क्रमभङ्ग गर्दै प्रकृति | Khabarhub Khabarhub

क्रमभङ्ग गर्दै प्रकृति


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होइन मामा ! तिमी यसो पत्रपत्रिका नपढी लेख्छौ क्या हो ?
फोनमा भान्जा निक्कै राँक्किए !
किन र भान्जा ?
आफ्नै लवजमा सोधेँ ।

अहिले पनि ल्याङल्याङ भाषामा के लेखेको त्यस्तो ? हुन्छ नि एउटा तरिका यार मामा ! अहिले त जिब्रो फड्कारेर गाली गर्नुपर्छ नि सरकारलाई । कि त अलिअलि भए पनि अर्ती गर्नु !

ए ! हो र भान्जा ! हे… हे… ! ल म विचार गर्छु नि त !

विचार गर्नेमात्रै होइन मामा, भटाभट ठोक्न थाल । कोरोनाले हामीलाई जिउँदै छाड्ला कि नछाड्ला नि !

भान्जासँग कुरा गरेपछि निकै बेर मौन बसेँ विमलानन्द अघोरीको डायरी सम्झेँ । उनी भन्छन्- क्रमभङ्गता ले या त नयाँ सृष्टि गर्छ अथवा महासंकट निम्त्याउँछ, दुवै अवस्थामा परिणाम नयाँ आउँछ ।

संसार अहिले क्रमभङ्गताको स्थितिमा छ । जसरी चलिरहेको थियो त्यो गति अवरुद्ध भएको छ । सृष्टि र प्रलयको आधार एउटै हुन्छ, गति कहाँ पुगेको छ भन्ने कुराले मात्रै फरक पार्छ । गति सृष्टिमा छ भने त्यो प्रलयमा पुग्छ र प्रलयमा भए सृष्टिमा ।

हाम्रो जीवनयात्रा पनि मृत्युतिरै जाँदै छ । पूर्वीय दर्शनले उत्पति र अन्त्यस्थान लाई ‘योनि’ भन्छ । हामी योनिबाट जन्मन्छौँ, योनिमा नै लय हुन्छौँ अर्थात् मर्दछौँ । हामी गायत्रीमन्त्र जप्नुपूर्व गायत्री ध्यान गर्दा एउटा मन्त्र भन्छौँ, ‘अजरे अमरे चैव ब्रह्मयोनिर्नमोऽस्तुते’ । जसको अर्थ हुन्छ अजर, अमर तिमी निराकार ब्रह्मलाई साकाररूपको जीवमा जन्म दिने गायत्री (सविता वा सूर्यको शक्ति, प्रकाश) लाई नमन गर्छौं ।

जसरी संसार त्रयी अर्थात् ऋक्-साम-यजुले, यज्ञ उद्गाता-उद्गीथ-उद्गानले, मनोलय अर्थात समाधि ध्याता-ध्येय-ध्यानले सञ्चारित हुन्छ, चल्छ, त्यसरी नै सृष्टि लिङ्ग-योनि-सन्तानले चल्छ । यहाँ लिङ्ग, योनि र सन्तान शब्द यिनीहरूको वास्तविक अर्थ प्रस्फुटित हुने गरी प्रयोग गरिएका हुन् । लिङ्ग भनेको मूल हो, योनि माध्यम र सन्तान भनेको निष्कर्ष हो ।

यो लिङ्ग-योनि-सन्तान त्रयीलाई अझै बुझौँ । हाम्रो शरीरलाई यो त्रयीमा हेरौँ । श्वास-प्रश्वास क्रिया हेरौँ । श्वास लिङ्ग, नासिका योनि र जीवन सन्तान हुन्छ ।

आँखालाई हेरौँ । दृष्टि लिङ्ग, आँखा योनि र दृश्य सन्तान हुन्छ । यो लिङ्ग-योनि-सन्तान क्रिया हाम्रो जीवनशैलीको र धर्मको मूल आधार पनि हो । त्यसैलाई हामी पशुपतिनाथ मन्दिरमा गएर पूजा गर्छौं । हामीले समग्र शरीर हेर्यौं भने जीवनधारा लिङ्ग, शरीर योनि र मृत्यु सन्तान हुन्छ ।

पुराणमा भनिएको छ, जो शिवलिङ्गलाई दर्शन गर्दछन् ती सबै तर्दछन्, शिवालोक प्राप्त गर्दछन् । साधना गर्न प्रेरित गर्ने उद्देश्यले गुरुजीले एक दिन भन्नुभयो, ‘तँ जीवित कहाँ छस् र ! तँ त मरेको लासलाई कामनाको काँधमा बोकेर घाटतिर जाँदै छस् । तँलाई जीवन नै थाहा छैन, तैँले मृत्यु के बुझ्छस् ? मृत्यु बुझ्न त पहिले जीवन थाहा पाउनु पर्‍यो नि ! साधना गर, उठ्, जाग्, जीवित हो अनि मृत्यु बुझ्छस् ।’

भय त हामीलाई जीवनको बढी हुन्छ नि मृत्युको भन्दा ! एकछिन हेरौँ न त कसरी हुँदोरहेछ ! आँखा चिम्म गरेर एकै छिन आफ्नै मन नियालौँ । राम्रो होइन नराम्रो मन नियालौँ । मन यस्तो ठाउँ हो जहाँ राम्रा र नराम्रा दुवै किसिमका कुराको अथाह भण्डार हुन्छ । यो भण्डार कहिल्यै सकिँदैन ।

ज्ञान पढेर होइन परेर आउँछ । गुरुजीको वाणी कानमा ट्वाङट्वाङ बज्छ धेरैजसो ।

हामी ‘मृत्योर्माऽमृतं गमय’ भनेर स्तुति गर्छौं । वास्तवमा मृत्यु के हो त ? मृत्यु जीवनधाराले प्राप्त गरेको क्रमभङ्गताको अवस्था हो । जुन शरीरको यात्राको क्रम रोकिएको अवस्था हो । मृत्युलाई हामी काल पनि भन्छौँ । काल समय हो । तार्किक र आभ्यासिक गरेर प्रश्न दुई प्रकारका हुन्छन् । तार्किक प्रश्न ‘किन’ बाट सुरु हुन्छ । अभ्यासिक प्रश्न ‘कसरी’ बाट सुरु हुन्छ । तार्किक प्रश्नले निष्कर्ष खोज्छ, आभ्यासिक प्रश्नले प्रक्रिया ।

त्यसो भए कस्तो प्रश्न ठीक ? दुवै खाले । त्यसो भए के जीवन र मृत्यु दुई विपरित अवस्था हुन् त ? होइन । जीवन र मृत्यु पूरक हुन् । वास्तवमा जीवनले मृत्युमा पूर्णता प्राप्त गर्छ । त्यसो भए अहिले हामीलाई मृत्युसँग किन यति भय उत्पन्न हुन्छ त ?

भय त हामीलाई जीवनको बढी हुन्छ नि मृत्युको भन्दा ! एकछिन हेरौँ न त कसरी हुँदोरहेछ ! आँखा चिम्म गरेर एकै छिन आफ्नै मन नियालौँ । राम्रो होइन नराम्रो मन नियालौँ । मन यस्तो ठाउँ हो जहाँ राम्रा र नराम्रा दुवै किसिमका कुराको अथाह भण्डार हुन्छ । यो भण्डार कहिल्यै सकिँदैन ।

नराम्रा विचार र चिन्तनको भण्डार खोलौँ । मान्छेको प्रकृति भनेको समानता र प्रतिस्पर्धा हो, श्रद्धा, भक्ति र समर्पण होइन । हामी जे जति पनि श्रद्धा, आदर, मान-सम्मान, भक्ति इत्यादि गर्छौं, ती हाम्रा प्राकृतिक गुण होइनन् । मन कसैको अधीनमा बस्न चाहन्न । यो मन धारण गर्ने प्रजातिलाई मनुष्य भनिन्छ । त्यसो हुँदा मनले अर्को व्यक्ति जतिसुकै आदरार्थी भए पनि उसलाई आफूसमान नै देख्छ ।

वास्तवमा हो पनि । भगवान बुद्ध भन्नुहुन्थ्यो- सबै मानिस अनुभूत नभएका बुद्ध हुन् ।

त्यसो भए यो आदरको आवरणलाई एकटक लगाएर हेरौँ । आफूले आदर गर्ने मान्छेको कल्पना गरौँ । अब उसका बारेमा नराम्रा कुराहरू खोज्न र हुर्काउन सुरु गरौँ । त्यसलाई बढाउँदै लैजाऔँ । यसो गर्दा यस्तो ठाउँमा पुगिन्छ कि त्यसको कुनै सीमा नै हुँदैन । यो ठाउँमा पुगेपछि कल्पना गरौँ कि त्यो मान्छे जसकाविरुद्ध यतिका सोचियो, झट्ट सामुन्ने आयो र भन्यो, ‘तैँले मेराबारेमा जे जति सोचिस्, त्यो सबै मैले बुझेँ !’

अब कस्तो भावना उत्पन्न हुँदो हो हामीमा ! त्यो मान्छेसँग जीवनभर डर हुन्छ । अनि त्यो समयमा लाग्छ, यो डर अथवा भयको निकास भनेको मृत्युमात्रै हो । हाम्रा मनमा यस्ता यति धेरै भयावह कुराहरू हुन्छन् जसले निकासका लागि मृत्यु पर्खिएका हुन्छन् ।

यो भाइरस कसैलाई छुट्टी, कसैलाई व्यापार, कसैलाई लेख, कसैलाई साधना, कसैलाई क्रिडा, कसैलाई विज्ञापन, कसैलाई के, कसैलाई के गरेर सबैको मनोरथ पूरा गर्ने माध्यम भएर पो आएछ ।

यसरी हामीलाई मृत्युसँग भन्दा पनि बढी जीवनसँग डर हुन्छ । जीवनसँग पाइला-पाइलामा डराउनु पर्छ । मृत्यु कहर होइन, जीवन कहर हो । चार आर्य-सत्यको पहिलो सत्य ‘दुःख’ नै जीवन हो । हामीलाई जीवनसँग डर भएर नै यति धेरै संग्रह गर्नुपर्ने अवस्था आएको हो । फ्याट्टै नमरिने । मर्ने नै हुँदा किन यति धेरै संग्रह गर्नु पथ्र्यो र ! मर्न त सजिलै हुन्थ्यो होला तर नमरुञ्जेल बाँच्न कति कष्ट छ त्यो हामी सबैलाई थाहा छ । यो नै जीवनको भय हो ।

भान्जाको अर्तीलाई कार्यरूप दिनु पर्‍यो भनेर समाचारमा लागेँ । समय र मानस दुवैको नास गर्ने ठहर गरेर केही वर्ष यता फेसबुक कार्यक्रम बन्द गरेको छु । त्यसको ‘म्यासेन्जर’ मा चाहिँ धेरै सम्पर्क भएको हुनाले त्यसलाई राखेको छु ।

फेसबुक चलाउँदा प्रायः सबै पत्रपत्रिका हेर्न मिल्थ्यो । त्यसमा अझ तात्तातो प्रतिक्रिया सहितको सामग्री हेर्न मिल्थ्यो । अहिले समाचार हेर्न धाएरै जानुपर्छ पत्रिकाको वेबसाइटमा । ठिकै छ, खोलो होइन तिर्खा धाउँछ भन्ने उखान छ । समाचार मलाई चाहिएको, मैले नै खोज्नु पर्‍यो ।

समाचारसँग लय बिग्रिएछ । उस बेलामा भए समाचार हेर्दा मजा आउँथ्यो, अहिले समाचारले पोल्न थालेछ । मलाई लाग्थ्यो कोरोनाको आक्रमणले मानवता संगठित हुनेछ । अब लाग्न थाल्यो, यसले मानवता निल्नेछ र मान्छे स्वरूपको भावनाशून्य छालाको झोला बाँकी राख्नेछ । यस्तो छालाको झोलाभित्र सारा ब्रह्माण्ड हाले पनि भरिनेछैन ।

संसारभरिका सबै सरकार गलेका बेलामा नेपाल सरकार चाहिँ बिजुली चम्केजस्तो प्रभावकारी भएन रे भन्ने गुनासाको लागेको छ ! एक छिन समाचारको त्रयी (वाद-प्रतिवाद-संवाद) ले मानसमा अखडा जमायो । कोरोनाको समाचार हेर्दा हेर्दै मानस समाचारले संक्रमित भएछ, कोरोनाको उपचार गर्दा गर्दै डाक्टर संक्रमित भएजस्तो ।

सारा संसार आक्रान्त छ । बन्द छ । समाचार हेरेँ । मन्त्रीले मन्त्र चलाएछन् । सभ्य भाकामा गाली गर्न मन लाग्यो, ‘यसै ठाडै भ्रष्टाचार गरे भन्न मिल्दैन तर भ्रष्टाचार गरेको आरोप लगाउन सक्ने ठाउँ प्रशस्त देखिन्छ ।’ हुँदा हुँदा अर्को समाचार चाहिँ वास्तै गर्न मन लागेन । किनभने, ज्वरो नाप्ने यन्त्रमा जाबो १० र १५ लाखका लागि तस्करीमा सारा संयन्त्र खर्च गर्न सक्छ, अर्बौमा चाहिँ किन कुनै संयन्त्र खर्च हुँदैन ?

फेरि, यी दुवै प्रकरणबाट लाभ लिने व्यक्ति यति ढुक्क छन् मानौँ उनीहरूलाई कोरोना भाइरसले छुँदैन । त्यति मात्रै होइन, यिनीहरू कहिल्यै मर्दैनन् । तरकारी बेच्ने र किराना पसलमा मात्रै भ्रष्टाचार देख्ने आँखाको के कुरा गर्नु र ! अरू तर्क-वितर्कका अर्ती उस्तै छन् ।

संसारभरिका सबै सरकार गलेका बेलामा नेपाल सरकार चाहिँ बिजुली चम्केजस्तो प्रभावकारी भएन रे भन्ने गुनासाको लागेको छ ! एक छिन समाचारको त्रयी (वाद-प्रतिवाद-संवाद) ले मानसमा अखडा जमायो । कोरोनाको समाचार हेर्दा हेर्दै मानस समाचारले संक्रमित भएछ, कोरोनाको उपचार गर्दा गर्दै डाक्टर संक्रमित भएजस्तो ।

यो भाइरस कसैलाई छुट्टी, कसैलाई व्यापार, कसैलाई लेख, कसैलाई साधना, कसैलाई क्रिडा, कसैलाई विज्ञापन, कसैलाई के, कसैलाई के गरेर सबैको मनोरथ पूरा गर्ने माध्यम भएर पो आएछ ।

समग्रमा संसार अहिले क्रमभङ्गताको अवस्था छ । यसपछिको गति कता जाने हो त्यो हेर्न बाँकी छ तर जे हुनेछ, नयाँ नै हुनेछ ।

खै हाओ, भान्जा ! गाली र अर्ती केही पनि गर्ने ठाउँ देखिएन ! अघि नै भरिएको रहेछ ! (अष्ट्रेलियाबाट)

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४५ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले