समृद्धिको नारा र हाम्रो जीवनशैली « Khabarhub
Logo
१३ कार्तिक २०७७, बिहीबार

समृद्धिको नारा र हाम्रो जीवनशैली



फाइल तस्वीर

दशैँ आयो तर सबैको अनुहार मलीन छ । बैँकमा तरलता बढेर व्याज घटेको छ । आर्थिक लगानी छैन । उत्पादन र सेवा व्यापार निष्क्रिय छ । कोरोना भाइस संक्रमणको त्रासले सबैलाई डल्लो पारेको छ । मनमा आनन्द नभई सुख, समृद्धि र शान्तिको अनुभूति हुँदैन ।

विश्वका धनाढ्यहरू पनि रोएको बेला हाम्रो देश पनि रोएको छ । हामी रोएका छौँ । देशबासीमा कुनै उत्साह छैन । ऊर्जा र उत्साह नहुँदा दशैँ होस् कि अरू कही, कहाँ रमाइलो हुन्छ र ! बजारमा चहलपहल पातलो छ । यात्रामा भीडभाड छैन । जताततै सन्नाटा छाएको अनुभूति हुँदैछ । सरकारले भनेको छ- यसपालिको आशीर्वाद पोको पारेर अर्को साललाई राख्नू, प्रत्यक्ष भेटघाट नगर्नू ।

कोरोनाको सन्त्रासपछिको समाज कस्तो होला, सोच्नु पर्ने भएको छ । मानव समाजमा हिजो अरू थिए, आज हामी छौँ, भोलि अरू नै हुनेछन् । यस धर्तीमा यसरी नै समाज चलिरहने हो ।

विश्व स्वास्थ सङ्गठनका अनुसार हाम्रो शारीरिक, मानसिक र सामाजिक तीन पक्षले हामीलाई डोर्‍याइरहेको हुन्छ । समाजमा मानिस सधैँ नैतिकवान हुनु जरुरी छ । स्वस्थ समाज हुन मानिसको जीवनशैली सदैव सन्तुलित र सकारात्मक हुनु पर्छ ।

कोरोनाले देखायो शरीरमा मुख छ र नाक छ तर देखाउन पाइएन । पैसा छ प्रयोग हुन सकेन । परिवारमा सँगै बसउठ हुन पाएन । पद छ, उपयोग भएन । प्रतिष्ठा छ, त्यो पनि प्रयोगमा आएन । विद्यालय छ, विद्या आर्जन भएन ।

अस्पताल छ उपचार हुन सकेन । सडक छ, हिँड्न पाइएन । समाज छ, टोल, छरछिमेकी छन्, इष्टमित्र छन्, सबै व्यर्थजस्ता भए ।

मानव शरीर लाखौँ कोशिकाहरूबाट बनेको हुन्छ । यसले स्वतः काम गरिरहेको हुन्छ, पत्तै हुन्न । प्रकृतिका पाँच तत्वले बनेको शरीर माटो, पानी, वायु, आकाश र तेज तत्वबाट यो बनेको हुन्छ । प्रकृति असन्तुलित हुँदा वातावरण बिग्रिए झैँ हाम्रो आहारविहार असन्तुलित हुँदा रोग लाग्छ ।

एउटै देखिए पनि हाम्रो शरीर तीन रूपको छ । बाहिर देखिने शरीर स्थुल हो, यो रोग र व्याधीको घर हो, यसले सधैँ सुखमात्र खोज्छ । यसभित्र रहेको अर्को शरीर सुक्ष्म शरीर हो । यो देखिँदैन अनुभूतिमात्र हुन्छ । यो मन हो । मन जहिले पनि शान्ति खोज्छ । अझभित्र अर्को अति सूक्ष्म शरीर छ, त्यो आत्मा हो । यो कारण शरीर पनि हो । यसलाई आनन्द मात्र चाहिन्छ ।

यी तीन रूपको गति सन्तुलनले विचार प्रवाह गर्छ । मन, बुद्धि र चेतनाको सम्मिश्रण भन्नु मान्छेको उन्नतिको मार्ग हो । त्यसैलाई अर्थविद्हरूले समृद्धि भन्ने गरेका छन् । स्वस्थ आहारबाट शरीर स्वस्थ हुन्छ ।

समाजले कष्ट र हैरानी धेरै सहिसकेकाले अबको समाजले ज्यादै पिरो, टर्रो, डेगलेको, पुरानो, धेरै तारेको, भुटेको, बजारमा सजाइएको, बट्टाबन्दी, फास्ट फूड, जङ्क फूड, धुमपान, मदिरा आदिको प्रयोग नगर्ला वा गरे पनि थोरै गर्ला । शरीरमा अत्यावश्यक षड्रसमा ध्यान देला ।

खानामा पोषण तत्वको कमीले अनेकौँ रोग लाग्छ । हामीलाई थाहै नभई शरीरले अनावश्यक वस्तुहरू बाहिर फालिरहेको हुन्छ । किटाणुहरूलाई पनि शरीरका विभिन्न निष्कासन प्रणालीबाट बाहिर फालिरहेको हुन्छ । स्वतः सञ्चालन हुने यस्तो प्रणालीमा अवरोध आउनासाथ मानिसलाई रोग लाग्छ । शरीर जीर्ण हुन्छ । फोहोर पानी, दूषित वातावरण र अस्वस्थकर जीवनशैलीमा रोग बढ्छ । अन्ततः समाज संक्रमित हुँदै समग्र राज्य प्रणालीमा असर पार्छ ।

सामाजिक प्राणी मानव सबैको सहारा हो । बाँच र बाँच्न देऊ मुख्य मान्यता हुनुपर्छ । मानव सुरक्षाको महत्वपूर्ण पक्ष गरीबी न्युनीकरण नै हो । नाना, छाना, खाना, शिक्षा, स्वास्थ न्यूनतम आवश्यकता हो ।

कहिलेकाहीँ सामान्य रुघाघोकी, ज्वरो, पातलो दिसा र बमनले शरीरमा जम्मा भएको विकार बाहिर पठाउँछ । यस्तोमा आत्तिनु हुन्न तर लामो समय यस्तो भइरहे शीघ्र उपचार गर्नुपर्छ । क्रोध, आवेग र तनाव एकै दम्पतीका तीन सन्तान जस्तै हुन् । एकपछि अर्कोले उपस्थिति देखाइहाल्छन् । यिनले शरीरमा सञ्चित आधाभन्दा बढी शक्ति नष्ट गराउँछन् । यसैले, मानिसले हरपल आफ्नो दिनचर्या विचार गर्नुपर्छ ।

मानिसमा चार किसिमको पुरुषार्थको आशा हुन्छ– धर्म, अर्थ, काम र मोक्ष । अरूलाई बाधा नदिई स्वधर्ममा रहेर सात्विक धन आर्जन गर्ने, धनको सदुपयोग गर्ने मानवहित हेतु समस्त जीवात्मालाई बसुधा भित्रका कुटुम्ब सम्झेर वसुधैव कुटुम्बकम् सिद्धान्तले रहने मानिस असल चरित्रको हो । जहाँ सत्य र सदाचार हुन्छ, त्यही स्वर्ग हो । अरू को खोसेर खाने दानव हो । मानवले सदैव विवेकपूर्ण व्यवहार गर्नुपर्छ । आहार, विहार, व्यवहार र सदाचार हुनुपर्छ ।

जब पाप नष्ट हुन्छ, तब तृष्णा समाप्त हुन्छ । मनमा राग पनि रहँदैन अनि ज्ञानको ज्योति प्रकाशित हुन थाल्छ । विषय र इन्द्रिय चञ्चल हुन्जेल दुःख आफै वरिपरि घुम्छ । खोजेको वस्तु प्राप्त नहुँदासम्म मन दुःखी भइरहन्छ । आत्मबोधको लागि इन्द्रियरूपी चञ्चलता हटाउनु पर्ने हुन्छ । इन्द्रियभन्दा मन श्रेष्ठ, मनभन्दा बुद्धि श्रेष्ठ, बुद्धिभन्दा ज्ञान श्रेष्ठ र ज्ञानभन्दा आत्मा श्रेष्ठ हुन्छ ।

दुःखको चिन्तन गर्नाले दुःख बढ्छ । सुखको चिन्तन गर्नाले सुख बढ्छ । मानसिक दुःखलाई विचारले र शारीरिक दुःखलाई व्याधि चिकित्साले घटाउन सकिन्छ । विज्ञानको सामथ्र्य यही हो । आधि मानसिक रोग हो । यौवन, रूप, शरीर, धन, आरोग्य, मित्रमिलन कुनै पनि चिरस्थायी होइनन् । मनुष्य जीवनमा सुखको अपेक्षा दुःख बढी छ, जो क्षणभङ्गुर छ । मनको एकाग्रता नभएसम्म यो सुखको अवस्थामा पुग्न सकिन्न ।

पृथ्वीमा माटोभन्दा धेरै जल छ । जलभन्दा ठूलो तेज छ । जललाई सुकाउने तेज हो । तेजभन्दा ठूलो वायु छ । वायुभन्दा ठूलो आकाश छ । आकाशभन्दा पनि ठूलो मन छ, मनभन्दा ठूलो बुद्धि छ । बुद्धिभन्दा बलवान काल छ । समय ज्ञानद्वारा बुद्धि निर्मल पार्नुपर्छ । बुद्धिद्वारा मन र इन्द्रिय शोधन गर्नुपर्छ ।

सामाजिक प्राणी मानव सबैको सहारा हो । बाँच र बाँच्न देऊ मुख्य मान्यता हुनुपर्छ । मानव सुरक्षाको महत्वपूर्ण पक्ष गरीबी न्युनीकरण नै हो । नाना, छाना, खाना, शिक्षा, स्वास्थ न्यूनतम आवश्यकता हो ।

हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको मानेको छ तर बेरोजगारी समस्या विकराल छ । समावेशी विकास र दिगो विकास सरकारी नारामा सीमित छ । कोही बलात्कृत र हत्या भएको छ । कोही मानव निर्मित साधनको दुर्घटनाबाट मर्छन् त कोही अनायासै आएको संक्रमणबाट !

कोभिड–१९ ले अहिले सबैलाई निराश बनाएको छ । जति संकट भए पनि आत्तिनु हुन्न, धैर्यको बाँध फुट्नु हुन्न । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । परिवेश बनाउने मान्छेले नै हो । परिवेश राम्रो भए सबै ऋतुमा फूल फुल्छ ।

अशक्त, असहाय, दीन, दुःखी, गरीब, विपन्न, वृद्धवृद्धाको हालत त झन् के भन्नु र ! अन्तर्राष्ट्रिय संघसंस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धि, महासन्धि कति छन् तर कागजमा सीमित । लोककल्याणकारी राज्य व्यवस्था र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने नारा छ सरकारको ! गर्भदेखि मृत्युसम्मको जीवनचक्रलाई नै सामाजिक सुरक्षामा आबद्ध गर्ने योजना छ ।

ज्येष्ठ नागरिकमा अनुभव, सीप र ज्ञान हुन्छ । जापानले गरेको विकास ज्येष्ठ नागरिकको सम्मानबाटै हो । थाइल्याण्डले गरेको प्रगति जोसिला युवा पुस्ताप्रतिको विश्वासले हो । यता हाम्रोमा ज्येष्ठ नागरिकहरू बेसहारा हुँदैछन् । नयाँ पुस्ता शहरमुखी भएको छ । लाखौँ युवा रोजगारीको खोजीमा विदेश पुगेका छन् । पुस्तान्तरणमा रिक्तता र तिक्तता बढेको छ ।

सरकारले भनेको छ– ज्ञान, सीप र अनुभव पुस्तामा हस्तान्तरण हुने गरी संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने । गरीबीको रेखामुनि रहेका परिवार र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ वीमा गर्ने, सत्तरी वर्षमाथिका सबै ज्येष्ठ नागरिकको एक लाख रूपैयाँ बीमाङ्कमो निःशुल्क बीमा गर्ने इत्यादि भनेको छ सरकारले ।

मुलुकमा गरिबीको मनोविज्ञान हटाउनु परेको छ । आत्मविश्वास जगाउनु परेको छ । भोकै कोही मर्दैन भन्ने सरकारी नारा छ । आफ्नो हेरचाह आफैँ गर्न नसक्नेहरू धेरै छन् । तिनलाई सेवा चाहिएको छ । सामाजिक सुरक्षामा समेट्नुपर्ने जनसंख्या लाखौँ छ । वित्तीय रूपले सबल नभई लक्ष्य हासिल गर्न कठिन हुन्छ । सबै कार्यक्रम प्रभावकारी बनाई लोककल्याणकारी समाज सिर्जना गर्न जरुरी छ ।

युवाको जोसजाँगरको सदुपयोग हुनुपर्छ । लैङ्गिक र जातीय भेदभाव अन्त्य हुनुपर्छ । सबै किसिमको सामाजिक विभेद अन्त्य हुनुपर्छ । सबैको श्रमको मूल्यांकन हुनु जरुरी छ । सबैको आत्मिक उन्नति नभई मुलुक समृद्ध हुन सक्दैन । सबै नउठी एक्लो देश उठ्न सक्दैन ।

मेलापर्म, घाँसपात, वनबुटेन, काँक्राफर्सी, ऐँचोपैचो, गोठगोबर इत्यादि अपरिचित हुन थाले ! व्यक्ति, समाज र राज्य सबै मिलेर फेरि एकपटक हामीले सोचेजस्तो असल समाज निर्माणतर्फ अग्रसर हुने बेला आएको छ ।

कोभिड–१९ ले अहिले सबैलाई निराश बनाएको छ । जति संकट भए पनि आत्तिनु हुन्न, धैर्यको बाँध फुट्नु हुन्न । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । परिवेश बनाउने मान्छेले नै हो । परिवेश राम्रो भए सबै ऋतुमा फूल फुल्छ ।

शिशिरको चिसो सहजै पार हुन्छ । वर्षाको भेल सजिलै पाखा लाग्छ । गृष्मको उराठमा वसन्त आउँछ । नयाँ बिहानी, नयाँ किरण, नयाँ पालुवा, नयाँ जवानी अनि नयाँ उत्साह, नयाँ परिवेश नयाँ उमङ्ग आउँछ ।

हरेक कलिला ओठमा मुस्कान छाउन व्यक्ति, समाज र राज्यको सोच सधैँ नवीनतम हुनुपर्छ । हरेक व्यक्ति अभयी र निर्भयी बनून्– राज्यको दायित्वको विषय यही हो ।

शक्तिको तुजुक, चरम लापरबाही र ओठे भक्तिले देशको उन्नति हुँदैन । व्यक्ति, समाज र राज्यमा अनेक परिवर्तन हुन्छ तर हाम्रो भूगोल परिवर्तन हुँदैन । गाउँ बस्तीमा डोजर दौडाएर पहिरोको समस्या थपियो । प्राकृतिक डाँडा र पाखा पखेरीहरूमा डोजरहरू गुडे । गाउँका मान्छे खाडीतिर भास्सिए । अन्नपात घट्यो । बारीका पाटामा मकैका घोगा, कोदाका बाला, बोडीका झुत्ता र भटमासका कोसा देखिँदैनन् ।

मेलापर्म, घाँसपात, वनबुटेन, काँक्राफर्सी, ऐँचोपैचो, गोठगोबर इत्यादि अपरिचित हुन थाले ! व्यक्ति, समाज र राज्य सबै मिलेर फेरि एकपटक हामीले सोचेजस्तो असल समाज निर्माणतर्फ अग्रसर हुने बेला आएको छ । हाम्रो महान पर्व दशैँ, तिहार र छठ पर्वले हामीलाई शान्ति र उन्नतिको मार्गमा डोर्‍याउन सकून् । हार्दिक शुभकामना ।


भर्खर

0