भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या ! | Khabarhub Khabarhub

भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या !



काठमाडौँ- शुक्रबार साँझ करिब ५ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जना मृत भेटिए ।

महानगरीय अपराध महाशाखाका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत भेटिएका हुन् । शव दुर्गन्धित हुन थालेका थिए ।

उनीहरुसँगै घरमा पालेको कुकुर पनि मृत फेला परेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महनगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटनाको अनुसन्धान थालेको छ । यो सामग्री तयार पार्दासम्म घटना हत्या कि आत्महत्या भन्ने खुल्न सकेको छैन ।

घटनाको अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘हामीले तीनै जनाको शव पोष्टमार्टमका लागि पठाएका छौँ, अन्य आवश्यक सबुत र घटनास्थलमा भेटिएका वस्तुहरु नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएका छौँ, पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घटनाको रहस्य खुल्नेछ ।’

अनुसन्धान टोलीले हत्यापछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

यस्तो थियो घटना स्थल

शुक्रबार मृतक सुदीपका भाइ उनको घरमा पुगेका थिए । घरमा मानिसको चहलपहल थिएन तर घरको ढोका आधा खुलेको थियो । उनी घरभित्र छिरे । त्यहाँ त आतेशलाग्दो दृश्य थियो । दाजु, भाउजु र भतिज मृत थिए । लगत्तै उनले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घरको पहिलो तलामा छोरा सुशान्तको शव भेटिएको थियो । दोस्रो तलामा श्रीमती सम्झनाको र माथिल्लो तलामा सुदीपको शव भेटिएको थियो ।

घटनाको अनुसन्धानमा खटिएका सीआईबीका एक अधिकारीका अनुसार छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ । शवलाई ‘राम राम’ लेखिएको पीताम्वर ओडाइएको थियो ।’ आमाको शवको प्रकृति पनि छोराको जस्तै थियो, टाउकोमा चोट र शवमाथि पीताम्बर ओडाइएको ।

घटनास्थलबाट एउटा धारिलो हतियार पनि फेला परेको छ ।

प्रहरीका अनुसार घरको माथिल्लो तलामा सुदीपको शव घोप्टिएको अवस्थामा भेटिएको थियो । उनको कमिजमा रगतका छिटा छन् । अनुसन्धान अधिकारीले भने, ‘सबैभन्दा माथिल्लो तलामा भेटिएको सुदीपको शवको तुलनामा बाँकी दुई शव बढी दुर्गन्धित थिए । सुदीपको मृत्यु अरू दुइजनाको भन्दा ढिलो भएको अनुमान गर्न सकिन्छ ।’

हत्या पछि आत्महत्या !

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्यापछि आत्महत्या भएको हुनसक्ने देखिएको छ । घटनाको अनुसन्धानमा जुटेका महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने ‘घटनास्थलको अनुसन्धान र घटनाको प्रकृति हेर्दा पहिले हत्या गरेर त्यसपछि आत्महत्या भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अनुसन्धानकै क्रममा रहेकाले पुष्टि भइसकेको छैन ।’

तीन जनाको शव छुट्टा छुट्टै स्थानमा छ । आमा र छोराको शवमा कपडा ओढाइए पनि सुदीपको शवमा ओढाइएको छैन । सुदीपको शवको दुर्गन्ध पनि कम छ । यसलाई हेर्दा सुदीपले परिवारको हत्या गरेर आफूले आत्महत्या गरेको अनुमान लगाउन सकिने ती अधिकारीको भनाइ छ ।

घटनाको प्रारम्भिक अनुसन्धानले तीन जनाको मृत्यु फरक समयमा भएको देखाएको छ । अनुसन्धान अधिकारीले भने, ‘आमा र छोराको केही समयअघि र बाबुको पछि मृत्यु भएको देखिन्छ ।’

प्रहरीले बाहिरका मानिसले हत्या गरेको भए हत्याको समय फरक नहुनुपर्ने र दुईजनाको शवमा रामनामी आढाइएको नहुनुपर्ने आधार मानेर अनुसन्धान गरिरहेको छ । शनिबार बिहान प्रहरीले घर वरिपरि गरेको खोजतलासमा धानखेतमा विषादीको दुई वटा बट्टा पनि फेला पारेको छ ।
घरमा लुटपाट वा चोरी भएको देखिएको छैन ।

मदिरा र ऋणले घरमा सधैँ विवाद

स्थानियबासीका अनुसार साढे तीन तलाको घरको भुइँ तलामा उनीहरु आफैँले किराना पसल चलाउँथे । यसबाहेक अरू पेशा देखिँदैन थियो । सुदीप भक्तपुरस्थित एक औषधि कम्पनीमा काम गर्थे तर मदिरा सेवन गर्ने बानीका कारण उनलाई एक वर्षअघि कम्पनीले जागिरबाट हटाएको थियो ।

प्रहरी अनुसन्धान अधिकारीले खबरहबसँग भने, ‘उनीहरु बस्दै आएको घर पनि बैंकमा धितो राखेको देखिएको छ । लकडाउनको समयमा ससुरालीबाट २ लाख रुपैयाँ ऋण समेत लिएका थिए । श्रीमती र छोरासँग केही समयदेखि विवाद समेत हुने गरेको पाइएको छ ।’

प्रहरीले पाएको जानकारी अनुसार सधैँ मदिरा सेवन गर्ने र समाजमा नमिल्ने सुदीपको स्वाभावका कारण छिमेकीहरुसँग समेत उनको खासै राम्रो सम्बन्ध थिएन । सधैँको तनाव, घर झगडा र ऋणका कारण उनले हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

कुकुरसमेत मृत

तीन जनामात्र होइन घरमा पालिएको कुकुर पनि मृत अवस्थामा फेला परेको थियो । कुकुरको मुखमा फिँज देखिएको थियो । प्रहरीले घटनास्थलमा पीठो लतपतिएको पनि फेला पारेको छ । कुकुर विष मिसिएको पिठो खाएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी अनुसन्धान अधिकारीका अनुसार सुदीपको शव नजिकै रहेको कुकुरलाई खाना दिने भाँडामा केही खानेकुरा रहेको र त्यहाँ किराहरु मरेको पनि भेटिको छ । घटनाको समग्र सबुत विश्लेषण गर्दा हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीको छ । प्रहरीले अन्य सम्भावनामा पनि अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन