सरकार ! कति सुनूँ अर्तीउपदेश ! « Khabarhub
Logo
१२ कार्तिक २०७७, बुधबार

सरकार ! कति सुनूँ अर्तीउपदेश !



कोरोना भइरस संक्रमण अर्थात कोभिड–१९ बाट कसरी बच्ने ?

उचित तरिकाले मास्क लगाउने । केही बेरको अन्तरमा साबुनपानीले हात धुने । कुनै बाहिरी वस्तु छोएपछि हातमा स्यानिटाइजर लगाउने । सर्जिकल पञ्जा लगाउने । साबुनपानीले हात नधोई अनुहार नछुने/नचलाउने, खासगरी आँखा र नाक नछुने । सामाजिक दूरी कायम गर्ने । भिड नगर्ने, भिडमा नजाने । अनावश्यक यात्रा नगर्ने । पोषिलो र रोगप्रतिरोधात्मक क्षमता बढाउने खाने कुरा खाने । सरसफाइमा ध्यान दिने । आदिइत्यादि ।

सरकारले व्यक्तिका लागि तोकेको नियम वा मापदण्ड जे भने पनि लगभग यति नै हो ।

आफ्नो स्वास्थ्य रक्षाका लागि यति नियम नबुझ्ने र पालना नगर्ने को नै होला र ! छन् त यति नियम थाहा पाएर पनि कुरा नबुझ्ने निमुखो वर्ग र लापरबाह जमातमात्रै । सरकारी मान्छेको कुरा सुन्ने हो भने यही निमुखो वर्ग दोषी देखा पर्छ । हरेक दिन अपराह्न सवा चार बजेपछि संक्रमणबाट जोगिने अर्तीउपदेशहरूको ओइरो लाग्छ । केही दिनयता स्वेच्छाले नाम सार्वजनिक गरेका संक्रमितहरूको सूची भने बडो अनौठो प्रतीत हुन्छ ।

बालुवाटारको अग्लो पर्खालभित्र सैनिक सुरक्षामा काम गर्ने, आफ्नै गाडीमा सवार हुने र संवेदनशील शारीरिक अवस्थाका प्रधानमन्त्रीसँग निकटमा रहेर काम गर्ने उच्च शिक्षित व्यक्तिहरूलाई कोरोना संक्रमण भयो । पुल्चोकमा अग्लो पर्खालभित्र बस्ने यस्तै प्रकृतिका केही उच्चपदस्थ व्यक्तिहरू संक्रमित भए ।

केही प्रतिष्ठित घरानियाँहरू संक्रमित भएको समाचार आयो । यस्ता घरानियाँ जो संघीय राजधानी काठमाडौँमा अग्लो पर्खालभित्र धेरै फराकिलो परिसरमा बनेको आधुनिक सुविधाले सम्पन्न बङ्गलामा निजी सुरक्षा संयन्त्रभित्र बस्छन्, आधुनिक जीवनशैली छ, तैपनि कोरोना संक्रमण भयो ।

यस्ता व्यक्तिहरू सबैजसोले आफू कोरोना संक्रमित भएको कुरा सार्वजनिक गरे अनि आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र शङ्का लागे परीक्षण गराउन आग्रह गरे । उनीहरूले आफूलाई कसरी संक्रमण भयो भन्ने चाहिँ केही पनि खुलाएनन् । शायद, उनीहरूले संक्रमणको स्रोत नै थाहा पाएनन् । आफूलाई भएको संक्रमण सार्वजनिक नगरेका यस्तै वर्गका मानिस कति होलान् !

यहाँ प्रश्न उठ्नु स्वाभाविक हुन्छ- के यी मानिसहरूले सरकारले बनाएको नियम पालना गरेनन् ? मास्क, साबुनपानी र स्यानिटाइजर छुँदै छोएनन् ? दूषित हातले जति बेला पनि नाक र आँखा कोट्याइरहे ? दूरी न सुरी भन्दै भिडभाडमा गए ? पोषिलो र रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाएनन् ? कि कोरोना भाइरस केही होइन, यो बेकारको आतङ्कमात्रै हो भनेर ढुक्क भए ?

सामान्यतया उपुर्युक्त प्रश्नहरूको जवाफ प्रश्नको विपरीत नै आउने छ । तैपनि कसरी संक्रमण भयो ? यो जिज्ञासा भने अनुत्तरित नै रहनेछ । यसको अर्थ हुनेछ- स्वास्थ्य सुरक्षाका सबै उपायहरू अपनाउँदा अपनाउँदै पनि उनीहरू संक्रमित भए, कहाँबाट कसरी संक्रमण भयो भन्ने थाहा नै भएन ।

दुनियाँका शक्तिशाली नेता डोनल्ड ट्रम्प संक्रमित भए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन संक्रमित भए । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिन, ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारो, फ्रान्सका अर्थमन्त्री ब्रुनो मायर, बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज, अष्ट्रेलियाका गृहमन्त्री पिटर दुत्तोन, भारतका गृहमन्त्री अमित शाह, चर्चित बलिउड अभिनेता अमिताभ बच्चन आदिलाई पनि कोरोना संक्रमणले भेट्यो । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको त ज्यानै गयो ।

अर्को प्रश्न उठ्छ, कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन सबै उपायहरू अवलम्बन गर्न सक्ने यी उच्च वर्गका व्यक्तिहरू कसरी संक्रमित भए ?

काठमाडौँमा एकजना संक्रमित भेटिएका दिन देशभर एकसाथ लकडाउन गरेर चार महिना मान्छेलाई घरमा थन्क्याउने सरकार पाँच हजार संक्रमितमा आधाभन्दा बढी काठमाडौँका मात्रै हुँदा पनि लकडाउन समाधान होइन भनेर बसेको छ ।

दैनिक काम गरेर खानुपर्ने, दैनिक केही किलोमिटर भए पनि सार्वजनिक यातायातको साधन प्रयोग गर्नै पर्ने, भए गाम्छा वा रुमालले र नभए हातका पञ्जाले निधारदेखि चिउँडोसम्मको पसिना पुछ्नुपर्ने मान्छेहरू कसरी जोगिएका होलान् ! तिनीहरू संक्रमित भए होला कि नाइँ ! भए भने कतिलाई सारे होला !

चाहिएको बेलामा एउटा मास्क किन्न पैसा नहुने मान्छे पनि संघीय राजधानी शहर काठमाडौँमा छन् । तिनका लागि स्यानिटाइजर प्रयोगको निर्देशनले कति काम गरेको होला ! यति घना शहरलाई बीचबाट चिरेर एक छेउबाट झण्डै अर्को छेउ निस्किँदासम्म बटुवाले हात धुने सार्वजनिक सुविधा फेला पार्दैन !

मान्छेको बाक्लो ओहोरदोहोर हुने रत्नपार्कको सडक पेटीमा एउटा ट्याङ्कीमा दुई हजार लिटर पानी र एउटा साबुन राखिदिएको भए सरकार आफ्नो निर्देशन पालना गराउन साँच्चै कटिबद्ध छ भन्न हुन्थ्यो । यति ठूलो जनसंख्या र दोहोरीलत्ता ओहोरदोहोर हुने राजधानी शहरमा यस्ता ठाउँ अरू हुँदा हुन् ।

कोरोना भाइरस संक्रमण चम्किन थाल्दा सरकारलाई दल फुटाउने आवश्यकता महसुस भएर आध्यादेश जारी हुन्छ तर त्यही सरकार संक्रामक रोग ऐनमा संशोधनको आवश्यकता देख्दैन ।

दशैँ भनेर ओहोरदोहोर नगर्नू भन्ने उर्दी छ सरकारको । आधा सिटमा मात्रै यात्रु बोक्नुपर्ने हो भने हामी जहाज उडाउन सक्दैनौँ भनेपछि उडान कम्पनीले सिट भर्ने अनुमति पाए । गाडीमा आधा सिटमामात्रै यात्रु बोक्न निर्देशन दिएको सरकारले दशैँको मुखमा पूरै सिटमा बोक्न अनुमति दियो अरे ।

हवाई जहाज उड्न पाएका छन् । मेची—महाकाली गाडी गुड्न पाएका छन् । इच्छा नभए पनि कतिपय मानिसलाई यात्रा नगरी भएको छैन । आफ्नो साइकल पनि नहुने मान्छे सार्वजनिक गाडी नचढी हुने होइन । सधैँ घरमा थन्केर मुखमा माड लाग्ने होइन । ऋणको व्याज नपाक्ने पनि होइन । ऋण मिनाहा त झनै हुने होइन ।

सबैका छोराछोरी सरकारी स्कुलमा मात्रै पढ्ने छैनन्, निजीमा पनि पढ्छन् । निजी कलेज पढ्ने छोराछोरी पनि छन् । तिनको फिस नतिरी धर पाइने होइन । कोरोनाका नाममा सरकारले सधैँ सबै थोक बन्द राख्न सक्ने होइन रहेछ । काठमाडौँमा एकजना संक्रमित भेटिएका दिन देशभर एकसाथ लकडाउन गरेर चार महिना मान्छेलाई घरमा थन्क्याउने सरकार पाँच हजार संक्रमितमा आधाभन्दा बढी काठमाडौँका मात्रै हुँदा पनि लकडाउन समाधान होइन भनेर बसेको छ ।

आखिर जस्तोसुकै सङ्कटसँग पनि मैदानमै उत्रेर पौँठेजोरी नखेली नहुने रहेछ !

अनलाइनबाट पढाउनू ! फिस नउठाउनू तर शिक्षकलाई तलब दिनू ! हवाई जहाज र गाडी चलाउनू तर मान्छेले यात्रा नगर्नू ! बजार खोल्नू तर मान्छे किनमेल गर्न नजानू !

यहाँभन्दा अर्को विरोधाभास के हुनु छ र !

मान्छेहरू अनुशासित भएनन् । भिड गरे । मास्क लगाएनन् । चिया पसल र रेष्ट्राँमा गफ गरेर बसे । बोल्ने बेलामा मान्छेले मास्क खोल्यो । मास्क चिउँडामा टाँस्यो । साबुनपानीले हात धोएन । खल्तीमा स्यानिटाइजर बोकेर हिँडेन ।

सरकारलाई आफ्नै गीत गाउनु छ । आफ्ना नागरिकलाई भक्कुमार गाली गर्नु छ ।

हङकङ पठाउनु पर्थ्यो, अहिले देशमै दैनिक २३ हजार स्वाब एकै दिनमा देशमै परीक्षण गर्छौं ! सरकारले यो गर्‍यो, त्यो गर्‍यो तर मान्छेहरू अनुशासित भएनन् । अनुशासनहीनहरूले कोराना भाइरस सारेर बार्बाद पारे । आदिइत्यादि ।

सरकारले त अर्तीउपदेशबाहेक अर्को उपाय देख्न छाड्यो । बरु कुन दिन लौ, भोलि बिहानैदेखि लकडाउनभनिदिन बेर छैन ! अस्पतालले धान्न सक्दैन, बेहोस हुने बेलामा वा भएपछि मात्रै अस्पताल आउनू, कुनै पनि अस्पतालले अनिवार्यबाहेक अर्को शल्यक्रिया नगर्नू ।

कोरोना भाइरस संक्रमण चम्किन थाल्दा सरकारलाई दल फुटाउने आवश्यकता महसुस भएर आध्यादेश जारी हुन्छ तर त्यही सरकार संक्रामक रोग ऐनमा संशोधनको आवश्यकता देख्दैन । आखिर सत्तापलट गर्ने ‘रचनात्मक’ काम सुरु गर्न त कोरोना भाइरसले छेक्ने होइन रहेछ । कर्णाली प्रदेशमा संक्रमण निमिट्यान्न भएको पनि होइन ।

सिङ्गो आलेखको सार यो पनि होइन कि सरकारले केही गरेन, मानिसहरूले संक्रमण रोकथामका उपायहरू अवलम्बन गर्नु पर्दैन । दशैँका मुखमा काठमाडौँ उपत्यकाको चहलपहल हेरे हुन्छ । ठेलमठेल गराउँदै ५०/६० जना यात्रु बोक्ने नगरबसमा पाँच—छ जना हुन्छन् । सडकजामको नामै छैन भने पनि बढी बोलेको हुँदैन । दशैँको मुखमा पसल खोलेर बसेका बिक्रेता हातको फोन सेट घोटेर बसेका छन् ।

तैपनि सरकारी अधिकारीहरू आफ्ना नागरिकमाथि आक्रोश पोखेर एकछिन भए पनि दिमाग शान्त बनाउँछन् । सरकार शहरमा १०/२० प्रहरी भ्यान घुमाएर लापरबाह ग्याङ तह लगाउन सक्दैन । नहुनेका हातमा मास्क पुग्ने कुनै प्रबन्ध गर्न गराउन सक्दैन ।

प्रष्ट भयो । सरकारी ताल यस्तै हो भने कोरोना भाइरस संक्रमणले कसैलाई नछाड्ला । सरकारले त अर्तीउपदेशबाहेक अर्को उपाय देख्न छाड्यो । बरु कुन दिन ‘लौ, भोलि बिहानैदेखि लकडाउन’ भनिदिन बेर छैन ! अस्पतालले धान्न सक्दैन, बेहोस हुने बेलामा वा भएपछि मात्रै अस्पताल आउनू, कुनै पनि अस्पतालले अनिवार्यबाहेक अर्को शल्यक्रिया नगर्नू ।

कुन चाहिँ हुन्छ र त्यस्तो हुस्सु जसले अनिवार्य नभई शल्यक्रिया गराउँछ ! सरकारले त हात उठाइसकेको प्रतीत हुन्छ ।

सरकारका राजनीतिक अधिकारी, प्रशासनिक अधिकारी, चिकित्सक र जनस्वास्थ्यका विज्ञहरूको आकलनअनुसार कोरोना संक्रमणको अवस्था निकै भयावह र नियन्त्रणबाहिर हुन सक्नेछ । अर्तीउपदेश, कार्यान्वयनविनाका मापदण्ड र नियमले मात्रै काम नगर्ने रहेछ ।

सरकार अर्तीउपदेश र तीन करोड नागरिकलाई एकै घानमा हालेर आक्रोश प्रकट अति भो । कार्यान्वयनमा ध्यान दिन सके हुन्थ्यो । उल्लङ्घन गर्नेलाई ठाउँको ठाउँ दण्ड गर्न सके हुन्थ्यो । राज्य संयन्त्र र सामाजिक संयन्त्रहरु परिचालन गर्न सके हुन्थ्यो ।

जानेमानेका पत्रकार विजयकुमारको एउटा वाक्य उद्धृत गरेर यो आलेखको बिट मारूँ— गर्नेले बोल्नै पर्दैन ।


भर्खर

0