विश्वबन्धुत्वको पुनर्जागरण « Khabarhub
Logo
१२ जेठ २०७७, सोमबार

विश्वबन्धुत्वको पुनर्जागरण



प्राणीको प्रमुख ध्येय सुरक्षित र स्वतन्त्ररूपमा बाँच्नु हो । जब जीवन र मरणकै सवाल आउँछ तब प्राथमिकता जीवन अर्थात बाँच्नुमात्र हुन्छ । बाँच्नका लागि सबै आवश्यकता पूरा गर्न तत्पर रहनु प्राणीमात्रको अर्को ध्येय हुन्छ । यो सबै जीवहरूमा लागु हुन्छ । यसको वैज्ञानिक पुष्टि गर्न अलग्गै किसिमको प्रयोगात्मक परीक्षण आवश्यक पर्छ, जुन सहसा सम्भव छैन । मानवको प्रसङ्गमा भने कुनै निःसन्देह भन्न सकिन्छ, मरिन्छ कि भन्ने गहिरो डर सधैँ रहेको हुन्छ । अनि बाँच्ने प्रयत्नमा मानिस जस्तोसुकै प्रतिकूल परिस्थिति पनि सामना गर्न तत्पर रहन्छ ।

मानव विकासको क्रममा प्रकृतिसित तादात्म्य मिलाउने क्रममा मानिसले कति हण्डर र ठक्कर खायो यसको कुनै हिसाब नै छैन । बाढी, पहिरो, डढेलो, भूकम्प, रोगव्याधिजस्ता अनेक किसिमका प्राकृतिक प्रकोपहरू मानिसले सामना गर्दै आएको हो । यस्ता महामारीले कति मानिसलाई सिकार बनायो त्यसको प्राकऐतिहासिक लेखाजोखा छैन । इतिहासमा उपलब्ध तथ्यांकहरूले मात्रै पनि हाम्रो मन उद्विग्न हुन्छ । हालको काहालीलाग्दो कोभिड–१९ महामारीको विषम परिस्थिति पनि उही निरन्तरता हो । लाखौँलाख मानिसको ज्यान लिने कोरोना भाइरसजस्ता धेरै महामारी झेल्दै मानिस आजको विश्वमा आइपुगेको हो ।

मानिसको स्वार्थ र पदलोलुपताका कारणले पुरातनदेखि आजपर्यन्त प्रलयकारी युद्धहरू चलिरहेका छन् । चरम विवेकहीनता र अमानवीयताका कारणले युद्धहरू भए । भौगोलिक सीमाका लागि युद्धहरू भए । साम्राज्यवादी हैकम विस्तार गर्न ठूला युद्धहरू भए । धर्मका नाममा अनेक युद्धहरू भए । वर्ग संघर्षका नाममा लुकीछिपी स्वबन्धुबान्धव मार्ने युद्धहरू भए । युद्धहरूले कहिल्यै पनि मानवताको कल्याण गरेनन् । सीमित समूहहरूको भने स्वार्थ सिद्ध भएको हुनुपर्छ । आजको विश्वमा पनि अनेक तरहले युद्धहरू जारी छन् ।

जुनसुकै उद्देश्यले गरिएको भए पनि संहार कहिल्यै राम्रो होइन । परिस्थितिको बाध्यात्मक उपज भनेर संहार ढाकछोप गर्ने चलन विश्वभर उस्तै छ । यस्तो ढाकछोप विजेता र बलियाले जबरजस्ती थोपरेको भ्रममात्र हो । संसारमा भ्रमकै वाहुल्य छ र त्यसले सिर्जना गरेको दुःखको पाटोमा मानवता सधैँ रोइरहेको छ । यर्थाथमा त्यो रोदन हेर्न विद्यमान शरणार्थी शिविरहरू पर्याप्त छन् । आफ्नै राज्यले नचिनेर जन्मभूमि र थातथलोबाट पलायन हुन बाध्य पारिएका निरपराध नागरिकहरूलाई हेरे पुग्छ वर्ग स्वार्थको परिणाम कस्तो हुन्छ भन्ने थाहा पाउन । यस्ता भुक्तभोगीहरू सबै निमुखा नै हुने गरेका छन् ।

कोरोना भाइरसले संसारका मानिस एक–अर्काकासँग जोडिएका छौँ भन्ने सन्देश दिएको छ । पूर्वीय दर्शनको मूल सन्देश ‘वसुधैव कुटुम्बकम्’ हृदयङ्गम गरी आफू बाँचूँ, अरूलाई बचाऔँ र बाँच्ने वातावरण बनाऔँ ।

अहिले कोरोना भाइरसले पनि सबैभन्दा कडा प्रहार गरिब–निमुखालाई नै गरेको छ । गरिब मानिस आफ्नो राष्ट्रलाई सबैभन्दा बढी माया गर्छ, आफ्नो राष्ट्रियताको सम्मान गर्छ । गरिब आफ्नो जन्मभूमिलाई माया गर्छ, नमन गर्छ । उदाहरण हजारौँ छन्, गरिब राष्ट्रका गरिबहरूमाथि भएका विभेदयुक्त व्यवहारका । गरिब राष्ट्रमै पनि गरिब मान्छे राज्यको प्राथमिकतामा छैन । राज्यभित्रै आफ्ना नागरिकमाथि वर्गको विभेद छ । विश्वभरि यस्तै समाचारको वाहुल्य छ ।

गरिब मान्छेहरू राज्य प्रशासनका अगाडि निरीह छन् । राज्यका कनै पनि निकाय र सुविधामा उनीहरूको पहुँच छैन । दुखेसो पोख्ने ठाउँ छैन, हैसियत पनि छैन । संसारमा जताबाट पनि निर्धो नै पिसिएको छ । यो विभेदकारी राज्यप्रणालीको जिम्मेवार को हो ? समाजमा विभेदबाट सबैभन्दा बढी फाइदा कसले लिएको छ ? यी आजका गहन प्रश्न हुन् ।

संसारमा सबैभन्दा बढी आर्थिक, राजनीतिक र सामाजिक विभेद भोग्ने निमुखा, गरिब र ज्यामीहरू नै हुन् । विपन्न वर्गका नाममा संसारमा धनाढ्यहरूले नै राजनीति र मोजमस्ती गरेका छन् । विपन्नका नाममा धनाढ्य र शक्तिशालीले नै योजना र कार्यक्रम बनाउँछन् । यसैबाट शक्ति सञ्चय गर्छन् र आफ्नो स्वार्थ सिद्ध गर्छन् । दुनियाँका गरिबलाई गरिब नै बनाइराख्ने धनाढ्यहरूको गज्जबको रणनीति छ । यिनीहरू गरिबको नामबाट शक्ति सञ्चय गर्छन् र गरिबकै ढाड सेक्छन् । गरिबकै ढाडको पुल बनाएर आफू नदी वारपार गर्छन् ।

हाम्रै वरिपरिका दृश्यहरू नियालौँ । राज्यको प्रहार ज्यामी, मजदुर, र ज्यालादारहरूमाथि नै पर्छ । कोरोना भाइरस संक्रमणको कहर कसले बढी भोगेको छ भनेर हेरे पनि पुग्छ । स्वनामधन्य धनाढ्य र शासकहरू गरिबकै रगत–पसिनले तयार महलमा बस्छन् । तिनकै श्रमले बनेका कपडा लगाउँछन् । तिनकै पसिनाले भिजेका गाडीमा सवार हुन्छन् । के महलका यी बासिन्दाहरूलाई हामी गरिबको अस्तित्वबोध छ ? यो अर्को एउटा ज्वलन्त प्रश्न हो ।

आज प्रकृतिले मानव अस्तित्वमाथि आगो वर्षाएको छ । सासै फेर्न कठिन छ । यो आगोमा निसास्सिँदै काम गर्ने र रगत–पसिनाको कमाइ विदेशी मुद्रामा आफ्नो देशमा पठाउने पनि त्यही निमुखो गरिब वर्ग हो । के आज राज्यहरूले यी मानिसलाई चिनेको छ ? बन्द वाकसमा देश फिरेको त्यो गरिबलाई श्रद्धाञ्जलि अर्पण गरेको छ ? के आज राज्य सञ्चालक नव धनाढ्यहरूलाई यी प्रश्नले किञ्चित छुन्छ ?

दुःख जति सबै त्यही गरिब, निमुखो र उत्पीडित वर्गमाथि नै बज्रिन्छ । यथार्थमा निमुखाको सहाय न राजनीति छ त आर्थिक र सामाजिक विकास नै । प्राकृतिक होस् या मानवनिर्मित, संहारको सबैभन्दा पहिलो प्रहार हुने पनि यही वर्गमाथि हो । वर्तमान विश्वमा मच्चिएको कोरोना भाइरस विषले सबैभन्दा बढी ज्यान लिएको वर्ग पनि यही हो । यो वर्गसित न टेक्ने बलियो धरातल छ न समाउने लौरो । निकै मै हुँ भन्ने शक्तिशाली र धनाढ्यहरू पनि आज कोरोना भाइरसका सामु अत्तालिएका छन् तर विपदको मुखमा निमुखा नै छन् ।

बन्दीका अनेक रूप छन् : मोहको बन्दी, आशक्तिको बन्दी, धनको बन्दी, पदको बन्दी, प्रतिष्ठाको बन्दी, राजनीतिक विचारको बन्दी, धार्मिक जडताको बन्दी, अभिमानको बन्दी इत्यादि ।

विकासशील अथवा विकासोन्मुख राष्ट्रका नागरिकको अवस्था हेरौँ । मानिसहरू बन्दाबन्दीमा छन् । घरबन्दी र क्षेत्रबन्दीको अवस्था छ । यस्तो बन्दाबन्दीले धेरैले छाकबन्दीको सामना गर्नुपरेको छ । लाखौँ मानिस न घरको न घाटको अवस्थामा छन् । । घर न घाटको यो अवस्था बनाउने को हो ? यो वर्गको सामाजिक सुरक्षाको जिम्मेवारी कसको हो ? विदेशमा बन्दाबन्दी भोगिरहेका मजदुरको मानसिक पीडा र यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी कसको ? यी आजका थप ज्वलन्त प्रश्नहरू हुन् ।

वास्तवमा यो संसार कोरोना भाइरसको कहरभन्दा पहिलेदेखि नै एक किसिमले बन्दीगृह नै बनेको छ । विवेकशील भनिने हामी मानव बन्दीगृहमा बन्द छौँ । यो स्वसिर्जित बन्दीगृहमा रमाउदैछौँ । विचारको र स्वरतिको बन्दी अहिलेको प्रचलित बन्दी मानसिकता हो । बन्दीका अनेक रूप छन् : मोहको बन्दी, आशक्तिको बन्दी, धनको बन्दी, पदको बन्दी, प्रतिष्ठाको बन्दी, राजनीतिक विचारको बन्दी, धार्मिक जडताको बन्दी, अभिमानको बन्दी इत्यादि ।

अहिले कोरोना भाइरस नामको महामारीले थपेको भौतिक बन्दाबन्दीले ‘बाँच र बाँच्न देऊ’ भन्ने सन्देश विश्वमाझ फैलाउन केही मद्दत गर्ला कि !

यो सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक असमानता न्युनीकरणको एउटै उपाय हो विश्व बन्धुत्वको भावना । संसारमा उत्पन्न कठिन परिस्थितिले समाधानका उपायहरू पनि दिने गरेको छ । आजको समय मानवतामा हालसम्मको सबैभन्दा जटिल र कठिन समय हो । मानव समुदायका लागि परीक्षा पनि हो । हाम्रा अगाडि अनिश्चयको भुमरी मडारिएको छ । परिस्थिति अझै कति विकराल बन्छ भनेर अनुमान नै गर्न सकिँदैन ।

यो जटिल परिस्थितिको अर्थ हामी हतोत्साहित बनूँ र आत्तिऔँ भन्ने होइन । जसरी आदिकालदेखि समस्या आए र कति क्षति गराउँदै समाधान भए, त्यसरी नै कोरोना भाइरसको पनि पराजय निश्चित नै छ । महामारीबाट सिर्जना हुने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक नकारात्मक प्रभाव भने दशकौँसम्म रहने पनि निश्चित छ ।

यो विकराल परिस्थितिबाट मानव सभ्यता जोगाउन राज्य र प्रत्येक व्यक्तिको जिम्मेवारी छ । बन्धुत्वको भवना जति सुदृढ हुन्छ त्यति नै कोरोना भाइरसले निम्त्याएको महामारी र प्राकृतिक प्रकोपहरूको समाना गर्न सजिलो हुन्छ । विपन्न वर्ग र श्रमिकहरू सम्मानित र सुरक्षितरूपमा बाँच्न पाउने वातावरण बनाउनु अनिवार्य छ । यसमा मुख्य जिम्मेवारी राज्यको हुन्छ ।
कोरोना भाइरसले संसारका मानिस एक–अर्काकासँग जोडिएका छौँ भन्ने सन्देश दिएको छ । पूर्वीय दर्शनको मूल सन्देश ‘वसुधैव कुटुम्बकम्’ हृदयङ्गम गरी आफू बाँचूँ, अरूलाई पनि बचाऔँ र बाँच्ने वातावरण सिर्जना गर्न सकौँ । अबको आवश्यकता विश्वबन्धुत्वको पुनर्जागरण हो ।


भर्खर

0