क्रिप्टोकरेन्सीको कारोबार झन् झन् बढ्दो « Khabarhub
Logo
१० मंसिर २०७७, बुधबार

क्रिप्टोकरेन्सीको कारोबार झन् झन् बढ्दो

 पक्राउ परेकाको मुद्दा सरेको सर्‍यै  



काठमाडौँ नेपालको कानूनले अवैध मानेको क्रिप्टोकरेन्सीको धन्दा अहिले पनि चलिरहेको छ ।

बिटक्वाइनको कारोबारबाट सर्वसाधारण ठगिन थालेपछि तीन वर्षअघि नेपालमा प्रतिबन्ध लगाइएको भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी)को धन्दा फेरि देखिन थालेको हो ।

प्रहरीको अनुसन्धानअनुसार गत साउनयता क्रिप्टोकरेन्सी प्रकृतिकै कारोबारका लागि खाता खोल्ने र नयाँ सदस्य बनाउने क्रम सामाजिक सञ्जालमा तीब्र बन्दै गएको छ । पाई नामको भर्चुअल मुद्राको लागि नेटवर्किङ शैलीमा सदस्य थप्दै जाने क्रम बढ्दा सामाजिक सञ्जालमा यो भाइरल नै बनेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख डिआइजी सहकुल थापाका अनुसार सन् २०१७ तिर सरकारले नेटवर्किङ बिजनेसमा रोक लगाएसँगै सो बिजनेसका कारोबारी क्रिप्टोकरेन्सीतिर लागेको देखिएको छ ।

डीआईजी थापा भन्छन्, ‘अहिले नेपालमा नेटवर्किङ बिजनेस र क्रिप्टोकरेन्सी दुबै प्रतिबन्धित छन् । नेटवर्किङ बिजनेसमा प्रहरीले कडाइ गरेपछि केही व्यक्तिहरू क्रिप्टोकरेन्सी धन्दामा लागेको देखिएको छ ।

डीआइजी थापाले क्रिप्टो करेन्सीको कारोबार गैरकानूनी भएकाले कारोबारीमाथि कानूनअनुसार कारबाही हुने बताए ।

कारोबारी खोजी हुँदै, को को छन् संलग्न ?

नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सीको अवैध कारोबार देखिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि  कारबाही प्रक्रिया अघि बढाएको छ ।

गत असोज १३ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सीका कारोबारीलाई कारबाही गर्नेबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई पत्र पठाएको थियो ।

विभागको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाईंका अनुसार नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सीको अवैध कारोबार देखिएसँगै विभागले अध्ययन गरी यसमा संलग्नलाई कारबाहीका लागि सीआइबीलाई पत्र लेखेको हो ।

निर्देशक सेढाईंले भने, ‘केही वर्षयता नेपालमा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीको अवैध कारोबार देखिएसँगै हामीले यसको अध्ययन गरेका थियौँ । यसमा केही व्यक्तिको संलग्नता खुलेपछि हामीले कारबाहीका लागि सीआइबीलाई पत्राचर गरेका छौँ ।

सिआइबीलाई पठाएको पत्रमा विभागले उक्त विषयमा अध्ययन गरिरहेको र थप छानबिनमा सहयोग गर्न भनिएको छ । सामाजिक सञ्जालमार्फत पाई लगायतका अन्य डिजिटल मुद्राको प्रयोग बढ्दै गएको र ठगीको जोखिम पनि ठहर गरी विभागले सिआइबीको सहयोगमा अनुसन्धान गर्न लागेको निर्देशक सेढाईंले बताए ।

यो विषयमा सीआईबीले पनि अनुसन्धान गरिरहको छ । सीआइबीका प्रमुख डीआइजी थापाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पत्रआएसँगै थप अनुसन्धान अघि बढाएको बताए । उनले भने, ‘प्रमाण पुगेपछि कारबाही प्रक्रिया अघि बढ्छ ।

प्रहरी स्रोतका अनुसार विभागले वन क्वाइन डिजिटल करेन्सी का गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजी श्रेष्ठ; ‘एक्सेल टोकन का ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन; ‘क्यास क्वाइन का विजय शाह र दिनेश शाह र पाई नेटवर्क मा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको छ ।

यी हुन् अहिलेसम्म पक्राउ परेका व्यक्ति

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालमा पहिलोटक क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २०७४ असोज १८ र १९ गते गरी ७ जनालाई पक्राउ गरेको थियो ।

सीआइबीका प्रमुख डीआइजी थापाका अनुसार उनीहरूलाई काठमाडौँ र चितवनबाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुली घर भई बानेश्वर बस्ने ज्ञानप्रसाद पौडेल, आर्घाखाँची घर भई बानेश्वर बस्ने माधव खनाल, काठमाडौँका प्रशान्तप्रताप शाह, नुवाकोट घर भई काठमाडौँको कलंकी बस्ने बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ, काठमाडौँका दमन बस्नेत र रुपन्देही मनीषकुमार गिरी थिए ।

यो घटनापछि प्रहरीले २०७५ जेठ ६ गते सिन्धुपाल्चोक घर भई काठमाडौँको माकलबारी बस्ने बज्रसिंह लामालाई पक्राउ गरेको थियो । डीआइजी थापाका अनुसार उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार नेपाल राष्ट्र बैंकले पूर्णरूपमा गैरकानूनी घोषणा गरेको बिटक्वाइन, ग्राभिटी क्वाइन लगायतका क्रिप्टोसरेन्सी वित्तीय उपकरण जारी गरी अवैध किनबेच गरी विदेशी विनिमयसमेत कारोबार गरेको आरोपमा पक्राउ गरिएको थियो ।

बिटक्वाइन मार्फत उनीहरूले झण्डै १०१२ लाख अमेरिकी डलरको कारोबार गरेको अनुसन्धानले देखाएको थियो ।

२०७४ कात्तिक १२ गते सीआइबीले ४ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै सरकारी वकिलमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । ती वर्ष पुग्दासमेत उक्त मुद्दाको पेशी सरेको सर्‍यै छ ।

यस्तो छ मागदाबी 

ज्ञानप्रसाद पौडेल २ करोड २१ लाख ३६ हजार ९७० रुपैयाँ मिङमार तामाङ ५९ लाख १६ हजार ५३ रुपैयाँ ।

मनीषकुमार गिरी ३ लाख ३६ हजार ३९७ रुपैयाँ ।

बिन्दा ढकाल २ लाख ६२ हजार ७५० रुपैयाँ

माधव खनाल र सञ्जय खनाल ५२ हजार ५५० रुपैयाँ ।

दमन बस्नेत र सौगातकुमार वाग्ले ४ लाख ५० हजार ४८९ रुपैयाँ ।

विश्वविक्रम राई २ लाख ६४ हजार रुपैयाँ

जम्मा ४ करोड ९ लाख ६६ हजार ५९६ रुपैयाँ ।

२०७४ साउन २९ गते नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबार गैरकानुनी रहेको बारे सार्वजनिक सूचना जारी गरेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा बिटक्वाइनलाई मुद्राको रूपमा कानुनी मान्यताप्राप्त नभएकाले बिटक्वाइनसम्बन्धी कारोबार नेपालमा पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख छ ।

अभियुक्त हुनुपर्ने व्यक्ति सरकारी साक्षी

बिटक्वाइन कारोबारमा प्रत्यक्ष जोडिएको ईसेवालाई सरकारी निकायको मिलेमतोमा अनुसन्धानबाटै उन्मुक्ति दिएको गत असारमा खुलासा भएको थियो ।

अनुसन्धानका क्रममा प्राप्त प्रमाण र आरोपितहरूको बयानबाट बिटक्वाइनको आर्थिक कारोबार ईसेवामार्फत भएको देखिएको थियो ।

बिटक्वाइन धन्दाको अवैध कारोबारको अनुसन्धान गर्ने र मुद्दा प्रक्रिया अगाडि बढाउने निकायले एफवान सफ्टले सञ्चालन गरेको डिजिटल भुक्तानी माध्यम ईसेवाकै कार्यकारी निर्देशक असगर अलीलाई सरकारी साक्षी राखेर उन्मुक्ति दिए । अली प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ हुन् ।

अपराधको प्रकृति र प्राप्त प्रमाणले अलीसमेत यो अपराधको अनुसन्धानमा जोडिन्छन् । सरकारी वकिलको कार्यालयले भने उनलाई नै सरकारी साक्षी राखेको थियो ।

अनुसन्धानको प्रक्रियाअनुसार अवैध आर्थिक कारोबारको भुक्तानी पक्षमा जोडिने कम्पनी र सो काममा संलग्न देखिएका कर्मचारी अनुसन्धानको दायरामा आउनुपर्ने हो तर बिटक्वाइनको अनुसन्धान र अभियोजनमा यस्तो देखिएन ।

बिटक्वाइनको अनुसन्धान गरेका एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धान गर्नुपर्ने ईसेवामाथि पनि थियो तर गर्नसक्ने अवस्था आएन, यतिसम्म कि प्रहरीमा समेत विज्ञका रूपमा अलीकै बयान लिइयो । पछि अदालतमा पनि अनुसन्धान गर्नुपर्ने मान्छेलाई सरकारी साक्षी बनाएर बयान लिने काम भएपछि अनुसन्धान नै प्रभावित भयो ।

यसरी, अभियुक्त हुनपर्ने व्यक्तिलाई साक्षी बनाएर विटक्वाईन धन्दामा उन्मुक्ति दिने काम भएको थियो ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । अनलाइनबाट पैसाजस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टोकरेन्सी हो ।

यो भौतिकरूपमा देख्न नसकिए पनि अनलाइनको माध्यमबाट व्यक्ति व्यक्तिबीच किनबेच हुन्छ । यस्तो भर्चुअल कारोबार हुने क्रिप्टो करेन्सीका डिजिटल प्ल्याटफर्म विश्वमा हजारौंको संख्यामा छन् ।

बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यास जस्ता सैयौँ क्रिप्टोकरेन्सीहरु प्रचलनमा छन् ।

हाल विश्वमा ११०० भन्दा बढी यस्ता क्रिप्टेकरेन्सी प्रचलनमा छन् ।

ओपन सोर्स सफ्टवेरको रूपमा सातोसी नाकामोतो नाममा सन् २००९ मा इन्टरनेटमा विटक्वाइनको प्रयोग सुरु भएको हो । नेपालमा यसको प्रयोग सन् २०१३ तिर शुरु भएको बुझिन्छ । सन् २००९ मा १० सेन्टमा सुरु भएको विटक्वाइनको कारोबार हाल ४३९३ डलर सम्म पुगेको छ ।

क्रिप्टोकरेन्सी कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन । कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन ।

यसको कारोबारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ ।

यसको कारोबार केही देशमा खुला भए पनि विश्वका धेरै जसो देशमा प्रतिबन्धित छ । नेपालका साथै बंगलादेश, चीन, बोलिभिया, रुस, भियतनाम लगायतका देशमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी मानिएको छ ।


भर्खर

0