रक्त क्यान्सरलाई जितेर गिताले शुरु गरिन् ‘गर्ल्स होस्टेल’ « Khabarhub
Logo
२१ मंसिर २०७७, आइतबार

रक्त क्यान्सरलाई जितेर गिताले शुरु गरिन् ‘गर्ल्स होस्टेल’

'राम ! राम !' जप्न लगाउँथे अस्पतालमा भेट्न आउने आफन्त



काठमाडौं– चितवनको भरतपुर घर भएकी गिता बराल आमा–बुबाको साथमा कीर्तिपुरमा बस्थिन् । २०६० सालतिर स्नातक तहको अध्ययन सकाउँदै थिइन् । अध्ययनसँग उनी जागिरे पनि थिइन्–बल्खुमा रहेको नेशनल ओपन कलेजमा एकाउन्टिन असिस्टेन्टको रुपमा ।

२०६० सालमा उनको घाँटीमा गिर्खाहरु देखियो । टन्सिल भइरहने भएकाले अस्पतालमा चेकजाँच गरेर टन्सिल निको हुने औषधि खाइन् ।

औषधि खाएपछि टन्सिल निको भयो, तर घाँटीको गिर्खाहरु भने जस्ताको त्यस्तै रहे ।

शुरुमा उनले घाँटीमा आएको त्यो गिर्खालाई वास्ता गरिनन् । तर विस्तारै आफू कमजोर भएको महसुस गर्न थालिन् । घाँटीमा गिर्खाहरु देखिएको २ वर्षपछि दुब्लाउन थालिन्, सँगै शरीर पनि सेतो हुँदै गयो । दुब्ली र गोरी हुँदा स्लिम र राम्री भए भनेर उनी मख्ख पनि परिन् ।

‘शुरुमा त गोरी देखिँदै गए । दुब्लाउँदै पनि गए । स्लिम र गोरी भए भनेर मख्ख परेको थिएँ,’ बरालले खबरहबसँग भनिन् ।

दुब्ली र गोरी हुँदाको खुसी बरालका लागि धेरै समय टिकेन । उनी विस्तारै कमजोर बन्दै गइन् । शरीरमा निलो डामहरु देखियो ।

महिनावारीको समयमा बग्ने रगत पनि रोकिएन । यस्ता लक्षणहरु देखिएपछि उनकी काकीले बराललाई क्यान्सर हुनसक्ने भन्दै स्वास्थ्य जाँच गर्न सल्लाह दिइन् । घरमै उनकी आमा पनि नर्स थिइन् । आमाले पनि बराललाई अस्पताल जानु भनेर आफ्नो काममा हिँडिन् ।

बराल भोलिपल्ट अस्पताल जाने योजनामा थिइन् । तर, कमजोरीका कारण उनी अस्पताल जान सक्ने पनि भइनन् । त्यहि समयमा उनको महिनावारी भयो । महिनावारीको समयमा धेरै रगत बगेर उनी निकै कमजोर भइन् । उनमा टन्सिलको समस्या पनि दोहोरियो ।

‘अस्पताल भर्ना भएपछि आफन्तहरु भेट्न आउनुहुन्थ्यो, तर आफन्तहरुले नै राम ! राम ! जप भन्नुहुन्थ्यो, ममीलाई पनि छोरीलाई मिठो खुवाउनु, बाहिर घुमाउनु कति दिन बाँच्छिन् र भन्नुहुन्थ्यो’

महिनावारी भएको ४ दिनपछि बराललाई जोरपाटीको नेपाल मेडिकल कलेज लगियो । अस्पताल जाँदा बिस्तारै हिँड्दा आमाले हिँड्न हेलचेक्रयाई गरेकी होली भनेर ‘के नाटक गरेकी अलि छिटै हिँड् न !’ पनि भनिन् । शुरुमा देखिएका यस्ता लक्षणलाई बराल र उनका परिवारले धेरै गम्भीर रुपमा भने लिएनन् ।

नेपाल मेडिकल कलेजमा क्यान्सरको आशंकामा अस्पतालका चिकित्सकले रगतको सबै प्रकारको परीक्षण गर्न पनि लगाए । रगतको रिपोर्टमा बरालको रगतमा प्लेटलेट, रातो रक्तकोष र सेतो रक्तकोष निकै कम भएको देखियो ।

रगत परीक्षणको रिपोर्टपछि चिकित्सकहरुले उनलाई रगत दिनुपर्ने बताए । रगत चढाएको भोलिपल्ट शिथिल भइसकेको बरालको शरीरमा केही उर्जा मिल्यो ।

‘रगत चढाएपछि त म स्वस्थ व्यक्तिजस्तै भए, शरीर पनि फुर्तिलो भयो,’ बराल अस्पताल बसाइको त्यो पल सम्झिन्छन् ।

त्यतिबेलासम्म आफूलाई क्यान्सर भएको हो की भन्ने शंका उनलाई नभएको हैन । चिकित्सक र आफ्नी आमाले भने उनलाई केही पनि भनेका थिएनन् । तर बरालले आमा, आफन्तहरु र डाक्टरबीचको कुराकानी भने केही सुनेकी थिइन् ।

‘ममी र डाक्टरहरु खुसुखुसु कुरा गरेको देख्थे, मलाई पनि जान्न मन लाग्थ्यो डाक्टरसँग ममीले के कुरा गर्नुभयो होला भनेर । मैले ममीलाई मलाई जे भएको हो त्यहि भन्नुस् कुरा नलुकाउनुस् भने,’ बरालले भनिन्, ‘केही भन्नु भएन भने मलाई चित्त दुख्छ भनेपछि ममीले क्यान्सरको शंका गरेका छन्, बोनम्यारो टेस्ट गर्नुपर्छ भनेको छ भन्नुभयो ।’

नेपाल मेडिकल कलेजमा बोनम्यारो नहुने भएपनि अस्पतालले हिमाल अस्पताल पठायो । हिमाल अस्पतालबाट बोन म्यारोको रिर्पोट आएपछि बराललाई रक्तक्यान्सर भएको पुष्टि भयो ।

‘मेरो एएलएल (एक्युटलिम्फोब्लाष्टिक ल्युकेमिया) किसिमको ब्लड क्यान्सर भएको रहेछ, डाक्टरहरुले यो क्यान्सर निको हुन्छ भन्नुभयो,’ बरालले विगत सम्झिन्, ‘नेपाल मेडिकल कलेजले कि भक्तपुर क्यान्सर अस्पताल लैजानुस् कि भने इन्डिया लैजानु भनेपछि म २०६२ साल माघ २ गते भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएँ ।’

अस्पतालको वेडमा भेट्न आउने आफन्त राम ! राम ! जप्न भन्थे‍ !

२०६२ साल माघ २ गते क्यान्सरको उपचारका लागि भर्ना भए पनि उनको केही दिनपछि मात्रै उपचार शुरु भयो । भक्तपुर अस्पतालमा त्यतिबेला कार्यारत क्यान्सर रोग विशेषज्ञ डाक्टर अञ्जनी कुमार झा, राजेन्द्र बराल, सुदिप श्रेष्ठ लगायतका चिकित्सकले बरालको क्यान्सर निको हुन ४ महिना अस्पतालमै रहेर किमो थेरापी गर्नुपर्ने र १८ महिनासम्म उपचार गर्नुपर्ने बताएका थिए ।

रक्त क्यान्सरको उपचारका लागि किमो थेरापी गर्न थाले पनि औषधिको प्रभावले डायरिया र वान्ता हुने समस्या देखियो । अस्पताल भर्ना भएको १६ दिनपछि कपाल पनि झर्न थाल्यो । स्टेट गरेर सलक्क परेको लामो कपाल झर्न थालेको देख्दा उनी दु: खी भइन् ।

‘स्टेट गरेको लामो कपाल थियो, किमो चढाउन थालेको १५ दिनपछि विस्तारै झर्न थाल्यो, कपाल झर्न थालेपछि कपाल पुरै काट्नुपर्‍यो, काटेको कपालको ठुटो पनि झर्थ्यो ,’ अस्पतालको बसाइ सम्झिँदै उनी भन्छिन्, ‘स्कीनहरु पनि किमो थेरापीले गर्दा बच्चाको जस्तै नरम हुन्थ्यो । सिरकले पनि घोचेजस्तो लाथ्यो ।’

१४ वर्ष अघि क्यान्सर भएर उपचारपछि क्यान्सरलाई जित्न सफल भएकी बराल क्यान्सरको समयमै परीक्षण गरी उपचार गर्नुपर्ने बताउँछिन्

२६ वर्षको उमेरमा रक्त क्यान्सर भएपछि पढाइ, जागिर सबै छाडेर अस्पतालमा भर्ना भएकी बराललाई आफ्नो कपाल झरेको देख्दा बाँच्दिन कि ! भन्ने डर लाग्थ्यो ।

‘एकदमै कमजोर भए, सिरकहरुले पनि विझाउने, कपाल पनि सबै झर्‍यो,’ बराल सम्झिन्छिन्, ‘एकपटक त अब बाँच्दिन होला, मर्छु होला जस्तो पनि लाग्यो । तर डाक्टर राजेन्द्र बराल, डाक्टर सुदिप श्रेष्ठले निकै माया गर्नुहुन्थ्यो उहाँहरुको हौसलाले फेरि बाँच्ने आसा पलाउँथ्यो ।’

क्यान्सरको उपचारका लागि अस्पतालको बेडमा रहँदा उनलाई भेट्न आफन्तहरु पनि आउथें । निको हुने आसामा रहेकी बराललाई आफन्तहरुले सम्झाउनुको सट्टा ‘मृत्यु वरण गर्न सजिलो हुन्छ भन्दै राम ! राम ! जप भन्दै झनै उदास बनाउथे । तर उनी आफूले खाएका औषधिहरु हेर्थिन् र आफैसँग भन्थिन् ‘भाग्य रहेछ भने बाँच्छु होला ।’

आफ्नै आफन्तहरुले राम ! राम ! जप भन्दा उनलाई डर लाग्नुभन्दा पनि आफन्तसँगै रिस उठ्थ्यो ।

‘अस्पताल भर्ना भएपछि आफन्तहरु भेट्न आउनुहुन्थ्यो, तर आफन्तहरुले नै राम ! राम ! जप भन्नुहुन्थ्यो, ममीलाई पनि छोरीलाई मिठो खुवाउनु, बाहिर घुमाउनु कति दिन बाँच्छिन् र भन्थे,’ बरालले आफन्तहरु भेट्न आउँदाको  त्यो अमिलो पल सम्झिँदै भन्छिन्, ‘त्यतिबेला त मलाई निकै रिस उठ्थ्यो, मलाई अस्पतालको बेडमा देखेर राम ! राम ! जप भन्ने आफन्तहरु अहिले म स्वस्थ देख्दा अचम्मित छन् ।’

२०६३ साल माघ ४ गते डाक्टर सुधिर श्रेष्ठले रक्त क्यान्सरको उपचार पूरा भएको सुनाएपछि उनी निकै खुसी भइन् । क्यान्सर निको भएर किमो थेरापीको उपचार पूरा भए पनि चिकित्सकहरुले शुरुमा हरेक महिना एकपटक फलोअप गर्न बोलाए । विस्तारै ३ महिना, ६ महिना हुँदै अहिले बराल वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्छिन् । उनको क्यान्सर निको भएको पनि १३ वर्ष भइसकेको छ । बराल अहिले अन्य व्यक्तिहरु जस्तै आफू पनि स्वस्थ रहेको बताउँछिन् ।

‘अहिले म वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउँछु, तर म अरु व्यक्तिजस्तै स्वस्थ छु,’ बरालले भनिन् ।

क्यान्सर ठीक भएपछि स्नातकोत्तर अध्ययन

रक्त क्यान्सर हुँदा बराल बीबीएस अन्तिम वर्षमा पुगेकी थिइन् । स्नातकको एउटा विषयमा मात्र परीक्षा  दिनुपर्ने थियो । क्यान्सरको उपचारकै क्रममा उनले अर्को वर्ष परीक्षा दिएर स्नातक तहको अध्ययन पूरा गरिन् । त्यसपछि क्यान्सर पूर्ण रुपमा निको भए पछि उनले फेरी स्नातकोत्तर समेत अध्ययन गरिन् । बरालले अहिले कीर्तिपुरमा नै लक्की गर्ल्स होस्टेल सञ्चालन गरेर बसेकी छन् ।

‘त्यतिबेला अस्पतालमा बिरामी भएर बस्दा पढाइ पनि छुट्यो, जागिर पनि गयो, हिँड्न पनि सक्दिनथे, सधै यस्तै त हुँदिन जस्तो लाग्थ्यो,’ बराल भन्छिन्, ‘अहिले त म स्वस्थ छु, खुसी छु, होस्टल चलाएर बसेकी छु ।’

बरालले त समयमै उपचार पाएर क्यान्सरलाई जित्न सफल भइन् । तर रक्तक्यान्सर भएको थाहा पाएर पनि कतिपयले उपचार नै नगराइ अकालमा मृत्युबरण गरिरहेका हुन्छन् ।

१४ वर्ष अघि क्यान्सर भएर उपचारपछि क्यान्सरलाई जित्न सफल भएकी बराल क्यान्सरको समयमै परीक्षण गरी उपचार गर्नुपर्ने बताउँछिन् ।

‘क्यान्सर समयमै पत्ता लाग्यो, समयमै उपचार शुरु गरेर कम्पिलट उपचार गरियो र बिरामीले पनि आत्मबल बढायो भने रक्तक्यान्सर निको भएर फेरी स्वस्थ भएर बाँच्न सकिन्छ,’ बराल भन्छिन्, ‘परिवार र समाजले क्यान्सरका बिरामीलाई मद्दत गरेर उपचार गर्यो भने यो रोग ठीक हुन्छ ।’


भर्खर

0