निर्माणाधीन पोखरा विमास्थलमा कार्यरत चिनियाँ मजदुर बिरामी परेपछि काम प्रभावित | Khabarhub Khabarhub

निर्माणाधीन पोखरा विमास्थलमा कार्यरत चिनियाँ मजदुर बिरामी परेपछि काम प्रभावित



काठमाडौं– निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जना चिनियाँ कामदार बिरामी भएपछि काम प्रभावित भएको छ ।

बिरामी चिनियाँबारे व्यवस्थापनले सूचना लुकाएको भन्दै नेपाली कामदारले बिरोध गरेपछि निर्माणको ठेक्का पाएको चाइना सीएएमसी इन्जिनियरिङले भर्खरै चीनबाट आएका मजदुरहरुलाई आइसोलेसनमा राखेको छ ।

विमानस्थल निमार्णका लागि ७० जना भन्दा बढी चिनियाँहरु गत हप्तामात्र नेपाल भित्रिएका थिए ।

भित्रिनेमा ६२ जना चिनियाँ नयाँ कामदारहरु रहेपनि ९ जना बिदामा गएका मजदुरहरुपनि यही मार्च ४, ५ र ६ गते नेपाल आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा १ सय ९० भन्दा बढी चिनियाँ कामदारहरु कार्यरत रहेका छन् ।

शुरुमा उनीहरुलाई सोझै काम लगाएपनि नेपाली कामदारले बिरोध गरेपछि मात्र छुट्टै कपडा लगाई नयाँ स्थानमा राखिएको स्रोतले बतायो ।
आइसोलेसनमा राखिएको भनिएपनि उनीहरुले निर्वाधरुपमा बाहिर निस्कने तथा अन्यसंग भेटघाट गर्ने गरेका थिए ।

विमानस्थलमा कार्यरत नेपाली कामदारको बिरोध र सञ्चारमाध्यमहरुमा समाचारहरु सार्वजनिक भएपछि सोमबारबाट मात्र आइसोलेसनमा कडाई गरिएको छ ।

२ जना चिनियाँ ज्वरोका कारण बिरामी परेपछि विमानस्थल निमार्णमा काम गर्ने अन्य कामदारहरु त्रसित बनेका छन् ।

बिरामी परेका चिनियाँ नागरिकहरु चीनबाट आएको र नेपालमा कुनै परीक्षण नगरिएका कारण कोरोनाको संक्रमणपनि हुनसक्ने भन्दै नेपालीहरु डराएर काम गर्न छाडेका छन् ।

बिरामी हुने चिनियाँ मजदुरहरुमा बिमानस्थलको क्रेन अपरेटर र लोडर ड्राइभर रहेका छन् भने अन्य ७ जना चिनियाँ कामदारमा पनि सामन्य स्वास्थ्य समस्या देखिएको स्रोतको भनाइ छ ।

चिनियाँ कामदारहरु बिरामी पर्न थालेपछि नेपाली कामदारहरु भने बिदा बस्न थालेका छन् ।

चीनबाट नयाँ कामदार आएसंगै कोरोनाका डरले जागीर छाड्ने नेपालीपनि बढेका छन् । पछिल्लो दिनमात्र ७ जना भन्दा बढीले राजीनामा दिएका छन्, राजीनामा दिने अधिकांश टिपर ड्राइभर रहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने विमानस्थलका कार्यरत सबै चिनियाँको अवस्था सामान्य रहेको दाबी गरे ।

‘उनीहरु चीनमै क्वारेन्टाइनमा बसेर आएको बताएपनि हामीले उनीहरुलाई अलग्गै राखेका छौं’, प्रजिअ बुढाले खबरहबसँग भने,‘ कोरोना या त्यससँग सम्बन्धित कुनैपनि लक्षण वा आशंकाले होइन, सावधानीका लागि मात्र राखिएको हो । उनीहरुमा कोरोनाको कुनै लक्षण छैन ।’

कोरोनाको परीक्षण नगरिएको भन्दै नेपाली कामदार डराएपछि काम नै प्रधावित भएको छ । आयोजना स्थलमा सोमबारसम्म स्थानीय प्रशासनको पहुँच पुगेको थिएन ।

विमानस्थल निमार्णका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले चिनियाँ बिरामी परेको भन्ने हल्ला मात्र भएको बताए ।

‘सबै चीनको क्वारेन्टाइनमा बसेर हेल्थ सर्टिफिकेट लिएर आएका छन् । तरपनि उनीहरुलाई १० दिनका लागि कोठा बन्द गरेर क्वारेन्टाइम जसरी नै राखिएको छ’ मुनाकर्मीले खबरहबसँग भने,‘दिनको ३ पटक ज्वरो नाप लगाई स्वस्थ्य परीक्षण गरिएको छ । अहिलेसम्म केही समस्या देखिएको छैन ।’

कुनै समस्या देखिए अस्पताल भर्ना गर्ने उनले बताए ।

‘यदि समस्या देखिएमा हामीसँग प्रत्यक्ष समन्वयमा रहेका स्वास्थ्य निर्देशनालय र डब्लुएचओ सँगको सहकार्यमा तत्काल पोखरा अस्पताल भर्ना गर्छौं ’ उनले भने ।

मुनाकर्मीले सबै चिनियाँ स्वास्थ रहेको दाबी गरेपनि दुई जनामा भने ज्वरो देखिएको स्रोतको दाबी छ ।

गृहमन्त्रालयले चीनसहित पाँच देशका नागरिकलाई रोक लगाएको अघिल्लो दिन पोखरा बिमानस्थल निमार्णकालागि काम गर्ने चिनियाँहरु नेपाल भित्रिएका थिए ।

अध्यागमन स्रोतका अनुसार एक सय जनाभन्दा बढी पोखरा बिमानस्थलमा काम गर्ने चिनियाँहरु नेपाल भित्रिएका हुन् ।

उनीहरु नेपाल भित्रेको भोलिपल्टै गृह मन्त्रालयले मार्च ७ देखि मार्च ३१ सम्म लागू हुने गरी चीन, दक्षिण कोरिया, जापान, इरान र इटालीका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।

कोरानाभाइसको संक्रमण अन्य देशमा पनि बढेसंगै मार्च १० देखि यूरोपेली देशहरु फ्रान्स, जर्मन र स्पेनलाई पनि अर्को सूचना जारी नभएसम्म अनअराइभल भिसा बन्द गरिएको छ ।

नेपाल भित्रिने विदेशीले आफूमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गर्नुपर्ने समेत नियम लगाइएको छ । तर अध्यागमन र कास्की जिल्ला प्रशासनले उनीहरुको निरोगीताको प्रमाणपत्र हेरेको दाबी गरेपनि पोखरास्थित स्वास्थ्य संस्थानहरुले भने आफुहरुकोमा त्यस्तो प्रमाणपत्र आइनपुगेको बताए ।

सर्वोच्च अदालतले गत फागुन २९ गते कोरोना भाइरसको उद्गमस्थल चीनसहित भाइरसबाट उच्च संक्रमण रहेका देशहरुसंग रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

निर्माणाधीन पोखरा विमानस्थल । फाइल तस्वीर

पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि अधिकांस सामाग्री चीनबाटै ल्याइएको थियो भने अधिकांस कामदार पनि चिनियाँ नै छन् ।

२१ करोड ७० लाख डलर (२१ अर्ब ४७ करोड रुपैयाँ) लागत रहेको बिमानस्थल निमार्ण कार्य सन २०२१ जुलाइ १५ मा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।

चाइना सीएएमसी इन्जिनियरिङ र र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ८ जेठ, ०७१ मा ठेक्का सम्झौता भएको थियो भने सरकारले १० कात्तिक ०७१ मा सम्झौतालाई स्वीकृत गरेको थियो ।

विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

ऋणमा कुरा नमिलेपछि बिमानस्थल शिलन्यास भएको एक वर्षपछि मात्र सम्झौता भएको थियो । विमानस्थल निर्माणमा सबै चिनियाँ सीप र सामाग्री प्रयोग गर्ने सर्तमा चीनको एक्जिम बैंकले आयोजनाका लागि ऋण उपलब्ध गराएको थियो ।

विमानस्थलको लागत नेपालले सर्बेक्षण गरेको भन्दा निकै ठूलो र चिनियाँ ऋणका सर्तका कारण बिमानस्थल निमार्णको थालनीमा केही ढिलाई भएको थियो ।

विवाद लम्बिएपछि चिनियाँ पक्षले २५ प्रतिसत रकम अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो । चीनले कर्जाको २५ प्रतिसत नेपाललाई अनुदान दिने र विमानस्थल संचालन भएपछि मात्र ऋण तिर्न शुरु गर्ने सम्झौता भएको थियो ।

अनुदानको २५ प्रतिशत बाहेकको रकम नेपालले वार्षिक दुई प्रतिशत व्याज तिनुपर्ने व्यबस्था छ । नेपालले चिनियाँ बैंकलाई २० वर्षको अवधिमा ऋण चुक्ता गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । बिमानस्थल संचालन भएपछि नेपालल वर्षको दुई किस्ता ऋण भुक्तानी गर्दै जानु पर्नेछ ।

सम्झौतामा पूर्ण संचालनमा आएपछिपनि पोखरा विमानस्थलको आम्दानीले ऋण भुक्तानी गर्न असमर्थ भएमा नागरिक उड्ययन प्राधिकरणले अपुग रकम राख्नु पर्नेछ व्यवस्था छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ५६ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,