नेकपामा गुटको समानान्तर शक्ति प्रदर्शन गर्ने होड | Khabarhub Khabarhub

नेकपामा गुटको समानान्तर शक्ति प्रदर्शन गर्ने होड



झापा- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूको मन माझिन नसक्नुको प्रभाव जनवर्गीय सङ्गठनहरू र प्रदेश स्तरमा पनि देखिएको छ ।

केन्द्रमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले साइजमा ल्याउने प्रयास गरिरहँदा प्रदेश स्तरमा दुवै गुट समानान्तररूपमा शक्ति प्रदर्शनमा सक्रिय भएका छन् ।

दुवै गुटले आआफ्ना भेला आयोजना गरेर पार्टी एकता बलियो पार्ने उद्देश्य रहेको बताए पनि यस्ता गतिविधिले एकता बलियो हुनुको साटो अविश्वासको खाडल बढाएको प्रष्ट हुँदै गएको छ । दुवै पक्ष एक अर्कासामु शक्ति प्रदर्शनको रूपमा उपस्थित हुन थालेपछि प्रदेशस्तरको सत्ता पनि गुट बलियो पार्ने प्रयासमा छ ।

ओलीको गृहनगरमा चहलपहल

प्रदेश १ को राजधानी विराटनगरमा प्रधानमन्त्री निकटका विद्यार्थीहरूको भेला भएलगत्तै प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरू दमकमा भेला भए । ओलीको ध्यानाकर्षणका लागि पनि ओली इतरको गुटले ओलीकै गृहनगर दमक रोजेको थियो ।

भेला विद्यार्थीहरूको भनिए पनि पार्टीका केन्द्रीय नेताहरू नै उपस्थित भएर विद्यार्थीहरूलाई ओली गुटका विरुद्ध आक्रामक बनाउने प्रयास गरे । त्यसो त दमकमा गुटगत भेला हुनुअघि नै विद्यार्थी नेतृ रामकुमारी झाँक्री आएर आफ्नो गुटको पल्ला नाप्ने प्रयास गरेकी थिइन् ।

विद्यार्थीका गुटगत भेला हुनुअघि उनले ओलीको गृहनगरमा आफू निकटका केही युवा विद्यार्थीहरूलाई भेटेर वर्तमान शीर्ष नेतृत्वको विकल्प खोज्नुपर्ने बेला आएको बताएकी थिइन् ।

पार्टी नेताहरूको नाममा स्थापित प्रतिष्ठानहरूमार्फत गुटबन्दी मौलाएको भन्दै त्यस्ता प्रतिष्ठानका गतिविधिमा पनि नियन्त्रण गर्ने भनिएको थियो । यस विपरीत ओलीको गृहनगर दमकमा मदन भण्डारी फाउण्डेशनको समिति गठन भयो । यसले पनि दमकमा पूर्वएमाले र पूर्वमाओवादीबीच अविश्वासको वातावरण सिर्जना गरेको छ ।

युवा विद्यार्थी क्रियाशील

शीर्ष नेताहरूमार्फत बनेका गुटको प्रभाव सबैभन्दा बढी युवाविद्यार्थीहरूमा परेको देखिन्छ । केही दिनयता प्रदेश १ मा युवा र विद्यार्थी सङ्गठनले आआफ्ना गुटका भेला गरिरहेका छन् । दुवै पक्षले पार्टी एकतामा बल पुर्‍याउन भेलाको आयोजना गरेको भनेका भए पनि यस्ता भेलाले आपसमा झनै अविश्वास बढाएका छन् ।

विराटनगरमा ओली पक्षका विद्यार्थीहरूको भेला लगत्तै मोरङमै युवाहरूले पनि भेला आयोजना गरे । ती दुवै भेलामा तत्कालीन एमाले र एमालेभित्र पनि ओलीनिकट मानिएका नेताहरूले सम्बोधन गरे । भेलामा ओलीपक्षले शक्ति प्रदर्शनकै रूपमा कार्यक्रम तय गरेको थियो । झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लाबाट कार्यकर्ताहरू र्‍यालीसहित गोठगाउँ पुगेका थिए ।

त्यसलगत्तै ओलीको गृहनगर दमकमा प्रचण्डनेपाल पक्षधर विद्यार्थीहरूको भेला आयोजना भयो । भेलामा पार्टीका केन्द्रीय नेताहरू र प्रदेशका मन्त्रीले सम्बोधन गरे ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ आफ्नो गृहजिल्ला झापामा पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल, महेश रेग्मी, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई सहभागी गराउन सफल भए ।

मन्त्रीहरूको आआफ्नै कित्ता

प्रदेश १ मा गुटगत भेला बाक्लै भइरहेका बेला प्रदेश सरकारका मन्त्रीहरूले आआफ्नो कित्ता क्लियर गरेका छन् ।

विराटनगरमा भएको विद्यार्थीहरूको भेलामा सम्बोधन गर्दै अनेरास्ववियूका पूर्वकेन्द्रीय अध्यक्ष रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आफूलाई ओली पक्षमा उभ्याए ।

अनेरास्ववियूका संयोजक ऐन महरसमेत सहभागी रहेको सो भेलालाई गुटगत नभई संस्थाग भनिए पनि लगत्तै सहसंयोजक तामाङको नेतृत्वमा दमकमा अर्को भेला गरेर त्यसको खण्डन गरे ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का मन्त्री कार्की विराटनगरमा सहभागी भएपछि दमकमा भएको नेपालप्रचण्ड नजिकका विद्यार्थीहरूको भेलामा अर्का केन्द्रीय सदस्य तथा प्रदेशकै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो सहभागी भए ।

यसरी संघीय सरकारमा गुटगत प्रभावका कारण सरकारको कार्यसम्पादनलाई समेत लिएर पार्टीभित्रकै इतर गुटको आलोचना चुलिएका बेला प्रदेश सरकारका मन्त्रीहरू पनि आआफ्नो गुट बलियो बनाउन लागिपरेका छन् ।

नेताहरू भन्छन्जे हुँदैछ, गलत हुँदैछ

कतिपय केन्द्रीय नेताहरू नै गुटका भेलामा सहभागी भएर सम्बोधन गरिरहेका बेला त्यही पार्टीका कतिपय नेताहरू भने यसरी गुटगत भेला हुनु र एक अर्को समूहविरुद्ध भाषण गर्नु गलत भएको बताउँछन् ।

ओलीकै गृहनगरका नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल यस्ता गुटगत भेलाले पार्टी एकीकरण प्रक्रियालाई फाइदा नपुग्ने बताउँछन् । केही शीर्षनेताहरू नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर रमाउन खोज्ने भएकाले त्यसको प्रभाव तल्लो तहसम्म देखिएको उनको धारणा छ ।

राष्ट्रियसभा सदस्यसमेत रहेका दाहालले भने, ‘माधव कमरेड हाम्रो नेता हो, सम्मान गर्छौं तर केही समययता उहाँले जुनरूपमा तुच्छ शब्द बोलेर आफ्नो ग्राउण्ड बिर्सनुभएको छ, यो प्रक्रिया रोकिनु पर्छ । अहिले मान्छेका टाउका गनेर अल्पमत र बहुमतको कुरा गर्ने अनि सरकार र पार्टीलाई कमजोर बनाउने बेला होइन ।

माधव नेपाल र प्रचण्डले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई पूर्वाग्रही ढङ्गबाट आरोप लगाउने सिलसिला रोक्ने र पार्टीप्रति जिम्मेवार हुने हो भने नकारात्मक गतिविधिहरू रोकिने दाहालको भनाइ छ ।

गुटगत भेला गलत हो भन्ने थाहा हुँदाहुँदै पनि स्थानीय स्तरबाट रोकिन सक्ने अवस्था नभएकाले पार्टी सचिवालय वा स्थायी कमिटीले नै नेताहरूलाई सच्याउन र यस्ता भेला गर्ने क्रम रोक्न निर्देशन गर्नुपर्ने उनको धारणा छ ।

माधवकुमार नेपाल निकट मानिने नेताहरू पनि गुटगत भेलाले पार्टी एकीकरण प्रक्रियामा हानी पुग्ने बताउँछन् । नेकपा केन्द्रीय सदस्य प्रेमलकुमार खनाल पार्टीका औपचारिक फोरमहरूमा बोल्ने अवसर नपाएपछि समूहगत भेलाहरू हुने अवस्था सिर्जना भएको बताउँछन् । यो क्रम कम्युनिष्ट आन्दोलन, पार्टी र देशकै लागि पनि घातक हुने भएकाले रोकिनुपर्ने उनको धारणा छ ।

सरकारका मन्त्रीहरू नै नागरिकका समस्या समाधान गर्नुको साटो गुटगत भेलामा गएर पार्टी एकता प्रक्रिया कमजोर बनाउनतर्फ लागेको पनि उनको आरोप छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  २ : ५६ बजे

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु