्रमण अझै डरलाग्दो रूपले फैलियो भने चाहिँ गाह्रो हुन सक्छ ।

चौधौँ महाधिवेशनबाट पार्टीको नेतृत्व लिने आकाङ्क्षा धेरै जनामा देखिन्छ । सभापति शेरबहादुर देउवाको दोहोरिने चाहना छ । रामचन्द पौडेल, विमलेन्द्र निधि, कोइरालाबन्धु, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अन्य केहीको पनि दाबी प्रकाशमा आएको छ । कस्तो देख्नुहुन्छ कांग्रेसको भावी नेतत्वको स्वरूप ?

सभापति पदका दाबेदारहरू जति बढी भयो, त्यति नै राम्रो हुन्छ । सबै पदमा अधिकतम उम्मेदवारी हुनुपर्छ । यसो हुँदा महाधिवेशन प्रतिधिहरूलाई उपयुक्त नेता छान्ने अवसर प्राप्त हुन्छ ।

धेरै उम्मेदवार हुँदा हामीले तीनवटा समस्याबाट छुटकारा पाउँछौँ । एक, परम्परागत गुटहरू रहँदैनन् । यो फाइदाको कुरा हो । दोस्रो, प्रतिनिधिहरूले उपयुक्त नेतालाई निर्वाचित गर्ने अवसर पाउँछन् । तेस्रो, योग्यहरूबाट अझ योग्य उम्मेदवार नेतृत्वका लागि चयन हुन्छ । यसबाट पार्टीलाई फाइदा हुन्छ ।

राजनीतिक दलहरूमा पुस्तान्तरणको कुरा हुने गर्छ, कांग्रेसमा त झन् बढी सुनिन्छ । पहिलो पुस्ता, दोस्रो पुस्ता, युवापुस्ता भन्ने कुरा हुन्छ । तपाईंहरूजस्ता धेरै नेता आफूलाई युवा भन्नुहुन्छ । पार्टीमा नेतृत्व विकास कसरी हुँदोरहेछ ? कि सोझै हस्तान्तरण हुनुपर्छ ?

नेतृत्व मागेर पाइँदैन । स्यालुट हानेर पनि पाइने होइन । नेतृत्वका लागि प्रतिस्पर्धा नै गर्नुपर्छ । कांग्रेसमा आज ७० वर्ष नाघेका सात जनाले नेतृत्व दाबी गर्नुभएको छ । ६० देखि ७० वर्ष उमेरका सातदेखि दश जनाको दाबी छ । पुस्ता पुरानो होस् कि नयाँ, प्रतिस्पर्धाबाटै नेतृत्वमा पुग्ने हो ।

म चौधौँ महाधिवेशनमा सभापति पदको दाबेदार हुँ । म प्रतिस्पर्धामा छु । म सबै पुस्ताका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्न तयार छु । म आफ्ना वैचारिक, राजनीतिक र आर्थिक मुद्दाहरू लिएर महाधिवेशनमा प्रतिनिधिहरूसामु जान्छु । प्रतिनिधिहरूले छानेको नेताले पार्टीको नेतृत्व गर्छ ।

राजनीतिमा युवा भनेको के रहेछ, उमेर कि राजनीतिक विचार, तपाईंको लामो अनुभवले के भन्छ ?

राष्ट्र संघले १५ वर्षदेखि २४ वर्षसम्मको उमेरलाई युवा भनेको छ । नेपालको राष्ट्रिय युवा नीतिले १६ वर्षदेखि ४० वर्षसम्मको उमेरलाई युवा मानेको छ । दुवै आधारमा हामी युवा होइनौँ । हामी नयाँ पुस्ता हौँ ।

मेरो व्यक्तिगत धारणामा युवा भनेको त्यस्तो व्यक्ति हो, जसको निधारले कसैको पैताला नछोओस् । यस्ता स्वाभिमानीहरू युवा हुन्, उमेर जतिसुकै होस् ।

तपाईंले आफूलाई सभापति पदको दाबेदार भन्नुभयो । म अब कांग्रेसको पार्टी सभापति हुन विधानले मात्रै होइन, सम्पूर्णरूपले योग्य भएँ भन्ने आधार चाहिँ के के हुन् ?

विधानअनुसार १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको व्यक्ति सभापति पदको उम्मेदवार हुन सक्छ । विधानअनुसार म योग्य भएँ, नम्बर एक । नेपालको लोकतान्त्रिक आन्दोलनमा हाम्रो परिवारको तीन पुस्ताको योगदान छ, दुई ।

तेस्रो कुरा, नेपाली कांग्रेसलाई अहिले सबैको भरोसाको केन्द्र बनाउनु परेको छ । यसो भयो भनेमात्रै कांग्रेसले ऊर्जा दिन सक्छ । त्यो ऊर्जाले नेपालको लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउन सक्छ । यसको निम्ति हामीले गतिशीलता र बौद्धिक ऊर्जा समर्पित गर्नु छ । चौथो, आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतसहितको ठूलो पार्टी बनाउनु छ, सबैको भरोसाको लोकप्रिय पार्टी बनाउनु छ । यसका लागि हामी अघि बढ्नु छ ।

नेपाली कांग्रेसको इतिहासमा बीपी कोइराला पार्टी स्थापना गर्दै ३३ वर्षको उमेरमा कार्यवाहक सभापति हुनुहुन्थ्यो । टंकप्रसाद आचार्य पार्टी सभापति हुँदा ४५ वर्षभन्दा माथि हुनुहुन्थेन । मातृकाप्रसाद कोइराला ३६ वर्षको उमेरमा पार्टी सभापति हुनुभयो । बीपी ३९ वर्षको उमेरमा सभापति हुनुभयो ।

गणेशमान सिंहले ४० वर्षको उमेरमा वीरगञ्ज महाधिवेशनमा सुवर्ण शमशेरसँग पार्टी सभापतिमा चुनाव लड्नुभयो । सुवर्ण शमशेर पनि ५० वर्षमुनि नै हुनुहुन्थ्यो । किसुनजी कार्यवाहक सभापति हुँदा युवा उमेरमा हुनुहुन्थ्यो । उहाँ त युवा उमेरमै सभामुख हुनुभयो ।

बीपी कोइराला ४६ वर्षको उमेरमा प्रधानमन्त्री हुनुभयो । अहिलेका पार्टी सभापति शेरबहादुर देउवा पनि ५० वर्ष उमेरको हाराहारीमा प्रधानमन्त्री हुनुभएको हो । शेरबहादुर देउवाले दशौँ महाधिवेशनमा ५२÷५३ वर्षको उमेरमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा प्रतिस्पर्धा गर्नुभएको हो ।

यो इतिहासले देखाउँछ, नेपाली कांग्रेसको सभापति हुन पाको उमेरकै हुनुपर्छ भन्ने होइन । गिरिजाप्रसाद कोइराला पनि कम उमेरमै महामन्त्री हुनुभएको हो । अलिक बढी पाको उमेरमा सभापति हुने गिरिजाप्रसाद र सुशील कोइराला हो ।

यसकारण, विचारमा दृढता र परिपक्वता, राजनीतिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतासहित जसले लोकतान्त्रिक विचार आमजनताको बीचमा लगेर जसले नेपाली कांग्रेसलाई सबैको भरोसाको केन्द्रबिन्दु बनाउन सक्यो उसैले सभापति पदमा विजय प्राप्त गरेको इतिहास छ । र, भोलिको दिनमा पनि त्यही हुन्छ ।

कार्यकर्ताहरू र महाधिवेशन प्रतिनिधिको तहबाट हेर्दा जनाधारको हिसाबले तपाईं सभापति पदमा निर्वाचत हुने आधारहरू प्रष्ट पारिदिनुहोस् न !

नेपाली कांग्रेसका क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिहरूले पाँच वटा कुरा नेतृत्व पंक्तिबाट खोज्नुभएको छ । पहिलो कुरा, राजनीतिक न्याय । सबै साधारण सदस्यहरूले राजनीतिक न्याय पाउन सक्छन् भन्ने हुनु पर्‍यो । दोस्रो, राजनीतिक सुरक्षा । तेस्रो, राजनीतिक समानता र न्ययोचित वितरण । चौथो, यो पार्टीभित्र सबैको शेयरिङ हुन्छ भन्ने कुरा ।

पाँचौँ, नेपाली कांग्रेस सबैको भरोसाको केन्द्रबिन्दु बन्नुपर्छ र यसको निम्ति सामाजिक, राजनीति र वैचारिक मुद्दाहरूमा प्रष्टसँग अभिव्यक्तिहरू दिन सक्ने हुनुपर्छ । र, यस्ता मुद्दाहरूमा प्रतिस्पर्धी राजनीतिक सङ्गठनहरूभन्दा कांग्रेस अब्बल हो भनेर आफ्ना राजनीतिक मुद्दाहरू स्थापित गर्ने नेतालाई भावी सभापतिका रूपमा हेर्न कांग्रेसका सबैले चाहेका छन् ।

हामीले पार्टीभित्र मानिसलाई आकर्षण गर्ने मात्र होइन, भइरहेकालाई पनि राजनीतिक संरक्षण दिनुपर्‍यो । आउनेलाई पनि संरक्षण दिनुपर्‍यो । हामी उम्मेदवारहरूमा यस किसिमको योग्यता हुनुपर्छ । हाम्रा विचारहरू सुनेर महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नुहुन्छ ।

पार्टीमा गुट, उपगुटहरू हुनु अस्वाभाविक होइन, प्रतिस्पर्धा स्वस्थ होस् भन्नेमात्रै हो । महाधिवेशनलाई लिएर गुटहरू झन् प्रष्ट हुँदै जालान् । तपाईंको चाहिँ स्थिति के हो ?

चौधौँ महाधिवेशनमा परम्परागत गुटहरू रहन्नन्, समाप्त भएर जान्छन् । हरेक उम्मेदवारहरूले आआफ्नो समूह निर्माण गर्नुहुन्छ । विधानको परिधिभित्र रहेर निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । तेह्रौँ महाधिवेशनका गुटहरू रहँदैनन् भन्ने निश्चितजस्तै देखिएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालको साढे चार वर्षभन्दा बढी बिताइसक्नु भएको छ । पार्टीका वर्गीय सङ्गठनहरू अधिवेशन नभएर विघटनको अवस्थामा छन् । विधानअनुसार ६ महिनाभित्र बनिसक्नुपर्ने विभागहरू अहिले गठन हुँदैछन् । यस्ता धेरै कुरा देखाएर देउवाको नेतृत्वमाथि प्रश्न उठ्ने गरेको छ । नेतृत्व कौशल भएन भन्ने आरोप छ । तपाईं के भन्नुहुन्छ ?

हामीले दुई वटा कुरालाई केन्द्रबिन्दुमा राखेर २७ जनाले हस्ताक्षर गरेर पार्टीमा बुझाएका छौँ । महाधिवेशन घोषणा भएपछि विभागको विस्तार निर्वाचन आचारसंहिता विपरीत भयो । यसमा सुधार हुनुपर्छ भनेका छौँ । क्रियाशील सदस्यता वैधानिक र पारदर्शीरूपमा हुनुपर्छ भनेका छौँ । यी सबै कुरामा वार्ता चलिरहेको छ ।

वार्ताबाट एउटा निष्कर्ष आउँछ र केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुन्छ ।

 सभापतिका रूपमा देउवाको कार्यकालबारे थप केही प्रष्ट पारिदिनुहोस् न ! थोरै समीक्षा गरिदिनु न !

चौधौँ महाधिवेशनमा म आफू सभापतिको उम्मेदवार हुने भएकाले वर्तमान सभापतिका बारे बोल्नु उचित हुँदैन । म दाबेदार नभएको भए मैले बोल्न मिल्थ्यो । मैले कसैको व्यक्तिगत विषयमा टीकाटिप्पणी गर्नु उचित हुँदैन ।

मैले व्यक्तिगत होइन, नेतृत्वको कुरा सोधेको ?

आखिर नेतृत्व पनि व्यक्तिले नै गर्ने हो नि ! म आफैँ उम्मेदवार भएकोले व्यक्तिगत टीकाटिप्पणी गरेँ भने आचारसंहिताको उल्लंघन भएको हुन्छ ।

नेपाली कांग्रेसको महाधिवेशन होस् कि बैठक, कहिल्यै पनि सिद्धान्त, नीति र कार्यक्रमका बारेमा छलफल, बहस हुँदैन । हुन्छ त केवल गुटहरूको लेनदेन, तेरोमेरो भन्नेमा मात्र । कांग्रेसको सिद्धान्त र कार्यक्रममै प्रश्न उठेको सुनिन्छ । यसबारे के भन्नुहुन्छ ?

म सभापति पदमा निर्वाचित भएँ भने भागबण्डाको राजनीति समाप्त पार्छु । भागबण्डाले कांग्रेसलाई नै समाप्त गर्‍यो । भागबण्डाले नेपालको राजनीति नै दूषित बनायो । राजनीतिक दलहरू र राज्यसत्तामा हुने भागबण्डाले राजनीति नै प्रदूषित बनायो ।

कांग्रेसमा मात्रै होइन, सबै मिलेर सबैतिर भागबण्डाको राजनीति समाप्त गर्नुपर्छ । पार्टीको राजनीति विधानअनुसार र देशको राजनीति संविधानअनुसार सञ्चालन हुनुपर्छ ।

विधानअनुसार पार्टी सञ्चालन गर्दा सुरुमा केही अप्ठ्यारो होला । केही व्यक्तिहरूलाई समस्या पर्ला तर कालान्तरमा पार्टी बलियो हुन्छ । व्यक्तिलाई हेरेर पार्टीको विधान बनाउने होइन । व्यक्तिलाई केन्द्रमा राखेर विधान संशोधन गर्ने होइन । विधानअनुसार व्यक्ति परिवर्तन हुनुपर्छ ।

पार्टीलाई विधानअनुसार र देशलाई संविधानअनुसार चलाउँदा पार्टी राम्ररी चल्छ, देशमा सुशासन हुन्छ ।

कांग्रेसमा अबको बहस व्यक्ति र नेतृत्वको विषयमा मात्रै होइन, नीति र कार्यनीतिको विषयमा पनि हुनुपर्छ । चौधौँ महाधिवेशनमा कांग्रेसको नीति, कार्यनीति, रणानीति र कार्यक्रमका विषयमा पनि छलफल हुनुपर्छ ।

नेपाली कांग्रेसलाई विपक्षी भूमिकाका लागि मतादेश छ तर कांग्रेसको विपक्षी भूमिकामा प्रश्न उठ्ने गरेको छ । विपक्ष न संसदमा छ न बाहिर, विपक्षी दलका नेता नै सरकारको सहयोगी जस्ता भए, संवैधानिक अङ्गहरूमा भागबण्डा खोजे, सवैधानिक परिषदले गर्ने नियुक्तिहरू अड्काए भनेर आलोचना हुने गरेको छ । साँच्चै विपक्षीका रूपमा कांग्रेस कमजोर वा असफल नै भएको हो ?

यो सबै अरोप गलत हो । आरोपको मनशाय नै गलत छ । कांग्रेस संसदमा प्रभावकारीरूपमा प्रस्तुत भएको छ । यसपालि त हठातरूपमा संसद अधिवेशन अन्त्य भयो । कोरोनाका कारणले सडकमा जानसक्ने अवस्था भएन ।

संसदीय व्यवस्था मान्ने नेपाली कांग्रेसले संसद र सडकमा आफ्नो प्रभाव देखाउने हो । अहिले संसद र सडक दुवै बन्द छन् । यसबाहेक कांग्रेसका नेताहरूले मिडियामा बोलिरहनु भएको छ । पार्टी सभापतिले प्रधानमन्त्रीलाई लिखितरूपमा नै आफ्नो पार्टीको धारणा दिनुभएको छ । मागहरू राख्नुभएको छ ।

कांग्रेसले जनसरोकारका सबै विषयहरूमा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका नेता-कार्यकर्ताहरूले आआफ्नो फोरमबाट बोल्नुभएको छ, सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

कांग्रेसमा तपाईंको पुस्ताका एक से एक सबल नेताहरू छन् । तपाईंले जस्तै नेतृत्वका लागि दाबी गर्ने क्षमता राख्छन् । यी समकालीनहरूलाई तपाईंको के आह्वान छ ?

म नेपाली कांग्रेसका सबै महाधिवेशन प्रतिनिधिहरूलाई एउटै आह्वान गर्न चाहन्छु– जजसको जुन जुन तहमा उम्मेदवार हुने योग्यता पुगको छ, त्यहाँ उम्मेदवारी दिने आँट गर्नुहोस् । बार्गेनिङका लागि, आफ्ना लागि र आफ्नाका लागि सिट सुरक्षित गर्न वा राजनीतिक भविष्य सुरक्षित गर्न कुनै पनि पदमा उम्मेदवारीको दाबी नगर्नुहोस् । आफूले दाबी गरेको पदलाई बार्गेनिङको साधन नबनाउनुहोस् ।

मेरा आदरणीय अग्रजहरू र मेरा दौँतरीहरू सबैलाई विनम्रतापूर्वक मेरो आग्रह छ– आफ्नो योग्यताअनुसार उम्मेदवारी दाबी गरौँ तर उम्मेदवारीलाई आफ्नो सुरक्षा र बार्गेनिङको साधन नबनाऔँ ।


भर्खर

0