२५ रोपनी जग्गामा फूल रोपेर आत्मनिर्भर बनेका शाही « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

२५ रोपनी जग्गामा फूल रोपेर आत्मनिर्भर बनेका शाही



काठमाडौं– चावहिलका राजु शाहीले फूल व्यवसायबाट वार्षिक करोडौंको कारोबार गर्छन् ।

यसपटकको प्रेम दिवसका लागि मात्र उनले ५ लाख बराबरको फूल बिक्री गर्ने तयारीमा छन् । तीमध्ये प्रेम दिवसमा रातो गुलाफ बढी बिक्री गर्ने गर्छन् ।

‘पारिवारिक व्यवसाय छुट्टै थियो पुष्प क्षेत्रमा लाग्ने वातावरण नै थिएँन’ परिवारको व्यवसायबाट अलगिएर फूल खेती गरिरहेका शाही भन्छन्, ‘फूलको व्यवसाय गर्नु मेरो रुची नै थियो र आज सफल पनि बनेको छु ।’

बाल्यकालदेखि नै पढाइमा अब्बल रहेका शाहीलाई परिवारले भने डाक्टर बनाउने सोच राखेका थिए । ‘फूल रोपेर व्यवसाय गर्छु भनेको भए सानैदेखि कलम कपी किन्ने पैसाले कुटो कोदालो किनिदिन्थे नि’ बुबाले विगतमा भनेका कुरा स्मरण गर्दै उनी भन्छन्, ‘तर उनको चाहना फूलमै थियो उनलाई पुष्प क्षेत्रबाटै नाम परिचित गर्नु थियो ।’

पुष्प व्यवसायको शुरुवात : फूल फुलाउन चितवन

उमेरले २० टेकेका थिए । उनी आफ्नो सोचलाई पूरा गराउनका लागि पुष्प व्यवसाय फस्टाउने क्षेत्रको खोजीमा थिए ।
सोही क्रममा उनले व्यवसायका लागि उचित स्थानको छनोट गरेर चितवन पुगे ।

फूलका लागि चाहिने हावापानीकै कुरा गर्ने हो भने बाह्रै महिना फुलाउन सक्ने र राम्रो ठाउँका रुपमा लिइन्छ चितवनलाई ।

शाहीले चितवनमा पुगेर शुरु गरे । जहाँ दिउँसो र रातिको तापक्रमले फूललाई राम्रो बनाउथ्यो । २० डिग्री भन्दा माथि र ३२ डिग्रीभन्दा तलको तापक्रममा गुलाफलाई फुलाउन सकिने उनको अनुभव छ ।

‘त्यसलाई बढाउन घटाउन कसरी सकिन्छ भन्ने कुरा बुझेपछि मात्र गुलाफ फुलाउन सकिन्छ’ शाहीले अनुभव सुनाउँदै भने, ‘मैले बाहै्र महिना गुलाफ फुलाइरहेको छु ।’

भिडियो:

‘सुरुमा २ विधा जमिन लिजमा लिएर फूल खेती शुरु गरेँ’ शाहीले भने, ‘ग्याल्डीयर्सबाट व्यवसाय शुरु गरेका थिएँ तर अहिले थुप्रै प्रजातीका फूल छन् धेरैजसो फूलहरु अन्त नपाइने पनि छन् यहाँ ।’

शाहीका बगैँचामा फुलेका ८० प्रतिशत गुलाफहरु होटलले लिन्थेँ भने २० प्रतिशतमात्र बाहिर पुग्थ्यो । चितवनमा फुलाएका फूलहरु विभन्नि जिल्लामा पुग्थे जसले भर्खरै पुष्प खेती थालेका शाही खुसीले गद्गद् हुन्थे ।

चितवनमा आरामले फूल फुलाइरहेका शाहीलाई अचानक ठाउँ परिवर्तन गर्नै मन लाग्यो । ‘फूल त फुलाएकै थिएँ’ उनले भने, ‘फुलाएको फूलहरु सप्लाइ गर्न यातायातको समस्या हुन्थ्यो ।

चितवनबाट धादिङ नौबिसे

करिब ३ वर्ष चितवनमा पुष्प व्यवसाय गरे शाहीले । त्यसपश्चात उनी खेती गर्ने स्थान खोज्दै धादिङ नौबिसे आइपुगे ।

शुरुमा ४० रोपनी क्षेत्रफलमा थालेको फूल खेतीलाई बढाउँदै सय रोपनीसम्म पुर्‍याए उनले । व्यवसाय पनि राम्रो चलेको थियो ।

‘फूलमा रमाउनुको मज्जा सँगै राम्रो आम्दानी कमाउँदा झनै खुसी मिल्ने रहेछ’ पुष्प क्षेत्रमा रमाइरहेका शाही भन्छन्, ‘फूलसँग नजिकको सम्बन्ध छ मेरो बोट विरुवाको पातमा केही रोग लाग्यो भने आफ्नै मटु चसक्क हुन्छ ।’

नौबिसेमा पुष्प व्यवसाय गरिरहेका बेला शाहीको बुबाको मृत्यु भयो । बुबाको मृत्युपश्चात उनी धादिङ बस्न सकेनन् । परिवारको जिम्मेवारीकै कारण पनि उनलाई घर फर्कनु थियो ।

१६ वर्ष धादिङलाई कर्मथलो बनाएका शाही काठमाडौं फर्किए । तर उनको पुष्प व्यवसाय छोड्न मनस्थिति कहिल्यै आएन । अझ विभिन्न माध्यमबाट कसरी फस्टाउन सक्छ भन्दै विदेशमा सम्म त्यसबारे अनुसन्धान गर्दै पुग्न थाले ।

२५ रोपनी जग्गामा थलीमा फूल खेती

साच्चि नै उनको मेहनत र लगाव देख्दा लाग्छ उनी फूलका क्षेत्रमा सफल र संघर्षरत् व्यवसायी हुन् ।

८ वर्षदेखि उनी काठमाडौंको थलीमा २५ रोपनी जग्गामा फूल खेती गरिरहेका छन् । जीवनको दौरानमा शाहीले २७ वर्षअघिदेखि फूल फुलाइरहेका छन् ।

त्यसो त पुष्प क्षेत्र पछिल्ला समय विस्तार हुने क्रममा रहेको छ । मानिसहरु फूलमा प्रेरित बन्दै व्यवसायिक रुपमा आइरहेका छन् । थलीमै पनि शाहीको फार्म वरपर अन्य व्यवसायीहरुले पनि पुष्प खेती गरिरहेका छन् ।

‘अरुले भन्दा फरक छ मैले फूल फुलाउने तरिका’ उनी भन्छन्, ‘फूल लगाएर मात्र हुँदैन त्यसले के खान्छ ? जाँडो छ कि गर्मी छ ? अवस्था के छ ? कसरी बाह्रै महिना फुलाउन सकिन्छ भन्ने बारे जानकार हुनुपर्छ ।’

उनको फार्ममा कार्नेसन, जरभेरा, अल्स्ट्रोमेरिया, लिमोनियम, जिफ्सोफिला र विभिन्न प्रजातीका गुलाफका फूलहरु रहेका छन् । थलीमा फुलाएको गुलाफ देशभर र बाह्य मुलुकमा समेत पुगेको बताउँछन् शाही ।

१२ लाख लगानीमा शुरु गरेको फूल खेतीबाट वार्षिक करोडौंको आम्दानी गर्छन् शाही । त्यति मात्र होइन । फूलका क्षेत्रमा स्थापित भइसकेका छन् ।

बगैँचामा फुलेका गुलाफहरुले आफूलाई हरेक कुरामा कनेक्सन गराइरहेको बताउँछन् उनी ।

प्रेम दिवसमा मात्र ५ लाखको गुलाफ विक्री

प्रेम दिवस आउन केही दिन मात्र बाँकी छ । उनको फूलको फार्ममा यतिबेला मन नै लोभ्याउने गरी गुलाफ फुलिरहेका छन् ।

टिप्नकै लागि केही महिलाहरु फार्मभित्र नफग्रिदैका कोपिला कैचीले काट्दै गरेको देखिन्छ । कोही भने त्यसलाई मिलाएर प्याकिङ गर्न व्यस्त छन् ।

‘५५ देखि ७५ दिनसम्ममा फार्ममा गुलाफ फक्राउन थाल्छन्, त्यसलाई टिपेर गरेर पाकिङ गरी भण्डारण गर्नुपर्छ’ उनले भने, ‘यसलाई नबिग्रनका लागि र अर्डर नआउन्जेलसम्मका लागि ठिक्कको तापक्रममा भण्डारण गछौँ ।’

एउटा गुलाफको बोटबाट वर्षमा २ सय २० देखि ६० सम्म फूल फुलाउन सकिन्छ । तर शाहीले वर्षमा ३ सय स्टीम गुलाफ फुलाउँछन् ।

शाहीकाअनुसार हरेक वर्षको प्रेम दिवसमा उनले ५ लाखभन्दा बढी रकमको फूल बेच्छन् । यसबाहेक फार्ममा फुलेका फूलहरु उनी जुनसुकै सिजनमा पनि बजारमा बिकाउँछन् ।

गुलाफकै कुरा गर्ने हो भने गुलाफ फुल्ने सिजन भनेको वैशाख जेठतिर हो । चिसो मौसममा गुलाफ फुलाउन गाह्रो हुन्छ । जसकारण प्रेम दिवसका लागि गुलाफ आयात समेत गर्ने गरिन्छ ।

तर उनको फार्ममा भने ढकमक्क राता, सेता र पहेँला गरी १५ थरिका गुलाफहरु फुलिरहेका छन् । ‘यो सिजनमा गुलाफलाई फुलाउन धेरैले सक्दैनन् तर यहाँ फलिरहेका छन्’ गुलाफको फुलसँगै हसिलो चेहेरा बन्दै भन्छन्, ‘मैले बाह्रै महिना गुलाफ फुलाइरहेको हुन्छु ।’

उनको यो व्यवसायबाट १३ जनाले रोजगारी समेत पाएका छन् ।

गुलाफका विरुवा सयौं वर्ष बाच्छन् तर हेरचाह गर्नुपर्छ

सामान्यतया गुलाफका विरुवाको आयु ७/८ वर्षसम्म हुन्छ भन्ने गरिन्छ । तर शाही विरुवालाई हेरचाह गर्न सकेमा सय वर्षभन्दा बढी बाच्ने बताउँछन् ।

‘हाम्रोमा लगाएका गुलाफका विरुवा ७ वर्ष पुरा भइसकेका छन्’ गुलाफका फक्रिनै लागेका गुच्छा देखाउँदै उनी भन्छन्, ‘विगतमा भन्दा झन बढी उत्पादन दिदैं आइरहेका छन् त्यसकारण यसलाई हेरचाह गर्न सकेमा सयौं वर्ष बाच्छ र राम्रो फूल फुलाउन सकिन्छ ।’

फर्केर हेर्दा त्यो बाल्यकाल …

वि.स. २०२० मा काठमाडौंका बानेश्वरमा जन्मिए उनी । उनका बुबा इन्डियन आर्मी थिए आमा घरकै काममा व्यस्त । शाहीको पढाइ राम्रो थियो । जसकारण बुबाले उनलाई डाक्टर बनाउने सपना देखेका थिए ।

तर शाहीको सोच डाक्टर बन्ने थिएन । ‘सबै डाक्टर बने भने बिरामी हुने को ?’ उनी सोच्थेँ, ‘अरुले भन्दा फरक पेशा पने गर्ने त ।’

डाक्टर बनाउने बुबाको इच्छालाई मारिदिए उनले । पिपुल्स क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भए र पढ्न थाले । गार्मेन्ट र यातायातमा परिवारको व्यापार थियो । उनी पढाइसँगै पारिवारीक व्यवसायमा पनि भिजेका थिए ।

‘घरमै पनि ठूलो बगैँचा थियो बगैँचामा फुलेका फूल देखेर पनि मलाई यही क्षेत्रमा व्यवसाय गरौँ जस्तो महशुस हुन्थ्यो, उनले भने, ‘फूल मन पराए पनि परिवारले यही पेशामा लागेको चाहिँ हेर्न चाहनुहुन्न थियो ।’

‘शुरुमा काम थाल्दा उनका बुबाले भनेका थिए– यसरी खेती गर्छु भनेर पहिले नै भनेको भए कपी कलम किन्दिने पैसाले कुटो–कोदालो किनिदिन्थेँ नि ।’

तर उनले बुबाको कुरालाई इगो रुपमा लिएनन् । बरु कसरी हुन्छ बुबाको सामु आफु फूल फुलाएरै अरुसामु चिनिन्छु भन्ने बारे सोच्थेँ ।

सुरुवाती चरणमा परिवारको सहयोग नभएपनि विस्तारै बा–आमाको साथ मिल्दै गयो उनलाई । ‘अहिले मलाई धेरैले गुलाफको राजा भनेर बोलाउँछन्’ प्रफुल्ल हुँदै शाहीले भने, ‘मलाई यही परिचयले चिनिनु थियो त्यो पाएँको छु ।’


भर्खर

0