अपराधमा संलग्नताले बद्नाम बन्दै प्रहरी | Khabarhub Khabarhub

अपराधमा संलग्नताले बद्नाम बन्दै प्रहरी



काठमाडौं– संगठन भित्र दोहोरिएका शृङ्खलाबद्ध कर्तुतले अहिले नेपाल प्रहरी संगठन एक पछि अर्को काण्डमा फस्दै बद्नाम बन्दै गएको छ ।

केहिदिन अघिमात्र ललितपुरमा एक जना प्रहरी अधिकृतले काखमा बच्चा बोकेकी महिलालाई लाठीले हानेको दृश्य सामाजिक सञ्चालनमा भाइरल बन्यो ।

अहिलेपनि सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै प्रहरी माथि गालीको बर्षा भइरहेको छ ।

यो घटना पछिल्लो उदाहरण मात्र हो । ३३ किलो सुन प्रकरण, निर्मला हत्या प्रकरण हुँदै बच्चा बोकेकी महिलालाई लाठी चार्जसम्म आइपुग्दा प्रहरी संगठनको छवी माथि ठूलै प्रश्न उठ्यो । झनै सेवाग्राही तथा पीडितहरुसँग विभिन्न बहाना बनाउँदै गर्ने अशुलीले प्रहरीलाई झनझन बदनाम गराउँदै आएको छ ।

घूसले बद्नाम बन्दै प्रहरी

घूससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ७ गते ५ हजार विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा चलायो ।

त्यसअघि फागुन ४ गते महानगरीय अपराध महाशाखाका प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध घूस लिएर भ्रष्टाचार गरेको आरोपमा ६० लाख विगो माग दाबीसहित मुद्दा दायर गरेको थियो ।

गत पुस २० गते महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक जयनेपाल थापाविरुद्ध पनि घूस लिएको आरोपमा अख्तियारले ४० हजार विगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

पुस ६ गते पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रामकुमार साहले घूस लिएको आरोपमा ९० हजार मागदाबी गर्दै मुद्दा दायर भयो । यी केही प्रतिनिधिमुलक उदाहारण हुन् । यसबाहेक पुस माघ र फागुन करिव तीन महिनाको अवधिमा मात्र १२ जना प्रहरी विरुद्ध घूस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार, साउन यता करिव ८ महिनाको अवधिमा मात्र २३ जना प्रहरीविरुद्ध मुद्दा दायर भइसकेको छ ।

कस्ता घटनामा लिन्छन् घूस ?

जानकारहरुका अनुसार, विशेषगरि प्रहरी अनुसन्धानमा रहेका विभिन्न घटना मिलाईदिने भन्दै गलत मनसाय भएका प्रहरी कर्मचारीहरुले घूस लिने गर्छन् ।

नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारी भन्छन् – ‘प्रहरी घूस अशुल्ने भनेको घटना मिलाई दिने बहानामा हो ।’
उनी भन्छन् – ‘कुनैपनि घटना गुपचुप राख्न र पीडितलाई मिलाउन भन्दै केही प्रहरीले घूस लिएको पाइन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गत पुस २० गते मुद्दा चलाईएका महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक जयनेपाल थापाले ठगी मुद्दामा ठगी भएको रकम मिलाईदिन वकिललाई दिनुपर्ने रकम हो भन्दै ४० हजार रुपैयाँ घूस लिएका थिए ।

त्यस्तै सर्लाहीबाट पक्राउ परेका प्रहरी निरीक्षक रामकुमार साहले पनि ठगी सम्बन्धि उजुरी परेको र घटना मिलाईदिने भन्दै सेवाग्राहीसँग ९० हजार रुपैयाँ घूस लिएका थिए ।

महानगरीय अपराध महाशाखाका प्रहरी सहायक निरीक्षक उमेश केसीले पनि जबरजस्ती करणी मुद्दामा अदालतमा वकपत्रको समयमा पीडितसमेतको बयान मिलाईलिने भन्दै घूस लिएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्द भन्छन् – ‘राष्ट्र सेवाको कसम खाएका प्रहरीका केही सिपाहीदेखि उच्च अधिकारीसम्म अपराध गरेरै भएपनि कमाउने मानसिकतामा लागेको देखिन्छ । यसले संगठनको बद्नाम मात्र भएको छैन । सेवा प्रवाह समेत प्रभावित भएको छ । प्रहरीको संलग्नतामा अपराधका घटना निरन्तर दोहोरिनु दुःखद् विषय हो ।

हरेक वर्ष दुई हजार प्रहरी अपराधमा संलग्न !

हुन त प्रहरी प्रधान कार्यालयको तथ्याङ्क हेर्ने हो भने पछिल्लो साढे ५ वर्षको अवधिमा ११ हजार भन्दा बढी प्रहरी कर्मचारीहरु कारबाहीमा परेका छन् ।

प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार, प्रहरी कर्मचारीहरु बलात्कार, लागुऔषधको कारोबार, सुन तस्करी, आर्थिक अनियमितता, चोरीलगायतका कसुरमा कारबाहीमा पर्ने गरेका छन् । जसमा प्रहरीको सबैभन्दा तल्लो तह फलोअर्सदेखि नायव महानिरीक्षक (डीआईजी)सम्म छन् ।

चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म)मा १ हजार ३ सय बढी प्रहरी कर्मचारी विभिन्न कशुरमा कारवाहीमा परिसकेका छन् ।

आर्थिक बर्ष २०७५/७६ मा १ हजार ८ सय प्रहरी कर्मचारी कारवाहीमा परेका थिए भने २०७४/७५ मा २ हजार २ सय ६५ जना कारवाहीमा परे ।

त्यसैगरी २०७३/७४ मा १ हजार ३ सय ८१ जना, २०७२/७३ मा १ हजार ६ सय ९४ जना र २०७१/७२ मा २ हजार ३ सय ७१ जना कारवाहीमा परेका थिए ।

यो तथ्यांकका अनुसार हरेक वर्ष औसतमा २ हजार १ सय प्रहरी विभिन्न प्रकारका अपराध कर्ममा संलग्न हुन्छन् ।

यस्तै, औसतमा करिब ३ सय जना प्रहरी अपराधिक कर्ममा संलग्न भएकै आधारमा सेवाबाट बर्खास्तीमा पर्छन् ।

समाजको सुरक्षा र अपराध अनुसन्धानका लागि खटिएको प्रहरीमाथि नै शंका उव्जिनु समाजको लागि डरलाग्दो विषय बनेको छ ।

आफ्नो सुरक्षा गर्ने प्रहरीमाथि नै सर्वसाधारणले विश्वसनीयता कायम राख्न नसक्ने अवस्थामा प्रहरी पुग्नु प्रहरी संगठनका लागि मात्र होइन राज्यकै लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ९ : ३७ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी