काठमाडौँमा जताततै ‘टु लेट’ | Khabarhub Khabarhub

काठमाडौँमा जताततै ‘टु लेट’

ठमेलमा मात्रै ७ सय व्यवसायी विस्थापित



काठमाडौँ- कोरोना भाइरसको नियन्त्रणका लागि गर्नु परेको लामो लकडाउनका कारण काठमाडौँ उपत्यकामा व्यावसायिक प्रयोजनका सटरहरू खाली हुन थालेका छन् ।

करिब चार महिना लामो लकडाउन र हाल जारी निषेधाज्ञाका कारण व्यवसायमा गम्भीर असर परेको छ । कतिपय व्यवसायीले सटरको भाडा तिर्न नसकेका कारण उपत्यकामा धेरैतिर सटर खाली भएका सूचना टाँसिएका छन् । अंग्रेजीमा ‘टु लेट’ लेखिएका बन्द सटरहरू जताततै देखिन थालेका छन् ।

असान, इन्द्रचोक, महाबौद्ध, न्युरोड, ठमेल बानेश्वर, चावहिल जस्ता काठमाडौँको मुख्य व्यापारिक केन्द्रहरूमा सटरहरू खाली हुन थालेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुपर्नेमा बजारबाट व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ । यो समयमा किनमेलका लागि भीडभाड सुरु भइसकेको हुन्थ्यो । यस वर्ष सबै क्षेत्र सुनसान छन् । सडकमा अत्यावश्यक सवारीसाधनमात्रै चलेका छन् भने मानिसको आवतजावत पनि पातलो छ ।

ठाउँअनुसार १० हजार रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म भाडा तिर्ने धेरै व्यापारीहरू घरभाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

असनका कपडा व्यापारी महेश गुप्ता भन्छन्, ‘कमाइ हुने सिजन सुरू भयो तर, कोरोनाले व्यवसाय खोल्न सक्ने अवस्था छैन, पाँच महिना भइसक्यो सटरको भाडा तिर्न सकेको छैन ।’

न्युरोडको विशालबजार र अन्य क्षेत्रका कतिपय सुन पसलहरू बिक्रीका लागि सूचना टासिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘बजार अहिले ठप्प छ, मूल्य निरन्तर उकालो लागेकाले खुलेको दुई महिनामा पनि खासै कारोबार भएन,’ महासंघका पूर्वअध्यक्ष रेजरत्न शाक्यले खबरहसँग भने, ‘छ महिनादेखि सटरको भाडा तिर्न सक्ने अवस्था छैन, धेरै व्यवसायीहरूले पसल बिक्रीमा भन्दै सूचना टाँसेका छन् ।’

७ सय व्यवसायीले छोडे ठमेल

कोरोना भाइरसले ल्याएको मन्दीका कारण काठमाडौँमा व्यावसायिक प्रयोजनका धेरै सटरहरू खाली हुने क्षेत्रमध्ये ठमेल पनि पर्छ ।

गत वर्षको फागुन ३० गते अन्तर्राष्ट्रिय उडानमा रोक लगाएसँगै पर्यटकको आवतजावतमा ठप्प भयो । चैत १२ गतेदेखि पनि देश लकडाउन भएपछि व्यवसाय बन्द भयो ।

ठमेलमा पर्यटनसँग सम्बद्ध होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, हस्तकलाका सानाठूला गरी १० हजारभन्दा बढी व्यवसायीहरू रहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले खबरहबसँग भने, ‘ठमेलमा व्यवसायी मात्र नभई घरधनी पनि पर्यकटीय क्षेत्रमै काम गरिरहनु भएकाले घरभाडा समायोजना पनि गरिएको छ ।’

उनकाअनुसार लकडाउनकै समयमा ठमेलका घरधनीले व्यवसायीहरू विस्थापित हुनबाट जोगाउन ५० प्रतिशत घरभाडा छुट दिने र समायोजना गर्ने निर्णय भएको थियो । सोहीअनुरूप कतिपय घरधनीले भाडा छुट पनि दिएका छन् ।

समायोजना गरेकै भाडा पनि तिर्न नसक्ने अवस्थामा पुगेपछि अहिले ठमेलका करिब सात सय व्यवसायीहरू सटर खाली गराएर हिँडेको उनले बताए ।

‘ठमेलमा मासिक १५ हजारदेखि ४५ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यापारीहरू रहेको उपाध्यक्ष शर्माको भनाइ छ । उनले भने, ‘ठमेलमा सरदर एउटा व्यवसायीको भागमा मासिक ८० हजार भाडा पर्न जान्छ, १० हजार व्यवसायीले एक महिनामा ४० करोड रुपैयाँ घरधनीलाई बुझाउँछन् ।’

भाडा महँगो भएकै कारण समायोजन गरेको भाडासमेत तिर्न व्यवसायीलाई कठिन भएकाले र कतिपयले भाडा समायोजना नगरेका कारण व्यवसायीहरूले ठमेल छोडेको उनको बुझाइ छ ।

उनले भने, ‘व्यवसाय गर्न ठमेल नभए पनि हुने वा जरुरी नदेखिएकाहरू कतिपयले घरम अफिस सारेको अवस्था पनि छ, त्यस्ता व्यवसायीहरू ठमेलबाट विस्थापित भएका छन् ।’

विस्थापित हुनेमा धेरैजसो बढी ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी, ससाना व्यापार गरिरहेका व्यवसायीहरू छन् ।

आन्दोलनको चेतावनी

उनले नेपाल विद्युत प्रधिकरणले डिमाण्ड शुल्क पनि मिनाहा गर्नुपर्ने आफुहरुको माग रहेको बताए । पर्यटन व्यवसायीले १ युनिट विद्युत पनि प्रयोग नगरी लाखौं रुपैयाँ डिमाण्ड शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले यसमा सम्बन्धित निकायले यथासिघ्र समायोजना गर्नुपर्ने बताए ।

‘हामी पर्यटन व्यवसायीले एक युनिट विद्युत प्रयोग नगरे पनि लाखौं रुपैयाँ शुल्क तिर्दै आएका छौं । पर्यटन क्षेत्रबाट १ युनिट प्रयोग नगरेरै प्रति युनिट मासिक ३२ लाख रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । यो शुल्क ५० प्रतिशतसम्म छुट हुनुपर्छ,’ उनले भने ।

उनले आफुहरुका माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए । पर्यटन व्यवसायीहरुले उर्जा मन्त्रालयमा पनि अल्टिमेटम बुझाइसकेकोले माग पुरा हुनेमा विश्वस्त भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : २२ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ नेम्वाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक