कांग्रेसको इतर पक्षलाई देउवाले महाधिवेशन सार्न खोजेको शंका | Khabarhub Khabarhub

कांग्रेसको इतर पक्षलाई देउवाले महाधिवेशन सार्न खोजेको शंका



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागहरू धमाधम गठन गरेपछि इतर पक्षका नेताहरूले आगामी फागुनका लागि तय भएको महाधिवेशन पर धकेलिन्छ कि भन्ने शंका गर्न थालेका छन् । महाधिवेशन सरेन भने पनि निर्वाचनको निष्पक्षतामा उनीहरूको शंका छ ।

फागुनमा हुने भनिएको महाधिवेशनको कार्यतालिकाअनुसार यही साउनभरिमा नयाँ क्रियाशील सदस्यता वितरण र सदस्यता नवीकरणको काम सम्पन्न हुनुपर्ने थियो । अहिलेसम्म क्रियाशील सदस्यताको काम कुन जिल्लामा कति पूरा भयो भन्ने तथ्यांक केन्द्रीय कार्यालयमा छैन ।

कति छन् क्रियाशील सदस्य ?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार देशभर अहिले ४ लाख ९८ हजार ४७६ जना क्रियाशील सदस्य छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विदेशमा मात्रै झण्डै २० हजार क्रियाशील सदस्य छन् । आगामी महाधिवेशनसम्म कांग्रेसले क्रियाशील सदस्यको संख्या १० लाख पुर्‍याउने घोषणा गरेको थियो ।

सोहीअनुसार क्रियाशील सदस्यता वितरणको काम भइरहेको प्रवक्ता शर्माले बताए । महाधिवेशनको कार्यतालिकाअनुसार साउन मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरण सक्नेगरी काम भइरहेको उनले बताए ।

कोरोना भाइरस संक्रमणका कारण अपेक्षित गतिमा काम हुन नसकेको प्रवक्ता शर्माको भनाइ छ । अहिलेसम्म कति जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकियो भन्ने तथ्यांक केन्द्रीय कार्यालयमा नआइपुगेको उनले बताए ।

शर्माले भने, ‘कोरोनाका कारण अपेक्षितरूपमा काम हुन नसके पनि सदस्यता वितरण निरन्तर भइरहेको छ । हाम्रो लक्ष्य १० लाख क्रियाशील सदस्य बनाउने हो ।’

महाधिवेशन सार्न सकिँदैन : पौडेल

महाधिवेशनको कार्यतालिकाअनुसार साउन मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न हुनुपर्ने हो तर कोरोना महामारीका कारण काममा असर परेको छ । साउन अन्तिमसम्म सम्पन्न हुन नसके त्यसले महाधिवेशनमा असर पर्न सक्ने आशंका सुरु भएको छ । तोकिएको मितिमा महाधिवेशन हुनैपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ ।

पौडेलले भने, ‘हामी काम गर्दै जानुपर्छ । क्रियाशील सदस्यताको काम समयमै सम्पन्न गर्नुपर्‍यो ।’ महाधिवेशन सार्न नसकिने र पूर्वनिर्धारित मितिमा हुनैपर्ने उनको अडान छ । सभापति देउवाले समयमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाएको पनि पौडेलले बताए ।

पौडेलका अनुसार महाधिवेशन निर्धारित समयमा नहुनुपर्ने कुनै कारण छैन । उनले भने, ‘महाधिवेशन समयमा हुँदैन कि भन्ने कुनै कारण देख्दिनँ । सभापतिले महाधिवेशन सार्ने कुरा नगर्नुपर्ने हो । हामीसँग महाधिवेशनको मिति सार्ने अर्को समय छैन ।’

वरिष्ठ नेता पौडेल समूहका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीका अनुसार महाधिवेशनको कार्यतालिका सुरु भएपछि सभापति देउवाले विभागहरूमा नियुक्ति गर्नुले महाधिवेशन प्रभावित पार्न खोजेको आशंका उब्जिएको छ ।

उनले भने, ‘विधानविपरित जुन मनोनयन भइरहेका छन्, यसले निर्वाचन स्वतन्त्ररूपमा सम्पन्न हुन्छ भन्ने कुरामा शंका उत्पन्न हुन्छ । प्रभाव पार्न खोजेको जस्तो देखिन्छ । निर्वाचनको मिति घोषणा भइसकेपछि यो गलत छ । समस्या यही हो ।’

समयमै महाधिवेशन हुने कुरामा शंका गर्ने ठाउँ अहिले नै नभएको पनि जोशीको भनाइ छ । उनले भने, ‘सबै प्रक्रिया अघि बढेकै छ । महाधिवेशन त गर्नैपर्छ, ६ महिना समय सकिएको छ । गर्नै पर्छ, अर्को विकल्प छैन ।’

सार्ने हल्ला निराधार : खाँण

सभापति देउवा निकटका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सभापतिले महाधिवेशन सार्न खोजेको भनेर आरोप लगाउनु गलत भएको बताए । उनले भने, ‘सभापतिले महाधिवेशन सार्न लाग्यो भनेर कसैले आरोप लगाएको छ भने विल्कुल गलत हो । अनुत्तरदायी कुरा हो ।’

महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण गर्ने काम स्थानीय तहमा भइरहेको खाँणको भनाइ छ । उनले भने, ‘साउनभरि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको समय हो, ७७ वटै जिल्लाका सबै स्थानीय तहले क्रियाशील सदस्यता वितरण गरे भने महाधिवेशनको कार्यतालिका अघि बढ्छ । सभापतिले रोक्ने कुरै आउँदैन ।’

सभापति देउवाले आगामी फागुनका लागि तय भएको महाधिवेशन सार्ने उद्देश्यले नै विभागहरू गठन गर्न थालेको इतरपक्षका नेताहरूको शंका छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ३ : २७ बजे

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको