चीनबाट फर्किएको छोराले एयरपोर्टबाट फोन गर्दा भावुक बनिन् विमला « Khabarhub
Logo
२ आश्विन २०७७, शुक्रबार

चीनबाट फर्किएको छोराले एयरपोर्टबाट फोन गर्दा भावुक बनिन् विमला



काठमाडौैं– विमला श्रेष्ठ रातभर निदाउन सकिनन् । कृष्ण पक्षको रातको चकमन्नतामा उनी बाहिर निस्कन्थिन् आकाश हेर्थिन् र फेरि ओछ्यानमा पुग्थिन् ।

अह.. निन्द्रा पर्दै परेन !

राति चाँडै ओछ्यानमा गएको भएपनि उनी निदाउँन सकिनन् ।

१६ सय ६५ जनाको ज्यान गइसकेको र ६८ हजार जनामा संक्रमण रहेको कोरोना भाइरसको उद्गम थलो चीनको हुबेईस्थित उहानमा अध्ययनका लागि गएको आफ्नो छोरालाई सम्झिइन् ।

बेलाबेलामा उनी नेपालबाट चीनमा रहेका विद्यार्थीको उद्धारका लागि गएको विमान कतिबेला फर्कन्छ, सबै आउन पाउँछन् कि पाउँदैनन् भन्ने समाचार बारे चासो राख्थिन् ।

सबै नेपाली स्वदेश फर्कन नपाएको समाचारले उनको मुटुको चाल बढ्यो । भगवान सम्झिइन् । पशुपतिलाई टाढैबाट नमन गरिन् ।

नगरुन् पनि किन ?

अध्ययनका लागि उहान गएको आफ्नो छोरो पनि त्यही फ्लाइटमा स्वदेश आउँदै थिए ।

रातको सन्नाटामा उनले विमानको आवाज आइहाल्छ कि भन्दै कान थापिन् ।

घरि झ्याल खोलिन् । पानी पिइन् । घडी हेरिन् । समाचारमा भनिएको समय कट्यो । विमान आउने अत्तोपत्तो छैन । आत्तिइन् ।

विहानको तीन बजेतिर उनले रातको शान्ति खलबल्याउँदै आएको आवाज सुनिन् ।

ह्वाह्वाह्वा………

प्लेन हो कि होइन ? उनले नियालिन् ।

विमानस्थल नजिकै रहेको माइतीमा दुई सातायता बसिरहेकी उनी निश्चित् भइन, प्लेन नै हो ।

प्लेन रोकिएको धेरै बेर भयो जस्तो लाग्यो विमलालाई तर पनि उनको मन वेचैन बन्यो ।

करिब १५ मिनेटको समय पनि उनलाई वर्षौं जस्तो लाग्यो ।

सुस्ताइरहेकी विमलाको मोबाइलमा घन्टी बज्यो । हतारै नगरि उनले फोन उठाइन् ।

मलिन स्वरमा हेलो भन्न नपाउँदै उताबाट आवाज आयो ।

मामु…

आहा ।

जीवनमा उनी सबैभन्दा धेरै खुसी भइन् । हर्षका आशु खसे । मन ढक्क फुल्यो ।

प्रतिउत्तर दिन पनि उनलाई सकस भयो । खुसीले गला अवरुद्ध भयो ।

फोनमा भनिन् ‘बा…बु’

म आए आमा ….। छोराले विमानस्थलबाट फोन गरेर भने ।

विमलालाई छोराको अनुहार हेर्न मन थियो । एक पटक अंगालोमा लिएर आफ्नो मातृ प्रेम व्यक्त गर्नु थियो, तर उनले पाइनन् ।

छोराले पुनर्जिवन पाएको उनले महशुस गरिन् र चित्त बुझाइन् । आफ्नो ममतामयी प्रेम आफैंमा कैद गरिन् ।

पुनर्जिवनको कल्पना पनि किन नगरुन् विमलाले ।

१६ सय ६५ जनाको ज्यान लिइसकेको र ६८ हजार जनाका संक्रमण फैलिएको कोरोनाको उद्गम स्थलबाट उनको छोरालाई सरकारले उद्धार गरेर ल्याएको छ ।

फोनमा छोराले ‘पिर नलिनुस्, म आइपुगे अब भक्तपुरको क्वारेन्टाइनमा जान लागेको, मलाई ठिकै छ’ भनेपछि उनले फेरि भगवानलाई ढोगिन्, सरकारलाई धन्यवाद दिइन् ।

छोरा सकुशल रुपमा नेपाल आएपछि उनी आज विहानै पशुपतिनाथ पुगिन् ।

त्यसो त उनी काठमाडौं आएदेखिनै विहान सधैं छोराको स्वास्थ्य लाभको कामना गर्दै पशुपति पुग्ने गरेकी थिइन् ।

‘छोरालाई केही नभइदियोस्, सरकारले नेपाल ल्याइदियोस्’ आँखा चिम्लिएर उनी भगवान शिवसँग मनमनै प्रार्थना गर्थिइन् । धुप बाल्थिन् । भेटी चढाउँथिन् ।

विमलाले भनिन्,‘भगवानले मेरो सुन्नुभएछ ।’

‘विहानै पशुपति गएर भगवानलाई पनि धन्यवाद दिएँ, सरकार र तपाईंहरु(पत्रकार)लाई पनि धन्यवाद दिएँ’ खुसीको क्षणबारे उनले सुनाइन् ।

०००

चितवनकी विमलाका छोरा सविर कुमार श्रेष्ठ न्यूरो सर्जरीमा एमडी अध्ययनका लागि चीनमा थिए । उहानमा रहेका उनी बसेको स्थानमा कोरोनाले नराम्रोसँग प्रभावित बनायो । धेरैले ज्यान गुमाए ।

सरकारले आफ्ना छोराछोरीलाई स्वदेश ल्याइदियोस् भनेर सविरकी आमा दुई सातादेखि काठमाडौंमै थिइन् । सिंहदरबार पुगिन् । मन्त्रीलाई हारगुहार गरिन् ।

उनी मात्र होइन, उनीसँग चीनमा रहेका विद्यार्थीका आफन्तले सरकारलाई गुहारे । अन्त्यमा सरकारले आफ्ना नागरिकलाई उद्धार गर्‍यो । उनी मात्र होइन १ सय ७५ जनाकै परिवार खुसी छन् ।

विमला मात्र होइन सबैका आफन्त क्वारेन्टाइनबाट आफन्त बाहिरिएपछि भेट गर्ने प्रतिक्षामा छन् ।

विमला घर(चितवन) छोरालाई लिएर मात्रै जाने तयारीमा छिन् ।

दुई हप्तापछि नै सही आफ्ना सन्तान र आफन्तसँगको भेटघाटका लागि विमलासहितका आफन्तले कुरिरहेका छन् ।

सरकारले भक्तपुरको खरिपाटीमा चीनबाट ल्याइएका नेपालीलाई राख्न क्वारेन्टाइन बनाएको छ । जहाँ उनीहरुलाई स्वास्थ्य जाँच सहितका सम्पूर्ण सुविधाको व्यवस्था गरिएको छ ।


भर्खर

0