हिरो बन्ने कि निरो ? « Khabarhub
Logo
१२ कार्तिक २०७७, बुधबार

हिरो बन्ने कि निरो ?



आफ्नै पार्टीको सरकारका खरो आलोचक योगेश भट्टराई मन्त्री बन्ने भए । उनका बारेमा अनेक टिप्पणी भइरहेका थिए– मन्त्री बन्न हुन्छ वा हुँदैन भनेर । पार्टीभित्रका कतिपय शुभचिन्तकले उनलाई सफल पारेरै छाड्छौँ पनि भने । अन्ततः उनी मन्त्री बने ।

योगेश मन्त्री भएपछिको एक साँझ मार्क्सवादी चिन्तक घनश्याम भुसालले साथी सर्कलमा भने– यो मन्त्री हुने टाइम हो ! खत्तम भो । गल्ती गरे ।

घनश्यामले नै गल्ती भो, मन्त्री हुन हुँदैनथ्यो भनेपछि योगेशका पनि हितैषीको अनुहार मलिन भो । समय कति बलवान हुन्छ भने तिनै घनश्याम एक दिन अचानक र सुटुक्क यो देशको कृषि मन्त्री बने । अहिले आम युवाहरू भन्दैछन्– घनश्यामले दुई वटा अवसर गुमाए । एक, बजेटमा आफूले भनेको कुनै शीर्षक नपरेपछि खुरुक्क पद छाड्नु पथ्र्यो । दुई, मल ल्याउन नसकेपछि कि भित्र जुध्नुपथ्र्यो कि छाड्नुपर्थ्यो।

अब छाडे पनि उनको प्रतिष्ठा जोगिन्न । र, धेरै मानिस चाहिँ बौद्धिक नेता प्रदीप गिरिको भनाइ सम्झदैछन् । उनले संसदमा भनेका थिए– तपाई अभिमन्युले चक्रब्युहमा प्रवेश गरे झैँ एउटा तन्त्रमा प्रवेश गर्नुभएको छ । तपाइलाई अभिमन्युसँग तुलना गरेपछि बाँकी मैले केही भन्नु नपर्ला ।

एक ऊर्जावान युवा नेता जो त्यति वेला सरकारमा थिएनन्, उनले खुसुक्क भने– बालुवाटारले निराश बनायो । गोविन्द केसीको निधन भयो भने कसरी भिड सम्हाल्ने भन्ने बहस भयो ।

नेकपाका सबैभन्दा आश गरिएका युवा नेताहरूले भरिएको मन्त्रिपरिषदका सदस्यको यो हरकतपछि अचेल युवाहरू निराश देखिन्छन् । अब कसको आश गर्ने ? हुन पनि असारमा ल्याउनुपर्ने मल असोज सकिन लाग्दा पनि आउने छाँट छैन भने बाँकी कुरा के आश गर्ने ?

अहिलेजस्तै, डा.गोविन्द केसी एक समय अनशनमा थिए । उनको माग कसरी सम्बोधन गर्ने भनेर बाहिर ठूलो बौद्धिक बहस भइरहेको थियो । अचानक, बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले पार्टीका नेताहरूको बैठक राखे । आम अपेक्षा के थियो भने समस्याको हल खोज्न बालुवाटार जुट्यो । तर, हाल मन्त्रिपरिषदमै रहेका एक ऊर्जावान युवा नेता जो त्यति वेला सरकारमा थिएनन्, उनले खुसुक्क भने– बालुवाटारले निराश बनायो । गोविन्द केसीको निधन भयो भने कसरी भिड सम्हाल्ने भन्ने बहस भयो ।

उनको यो कुरा सुनेर हामी चकित हुनुको विकल्प थिएन ।

अहिले पनि डा. गोविन्द केसी अनशनमा बसे । सरकारले जसोतसो वार्ता टोली गठन गर्‍यो शनिबार दिनभर बालुवाटारमा बिताएको सरकारी वार्ता समितिले अपराह्न वक्तव्य निकाल्दै भन्यो– तपाईंका माग सम्बोधनको क्रममा छन्, अनशन तोडनुस् । त्यसो भए के अनशन विनाशर्त तोडनुस् भन्नको लागि नै वार्ता टोली गठन भएको थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक थियो ।

एउटा रोचक कुरा यहाँ उल्लेख गर्नैपर्छ–शनिबार दिनभर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटारमै थिए ।

उनले अनशन, कोभिडको कहर र आर्थिक संकटको बारेमा के सल्लाह गरे होलान् ! के सुझाव दिए होलान ! वा मन्त्रिपरिषद हेरफेरमा मेरो कति तिम्रो कति भनेर भागबण्डामै बिताए समय ! शायद यस्तै दृश्य देख्न नसकेर लामो समयदेखि मौन बसेका तर कुनै समय बोलिरहने डा. सरोज धितालले शनिबार भनेका– यो कस्तो कम्युनिष्ट पार्टी हो ?

के गाईजात्रा भइरहेको हो यो देशमा ? यो पाराले केही पनि बच्दैन ।

विरलै प्राप्त हुने अवसर केपी ओलीको सरकारलाई मिलेको छ । २०१५ सालमा बीपी कोइरालालाई यो अवसर मिलेको थियो, यसपछि ओलीलाई नै हो, यो सुवर्ण अवसर मिलेको । संविधान जारी भएको, जनताले अति अपेक्षा गरेको, विपक्षी दल अति कमजोर अवस्थामा रहेको र एक हिसाबले सत्ताको साझेदार जस्तो भएर सहयोगी भइरहेको, सरकारसँग यति ठूलो मत छ कि ढल्छ कि भन्ने पिर नै छैन ।

विष्णु पौडेल बुटवललाई लुम्बिनी प्रदेशको राजधानी बनाउन नसकेर रन्थनिएका छन् । अब मन्त्री खाए प्रदेशको राजधानीसँग पद साटेको आरोप लाग्नेछ ।

सभामुख बनाउने सवालमा बाहेक केपी ओलीले बाँकी काममा हार खानु परेको छैन । पार्टी भित्रका विपक्षी पुष्पकमल दाहाल ओलीका स्वकीय सचिव जस्ता भएका छन् ।

माधव नेपाल र झलनाथ खनाल किनारा पारिएका छन् । वामदेव बद्नाम भएर थन्किएका छन् । पार्टीका महासचिव विष्णु पौडेल बुटवललाई लुम्बिनी प्रदेशको राजधानी बनाउन नसकेर रन्थनिएका छन् । अब मन्त्री खाए प्रदेशको राजधानीसँग पद साटेको आरोप लाग्नेछ । र, उनको ठाउँ शंकर पोखरेलले लिन थालिसकेका छन् ।

कतिपय नेताहरू अब शंकरले मुख्यमन्त्रीबाट राजीनामा दिएर महाधिवेशनमा महासचिवको लागि लाइन मिलाउन थाल्ने अनुमान गर्न थालेका छन् । अर्थात, केपी ओलीको लागि प्रतिकूल अवस्था नै छैन । तर यस्तो बेलामा पनि उनी काम गर्न नसकेर बसिरहेका छन् । अवसर गुमिरहेको छ । किन ?

किनभने सरकार पाटनको एकल घोडा जस्तो भएको छ । राजा शिवसिंह मल्लको पालादेखि पाटनमा घोडेजात्राको दिन एक्लो घोडा दौडाउने चलन छ । यो घोडालाई मिष्ठान्न भोजनमात्र गराइन्न, घरेलु रक्सी पनि खुवाइन्छ सगुन भनेर । घोडसवारले पनि सगुन खान्छ । अनि सुरु हुन्छ एकल घोडा दौड । नेकपा सरकार अहिले यस्तै भएको छ ।

सरकारको बारेमा यस्तो भन्नुपर्ने अवस्था किन आएको छ भने उसका अङ्गहरूको बोलीमा र काम गराइमा कुनै तालमेल छैन । सरकारसँग अहिले पनि भौतिक पूर्वाधारमा काम गर्ने चार वटा मन्त्रालय छन् । भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा र खानेपानी मन्त्रालय । यी सबले भत्काउने र तोड्ने काम गर्छन् । यति बलियो सरकारले यति काममा समेत समन्वय गर्न सकेको छैन ।

कतिसम्म भने पाँच वर्षदेखि उखु किसानले भुक्तानी पाएका छैनन् । उखु किसानका समस्या कृषि मन्त्रालयमा पर्छ भने भुक्तानी दिने काम उद्योग मन्त्रालय अन्र्तगत पर्छ । यति सामान्य कुरामा पनि तालमेल छैन । कामको तालमेल नमिलेर हैरानी छ तर पार्टीको झगडा मिलाउन भागबण्डा नपुगेर सरकार मन्त्रालय फुटाउने तयारीमा छ ।

सबैभन्दा रोचक कुरा चाहिँ विश्व बैंकले नेपालको यस वर्षको आर्थिक वृद्धिदर जम्मा शुन्य दशमलब ६ प्रतिशत हुनेछ भनेको छ ।

एउटा मन्त्रालय फुटाउँदा सरदर एक अर्ब रुपैयाँको व्ययभार बढ्छ । र, पछिल्लो तथ्यांकले सरकारसँग कर्मचारीलाई तलब खुवाउने पैसा नै छैन भन्ने तथ्य उजागर गरेको छ । सबैभन्दा रोचक कुरा चाहिँ विश्व बैंकले नेपालको यस वर्षको आर्थिक वृद्धिदर जम्मा शुन्य दशमलब ६ प्रतिशत हुनेछ भनेको छ ।

अझ, सरकारका उर्दी र फर्मान हेर्ने हो भने हरेक दिन गाईजात्राको रसास्वादन गर्न सकिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्– ६० वर्ष कटेका ज्येष्ठ नागरिक बाहिर नहिँड्नू, बेहोस हुने अवस्था भएमात्र अस्पताल जानू, अनलाइनबाट टीका लगाउनू आदि ।

त्यसो भए ज्येष्ठ नागरिक पेन्सन लिन जाने कि नजाने ? पहाडका बाटोमा बेहोस हुने अवस्था भएपछि मात्र बिरामी एम्बुलेन्समा अस्पताल जाने हो भने कहिले पुग्लान् ! सिंहदरबारको वातानुकूलित कोठाबाट यस्तो फोस्रा निर्देशन जारी गर्नु अघि एक पटक सोच्नु पर्दैन ? स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जनस्वास्थ्य अर्थात पब्लिक हेल्थको मर्म नबुझेका हुन् ? वा प्रधानमन्त्रीलाई गुरु मानेर रुखो र टर्रो बोल्न सिकेका ?

दुनियाँसँग सन १९१२ मा डुबेको टाटेनिक जहाजको मेनु अझै सुरक्षित छ तर नेपालसँग लिम्पियाधुरा हाम्रो हो भन्ने प्रमाण समेत छैन ।

सरकारले बारम्बार नेपालको सार्वभौमिकताको सवालमा अडान लिएको दाबी गर्ने गरेको छ । राष्ट्रियताको सवालमा अन्य सरकारभन्दा यो सरकार एक कदम अघि छ भनिन्छ र यसले केही कदम अघि बढाएको पनि देखिन्छ तर दुनियाँसँग सन १९१२ मा डुबेको टाटेनिक जहाजको मेनु अझै सुरक्षित छ तर नेपालसँग लिम्पियाधुरा हाम्रो हो भन्ने प्रमाण समेत छैन ।

सर्वभौमिकताको सवालमा कटिबद्ध छौँ भन्ने अनि लिम्पियाधुराको बारेमा लेखिएको किताब समेत वितरण नगर्नु भन्ने उर्दी जारी गर्ने ! सरकार कहाँ अलमलिएको छ ? यदि भारतसँग वार्ताकै लागि समय लिइएको हो भने संविधान संशोधन अघि नै वार्ताको पहल गर्नुपर्ने हैन र ?

सन् २००८ मा बलिउडमा ‘तारे जमिन पर’ भन्ने फिल्म प्रदर्शन भयो । चलचित्रमा आठ वर्षीय बालक दर्शिल सफारी मुख्य कलाकार थिए ।

डिस्लेक्सिया रोगबाट प्रताडित बालकको भूमिका निर्वाह गरेका दर्शिल फिल्म फेयर अवार्डको इतिहासमै पहिलोपटक बालकलाकार भएर पनि सर्वोत्कृष्ट अभिनेताको सूचीमा मनोनित भए । उनको भीडन्त शाहरूख खान, अक्षय कुमार, अभिषेक बच्चन जस्ता हस्तीसँग भयो ।

मुख्य कुरा, तपाईंले कस्तो भूमिका निर्वाह गरिरहनु भएको छ भन्ने नै हो । एउटै भूमिकाले तपाईंलाइ हिरो पनि बनाउँछ र निरो पनि । सवाल यति हो– तपाईं हिरो बन्ने कि निरो ?


भर्खर

0