नेपाली बजारमै बेचिन्छन् चेलीबेटी, काठमाडौंमा मात्रै २७ हजार पीडित « Khabarhub
Logo
३० असार २०७७, मंगलबार

नेपाली बजारमै बेचिन्छन् चेलीबेटी, काठमाडौंमा मात्रै २७ हजार पीडित



काठमाडौं– नेपाली चेलीबेटी नेपाली बजारमै बेचिने गरेको पाइएको छ । विगतमा भारतसहित विभिन्न खाडी राष्ट्रमा नेपाली महिला बेचबिखनको चपेडामा परेको तथ्यांक सार्वजनिक हुँदै आएपनि अहिले नेपाली बजारमै चेलीबेटी बेचबिखनको शिकार बन्ने गरेको पाइएको छ ।

नेपालमा ठूला र व्यस्त शहरमा यौनधन्दाका लागि नेपाली चेलीबेटी बेचबिखनमा पर्ने गरेको पाइएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।

नेपालका होटल, गेस्टहाउस, डान्सबार, मसाज सेन्टर, विभिन्न खाजाघर लगायतले चेलीबेटीलाई यौन व्यवसायमा धकेल्ने गरेको खुलेको हो । होटल तथा गेष्ट हाउसले यौन धन्दाको ‘अखडा’ बनाएको गुनासो आएपछि प्रहरीले ‘स्वीप अप्रेशन’नै सञ्चालन गरेको छ ।

गत पुस २९ गते मंगलबार मात्र प्रहरीले काठमाडौंको गोङ्गबु स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चलित खाजाघर तथा रेष्टुरेण्टमा चलाएको ‘स्वीप अप्रेशन’बाट अनैतिक क्रियाकलाप गर्ने ७३ जनालाईलाई पक्राउ गर्‍यो ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार, गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको थियो ।

पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कतिपय आफ्नो बाध्यताले यौन पेशामा लागेका छन् भने कतिपयलाई यौन पेशामा लाग्न बाध्य पारिएको छ ।

यस अघि गत मंसिर ३० गते किशोरी र बालिकालाई होटलमा बन्धक बनाएर देहव्यापारमा संलग्न गराएको आरोपमा पक्राउ परेका ३ जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको थियो ।

पीडितहरु रोजिरोटीका लागि कामको खोजीमा हुन्छन् । त्यही पीडालाई सम्बोधन गर्ने भन्दै आफन्त या चिनेजानकै व्यक्तिले त्यस्ता ठाउँमा कामका लागि पुर्‍याउने गरेको पाईन्छ ।

पक्राउ पर्नेमा चितवनका होटल सञ्चालक र चेलीबेटी सम्पर्क गराउने व्यक्ति थिए । प्रहरीका अनुसार भरतपुरमा उनीहरुले सञ्चालन गरेको होटलमा काठमाडौंबाट हराएकी किशोरी र बालिकालाई बन्धक बनाएर देहव्यापारमा लाग्न बाध्य बनाएका थिए ।

काठमाडौंको गोंगवु र चितनका दुई घटना प्रतिनिधिमुलक उदाहारण मात्र हुन् । अहिले देशका मुख्य–मुख्य शहरहरुमा चेलिवेटीको बेचविखन हुने गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी इश्वरबाबु कार्की भन्छन् –‘मावन बेचविखन देशबाहिरमात्र होइन, देश भित्रै पनि हुने गरेको छ ।’

उनका अनुसार गाउँघरबाट भर्खरै शहर आएका, न्यून आयस्रोत भएका, सोझा र बेरोजगार महिलालाई आकर्षक जागिर लगाइदिने बहानामा होटल–रेष्टुरेण्टमा पुर्‍याउने गरेको पाइएको छ ।

यता राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६’ का अनुसार, नेपालमा ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र’ मा कार्यरत १६ हजार महिला तथा बालबालिका बेचबिखनको जोखिममा छन् ।

आयोगकी सदस्य मोहना अन्सारीका अनुसार, यो ओसारपसार र बेचबिखनको समग्र तथ्याङ्को हो । आन्तरिक बेचबिखन कति भन्ने यकिन तथ्यांक भने आयोगसँग छैन् । तर, ठूलो संख्यामा आन्तरिक रुपमा युवती तथा महिलाहरु बेचविखनमा पर्ने गरेका छन् ।

आयोगकी सदस्य अन्सारी भन्छिन्–‘मुख्य गरी शहरमा खुलेका मसाज सेन्टर, डान्सबार, रेष्टुरेण्ट तथा मनोरञ्जनका क्षेत्रमा काम गर्नेहरु बेचविखनको जोखिममा छन् ।’

काठमाडौंमा मात्रै २७ हजार बढी यौन शोषणमा

विभिन्न अध्ययन अनुसार काठमाडौं उपत्यकामा मात्र २७ हजार भन्दा बढी युवती तथा महिला यौन शोषणको चपेटामा छन् ।

अन्तर्राष्ट्रिय संस्था द फ्रिडम फण्ड र न्यू एराले गरेको ‘काठमाडौंको वयस्क मनोरञ्जन क्षेत्रमा नाबालिगको अवस्था २०१९’ अध्ययन प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाको रेष्टुरेण्ट, डान्सबार, मसाज पार्लर जस्ता १२ सय भन्दा बढी स्थानमा अहिले ५० हजारभन्दा बढी कामदार छन् ।

ती मध्ये ८० प्रतिशत अर्थात ४० हजार बढी युवती तथा महिला नै रहेको र ६८ प्रतिशत अर्थात २७ हजार बढी यौनशोषणको मारमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०१३ मा नै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्प्याट इन्टरनेशनलले गरेको अध्ययनमा पनि होटल, गेष्टहाउस, रेष्टुरेण्ट डान्सबार, आदि क्षेत्रमा काम गर्ने २५ हजार महिला तथा बालिकालाई कुनै न कुनै माध्यमबाट यौन व्यवसाय गर्न दबाब दिइने गरेको उल्लेख थियो ।

मनोरञ्जन भनिएको क्षेत्रमा हुने महिला र बालिकाको ओसारपसार र प्रयोग, यौनशोषण, यौन व्यवसायबारे नियमनकारी निकायले नियमित अनुगमन र कारबाही गर्नुपर्छ ।

आफन्त नै मतियार !

जानकारहरुका अनुसार, होटल, डान्सबार, मसाज सेन्टर तथा रेष्टुरेण्टमा काम गर्न पुग्नेहरु मध्ये अधिकांश चिनेजानेका या आफन्तकै माध्यमबाट पुग्छन् ।

पूर्वडिआइजी केशव अधिकारी भन्छन् – ‘पीडित युवती या महिला जो छन् उनीहरु रोजिरोटीका लागि कामको खोजीमा हुन्छन् । त्यही पीडालाई सम्बोधन गर्ने भन्दै उनीहरुलाई आफन्त या चिनेजानकै व्यक्तिले त्यस्ता ठाउँमा कामका लागि पुर्‍याउने गरेको पाईन्छ ।’

त्यसो त २०७४ सालमा भएको एक अध्ययन अनुसार, ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र’ भनिने होटल, डान्सबार आदिमा साथीभाइ तथा नातेदारको माध्यमबाट प्रवेश गर्नेको संख्या सबैभन्दा धेरै देखिएको थियो ।

विभिन्न अध्ययन अनुसार, बाध्यतामा धकेलिएर देहव्यापारमा लाग्नेहरू मात्र नभई, यसलाई नै रोजाइकै पेशा बनाउनेहरू पनि थुप्रै छन् । कतिपयले आफू यो क्षेत्रमा आइसकेपछि अरुलाई काम पाइन्छ भनेर गाउँबाट बोलाउने र एजेन्ट बनेर विभिन्न होटल, रेस्टुरेन्टमा पठाउनेहरू पनि उत्तिकै छन् ।

यसबाहेक पेशेवर यौनकर्मीहरूले घर र फ्ल्याट नै भाडामा लिएर व्यवसाय चलाउने गरेको पाइएको छ ।

उजुरी कम पुग्दा थप समस्या

मानव बेचबिखन, ओसारपसार तथा बन्धक बनाउने घटनाका पीडितमध्ये अधिकांशले उजुरी नै नदिने गरेको प्रहरीको भनाई छ ।

एकातिर बेचबिखनको मुद्दामा प्रमाण पुर्‍याउन कठिन हुन्छ भने अर्कातिर काम पाइने लोभमा आफन्त वा चिने जानेकै व्यक्ति मार्फत गएका हुनाले पीडितहरु मुद्दा हाल्न हच्किने गरेका छन् ।

प्रहरी प्रधान कार्यायको तथ्याङ्क अनुसार मानव बेचविखन सम्बन्धि पछिल्लो ५ बर्षमा १ हजार ५ मुद्दा दायर भएका थिए । ती घटनामा १ हजार १ सय ७६ जना पक्राउ परेका छन् । यो अवधिमा ७ सय ४३ जना अभियुक्त फरार रहेका छन् । तर यो समग्र तथ्याङ्क हो ।

प्रहरीमा परेका मानव बेचबिखनका जाहेरीहरु आन्तरिक वा सीमापार बेचबिखन भन्ने नछुट्याई एकमुष्ट राख्ने गरिएको छ । यद्यपी विभिन्न तथ्याङ्कले बेचबिखन सीमापार भन्दा नेपालभित्रै बढी भएको देखाएको छ ।

कानूनले १८ वर्षमुनिका बालिकासँगको यौन सम्बन्धलाई दण्डनीय मानेको छ । तर, होटल, गेस्टहाउस आदिमा काम गर्ने श्रमिकहरू १८ वर्षमुनिका नै बढि रहेको र उनीहरुलाई नै यौन व्यवसायमा लगाउने गरेको पाइएको अध्ययनले देखाएको छ ।

कानूनी झन्झट उस्तै

अहिले सम्मको अभ्यास हेर्ने हो भने यौन व्यवसाय गराउनेमाथि ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ अनुसार कारबाही हुने गरेको छ ।

कानूनले १८ वर्षमुनिका बालिकासँगको यौन सम्बन्धलाई दण्डनीय मानेको छ । तर, होटल, गेस्टहाउस आदिमा काम गर्ने श्रमिकहरू १८ वर्षमुनिका नै बढि रहेको र उनीहरुलाई नै यौन व्यवसायमा लगाउने गरेको पाइएको अध्ययनले देखाएको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ (३) ले बाल यौनशोषण गर्ने वा गराउने, वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने लगायतलाई बाल यौन दुर्व्यवहार मान्दै त्यसलाई दण्डनीय भनेको छ ।

यसबाहेक श्रम ऐन, २०७४, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१, लगायतमा पनि दण्डको उल्लेख छ । पूर्वडिआईजी हेमन्त मल्ल भन्छन् – ‘एकीकृत कानून नहुँदा पनि यस्तो कार्य नियन्त्रणमा समस्या भइरहेको छ भने यसमा संलग्न हरुले उन्मुक्ति पाइरहेका छन् ।’

पूर्वएआईजी नवराज ढकाल भन्छन्- ‘मनोरञ्जन भनिएको क्षेत्रमा हुने महिला र बालिकाको ओसारपसार र प्रयोग, यौनशोषण, यौन व्यवसायबारे नियमनकारी निकायले नियमित अनुगमन र कारबाही गर्नुपर्छ ।’

अर्को कुरा, जोखिममा पर्न सक्ने सम्भावित समूहका लागि स्थानीय क्षेत्रमै जीविकोपार्जनको व्यवस्था मिलाउनुपर्छ । जनचेतनामूलक कार्यक्रम व्यापक पार्नुपर्छ । यस्तै, विभिन्न माध्यमबाट सचेतना फैलाउन आवश्यक देखिएको छ ।


भर्खर

0