बेरोजगारलाई यसरी दिँदैछ काठमाडौँ महानगरले रोजगारी (कार्यविधिसहित) | Khabarhub Khabarhub

बेरोजगारलाई यसरी दिँदैछ काठमाडौँ महानगरले रोजगारी (कार्यविधिसहित)

अशक्तलाई खानाको प्रबन्ध



काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन तयारी थालेको छ ।

‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ जारी गरिएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने तयारी गरेको हो ।

महानगर क्षेत्रमा बसोबास गर्नेहरूले रोजगारीका लागि वडा कार्यालयहरूमा सम्पर्क राख्नु पर्नेछ ।

कोभिड-१९ का कारण रोजगारी गुमाएकाहरू महानगरले दिने रोजगारीको मापदण्डमा पर्नेछन् ।

श्रममा आधरित रोजगारी दिने सम्बन्धी सूचना प्रकाशन गर्दै महानगरले काम गर्न इच्छुक रोजगारी गुमाएकाहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न गत शुक्रवार नै आह्वान गरिसकेको छ ।

सोहीअनुरुप हालसालै महानगरले रोजगारीसम्बन्धी फारम आफ्नो वेभसाइटमा राखेको छ । रोजगारीका लागि केही शर्तहरु  छन् । फारममा रोजगारी गुमेको प्रमाणित गर्नुपर्ने, दर्ता फारम भर्नुपर्ने र यसअघि काम गरेको सबै विवरण खुलाउनु पर्नेछ ।

भाडामा बसेको हो भने घरधनीको नाम, सम्पर्क नम्बर, आश्रित परिवारको संख्या र परिवारको नाम उल्लेख गर्नुपर्नेछ ।

महानगरका शहरी सुव्यवस्था विभागका प्रमुख हरि बहादुर कुँवरका अनुसार जीवन निर्वाहका लागि काम क्षमताअनुरुप प्रतिव्यक्ति हप्ताको दुई दिन काम दिइनेछ ।

‘कामका लागि कतिले फारम भर्छन् त्यही अनुसार काम दिइन्छ । यति जनालाई नै काम दिन्छौं भनेर अहिले नै भन्न सक्ने अवस्था छैन,’ उनले भने । श्रम गरेबापत सरकारले तोकेको दर रेट अनुसारको  पारिश्रमिक दिइने उनले बताए ।

यी हुन् रोजगारी पाइने क्षेत्र

महानगरले रोजगारीका लागि क्षेत्रहरु पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण, सार्वजनिक पार्क संरक्षण र हरियाली विकास, स्वास्थ्य, सरसफाई तथा फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम दिइने महानगरले जनाएको छ ।

यस बाहेक महानगरपालिका वा वडाले अन्य कार्यक्षेत्रहरु समेत तोक्न सक्ने जनाइएको छ ।

यस्तो छ कार्यविधि

-महानगरपालिका वा वडाले कार्यविधि बमोजिम जीवन निर्वाहका लागि पारिश्रमिक प्राप्त गर्न आवश्यक भएका प्रति परिवार एक व्यक्तिलाई हप्तामा दुई दिन काममा परिचालन गर्ने ।

-सर्वसाधरणको क्षमता र दक्षताका आधारमा सामाजिक दूरीसहित दैनिक ८ घण्टा काममा लगाइने ।

-वडाका इन्जिनियर, सचिव तथा वडाअध्यक्षले हाजिर प्रमाणित गर्नुपर्ने तत्पश्चात मात्र पारिश्रमिक उपलब्ध गराउने ।

-एउटा वडामा काम गरिसकेपछि अर्को वडामा काम गर्न नपाउने गरी अर्थात् दाहोरो पर्ने गरी काममा नलगाइने ।

– महानगर र वडा कार्यलय अन्तर्गतको प्रशासनिक इकाइले कामको अनुगमन र मुल्याङ्कन तथा सुपरिवेक्षण गर्नुपर्ने ।

अशक्तलाई खानाको प्रबन्ध

महानगरपालिकाले सूचनामा काम गर्न नसक्नेलाई खानाको प्रबन्ध पनि गरिएको जनाएको छ ।

यसका लागि विभिन्न मानव सेवा आश्रम वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिका क्षेत्रभित्रका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरूलाई मानव सेवा आश्रममा खाना, बस्न तथा स्वास्थ्य उपचार  सुविधा उपलब्ध भएको महानगरले जनाएको छ ।

खुलामञ्चमा खाना खुवाउन बन्द

कोभिड-१९ को संक्रमण फैलिन नदिन गत चैत्र महिनाबाट देशभर लकडाउन भयो । धेरै मानिसहरु बेरोजगार बन्न पुगे । दैनिक ज्याला मजदुरी गर्नेहरु सडकमै बस्न थाले ।

यससँगै विभिन्न संघ संस्थाहरुले सहकार्य गरेर काठमाडौंको खुला क्षेत्र अर्थात् खुलामञ्चमा निःशुल्क भोजन सेवाको सुरुवात गरेका थिए । तर, अब मंगलबारबाट खुलामञ्चमा खाना खुवाए कारबाही गर्ने महानगरले जनाएको छ ।

सार्वजनिक यातायात बन्द भएको अवस्थामा खुलामञ्चमा खाना दिए पनि यातायात सञ्चालन भएपछि त्यसरी खाना खुवाउदा भीडभाड भएको तथा शहरी सुन्दरता बिग्रिएको भन्दै वैकल्पिक व्यवस्था गरिएको महानगरले जनाएको छ ।

वैकल्पिक व्यवस्थाका रुपमा महानगरका विभिन्न वडा र पशुपती लगायतका स्थानमा खाना खुवाउने तयारी रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १२ : ४५ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।