समाजमा किन बढ्दैछ क्रुरता ? | Khabarhub Khabarhub

समाजमा किन बढ्दैछ क्रुरता ?

साउन यतामात्र ५५ जनाको हत्या 



काठमाडौँ– सामान्य विषयमा हुने विवाद बढ्दै जाँदा हत्याको रूप लिने घटना नेपाली समाजमा झाँङ्गिन थालेको छ । यौन सम्बन्ध र सामान्य आर्थिक लेनदनमै व्यक्ति हत्याका घटना पछिल्लो केही समययता ह्वात्तै बढेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरोको कमाण्ड सम्हालिसकेका पूर्वडीआईजी हेमन्त मल्ल अहिले नेपाली समाजमा केही व्यक्ति क्रुरतातर्फ जान थालेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय अवस्थामा अहिले मानवता हराउँदै गएको छ, सामान्य विषयमा पनि तत्काल डरलाग्दो प्रतिक्रिया दिने क्रम बढेको छ । मान्छेले अवसर पाइरहेका छैनन्, वितृष्णा बढ्दोरूपमा झाँङ्गिदै छ । जसका कारण अपराधका घटना बढिरहेका छन् ।’

अझ डरलाग्दो कुरा के छ भने पछिल्लो समय शृङ्खलाबद्ध देखिएका हत्याका घटनामा चिनेजानेका, परिवारसँग जोडिएका व्यक्ति, आफन्तलगायत नजिककै व्यक्तिको संलग्नता देखिने गरेको छ । यसको पछिल्लो उदाहारण हो, ललितपुरमा परिवार भित्रैबाट भएको हत्या ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अवैध सम्बन्ध र लेनदेनका कारण यही भदौ १९ गते ललितपुरमा परिवारभित्रै हत्याको घटना भयो । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको खुलासा भएको हो ।

प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार निर्मल र गीता तीन वर्षदेखि अफेयरमा थिए । हत्या आरोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वीकार गरेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मृतकका श्रीमान् घरमा नभएका बेला भतिजा निर्मल उनको घरमा आउजाउ गर्ने गरेका थिए ।

गीता ललितपुरकै एक अस्पतालमा काम गर्थिन् । निर्मलले नै उनलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । यही क्रममा निर्मलले अस्पताल नगई घुम्न जाऔँ भनेपछि उनीहरू लेलेको जङ्गलमा त्यही हत्या भएको प्रहरी अनुसन्धानको ठहर छ ।

साउन यताका केही मुख्य घटना

 साउन २५ राति गोंगबुमा कृष्णबहादुर बोहोराको सम्बन्ध तथा आर्थिक लेनदेनकै कारण वीभत्स हत्या भयो । हत्याको दोस्रो दिनमै प्रहरीले अभियुक्त पक्राउ गर्‍यो । हत्यामा संलग्न कल्पना मुडभरी पौडेल चितवनबाट पक्राउ परेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको खुलासा भयो ।

भदौ १४ गते रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भयो । प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका–३, मुसरिया गाउँकी मिन्त्रा देवी बैठाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काका अनुसार आइतबार बिहान १० बजेतिर घाँस काट्न उखुबारीमा गएकी उनको साँझ शव फेला परेको थियो ।

भदौ १६ गते मङ्गलबार झापाको शिवसताक्षी नगरपालिकामा लेनदेनकै कारण २८ वर्षीय गोमानसिंह मगरको हत्या भयो । स्थानीय मनकुमार लिम्बुले मगरलाई बोलाएर शिवसताक्षी बजारमा भेटेपछि दुवै जना रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलतिर गएको र लेनदेनको विषयमा विवाद हुँदा छुराले घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

भदौ १७ गते बुधबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारीले गत बुधबार आफ्नै भाइबुहारी (भाइकी श्रीमती) ३७ वर्षीया रञ्जना तिमल्सिनालाई सामान्य घरायसी विवादमा बन्चरोले हानेर हत्या गरे । काभ्रेका एसपी रविराज पौडेलका अनुसार घरायसी विवादका कारण सुदर्शनले बुहारीको हत्या गरेका हुन् ।

 भदौ १८ गते बिहीबार राति धादिङमा ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या भयो । धादिङको निलकण्ठ नगरपालिका–१३ खलचेतका २६ वर्षीय राजु परियारले खुर्पाले घाँटी रेटी गुरुङको क्रुरतापूर्वक हत्या गरेका थिए ।

अभियुक्त सोही दिन राति १ बजे जिल्ला प्रहरी कार्यालय धादिङमा गुरुङको टाउको झोलामा हालेर आत्मसमर्पण गर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादमा हत्या भएको देखिएको छ ।

भदौ १९ गते ३६ वर्षीय अजय विकले काठमाडौंको अनामनगरमा आफ्नै श्रीमतीलाई छुरा हानेर हत्या गरे । विकले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती पार्वती खड्कालाई छुरा हानेका थिए । प्रहरीका अनुसार सिभिल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गयो ।

यी केही प्रतिनिधिमूलक घटनामात्र हुन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार साउन यता डेढ महिनामा देशभर हत्याका ५५ वटा घटना भएका छन् ।

काठमाडौं उपत्यकामा ५, प्रदेश १ मा ९, प्रदेश २ मा १३, बागमती प्रदेशमा ६, गण्डही प्रदेशमा २, प्रदेश ५ मा १०, कर्णाली प्रदेशमा ५ र सुदूर पश्चिम प्रदेशमा ६ वटा हत्याका घटना भएका छन् ।

पछिल्लो ३ वर्षका कुल घटना

  •  आर्थिक वर्ष २०७४/७५ – ६२६ वटा
  • आर्थिक वर्ष २०७५/७६ – ६५९ वटा
  • आर्थिक वर्ष २०७६/७७ – ५५५ वटा
  • चालु आर्थिक वर्ष – ५५ वटा

हत्याको मुख्य कारण लेनदेन र अवैध सम्बन्ध

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार हत्या हुनमा अनेक कारणहरू देखिने गरेका छन् । मोटामोटी रूपमा हेर्दा अवैध यौन सम्बन्ध र त्यसलाई लुकाउ प्रयास, लेनदेन र आवेग मुख्य कारण पाइएको छ ।

यसबाहेक तराई क्षेत्रतिर साँधसीमा, कुलोलगायत सामान्य विवादमा पनि हत्या हुने गरेको पाइएको छ । कतिपय क्षेत्रमा सामान्य गाली गरेको कारण र शब्द चयनमा चित्त नबुझेका कारणले समेत हत्याका घटना भएका छन् । अहिलेसम्मको समग्र तथ्याङ्क हेर्दा आफन्त र चिनेजानेका व्यक्तिहरू नै हत्यामा बढी संलग्न भएको पाइएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा पनि पछिल्लो समयमा भएका हत्याको मुख्य कारण लेनदेन विवाद र अवैध सम्बन्ध देखिएको बताउँछन् । उनी भन्छन्, ‘अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेग नियन्त्रण गर्न नसक्दा हत्याका घटना भएको देखिएको छ । सामान्य विवादमा तत्कालको रिस नियन्त्रण गर्न नसक्दा पनि हत्या भएको छ ।’

हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कैयौँ घटना छन्, जसको विश्लेषणबाट हाम्रो समाज कतातिर गइरहेको छ भन्ने अनुमान गर्न सक्छौँ । पूर्वडीअइजी मल्ल भन्छन्, ‘हामीले हाम्रा अग्रजहरूबाट के सिकेका थियौँ र भावी पुस्तालाई के सिकाइरहेका छौँ ? यो गम्भीर प्रश्न हो ।’

उनका अनुसार दिनहुँ शृङ्खलाबद्ध तरिकाले भइरहेका हत्या, बलात्कार, चोरी, लुटपाट जस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भनेर अध्ययन गर्न जरुरी भएको छ ।

कसरी कम गर्ने अपराधका घटना ?

पूर्वडीआइजी मल्लका अनुसार समाजमा हुने अपराधका घटना कम गर्न विशेष सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो ।

जघन्य अपराधका घटना र यसबाट हुनसक्ने क्षतिका विषयमा नैतिक शिक्षा फैलाउनु अहिलेको आवश्यकता हो । यसबाहेक युवाहरूलाई अवसर र रोजगारीको सृजनालगायतको विषयमा सरकारको ध्यान पुग्नुपर्छ ।

मल्ल भन्छन्, ‘अहिले झनै कोरोना भाइरसको महामारीका कारण मानिसहरूमा वितृष्णा बढ्दै गएको छ । कतिपयको रोजगारी गुमेको छ, कतिपयको रोजगारी गुम्ने अवस्था छ । यस्तो अवस्थामा अपराधका घटना बढ्न सक्छन् । यस विषयमा सरोकारवालाको ध्यान पुग्नु आवश्यक छ ।’

विज्ञहरूका अनुसार समाजमा हुने हरेक आपराधिक घटनाको सूक्ष्म अध्ययन हुन जरुरी छ । घटना हुनु र घटना बढ्दै जानुको कारण विषयमा अनुसन्धान हुनुपर्छ । अपराधीलाई कानूनी कठघरामा उभ्याउने त छ छँदैछ, यस अतिरिक्त घटनाको अध्ययन गरी समाधान खोज्नेतर्फ लाग्नु पनि आवश्यक छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ११ : १० बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको