दृष्टिविहीन चीरीमायाले स्वावलम्बी हुन गरेको सङ्घर्षको कथा « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

दृष्टिविहीन चीरीमायाले स्वावलम्बी हुन गरेको सङ्घर्षको कथा



काठमाडौं–‘आँखा नदेख्ने छोरीलाई जीवनभर कसले सहारा देलान् ! के गरेर जीवन बिताउँछे होली’ चीरिमाया महर्जनकी आमालाई यही चिन्ताले मन भारी हुन्थ्यो, आजभन्दा ११ वर्षअघिसम्म ।

‘म दृष्टिबिहीन भएदेखि आमाले सधै चिन्ता लिनुहुन्थ्यो अगाडी भन्न नसकेपनि छर–छिमेकीलाई सुनाउनु हुन्थ्यो’ दृष्टिबिहीन भएरै पनि गर्व गर्दै उनले भनिन्, ‘तर अहिले मैले गरेका कामप्रति निकै खुसी हुनुहुन्छ ।’

उनको परिवार उनीप्रति खुसीको हुनुको एउटै कारण छ त्यो हो– ‘उनको मेहनत, कामप्रतिको लगाव र आत्मनिर्भर ।’

मानिसहरु आत्मनिर्भर बन्नका लागि केही न केही पेशा गरिरहेका हुन्छन् । यो शहरमा आत्मनिर्भर बन्न पनि कहाँ सजिलो छ र !

त्यसमाथि शारीरिक रुपमा अपाङ्गता, अशक्त र दृष्टिबिहीनहरुका लागि यो त निकै जटील बनेको छ । बाँच्नकै लागि पनि अरुको सहारा चाहिन्छ त्यस्ता व्यक्तिहरुका लागि ।

तर, त्यसमध्ये पनि कोही यस्ता व्यक्तिहरु हुन्छन् । जो दुःख र संघर्षमा भिजेर आत्मनिर्भर बनिरहेका छन् । जसमध्ये एक हुन्–‘ललितपुरकी चीरिमाया महर्जन’ ।

‘जन्मिएको केही महिनासम्म मेरा आँखा राम्रै थिए रे म टुलु–टुलु वरपर हेर्थे रे मलाई आमाले भन्नु भएको’ उनले आमाले सुनाएका कुरा भनिन्, ‘तर पछि आँखामा चिप्रा आउने र दुख्ने हँदाहुँदै मैले हेर्ने शक्ति नै गुमाउन पुगेछु ।’

‘बा–आमाको हात समाउँदै टुकुटुकु हिडेपनि सहारा बिना हिड्न निकै मुस्किल महशूस गर्न थालिन् उनले । जब उनी ६ वर्षको थिइन् । ‘बाल्यकालमा नरमाइलो लाग्थ्यो, घरमा सबैजना राम्रो हुनुहुन्थ्यो म मात्र दृष्टिविहीन थिएँ’ चीरिमायाले भनिन्, ‘तर आफ्नो कारण आमालाई दुखी बनाउन चाहन्न थिएँ सधै सुखी बनिदिन्थेँ ।’

हामी रातभरी सुत्छौं बिहानीपख आँखा खुल्दै जान्छन् त्यसपछि प्रकृतिको दृश्य नियाल्न थाल्छौं । तर सोच्नुस् त, ती आँखाहरु कहिल्यै नखुल्दाको पीडा । बाहिरी संसार हेर्न नपाउँदाको कौतुहल्ता ।

बालबालिकाहरु झुम्मिने स्वभावका छन्, आफ्ना कुराहरु सियर गर्छन् । ‘दृष्टिविहीन बालबालिकाले त झन हामी जस्तै मिस भन्दै खुब माया गर्छन्’ उनले थपिन्, ‘मलाई आफुजस्ता र फरक क्षमता भएका बालबालिकालाई यसरी पढाउन पाउँदा एकदमै सन्तुष्टी मिल्छ ।’

दृष्टिबिहीन साथीसँगै बिताइन् १० वर्ष

चीरिमायाले ७ वर्षको उमेरदेखि होस्टेल बसेर पढ्न थालिन् । ‘म मात्र होइन, म जस्ता थुप्रै साथीहरु भेटे होस्टलमा’ मुस्कुराउँदै उनले भनिन्, ‘त्यससँगै मनलाई थप राहत मिल्यो, हिड्नका लागि साथ मिल्न थाल्यो ।’

साथीसङ्गी मिली–जुली पढ्दा बस्दा खाँदा आफु दृष्टिविहीन छु भन्ने कुरा समेत भुलिन् उनले । शिक्षकले पढाएका कुराहरु क्यासेटमा सुनेर पनि बुझ्ने गर्थिन् उनी । परीक्षाका समयमा भने जुनियर विद्यार्थीलाई लेख्न लगाउने र आफुले छेउमा बसेर उत्तर भन्ने गर्थिन् ।

पढाइ पनि राम्रै थियो । पढाइसँगै विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापमा पनि भाग लिने र आफ्नो प्रस्तुती दिने गर्थिन् उनी ।

‘विद्यालयमा आयोजना भएका कार्यक्रममा मैले गीत गाउँथेँ’ खबरहबसँग कुराकानीका क्रममा उनले भनिन्, ‘पुरस्कार पनि जित्थें सबैले राम्रो प्रतिक्रिया दिनुहुन्थ्यो ।’

त्यतिमात्र होइन । उनी विद्यालयमा आफुसँगै अध्ययन गर्ने साथीहरुलाई समेत कार्यक्रममा भाग लिन मञ्चका अगाडी गएर आफ्नो प्रस्तुती दिन सम्झाउने गर्थिन् ।

चीरिमायाको बाल्यकालदेखिकै सोच थियो ठूलो भएर गीत गाउने । ‘आफ्नो खुट्टामा उभिन सक्नुपर्छ भन्ने सोचले म निरन्तर लागिरहें’ उनले सुनाइन्, ‘आज उभिन सफल पनि भएको छु ।’

आजभन्दा ११ वर्षअघि उनी फुर्सदिलो थिइन् । घरमा बसिरहेका बेला लगनखेलको एउटा विद्यालयमा शिक्षक आवश्यक छ रे भन्ने सुनिन् उनले । ‘मैले अध्यापन गराउन सक्छु भन्ने मलाई थाहा थियो तर दृष्टिबिहीनलाई राख्दैन कि भन्ने सोचेकी थिएँ’ दंग हुँदै चीरिमायाले सुनाइन्, ‘तर मेरो दक्षता हेर्नुभयो र राख्नुभयो ।’

शिक्षिकाको रुपमा जागिर पाएपछि उनी ज्यादै खुसी भइन् । आत्मर्भिर बन्ने भएपछि उनी हरिसिद्धीबाट लगनखेलसम्म अध्यापान गराउन आउन तयार भइन् ।

त्यो उनको जीवनको पहिलो सफलता थियो । आजपनि उनको अनुहार खुसीले भरिएको छ । त्यतिमात्र होइन सफलता प्राप्त गर्नका लागि मेहनत गर्नपर्छ भन्ने प्रेरणाकी स्रोत बन्न सफल भएकी छिन् उनी ।

अहिले उनी नमुना मछेन्द्र माध्यमिक विद्यालय लगनखेलमा प्रावि तहका विद्यार्थीलाई नेपाली विषय पढाइरहेकी छिन् । त्यति मात्र होइन संगीत समेत सिकाइरहेकी छिन् ।

११ वर्षदेखी अध्यापन गराइरहेकी चीरिमाया

बिहान सबेरै उठ्छिन् । योगा गर्छिन् । गीतका लागि रियाज गर्न थाल्छिन् । अनि खाना खान्छिन् र तयार हुन्छिन् । हातमा सेतो छडी लिन्छिन् र विस्तारै घरका सिढीबाट ओर्लिन्छन् ।

‘सुरुमा अलि गाह्रो हुन्थ्यो घरको सिँढी तलमाथी गर्न’ ती अग्ला सिँढी देखाउँदै उनले भनिन्, ‘अहिले त त बानी भइसकेँ अन्त जाँदा पनि भित्तामा समाउँदै उक्लिनओर्लिन सक्छु ।’

उनको घरको आँगनमै आइपुग्छ– साझा यातायात र माइक्रोवस । उनी ९ बजे घरबाट निस्किन्छिन् । कार्यालयको समयमा सार्वजनिक यातयातभत्र खचाखच मानिसहरु हुन्छन् । उनी त्यो भीडमा उभिएरै उनी स्कुल पुग्छिन् ।

‘टुटल–पठाओ पनि डाउनलोड गरेको छु कहिले चाहिँ त्यसमै जान्छु’ उनले मोवाइललाई देखाउँदै भनिन्, ‘मैले आफूलाई हरेक माध्यमबाट सक्षम बनाएको छु ।’

‘शुरुमा केही गाह्रो महशुस हुन्थ्यो त्यसअघि कहिल्यै पढाएको थिइन’ उनले भनिन्, ‘तर विस्तार्र बानी पर्दै गयो अहिले बलबालिका मेरा अगाडी बसेर पढ्दा आफैंलाई गर्व महशूस हुन्छ ।’

सरकारले शिक्षकका लागि जति तलब तोकेको छ त्यति नै दिएको र आफु त्यसमाथि निकै खुसी रहेको बताउँदै उनले भनिन्, ‘मलाई खर्च गर्न पुग्छ ।’

जीवन जीउन गाह्रो छ । हरेक पाइलाहरुमा संघर्ष छन् । मानिसको व्यवहार उस्तै छन् । क्षमताको कदर हुँदैन । यहाँ अशक्त, अपाङ्गता, दृष्टिविहीन लगायत फरक क्षमताका व्यक्तिहरु धेरै छन् ।

विद्यार्थी पढ्न नमान्दा गीत पनि सुनाउँछु अनि सिकाउँछु पनि !

नमुना मछेन्द्रमा अध्ययन गर्ने कतिपय बालबालिका दृष्टिविहीन पनि छन् । उनी एक्ली दृष्टिविहीन शिक्षिका पनि हुन् ।

‘आफुजस्तै केही बालबालिका पनि छन् कतिपय साधरण बालबालिका पनि छन्’ चीरिमायाले भनिन्, ‘साधारण बालबालिकालाई पढ्न लगाएर दृष्टिविहीनलाई सुन्न लगाउँछु ।’

विद्यार्थीहरुलाई पढेको कुरा दिमागमा स्मरण गराउन सक्ने बनाउनुपर्छ । त्यसका लागि रमाइला कुरा गर्ने गीत सुनाउँछु’ हाँस्दै उनले भनिन्, ‘गीत गाउने मिस भनेर चिन्छन् स्कुलमा मलाई ।’

बालबालिकाहरु झुम्मिने स्वभावका छन्, आफ्ना कुराहरु सियर गर्छन् । ‘दृष्टिविहीन बालबालिकाले त झन हामी जस्तै मिस भन्दै खुब माया गर्छन्’ उनले थपिन्, ‘मलाई आफुजस्ता र फरक क्षमता भएका बालबालिकालाई यसरी पढाउन पाउँदा एकदमै सन्तुष्टी मिल्छ ।’

गायन क्षेत्रलाई पनि निरन्तरता

बाल्यकालदेखि गीत गुनगुनाउथिन् चीरिमाया । ठूलो भएर गीत गाउने र संगीतकै माध्यमबाट आफ्नो नाम चिनाउने उनको शोख थियो । वि.स. २०५७ सालदेखि उनले संगीत सिक्न थालिन् ।

‘त्यो बेला नेत्रहीन संघले छात्रवृत्ति दिएको थियो म पनि सेलेक्ट भएछु’ मुस्कुराउँदै उनले भनिन्, ‘त्यहाँ शास्त्रीय संगीत (क्लासिकल) सिकें ।’

चीरिमायाले चाहेका र गर्न थालेका कुराहरुमा उनको परिवारको साथ र सर्पोट भएकै कारण गायन र शिक्षण पेशामा प्रवेश गर्न पाएको उनी बताउँछिन ।

१२/१५ वर्ष भइसक्यो उनले गायन क्षेत्रमा प्रवेश गरेको । अहिलेसम्म उनले ३० वटाभन्दा बढी क्लासिकल गीतमा आवाज दिइसकेकी छिन् । पहिले गीत गाउनका लागि कार्यक्रमका प्रतिस्पर्धामा जानुपथ्र्यो अहिले आयोजक टीमले नै उनलाई गीत गाउन बोलाउने गर्छन् ।

‘धेरै समय मैले यत्तिकै पनि गीत गाएँ’ उनले भनिन्, ‘अहिले त मैले गीत गाए बापत कति रुपैयाँ पाउँछु भनेर फोनमै सोध्न थालेकी छुख खर्च पनि त चाहियो नि ।’

झापा, मोरङ, इटहरी लगायत धेरै स्थानमा उनी पुगेकी छिन् । उनी आफुलाई गीत गाउनका लागि अफर आएमा जहाँ पनि पुग्ने गरेको सुनाउँछिन् । भन्छिन्, ‘जुन जिल्ला पुग्नु परेपनि म समय मिलाएर एक्लै त्यहाँ पुग्छु अहिले मलाइ कसैको सहारा चाहिँदैन ।’

अभिभावक र दृष्टिविहीनलाई अनुरोध

‘आँखा नदेख्दैमा केही हुँदैन’ प्रफुल्ल हुँदै चीरिमाया भन्छिन्, ‘मैले काम गर्न सक्छु भन्ने आत्मविश्वास छ अघि बढिरहेको छु ठूलो कुरा त्यही नै त हो ।’

‘भनाइ नै छ नि कुँवाको भ्यागुतो कुवा मै भन्ने’ चीरिमायाले उदाहरण दिँदै भनिन्, हिजो संघर्ष नगरेको भए आज म अरुको भर पर्नुपथ्र्यो अरुको सहाराको आवश्यकता पर्‍थ्यो यसकारण संघर्ष गर्नुपर्छ ।’

जीवन जीउन गाह्रो छ । हरेक पाइलाहरुमा संघर्ष छन् । मानिसको व्यवहार उस्तै छन् । क्षमताको कदर हुँदैन । यहाँ अशक्त, अपाङ्गता, दृष्टिविहीन लगायत फरक क्षमताका व्यक्तिहरु धेरै छन् । भन्छिन्, उनीहरुको मनोबल बढाउनका लागि परिवारको पनि भूमिका रहन्छ ।’

‘सबै अभिभावक तथा आफुजस्तै दृष्टिविहीनहरुलाई आग्रह पनि गर्छु’ अन्तमा उनले भनिन्, ‘आत्मनिर्भर बन्नका लागि केही गर्नुपर्दैन, निरन्तर मेहनत र संघर्ष चाहिँ गर्नुस् जीवन यति कै चल्छ ।’


भर्खर

0