के गर्दैछन् काठमाडौंका नगरपालिकाहरू ? | Khabarhub Khabarhub

के गर्दैछन् काठमाडौंका नगरपालिकाहरू ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौं जिल्लाका नगरपालिकाहरू आआफ्नै ढंगले सक्रिय छन् ।

काठमाडौंमा काठमाडौं महानगरसहित ताकेश्वर, नागार्जुन, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली गरी दशवटा नगरपालिका छन् ।

के गर्दैछन् त यी नगरपालिकाहरू ? नगरपालिकाहरू आआफ्नो क्षेत्रमा भाइरसविरुद्ध डिसइन्फेक्ट स्प्रे छर्किरहेका छन् । नगरपालिकामा क्वारेन्टाइन स्थल व्यवस्था गरेका छन् ।

नगरपालिकाहरू विपन्न तथा दैनिक ज्याला मजदुरीबाट पेट पाल्नेहरूको तथ्यांक संकलन गरिरहेका छन् । कतिपय नगरपालिकाले संकलन गरिएका तथ्यांकको आधारमा राहत वितरण गर्न थालेका छन् ।

तारकेश्वर नगरपालिकाले ११ वटै वडामा स्वास्थ्य शाखाहरू पूर्णरूपले सञ्चालन गरेको जनाएको छ । स्वास्थ्यकर्मीहरूका लागि आवश्यक पीपीई नगरले बनाएर उपलब्ध गराएको नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिए ।

बोहराका अनुसार अहिले ताकेश्वर नगरले १३ बेडको क्वारेन्टाइन बनाएको छ । यसलाई २५ बेडसम्म विस्तार गर्ने तयारी छ ।

‘भाइरसबाट बच्न कीटनाशक औषधि छर्किरहेका छौँ’ उनले भने, ‘ज्याला मजदुरी गर्नेहरूको तथ्यांक संकलन गरिरहेका छौँ, बुधबारबाट राहतमा खाद्यन्न सामग्री वितरण गर्ने तयारीमा छौँ ।’

नागार्जुन नगरपालिकाले समयमै स्वास्थ्य सामग्री खरिद गरेकाले अहिले अभाव नभएको बताएको छ । फिल्डमा खटिएका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सबैलाई लकडाउन हुनुअगावै स्वास्थ्य सामग्री वितरण गरिएको नगर प्रमुखले बताए ।

गोकर्णेश्वर नगरपालिकाले हटलाइनमार्फत नगरबासीका समस्याहरू सुनिरहेको नगर प्रमुख सन्तोष चालिसेले खबरहबलाई बताए ।

बूढानीलकण्ठ नगरपालिकाले १३ वटा वडामध्ये ७ स्थानमा हेल्थ डेस्क सञ्चालन गरेको छ । नगरप्रमुख उद्धवप्रसाद खरेलले नगर क्षेत्रमा डिसइन्फेक्सन स्प्रे गरिरहेको बताए । उनका अनुसार लकडाउन प्रभावकारी बनाउन पनि नगरपालिकाले काम गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका नगरभित्रका ज्याला मजदुरहरूको तथ्यांक संकलन गर्दैछ । एक सातादेखि मजदुरको तथ्यांक संकलनको काम भइरहेको जानकारी दिँदै नगरप्रमुख खरेलले भने, ‘लगभग १० हजार मानिसलाई राहत दिनुपर्ने देखिन्छ, भोलिबाट राहत वितरण गर्ने तयारीमा जुटेका छौँ ।’

दक्षिणकाली नगरपालिकाले ५ बेडको क्वारेन्टाइन व्यवस्था गरेको जनाएको छ । यस नगरभित्र ९ वटा वडा छन् । राजधानी प्रवेश गर्ने नाका पनि भएकाले नगरले फर्पिङको बसपार्कमा हेल्थ डेक्स सञ्चालन गरेको नगरप्रमुख मोहन बस्नेतले बताए ।

‘सेना, प्रहरी र स्वास्थ्यकर्मीहरू राजधानी प्रवेश गर्नेको स्वास्थ्य अवस्था परीक्षण गरिरहेका छन्’ बस्नेतले भने, ‘एक साताअघिबाट रासन बाँडिएको छ ।’

कागेश्वरी मनोहरा नगरपालिकाभित्र विदेशबाट आएका ५६ जना घरमा सुरक्षितरूपमा बसेको प्रमुख कृष्णहरि थापाले जानकारी दिए । उनका अनुसार नगरले ९ वटा वडामा ५ वटा स्वास्थ्य केन्द्र, ३ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ, ६० बेडको क्वारेन्टाइन तयार छ । उनले राहत वितरणको काम पनि भइरहेको बताए ।

‘२० गते राहत वितरणको काम सुरु गरेका छौँ, २०७५ मा नगरले लिएको तथ्यांकका आधारमा कुपन बाड्यौँ,’ थापाले खबरहबसँग भने, ‘कुपनमार्फत पहिलो चरणको राहत घर-घरमा पुगिसकेको छ ।’ अहिलेसम्म ७० लाख रुपैयाँको राहत वितरण गरेको उनले बताए ।

टोखा नगरपालिकामा ३८ बेडको क्वारेन्टाइन तयार छ । टोखा नगरपालिकाका वडाहरूले राहत वितरण गरिरहेको उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् ।

‘हिजो ५ नम्बर वडाले १५० जनालाई राहत वितरण गर्‍यो,’ उनले भनिन्, ‘आज ११ नम्बर र ६ नम्बर वडाले राहत वितरण गर्दैछन् ।’

नगरले करिब १५ दिनलाई पुग्ने राहत दिएको उनले बताइन् । त्यसका लागि १ करोड रुपैयाँ खर्च भएको छ ।

शंखरापुर नगरपालिकाले विदेशबाट आएका र राहत चाहिने विपन्नहरूको खोजीमा जोड दिएको छ । ‘जनप्रतिनिधिहरू आफैँ टोल-टोलमा विदेशबाट आएका र विपन्न वर्गका मानिसहरूको तथ्यांक संकलनमा खटिनुभएको छ’ नगरप्रमुख सुर्वण श्रष्ठले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि बिहान र बेलुका २ घण्टा घरबाहिर जान पाइने व्यवस्था गरिएको छ ।’

करिब ३० हजार जनसंख्या रहेको यस नगरमा १८ जना विदेशबाट आएका छन् । उनीहरू नेपाल फर्किएको १ महिना भएको र अहिलेसम्म कोरोनासम्बन्धी लक्षण नदेखिएको श्रेष्ठले बताए ।

पीपीई र थर्मल गनजस्ता सामग्री पर्याप्त पाउन नसकेको गुनासो श्रेष्ठले गरे ।

कीर्तिपुर नगरपालिकाले भने पीपीई सेट नगरभित्रै उत्पादन गरेर स्वास्थ्य कर्मीहरूलाई वितरण गरेको छ । नगरकै अस्पतालसँग जानकारी लिएर मेडिकलसम्बन्धी कपडा बनाउने उद्योगले ३० सेट पीपीई बनाएको जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाले पनि आवश्यकताअनुसार क्वारेन्टाइन बेड र आइसोलेसन बेडको व्यवस्था गरेको जनाएको छ ।

राहत लिनेमा खान पुग्नेकै भीड

स्थानीय सरकारमार्फत विपन्न र दैनिक ज्यालामा काम गर्नेलाई राहत दिने घोषणापछि अहिले वडा कार्यालयहरूमा मनिसहरूको भीड लाग्न थालेको छ ।

नगरपालिकाहरूले २ साताका लागि पुग्ने राहत वितरण गर्न थालेका छन् । राहतमा दुई जनासम्म भएको परिवारका लागि आधा बोरा चामल, त्योभन्दा माथिका लागि एक बोरा चामल, २ लिटर तेल, ३ किलो दाल, ४ वटा साबुन वितरण गरेको छ ।

आफैँ जोहो गर्न सक्नेले पनि राहत सामग्री लिन खोजेको जनप्रतिनिधिहरू बताउँछन् । जोहो गर्न नसक्नेहरू भोकै बस्नु नपरोस् भनेर वितरण गरिएको राहत थाप्न हुनेखानेहरू पनि वडा कार्यालय पुगिरहेको बूढानीलकण्ठ नगरपालिकाका प्रमुखले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : ४४ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा