ज्ञानको भ्रम « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

ज्ञानको भ्रम



संसार ज्ञानको भण्डार हो । यो संसार र ब्रह्माण्डमा यति धेरै ज्ञान र सम्भावनाहरू छन् जुन आजको मानिसले सबै भेउ पाइसकेको छैन । धेरै विषयहरूमा मानिसको उत्सुकता, अनुसन्धान र खोजले बाहिर आएका जान्ने, देख्ने, सुन्ने र भोग्ने अवसर पाएका छौँ । अझै कैयौँ विषयहरू होलान्, जसको बारेमा आजको आधुनिक र प्राविधिक युगको मानिस अनभिज्ञ छ ।

स्वाभाविकरूपमा मानिस सधैँ ज्ञानको खोजीमा हुन्छ । त्यसैले त हरेक वर्ष हजारौं नयाँ तथ्य र जानकारीहरू बाहिर आउँछन् । यो क्रम मानिस यो धर्तीमा रहेसम्म जारी नै रहनेछ । मानवका लागि यो आवश्यक पनि मानिएको छ । यसो नभएको भए हामी उही फिरन्ते, जङ्गली र ढुङ्ग युगमा हुने थियौँ होला । विज्ञान र प्रविधिमा भएको विकासले आजको विश्व एक किसिमले चामत्कारिकरूपमा सुविधासम्पन्न भएको छ । सिङ्गो विश्व एउटा गाउँजस्तो भएको छ ।

विश्वमा आज जति पनि विकास भएको छ त्यो मानिसको जिज्ञासु स्वभावको कारणले नै सम्भव भएको हो । जति खोज्यो उति नयाँ नयाँ कुराहरू जानिँदो रहेछ । विकास र प्रविधिको चरम उत्कर्ष के हो भन्ने कुरा हामी कसैलाई थाहा छैन ।

आजभन्दा दुई–तीन दशकअघि मात्रै पनि जुन कुरा असम्भवजस्तो लाग्थ्यो, त्यो आज सम्भवमात्रै होइन सहज भएको छ । आज जुन कुरा हामी असम्भव देख्दैछौँ वा सोच्न पनि सक्दैनौँ, त्यो कुरा अबको केही दशक पछि सहज हुनसक्छ । त्यसैले कसैले मैले सबै कुरा जानेको छु भनेर घमण्ड गर्छ भने त्यो पनि गलत हुनेछ ।

ज्ञान र स्मृति पनि फरक कुराहरू हुन् । कसैले केही कुरा पढेर सम्झिँदैमा ऊ ज्ञानी वा बुद्धिमानी हुन्छ हुने होइन । पढेको कुराको सही अर्थ जानिएन र त्यसको सही प्रयोग भएन भने त्यो केवल सुगारटाइ हो । त्यस्तो कुरा मानिसको स्मृतिमा बस्छ । स्मृतिमा मात्रै बस्ने त्यस्तो सिकाइ वा ज्ञान यान्त्रिक हुन्छ, केही उपयोगिता हुँदैन । त्यो समयको बर्बादी मात्रै हो ।

भोगाइ र सिकाइ जीवनका अभिन्न पाटा हुन् । हरेक भोगाइबाट हामी केही न केही कुरा सिक्छौँ । पढ्दै, लेख्दै, भोग्दैख र सिक्दै हामी परिपक्क हुन्छौँ । परिपक्व हुनुको अर्थ बूढो हुनु वा उमेर चढ्नु मात्रै होइन । परिपक्व हुनु भनेको सुझबुझ बढ्नु हो । सबै कुरामा समझदार हुनु हो । व्यक्ति, समाज र राष्ट्रका लागि असल मानिस हुनु हो ।

कसैलाई लाग्न सक्छ, मैले आफ्नो वा अरू पनि धेरै विषयमा धेरै जानेको छु । यो केवल भ्रम हो । यहाँ केही पनि नजान्ने त कोही पनि हुँदैन । प्रत्येक व्यक्ति आफ्नो स्थानमा आफूलाई चाहिने कुरामा जानकार हुन्छ । सर्वज्ञ त शायद कोही छैन यो धर्तीमा । कम जान्ने र बढी जान्ने भन्ने कुरा त व्यक्तिपरक वा ‘सब्जेक्टिभ’ हो । यो वस्तुपरक वा ‘अब्जेक्टिभ’ हुन सक्दैन ।

कुनै मानिसलाई म म दक्ष छु जस्तो लाग्छ भने त्यो भ्रम हो । पूर्ण दक्ष त कोही पनि हुँदैन । जसले आफूलाई धेरै जान्नेर, ज्ञानले भरिपूर्ण र दक्ष ठान्छ उसको सिक्ने बाटो बन्द हुन्छ । यो अर्थमा ऊ आफैँमा अज्ञानी पनि हो । जसले हरेक काममा केही सिक्दैछु भन्ने दृष्टिकोण राखेर काम गर्छ, उसले नै आफूलाई तिखार्दै अघि बढाउन सक्छ ।

केही सिक्ने र सिकाउने सोचले नै मानिसलाई प्रतिभाशाली र योग्य बनाउँछ । कुनै मानिसमा म सबैभन्दा जान्ने हुँ भन्ने भावना छ भने त्यो अहङ्कार हो । अहङ्कारको आफ्नै ज्वालाले मानिसलाई भष्म बनाउँछ ।

ज्ञान, बुद्धि र विवेकको चित प्रयोग गर्न सोहीअनुसारको इच्छाशक्ति चाहिन्छ । आफूले आफैँलाई विश्वास गर्ने मानिसमात्रै सफल हुन्छ । हरेक मानिससँग केही न केही ज्ञान, सिप, दक्षता र अनुभव हुन्छ, विश्वास गरेर विवेकसम्मत ढङ्गले अघि बढ्ने मानिसमात्रै अरूको लागि हितकारी हुन्छ ।

जबसम्म हामी भ्रममा बाँचेका हुन्छौँ, तबसम्म हामी अन्धकारमा हुन्छौँ । फेरि, मानिसलाई भ्रम नै प्यारो भइरहेको हुन्छ । आफ्नो जीवनमा ज्ञान, सिप, योग्यता, दक्षता, बुद्धि, विवेक, आत्मविश्वास आदि आफैँले हासिल गर्ने हो । आफ्नो जीवनको पर्दा आफैँले उघार्ने हो । आफ्नो जीवनको गन्तब्य र बाटो आफैँले तय गर्ने हो । अरू त केवल सहयोगी हुन् ।

ज्ञान र बुद्धि फरक–फरक कुराहरू हुन् । कुनै कुराको ज्ञान हुँदैमा कोही बुद्धिमान हुन्छ भन्ने छैन । बुद्धिमान हुन ज्ञानको सदुपयोग गरेको हुनुपर्छ । ज्ञान, मन, भावना र मष्तिस्कको सदुपयोग गर्ने मानिसमात्र बुद्धिमान मानिन्छ ।

किताबको ठेली पढेर डिग्री लिँदैमा कोही ज्ञानी र बुद्धिमानी हुन्छ भन्ने होइन । बुद्धिमान हुन त आफूले जानेको ज्ञान अनुसार सिप हुनुपर्छ । त्यही ज्ञान, सिप र अनुभवको प्रयोग गर्दै दक्षता अभिवृद्धि गर्न सक्ने मानिस मात्रै साँचो अर्थमा बुद्धिमान हो । कुनै विषयको जानकारी र सूचना ज्ञान होइन । ज्ञान त आत्मतत्वको बोध हो, तत्वज्ञान हो, ज्ञानेन्द्रियहरूले गरेको अनुभव हो । अन्तिम ज्ञान पारमार्थिक ज्ञान हो । परमार्थिक ज्ञान भएपछि ब्रह्मज्ञान हुन्छ ।

ज्ञान र स्मृति पनि फरक कुराहरू हुन् । कसैले केही कुरा पढेर सम्झिँदैमा ऊ ज्ञानी वा बुद्धिमानी हुन्छ हुने होइन । पढेको कुराको सही अर्थ जानिएन र त्यसको सही प्रयोग भएन भने त्यो केवल सुगारटाइ हो । त्यस्तो कुरा मानिसको स्मृतिमा बस्छ । स्मृतिमा मात्रै बस्ने त्यस्तो सिकाइ वा ज्ञान यान्त्रिक हुन्छ, केही उपयोगिता हुँदैन । त्यो समयको बर्बादी मात्रै हो ।

हामी मानिस धेरैजसो भ्रममा बाँचेका हुँदा रहेछौँ । कतिपय अवस्थामा हामी सूचना वा जानकारीकै अभावमा भ्रममा हुन्छौँ, ज्ञानको कुरा त परको भयो । कहिले अन्धविश्वास, संस्कृति र रीतिरिवाज नाममा भ्रममा हुन्छौँ । कहिले हामी आफैँ जान्नेसुन्ने, बुद्धिमान, ज्ञानी, पढेलेखेको भन्ने भ्रममा हुन्छौँ ।

जबसम्म हामी भ्रममा बाँचेका हुन्छौँ, तबसम्म हामी अन्धकारमा हुन्छौँ । फेरि, मानिसलाई भ्रम नै प्यारो भइरहेको हुन्छ । आफ्नो जीवनमा ज्ञान, सिप, योग्यता, दक्षता, बुद्धि, विवेक, आत्मविश्वास आदि आफैँले हासिल गर्ने हो । आफ्नो जीवनको पर्दा आफैँले उघार्ने हो । आफ्नो जीवनको गन्तब्य र बाटो आफैँले तय गर्ने हो । अरू त केवल सहयोगी हुन् ।


भर्खर

0