चिनियाँ कम्पनीको लापरबाही : मध्य भोटेकोशी आयोजना अलपत्र | Khabarhub Khabarhub

चिनियाँ कम्पनीको लापरबाही : मध्य भोटेकोशी आयोजना अलपत्र

गुणस्तर घटाउन २ करोड रुपैयाँ घुस दिने प्रस्ताव (अडियोसहित)



काठमाडौँ— चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीका कारण सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगा वाटको मध्य भोटेकोशी आयोजनाको काम अलपत्र परेको छ ।

भूकम्प र भोटेकोशीको बाढीलगायत कारण देखाउँदै दुई पटक म्याद थप गरिए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । सन् २०१९ को जुन ३० सम्ममा सबै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशतमात्रै भौतिक प्रगति भएको जनाइएको छ ।

सुरुङ खन्ने काम पनि सकिएको छैन । साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशीसम्म ७ दशमलव २ किलोमिटर सुरुङ बनाउनुपर्नेमा अझै ४ सय मिटर सुरुङ खन्न बाँकी छ । यो आयोजना २०१७ को जुनमा पूरा गर्ने गरी सन् २०१३ मा निर्माणको काम सुरु भएको थियो । पछि म्याद थप गरी २०१९ को जुनसम्म पुर्‍याइएको थियो ।

यो आयोजनाको मुख्य सुरुङसहित पावर हाउस, बाँध र हाइड्रोमेकानिकल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकको लापरबाहीका कारण काम नै अलपत्र परेको यो आयोजनामा २ करोड रुपैयाँ घुस प्रस्ताव गरेको अडियो खबरहबलाई प्राप्त भएको छ ।

अडियो प्रकरणको वास्तविकता

चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले मध्य भोटेकोशी जलविद्युत आयोजनाको काम अलपत्र परिरहेकै समयमा आयोजनाको ठेकेदार पक्षले व्यवस्थापन पक्षलाई आयोजनाको गुणस्तर घटाउन घुस दिने प्रस्ताव गरेको संवादको अडियो खबरहबलाई प्राप्त भएको छ ।

चिनियाँ कम्पनी ग्वाङसी हाइड्रो इलेक्ट्रोनिकका दोभाषे गोविन्द पौडेलले आयोजनाको गुणस्तर घटाउन सहमत भए २ करोड रुपैयाँ घुस दिने भन्दै मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिकुमार काफ्लेलाई प्रस्ताव गरेको टेलिफोन अडियो प्राप्त भएको हो ।

खबरहबलाई प्राप्त अडियोको ३० मिनेट भन्दा पछाडी दोभाषे गोविन्द पौडलले सीईओ मणीकुमार काफ्लेलाई चिनियाँ कम्पनिले २ करोड सम्मको प्रस्ताव गरेको स्पष्ट सुनिन्छ । अडियोमा भनिएको छ, ‘मिस्टर लीले हजुरको लागि छ नी तपाईंको चाहीं गाह्रो पर्‍यो भने २ करोडसम्म चाँही उसले पेल्छ के, हरेक कुरामा तपाईंको छोरा यहाँ भएको कारणले त्यति सम्म चाँही उसले पेल्छ के, मैले भनेको कुरा बुझ्नु भो नि, तपाईंका लागि अप्ठ्यारो पर्‍यो भने उसले त्यति सम्म खर्च गर्न सक्छ भनेर मलाई आज भनेको के, मैले फोन गरेको कारण पनि त्यही हो ।’ यो विषयमा काफ्लेले  भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

                             सुन्नोस अडियो

केही दिनअघि स्थानीयवासीले अडियो सार्वजनिक गरेका थिए । अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ ।आयोगका सूचना अधिकारी गणेशबहादुर अधिकारीले आवश्यक अनुसन्धान भइरहेको बताए ।

अडियो प्रकरण बाहिरिएसँगै आयोजनाको व्यवस्थापन समेत हेरफेर भएको छ । सीईओ काफ्ले पदमुक्त भएका छन् भने आयोजना प्रमुख सुनिल लामालाई काठमाडौँ तानिएको छ । जानकारहरूका अनुसार काफ्ले र लामाबीच आयोजनाको विभिन्न पक्षमा मतभेद थियो ।

अडियो काण्डपछि सिइओद्वारा राजीनामा !

चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाष मिश्रका अनुसार दुई करोड रुपैयाँ घुस प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि आयोजनाका सिइओ मणि काफ्लेले राजीनामा दिएका हुन् ।

मिश्रले भने, ‘अडियो प्रकरण बाहिरिएसँगै आयोजनाको व्यवस्थापनमा केही हेरफेर भएको छ । सिइओ काफ्लेले राजीनामा दिएका छन् । अहिले आयोजना समस्यामा रुमल्लिएकाले निकास दिने प्रयास सुरु गरिएको छ ।’

अडियो प्रकरणपछि मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीका सञ्चालक समेत रहेका मिश्रलाई नै आयोजना हेर्ने जिम्मा दिइएको छ ।

यस्तो छ आयोजनाको अवस्था

चिलिमेको सहायक कम्पनीका रूपमा १० वर्षअघि स्थापित मध्य भोटेकोशीले सिन्धुपाल्चोकमा १०२ मेगा वाटको आयोजना निर्माण थालेको हो । चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकको लापरबाहीका कारण आयोजनाले भने गति लिन सकेको छैन ।

ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकले झण्डै ८ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको थियो । निर्धारित समयमा काम पूरा नभई थपेको म्यादमा पनि ठेकेदारले काम नगरेपछि निर्माण प्रक्रिया नै अलपत्र छ ।

आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ अष्ट्रियन कम्पनी एन्डिज हाइड्रोले अझै उपकरण जडान थालेको छैन । गत वर्षमा आयोजनाको पावर हाउसमा पहिरो गएर भरिएको माटो निकाल्ने काम सकिएको छैन । अहिले काम लगभग ठप्पजस्तै छ ।

यसअघि नै आयोजनाले चिनियाँ ठेकेदारलाई ‘नोटिस टु करेक्ट’ (कार्यशैली परिवर्तन गर्न सूचना) पठाएको थियो । ठेक्काको नियमअनुसार काम भएन भने अन्तिम अस्त्रकारूपमा आयोजनाले ‘नोटिस टु करेक्ट’ पत्र दिने प्रचलन छ । आयोजनाले ठेक्का नै रद्द गर्ने भन्दै प्रक्रिया अघि बढाए पनि न ठेक्क रद्द भएको छ, न काम अघि बढेको छ ।

आयोजनास्थलका दुई स्थानीय सरकार भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाले भने ठेक्का रद्द नगर्न सुझाब दिएका छन् ।

ठेक्का रद्द गर्दा आयोजना निर्माण झन् पछि धकेलिने भन्दै उनीहरूले विज्ञप्ति नै जारी गरेका थिए । बाह्रबिसे नगरपालिकाका मेयर एवं भोटेकोशी आयोजना सरोकार समितिका संयोजक निमाफुञ्जो शेर्पाले आयोजनाका महत्वपूर्ण कर्मचारीहरू राजधानीमा बस्ने र काममा भन्दा कमिशनमा ध्यान दिने प्रवृत्तिका कारण धेरै समस्या आएको बताए ।

शेर्पाले खबरहबसँग भने, ‘आयोजना जति लम्ब्यायो उति नै ठेकेदार कम्पनी र आयोजनाका व्यक्तिलाई फाइदा हुने भएकाले उनीहरूले नै काममा वास्ता गरेका छैनन् ।’

आयोजनाभित्र चरम गुटबन्दी रहेको र आयोजनाका प्रमुखहरू कमिसनको चक्करमा लागेकोले पनि समस्या भएको शेर्पाको भनाइ छ । उनले भने, ‘मध्य भोटेकोशीको काममा ठेकेदार पक्ष र आयोजनाका पदाधिकारीहरूको चरम लापरबाही भइरहेको छ । यो विषयलाई नगरपालिकाले गम्भीररूपमा लिएको छ । अब सरोकारवालासँग छलफल गरेर आवश्यक करबाही प्रक्रियाका लागि पहल गर्छौं ।’

जलविद्युत क्षेत्रका जानकार अरुणकुमार सुवेदीका अनुसार नेपालमा प्रायः सबै ठेकेदारको कार्यसम्पादन किन कमजोर हुन्छ भन्ने कुरा अनुसन्धानको विषय हो । उनी भन्छन्, ‘नेपालमा युरोपियनदेखि, भारतीय र चिनियाँ ठेकेदारसम्मको काम कमजोर हुनु अनुसन्धानको विषय हो । कम्पनीको भन्दा पनि प्रोजक्ट मेनेजरका कारण कमजोरी भएको जस्तो लाग्छ ।’

सुवेदीको अनुमानअनुसार अहिले मध्य भोटेकोशीमा आयोजनाको मेनेजरले व्यक्तिगत रूपमा खेलोमेलो गर्न खोजेको हो कि जस्तो देखियो । उनले भने, ‘चिनियाँहरूले सामानको गुणस्तरमा भन्दा पनि डकुमेन्टेसनमा हेराफेरी गरेर तोकिएको समयभन्दा बढी समय लगाएर पैसा लिने गरिरहेका छन् ।’

सुवेदीका अनुसार ढल्केवरको सबस्टेशनमा, अपर तामाकोशीको ठेक्कामा र कुलेखानी–३ मा समय बढाउन हेराफेरीको प्रवृत्ति देखिएको छ । उनी भन्छन्, ‘हेराफेरीलाई कानूनसम्मत बनाएर थप पैसा लिन चिनियाँहरू माहिर नै हुन् । अहिलेसम्मको रेकर्डले यही कुरा देखाउँछ ।’

मध्य भोटेकोशीमा विद्युत प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूका १९.५, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १०, सर्वसाधारणको १५, प्रवर्द्धक कम्पनीको कर्मचारीहरूको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूको १, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत शेयर लगानी छ ।

आयोजनाको लागत १४ अर्ब ८४ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ५३ बजे

पोखरामा भालिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम