थारु महिलाको जितिया पर्व : न त झम्टा नाँच न त बदहा गीत « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

थारु महिलाको जितिया पर्व : न त झम्टा नाँच न त बदहा गीत



फाइल तस्वीर

नवलपुर- थारु समुदायका महिलाहरुको विशेष पर्व जितिया यो वर्ष खल्लो भएको छ । जितिया पर्वमा थारु समुदायका महिलाहरू निराहार व्रत बस्छन भने सामुहिक रुपमा झाम्टा नाच नाच्दै रमाइलो गर्ने गर्दछन् ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको त्रासदीका कारण सांस्कृतिक चाडपर्वसमेत सामुहिक रुपमा मनाउन सरकारले नै रोक लगाएपछि जितिया पर्व ओझेलमा परेको छ । हिन्दु महिलाहरुले मनाउने तीज पर्वजस्तै थारु महिलाहरुको जितिया पर्वलाई यो समुदायले कठोर ब्रतका रुपमा पनि लिने गर्दछन् ।

चितवनदेखि रुपन्देहीसम्म र पूर्वमा जिल्लाहरु विशेष रुपमा मनाइने जितिया पर्वको विशेषता ठाउँ अनुसार फरक फरक रहेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार गणेशमान महतो बताउँछन् । तर चितवन र नवलपुरपूर्व र पश्चिममा भने अरु भन्दा फरक किसिमको झम्टा नाँच नाँच्ने प्रचलन रहेको महतो बताउँछन् ।

जितिया पर्वको महत्व

नेपाली हिन्दु नारीहरुको चाड तीजपछि आउने आइतबार (अर्थात बड्की आइतबार) का दिन सूर्यको उपासना गरी अववार पावन मनाउने गर्दछन् भने भाद्र कृष्ण अष्टमीका दिनलाई थारु महिलारु जितिया पर्वका रुपमा मनाउने गर्दछन् । थारु समुदायको विशेष चाजका रुपमा मनाइने जितिया पर्व तीन दिन सम्म मनाउने गरिन्छ । महिलाहरु कठोर ब्रत बस्ने जितिया पर्वको ब्रतलाई महालक्ष्मी ब्रत पनि भन्ने गरिएको थारु अगुवा महतो बताउँछन् ।

तीन दिनसम्म मनाइने जितिया पर्वको पहिलो दिनलाई मछुवारी (लहा खैना) दिन भनिन्छ । यो दिन सबेरै नदि ताल तलैया लगायतका जलासयमा गई स्थान गरेर चोखोनिष्ठ हुने चलन छ । बेलुका गाउँका दिदीबहिनी जम्मा भएर चिच्चर दर माछाको दर अर्थात थारु भाषामा डटकट खाने चलन छ ।

जितिया पर्वको दोस्रो दिन थारु महिलाको विशेष दिन हो । जुन दिन सबैरै गाउँटोलका सबै दिदीबहिनीहरु जम्मा भई जलाशयमा गई नुहाउने गर्दछन् र दिनभर कठोर ब्रत बस्ने गर्दछन् । दिनभर सामुहिक रुपमा जम्मा भएर गोलै घेरा हालेर चितवन, नवपरासी आसपासका थारु महिलाहरु घर घरमा गएर झाम्टा नाँच नाँच्ने गर्दछन् । जितिया पर्वमा महिलाहरु जितबाहनको ब्रत बस्ने प्रचलन रहेको मोर्चाका नेता महतो बताउँछन् ।

सुखदुखका कुरा, पौराणिक तथा मौलिक विषय समेटिएका गीत गाउदै निराहार व्रत बस्ने चलन रहेको छ भने बेलुका गाउका सबै ब्रतालु एकठाउमा जम्मा भएर कथा सुन्ने गर्दछन् ।

झम्टा गीतपछि कथा सुनाउन आग्रह गर्दै बदहा गीत गाउने चलन छ । जितियाको ब्रत कथा स्याल र चीललाई असत्य र सत्यको रुपमा उल्लेख भएको रहेको थारु संस्कृतिविद्हरु बताउँछन् ।

तेस्रो अर्थात अन्तिम दिन पारन करनाका रुपमा थारु महिलाहरु मनाउने गर्दछन् । ब्रतालु महिलाहरु पूजाका सामाग्री लिएर जलाशयमा जाने र नुहाइ सकेपछि अघिल्लो दिन भिजाएको जाकुरी र पानीबाट पारन गर्दछन । विधिपूर्वक पारन गरेपछि फलहार गरि जितिया पर्वको व्रत समाप्त गर्ने गर्दछन् । अन्तिम दिन दहि, चिउरा र केरा मिलाएर पारन खाने चलन छ ।

जितिया पर्व सत्य र असत्यसँग जोडिएको जितबाहनकथा जस्तै पराक्रमी पुत्र होस् भन्ने कामना गर्दै महिलाहरु कठोर व्रत बस्ने गरेको महतो बताउँछन् ।

सुनसान बन्यो थारु बस्ती

कोरोना संक्रमणका कारण सरकारले नै सामुहिक रुपमा जम्मा भएर पर्व मनाउन रोक लगाएपछि थारु समुदायका संघ संस्थाहरुले पनि सामान्य तरिकाले घरघरमै सीमित रहेर पर्व मनाउन अपिल गरे ।

सामुहिक रुपमा मनाइने पर्व भेला जमघट हुन रोक लगाएपछि एक साताअघिदेखि नै हुने रमझम यो वर्ष सुनसान बन्न पुगेको छ । विगतका वर्षहरुमा भब्य रुपमा मनाइने जितिया पर्व यो वर्ष कोरोनाको त्रासदीले सुनसान बन्न पुगेको थारु पत्रकार चन्द्रा महतोले बताइन् ।


भर्खर

0