पृथ्वीनारायणका पक्ष-विपक्षमा उभिनुअघि बुझ्नुपर्ने कुरा | Khabarhub Khabarhub
Logo
४ माघ २०७६, शनिबार

पृथ्वीनारायणका पक्ष-विपक्षमा उभिनुअघि बुझ्नुपर्ने कुरा



२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै गर्दा पृथ्वीनारायण शाहको चर्चा र आलोचना भइरहेको पाइन्छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जीवनीका केही पाटोबारे चर्चा परिचर्चा हुने गरेको छ । विश्वमा कोही पनि आलोचना मुक्त हुन सक्दैन । हरेक महान व्यक्तित्वका अँध्यारा पाटा पनि हुन्छन् ।

मान्छेमा देउता खोज्न सकिन्छ तर मान्छे देउता हुँदैन । राम्रा मान्छेलाई तत्कालीन परिवेश र समयको स्तरभन्दा राम्रो भएकाले उसको चर्चा परिचर्चा हुने गरेको हो ।

यसअर्थ पृथ्वीनारायण शाह तत्कालीन परिवेशका एक सक्षम र राम्रा व्यक्ति थिए भन्ने कुरालाई मनन गर्न आवश्यक हुन्छ ।

यसो भन्दै गर्दा उनका अवगुणहरु छँदै थिएन भन्न खोजिएको भने होइन । केही अवगुणहरु थिए होलान् । केही अवगुणलाई आधार मानेर मात्र आलोचना गर्ने विषय उपयुक्त हो वा होइन त्यो बुझ्नु पर्ने विषय हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह पढेलेखेका शासक थिएनन् । तर, तत्कालीन टिप्पणीकार ह्यामिल्टनको भनाइमा उनी धेरै महत्वाकांक्षी व्यक्ति थिए । उनको भनाइमा पृथ्वीनारायण ठीक निर्णय गर्न सक्ने, ठूला साहसी थिए र सर्वदा कार्यव्यस्त रहन्थे । सामान्य रूपले उनको स्वभाव उदार र दयालु थियो । विशेषगरी आफ्ना मित्र र अनुयायीप्रति उनी निकै उदार र दयालु थिए। विदेशीमा उनको विश्वास छँदै थिएन। आफ्ना शत्रुलाई उनी कहिल्यै दया गर्दैनथे। आफ्नो विचार र राष्ट्र एकीकरणको विरोध गर्ने शत्रुप्रति उनी कहिल्यै उदार भएनन्।

गान्धीजस्ता महात्मा पनि आलोचनारहित थिएनन् । उनले काला नस्लका मान्छेलाई आफ्नो जीवनमा कहिल्यै महत्त्व नदिएको आरोप खेपेका थिए । उनी स्वेच्छाचारी तथा आकर्षक तरुण महिलाप्रति आशक्त रहन्थे भन्ने आरोप छ

पृथ्वीनारायण शाह उच्च कोटीका शासक थिए भन्नेमा कुनै द्विविधा छैन । शासकका पक्ष र विपक्षमा समाज विभाजन हुने कुरा नेपालमा मात्र होइन विश्वमा नै हुने गरेको छ । यस किसिमको आलोचना अन्य धेरै ठूला राष्ट्रनिर्माता वा व्यक्तित्वको पनि भएको छ ।

इतिहासमा विस्मार्कलाई ‘एरिस्टोक्रेटिक जंकर’ भन्नेहरू पनि थिए । अमेरिकी संघका संस्थापक जर्ज वासिङ्टनले जाडो महिनामा रेड इन्डियनहरूको गाउँ जलाउन सिपाहीहरू पठाएको इतिहास छ । अमेरिकी संविधानका निर्माताहरू कतिपयले दासहरूको व्यापार गर्थे ।

दासताबाट मुक्तिको घोषणा गर्नेबित्तिकै अब्राहम लिंकनले अमेरिकामा धेरै स्थानीय अमेरिकीलाई फाँसी दिएका थिए । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो सामूहिक फाँसी थियो ।

गान्धीजस्ता महात्मा पनि आलोचनारहित थिएनन् । उनले काला नस्लका मान्छेलाई आफ्नो जीवनमा कहिल्यै महत्त्व नदिएको आरोप खेपेका थिए । उनी स्वेच्छाचारी तथा आकर्षक तरुण महिलाप्रति आशक्त रहन्थे भन्ने आरोप छ ।

गान्धीको हर्मन कालेनब्याक भन्ने पुरुषसँग विकृत सम्बन्ध थियो भनेर पनि लेखिएको छ । श्रीमती बिरामी भई छटपटिएर मर्न लाग्दा पनि गान्धीले बलमिच्याइँ गरी आधुनिक उपचार गर्न नदिएको आरोप पनि छ । प्राकृतिक उपचारकै माध्यमबाट बाँच्नुपर्छ भन्ने उनको मान्यता थियो ।

नराम्रा कुराले कुनै व्यक्तिमा भएको राम्रो कुरालाई बगाएर लैजान सक्दैन । विश्वका चर्चित विभिन्न राष्ट्रनिर्माताले आफ्नो तात्कालीन परिप्रेक्ष्यमा उपयुक्त हुने गरी, राष्ट्रिय दृष्टिकोण, क्षमता तथा रणनीतिका आधारमा राष्ट्रनिर्माणको प्रक्रिया सुरु गरेका थिए

अमेरिकाका गान्धी मानिने मार्टिन लुथर किङलाई अर्को विश्वविद्यालयमा पढ्ने एक छात्रसँग आफूले लेख्नुपर्ने ‘डक्टोरल थेसिस’ किनेको आरोप लगाइएको छ । उनको ‘आइ ह्याभ अ ड्रिम’ भन्ने प्रख्यात भाषण पनि चोरीकै भन्ने आरोप छ ।

यी आरोपबाट के बुझ्न सकिन्छ भने राजनीतिक जीवन निर्वाह गर्ने व्यक्तिलाई यस्ता आरोप लागिरहन्छन् नै । कति सही होलान्, कति गलत । तर, कसैको मूल्यांकन गर्दा त्यस्तो व्यक्तिले बाँचेको समग्र जिन्दगी स्थापित सिद्धान्तहरू के थिए र उसको मूलप्रवाह के थियो भन्नेतर्फ लक्षित हुनुपर्छ ।

नराम्रा कुराले कुनै व्यक्तिमा भएको राम्रो कुरालाई बगाएर लैजान सक्दैन । विश्वका चर्चित विभिन्न राष्ट्रनिर्माताले आफ्नो तात्कालीन परिप्रेक्ष्यमा उपयुक्त हुने गरी, राष्ट्रिय दृष्टिकोण, क्षमता तथा रणनीतिका आधारमा राष्ट्रनिर्माणको प्रक्रिया सुरु गरेका थिए ।

अर्थात, पृथ्वीनारायण शाहका केही कमी कमजोरी थिए होलान् । तर उनले जीवनमा वा बाँचेको समग्र जिन्दगीमा स्थापित गरेका काम र राम्रा कामको प्रशंशा गर्न हिँचकिचाउनु उपयुक्त भने होइन ।


भर्खर

0