कोरोना भाइरस महामारी : तथ्याङ्कको पारदर्शीतामा गम्भीर प्रश्‍न | Khabarhub Khabarhub

कोरोना भाइरस महामारी : तथ्याङ्कको पारदर्शीतामा गम्भीर प्रश्‍न

चिनियाँ नागरिकले नै पत्याउन छाडे सरकारी तथ्याङ्क



चीनबाट हरेक दिन कोरोना भाइरस महामारीका कारण मृत्यु हुने तथा यसबाट संक्रमित मानिसहरुको सङ्ख्याको अपडेट आउने गरेको छ । यही सङ्ख्यालाई पत्याएर विश्वभरका सञ्चारमाध्यमले समाचार पनि प्रकाशन/प्रसारण गर्ने गरेका छन् । यतिबेला भने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गर्ने यो तथ्याङ्कलाई लिएर भने आशंका उब्जिन थालेको छ ।

कोरोना भाइरसको महामारीग्रस्त चीनको वुहान शहरमा भाइरस नियन्त्रणका लागि औषधी छर्किँदै स्वास्थ्यकर्मी

पछिल्लो ‘आधिकारिक’ तथ्याङ्कअनुसार चीनमा हाल (समाचार तयार पार्दा)सम्म कोरोना भाइरसबाट ९ सय १० जनाको मृत्यु भइसकेको छ भने अरु ४० हजार १ सय ७१ जना यसबाट संक्रमित छन् । यो सङ्ख्या चीनमा सन् २००३ मा फैलिएको सार्स भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ७४ भन्दा बढि हो ।

तर, विगतमा पनि चीनले स्वास्थ्य संकटका बेला जारी गर्ने यस्ता तथ्याङ्कको पारदर्शीतालाई लिएर प्रश्न उठ्दै आएका छन् । विगतमाजस्तै यो तथ्याङ्कको पारदर्शीता पनि शंकाको घेराभन्दा बाहिर छैन ।

अभिव्यक्ति स्वतन्त्रताको मामिलामा निकै अनुदार मानिने चीनमा त्यहिँका जनताले पनि सरकारी तथ्याङ्कलाई लिएर प्रश्न उठाउन थालेका छन् । हालै चीनको सबैभन्दा ठूलो अनलाइन समाचार प्रकाशन गर्ने टेनसेन्ट नामक प्राविधिक कम्पनीले ‘महामारीको अवस्था निगरानी’ नामक पृष्ठमा गत फेब्रुअरी १ का दिन कोरोना भाइरसबाट मृत्यु भएका र संक्रमितहरुको सङ्ख्या एकाएक बढाएर सार्वजनिक गरेको थियो ।

टेनसेन्टको तथ्यांक

साइटले त्यस दिन अपडेट गरेअनुसार अनुसार फेब्रुअरी १ का दिनसम्म कोरोना भाइरसबाट २४ हजार ५ सय ८९ जनाको मृत्यु भएको थियो भने संक्रमितको सङ्ख्या १ लाख ५४ हजार २३ पुगेको देखाइएको थियो । यद्यपि कुनै पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्वतन्त्रतापूर्वक स्क्रिनसटको विश्वसनियता पुष्टि गर्न सकेका छैनन् । पछि टेनसेन्टले उक्त सङ्ख्या हटाएर चीनको राष्ट्रिय स्वास्थ्य आयोगकै ‘आधिकारिक’ तथ्याङ्कमा आधारित सङ्ख्या सार्वजनिक गरेको थियो ।

यो सङ्ख्या चीनले त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी २ का दिन जारी गरेको मृतकको सङ्ख्या ३ सय ४ भन्दा १० गुणाभन्दा बढी र १४ हजार ४ सय ४६ जना संक्रमितको भन्दा करिब ८० गुण बढि हो । सोही सङ्ख्या देखाइएको स्क्रिनसट तस्बीर अभिव्यक्ति स्वतन्त्रताको मामिलामा निकै अनुदार चिनियाँ सामाजिक सञ्जालमा एकाएक भाइरल भइरहेको छ । धेरैले यही तथ्याङ्क सरकारी आधिकारिक सङ्ख्या भएको विश्वास गर्न थालेका छन् ।

सुनसान बेइजिङ शहर

ताइवानबाट प्रकाशित हुने ताइवान न्यूजले लेखेको छ, ‘टेनसेन्टले… असावधानिवस मृतक र संक्रमितको वास्तविक सङ्ख्या सार्वजनिक गरेजस्तो देखिन्छ, जुन आधिकारिक सङ्ख्याभन्दा धेरै नै बढि छ ।’ हिरोकी लो नाम गरेका एकजना ताइवानीलाई उद्धृत गर्दै ताइवान न्यूजले अगाडि लेखेको छ, ‘आफ्नो काममा व्यस्त भएकाले शुरुमा मैले यो सङ्ख्याको वास्तविकताबारे त ख्याल गरिन तर यो तथ्याङ्क डरलाग्दो थियो ।’ उनका अनुसार घर पुगेपछि हेर्दा भने टेनसेन्टले सार्वजनिक गरेको सङ्ख्या नाटकीय रुपमा तल झरेको थियो । ‘त्यसपछि मलाई केही गडबड भएजस्तो लाग्न थालेको हो ।’

केही समाचारमा वुहान महानगरमा अधिकारीहरुले कोरोना भाइरसका कारण मृत्यु भएकालाई मृतकको आधिकारिक सूचीमा दर्ता नै नगरी अन्तिम संस्कार गर्न लगाइएको समेत उल्लेख छ । स्वास्थ संकटका बेला चीनले जारी गर्ने तथ्याङ्कलाई लिएर शंका उठेको यो पहिलो पटक भने होइन ।

सुनसान वुहान शहरको सडकमा मोटरसाइकल गुडाउँदै एक व्यक्ति

यसअघि सन् २००३ मा चीनमा सार्स भाइरसको महामारी फैलिएका बेला सार्वजनिक गरिएका तथ्याङ्कको पारदर्शीतालाई लिएर समेत प्रश्न उठेको थियो ।

वालस्ट्रिट जर्नलले पनि कोरोना भाइरसबारे चीनबाट प्रकाशित तथ्याङ्कमा शंकाको गन्ध आएको उल्लेख गरेको छ । केही समयअघि समाचार प्रसारणका क्रममा वुहान महानगरका मेयर झोउ सियानवाङले भाइरस महामारीको सूचना प्रकाशित गर्दा चीनको कम्युनिस्ट सरकारको अनुमति चाहिने बताएका थिए । ‘स्थानीय सरकारका अधिकारी भएकाले मसँग यस्ता सूचना त छन्, तर सूचना प्रकाशित गर्नुअघि मलाई अनुमति चाहिन्छ,’ उनको भनाइ थियो । महामारीग्रस्त महानगरका मेयरको यस्तो भनाइले महामारीबारे सार्वजनिक तथ्याङ्कको पारदर्शीतामा प्रश्न उठेको वालस्ट्रिट जर्नलमा गत साता प्रकाशित समाचारमा उल्लेख छ ।

चीनको राजधानी बेइजिङमा सुनसान व्यापारिक केन्द्रमा सामान किनेर फर्किदै गरेकी एक महिला

त्यस्तै, राजधानी बेइजिङमा आधारित काइजिङ नामक स्वतन्त्र अखबारले ‘चीनको कम्युनिस्ट पार्टीले कोरोना भाइरस महामारीको अवस्थालाई कम आँकेको’ दाबी गरेको छ । अखबारमा छापिएको समाचार अनुसार भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित वुहान महानगरका अधिकारीले कोरोना भाइरसबाट मारिएका तथा संक्रमितहरुको सङ्ख्यालाई वास्तविक रुपमा दर्ता नगरेको र वास्तविक तथ्याङ्कलाई सेन्सर गरिएको उल्लेख छ ।

उसैपनि चीनमा सूचना र सञ्चारको माध्यम सरकारको नियन्त्रणमा छ । केन्द्र सरकारको निर्देशनबमोजिम सञ्चारका माध्यममा प्रसारित महामारीविरुद्ध जारी प्रयास र प्राप्त सफलताका विषयबारेका सामग्रीलाई पनि चिनियाँहरुले शंकाको दृष्टिले हेर्न थालेका समाचार आउन थालेका छन् ।

वुहान शहरको रेलस्टेशनमा इन्फ्रारेड थर्ममिटरबाट जाँच गर्दै स्वास्थ्यकर्मी

तथ्याङ्कको पारदर्शीता मात्र नभइ महामारी व्यवस्थापन र भाइरसको रोकथाम गर्नका लागि चिनियाँ प्रशासनको अभियानलाई लिएर समेत चीन चारैतिरबाट आलोचित छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै चिनियाँ प्रशासनले महामारीग्रस्त वुहान महानगरलगायत हुबेइ प्रान्तका केही शहर ठप्प पारेको छ, यात्रा प्रतिबन्ध लगाएको छ । मानिसहरु घरबाहिर निस्कन पाएका छैनन्, १ करोड १० लाख जनसङ्ख्या भएको वुहान महानगरका बासिन्दाहरु कारागारका कैदीजसरी जीवन विताउन बाध्य रहेका समाचारहरु आइरहेका छन् । समाचारहरुमा जनाइएअनुसार मानिसहरुको दैनिकी प्रभावित भएको छ भने सामान्य मानवीय स्वतन्त्रता समेत कुण्ठित छ ।

अभिव्यक्ति स्वतन्त्रताका विषयमा निकै नै अनुदार मानने चीनबाट मूलधारका सामाजिक सञ्जालमा चुहिएका भिडियोहरुमा मानिसहरु बेदना पोखिरहेका देख्न सकिन्छ, पानीको अभाव छ, खानेकुरा पर्याप्त छैन । सडक, बजार, यातायात सबै बन्द छन् । त्यसमाथि कोरोना भाइरसबाट बच्न चाहिने मास्क पनि पर्याप्त छैनन् ।

संक्रमितको उपचार गर्दै चिकित्सकहरु

केही दिनअघिमात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसविरुद्ध ‘जनयुद्ध’ घोषणा गरेका थिए । वुहानबाट खिचिएका तस्वीर र भिडियो हेर्दा यस्तो लाग्छ कि त्यहाँको अवस्था कुनै भयावह युद्ध भइरहेको क्षेत्रभन्दा कम छैन । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै चीन सरकारले चालेको कदमका कारण वुहान शहर ‘गोस्ट टाउन’ अर्थात् भुतनगरमा परिणत भएको छ ।

कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिएका कारण ‘हल्ला फैलाएको आरोपमा’ पक्राउ परेका नेत्ररोग विशेषज्ञ ३४ वर्षे डा. ली वेनलियाङको कोरोना भाइरसकै कारण निधन भएसँगै चिनियाँको वितृष्णा आक्रोशमा परिणत भएको छ । यही आक्रोशमाझ चिनियाँहरुले सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति स्वतन्त्रताको माग गर्न थालेका छन् ।

डा. वेनलियाङको भनाइ कोट गरिएको विच्याट स्क्रिनसट

डा. वेनलियाङको मृत्युलगत्तै चिनियाँ सामाजिक सञ्जालमा ‘हामी अभिव्यक्ति स्वतन्त्रता चाहन्छौं’ ट्रेण्डिङमा आएको थियो । सामाजिक सञ्जालमा चलेको केही समयमा नै यो ट्रेण्डलाई हटाइयो । त्यसपछि ‘हामी अभिव्यक्ति स्वतन्त्रताको माग गर्छौं ।’ भन्ने ट्रेण्ड चल्यो । सत्तारुढ कम्युनिस्ट पार्टीको सरकारले अरुबेलाजस्तै यसपटक पनि त्यो ट्रेण्डलाई पनि सामाजिक सञ्जालबाट हटायो । व्यापक सेन्सरसीपका बावजुद चिनियाँ सामाजिक सञ्जालमा सन् १९८९ मा तियानमेन चोकमा भएको प्रदर्शनका तस्बीरहरु समेत भाइरल भइरहेका छन् । चिनियाँ सामाजिक सञ्जालमा सामूहिक आक्रोश निकै दुर्लभ मानिन्छ ।

फूल तथा अगरबत्ती अर्पण गरिएको मृतक डाक्टरको तस्बीर

वुहानबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका समाचारमा स्वास्थ्यकर्मीले संक्रमितको उपचार नगरेका कारण अस्पतालबाहिर नै मानिसहरुको ज्यान गएको समेत उल्लेख छ । वुहानबाट एकजना स्वास्थ्यकर्मीले सार्वजनिक गरेको भिडियोमा अस्पतालमा समेत खानेकुरा, खानेपानी र मास्कको अभाव रहेको देखाइएको छ ।

चिनियाँ कम्युनिस्ट सरकारको कठोर कदमपछि पनि कोरोना भाइरसको महामारी रोकिने अवस्थामा छैन । चीनले जारी गर्ने आधिकारिक तथ्याङ्ककै भर पर्दा पनि कोरोना भाइरसबाट संक्रमित र मृतकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । कति दिनसम्म मानिसहरु बाहिर ननिस्की घरभित्रै कैदीजसरी जीवन बिताउनुपर्ने हो, ठेगान छैन । यस्तो अवस्थामा कोरोना भाइरसको नियन्त्रणका लागि मानिसहरुको जनजीवन नै प्रभावित हुनेगरी पूरै शहर नै ठप्प पार्ने चीन सरकारको निर्णयको प्रभावकारीतामा समेत प्रश्न उठ्न थालेको छ ।

‘अलविदा डा. ली वेनलियाङ’

तर, वुहान शहरको अवस्था बाहिर आएजस्तो नभइ सामान्य रहेको चीनको दाबी छ । केही समयअघिमात्रै नेपालका लागि चिनियाँ राजदूत होउ वाङ्चीले वुहानमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएकी थिइन् । तर, त्यहाँ रहेका नेपालीहरु विच्याटमा कुरा गर्दा भने शहरको अवस्था भयावह रहेको र आफूहरु मात्र नभई शहरका अन्य वासिन्दाहरु समेत असुरक्षित रहेको बताउँछन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : २० बजे

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका